उत्पत्ति 7:6-24
उत्पत्ति 7:6-24 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
नोआ छ सय वर्षको हुँदा पृथ्वीमा जलप्रलय भएको थियो। नोआ, तिनका छोराहरू, तिनकी पत्नी तथा तिनका बुहारीहरू जलप्रलयको पानीबाट बाँच्नलाई जहाजमा गए। शुद्ध पशुहरू र अशुद्ध पशुहरू, पक्षीहरू र भूइँमा घस्रने हरेक प्राणी परमेश्वरको हुकुमबमोजिम जोड़ी-जोड़ी, अर्थात् भाले र पोथी नोआकहाँ जहाजमा आए। अनि ठीक सात दिनपछि पृथ्वीमा जलप्रलयको पानी पर्न लाग्यो। नोआका जीवनको छ सय वर्षको दोस्रो महिनाको सत्रौँ दिनमा ठूला-ठूला अगाधका सब मूलहरू फुटे, र आकाशका द्वारहरू खुले। अनि चालीस दिन र रातसम्म पृथ्वीमा पानी परिरह्यो। ठीक त्यसै दिन नोआ, तिनका छोराहरू शेम, हाम र येपेत, तिनकी पत्नी र तिनका तीन बुहारीहरू जहाजभित्र पसे। तिनीहरू र आ-आफ्नो जातअनुसारका सबै वन-पशुहरू, सबै पालिने पशुहरू, भूइँमा घस्रने सबै प्राणीहरू र आ-आफ्नो जातका सबै थरीका पक्षीहरू पसे। जीवनको सास हुने सबै प्राणीका जोड़ी-जोड़ी गरी नोआकहाँ जहाजमा आए। परमेश्वरले नोआलाई हुकुम गर्नुभएबमोजिम जहाजभित्र पसेका प्राणी भाले र पोथी गरी आए। त्यसपछि परमप्रभुले जहाजको ढोका थुनिदिनुभयो। पृथ्वीमा चालीस दिनसम्म जलप्रलय भइरह्यो। पानी बढ़ेर जहाजलाई उचाल्न लाग्यो र त्यो जमिनबाट माथि जान लाग्यो। पानी धेरै परिरह्यो र चौपट्टै बढ़ेर पृथ्वीमा भरिन लाग्यो, र जहाज पानी माथि-माथि उत्रन लाग्यो। पानी पृथ्वीमा जोडसँग परिरह्यो र आकाशमुनिका जम्मै अल्गा-अल्गा पर्वतहरू ढाकिए। पानी बढ़ेर आयो र पर्वतहरूलाई सात मिटरसम्म डुबाइदियो। पृथ्वीमा चलहल गर्ने सबै जीवित जीवात— के पक्षी, के पालिने पशु, के वन-पशु, के भूइँमा घस्रने सबै प्राणीहरू— तथा सबै मानिसहरू मरे। ओबानो भूमिमा भएका सास हुने सबै प्राणी मरे। अनि जति प्राणी जमिनमा थिए— के मानिस, के पशु, के घस्रने जन्तु, के पक्षी, सबै मासिए। तिनीहरू पृथ्वीबाट मासिए, केवल नोआ र जति जना तिनीसित जहाजमा थिए तिनीहरू मात्र जीवितै रहे। अनि पृथ्वीमा पानी एक सय पचास दिनसम्म रहिरह्यो।
उत्पत्ति 7:6-24 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
