उत्पत्ति 9:1-7
उत्पत्ति 9:1-7 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
त्यसपछि परमेश्वरले नोआ र तिनका छोराहरूलाई आशिष् दिएर भन्नुभयो, “फल्दै-फुल्दै, वृद्धि हुँदै र पृथ्वीमा भरिँदैजाओ। पृथ्वीका सबै पशुहरू र आकाशका सबै पक्षीहरू र जमिनमा घस्रने सबै प्राणीहरू र समुद्रका सबै माछाहरूमा तिमीहरूको डर र त्रास हुनेछ। तिमीहरूकै हातमा ती सुम्पिएका हुन्छन्। जीवित-जीवात सबै तिमीहरूका निम्ति आहारा हुनेछन्। मैले हरिया वनस्पति तिमीहरूलाई दिएझैँ सबै थोक म तिमीहरूलाई दिन्छु। “तर मासु त्यसको प्राण दिने रगतसमेत नखाओ। र तिमीहरूको प्राण दिने रगतको सट्टा म निश्चय लेखा लिनेछु। हरेक पशुदेखि म प्राणको साटो लिनेछु, र हरेक मानिसदेखि पनि आफ्नो दाजुभाइका प्राणको साटो म लिनेछु। जसले मानिसको रक्तपात गर्छ, मानिसबाटै त्यसको रक्तपात हुनेछ, किनभने परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा बनाउनुभएको हो। तिमीहरूचाहिँ फल्दै-फुल्दै जाओ। पृथ्वीमा प्रशस्तसँग बालकहरू जन्मून्, र संख्यामा तिनीहरूको वृद्धि हुँदैजाओस्।”
उत्पत्ति 9:1-7 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तब परमेश्वरले यसो भन्दै नोआ र तिनका छोराहरूलाई आशिष् दिनुभयो, “फल्दै-फुल्दै, संख्यामा वृद्धि हुँदै र पृथ्वीमा भरिँदै जाओ। पृथ्वीका सबै पशुहरू र आकाशका सबै चराचुरुङ्गीहरू, जमिनमा चलहल गर्ने प्रत्येक प्राणी, र समुद्रका सबै माछाहरूमाथि तिमीहरूको भय र त्रास रहनेछ; तिनीहरू तिमीहरूका हातमा सुम्पिएका छन्। हरेक जीवित प्राणी तिमीहरूको भोजनको निम्ति हुनेछ। मैले तिमीहरूलाई हरियो सागपात दिएझैँ, अब तिमीहरूलाई सबै थोक दिन्छु। “तर तिमीहरूले मासुसँग रगतचाहिँ नखानू, जसमा त्यसको जीवन हुन्छ। तिमीहरूका जीवन अर्थात् रगत लिनेको निश्चय नै म लेखा लिनेछु। म हरेक पशुबाट प्राणको लेखा लिनेछु; र हरेक मानिसबाट पनि, अरू मानिसका प्राणको लेखा म लिनेछु। “जसले मानिसको रक्तपात गर्छ, मानिसबाटै त्यसको पनि रक्तपात हुनेछ; किनकि परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा बनाउनुभएको हो। तर तिमीहरूचाहिँ फल्दै-फुल्दै र संख्यामा वृद्धि हुँदै जानू; र पृथ्वीमा फैलिँदै र यसमा बढ्दै जानू।”
उत्पत्ति 9:1-7 पवित्र बाइबल (NERV)
परमेश्वरले नूह र उसका छोराहरूलाई आशीर्वाद दिनुभयो। उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूका सन्तानहरूको संख्या यति सम्म बढोस् धर्ती फेरि मानिसहरूले भरियोस्। यस पृथ्वीको प्रत्येक पशु, आकाशको प्रत्येक चरा, प्रत्येक जन्तु जो भूइँमा घस्रन्छ र समुद्रका प्रत्येक माछा तिमीसित डराउने छन। तिनीहरू सबै तेरो नियन्त्रणमा बसुन्। कुनै पनि गतिशील चीज तेरो आहारको निम्ति होस्, जस्तो मैले पहिले हरियो उद्भिदहरू खाद्यको निम्ति दिएँ अहिले तलाईं प्रत्येक चीज खानको निम्ति दिन्छु। जिउँदो पशुहरूको मासुमा जतिन्जेलसम्म रगत रहन्छ त्यो चाँहि नखानु। अब उसो, यदि कुनै सजीवले एकजना मानिसलाई मार्छ भने, यसले त्यसको लागि आफ्नो जीवन दिनु पर्छ। यदि एकजना मानिसलाई अर्को मानिसले मार्छ भने म उसको जीवन लिनेछु। “यदि कसैले एउटा मानिसलाई मार्छ त्यसलाई अर्को मानिसले प्राणदण्ड दिनु पर्छ, कारण परमेश्वरले मानिसलाई आफ्नै स्वरुपमा सृष्टि गर्नु भएको छ।” “अनि तिमीले धेरै सन्तानहरू पाउनेछौ जसले गर्दा तिम्रो जनसंख्या बढ्नेछ अनि धर्ती भर्नेछ।”
उत्पत्ति 9:1-7 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
परमेश्वरले नोआ र उनका छोराहरूलाई आशिष् दिनुभयो र भन्नुभयो, “तेरा धेरै छोरा-छोरीहरू होऊन् र तेरा सन्तान पृथ्वीभरि बास गरून्। सबै पशु-पंक्षी र माछाहरूले तेरा डर मान्नेछन्, ती सबै तेरा अधिकारमा दिइएका छन्। ती कुराहरू तिमीहरू अब खान सक्नेछौ, जसरी तिमीहरूले हरिया सागपात खान्छौ। म ती सबै तिम्रा आहारका निम्ति दिँदछु। आलो रगत भएको मासुचाहिँ तिमीहरूले नखानू किनभने रगतमा जीवन हुन्छ र यसैले त्यो नखानू। कसैले मानिसको प्राण लियो भने त्यसले दण्ड पाउनेछ। कुनै पशुले मानिसको प्राण लियो भने म त्यसलाई पनि मार्नेछु। मानिस परमेश्वरको रूपमा बनिएको छ, यसैले कसैले मानिसको हत्या गर्यो भने त्यसको हत्या पनि मानिसबाटै हुनेछ। “तेरा धेरै छोरा-छोरी होऊन् र तेरा सन्तानले सारा पृथ्वीभरि बास गरून्।”