पृथ्वीमा जलप्रलय हुँदा नोआ छ सय वर्षका थिए। अनि जलप्रलयको पानीबाट बाँच्नका निम्ति नोआ अनि तिनका छोराहरू, तिनकी पत्नी र तिनका बुहारीहरू जहाजभित्र पसे। साथमा शुद्ध र अशुद्ध पशुहरू, चराचुरुङ्गी अनि जमिनमा चलहल गर्ने सबै प्राणीहरूका जोडीहरू, अर्थात् भाले र पोथी गरी परमेश्वरले आज्ञा गर्नुभएझैँ नोआसँगै जहाजभित्र पसे। अनि सात दिनपछि पृथ्वीमा जलप्रलय भयो। नोआको जीवनको छ सय वर्षको दोस्रो महिनाको सत्रौँ दिनमा पृथ्वीका सबै गहिरा मूलहरू फुटे, र आकाशका पानीका बाँधहरू खोलिए। अनि पृथ्वीमा चालीस दिन र चालीस रात पानी परिरह्यो। त्यसै दिन नोआ र तिनका छोराहरू शेम, हाम अनि येपेत, तिनकी पत्नी र तिनका तीन बुहारीहरू जहाजभित्र पसे। तिनीहरूसित आ-आफ्नै प्रकारका प्रत्येक जङ्गली जनावर, आ-आफ्नै प्रकारका सबै घरपालुवा पशु, आ-आफ्नै प्रकारका जमिनमा घस्रने प्राणी र पखेटा भएका आ-आफ्नै प्रकारका पक्षी थिए। जीवनको सास हुने सबै प्राणीहरूका जोडी-जोडी गरी नोआकहाँ जहाजमा आए। भित्र पसेका प्राणीहरूमध्ये परमेश्वरले नोआलाई आज्ञा गर्नुभएअनुसार प्रत्येक जीवित प्राणीका भाले र पोथी थिए। तिनीहरू भित्र पसेपछि याहवेहले ढोका थुनिदिनुभयो। चालीस दिनसम्म पृथ्वीमा जलप्रलय भइरह्यो; अनि जब पानी बढ्दैगयो, तब त्यसले जहाजलाई पृथ्वीमाथि उचाल्दै लग्यो। पानी बढ्दै गएर पृथ्वी भरिन थाल्यो, र जहाजचाहिँ पानीको सतहमाथि तैरिन थाल्यो। पृथ्वीमा पानी झन्-झन् बढ्दैगयो, र आकाशमुनि भएका सबै अग्ला-अग्ला पर्वतहरू डुबे। पानी बढेर पर्वतहरूभन्दा 15 क्यूबिट माथिसम्म पुग्यो। पृथ्वीमा चलहल गर्ने प्रत्येक जीवित प्राणी—चराचुरुङ्गी, घरपालुवा पशु, जङ्गली जनावर, पृथ्वीमा हुल बाँधेर हिँड्ने हरेक प्रकारका जीवजन्तुहरू र सारा मानिस जातिहरू नष्ट भए। ओबानो भूमिमा भएका नाकमा जीवनको सास हुनेहरू सबै थोक नष्ट भए। पृथ्वीमा भएका प्रत्येक जीवित प्राणी; हरेक मानिस, पशु, जमिनमा चलहल गर्ने प्राणी र आकाशका चराहरू सबैको पृथ्वीबाट नामनिशानै मेटियो। नोआ र तिनीसित जहाजभित्र भएकाहरू मात्र जीवित रहे। पृथ्वीमाथि पानी एक सय पचास दिनसम्म जलमग्न भइरह्यो।
उत्पत्ति 7:6-24 पवित्र बाइबल (NERV)
जब पृथ्वीमा प्रलय आयो नूह 600 बर्ष पुगेका थिए प्रलयबाट बाँच्नको निम्ति नूह आफ्नो छोराहरू अनि पत्नी र बुहारीहरू लिएर जहाजभित्र पसे। तब प्राणीहरू, नर र नारी, जोडी नूहकहाँ जहाजमा आए। परमेश्वरले आज्ञा गर्नु भए अनुसार धर्तीमा सबै स्वच्छ, अस्वच्छ प्राणीहरू तथा घस्रिने प्राणीहरू आए। अनि ठीक सात दिनपछि पृथ्वीमा जल-प्रलयको पानी पर्नलाग्यो। नूहको जीवनको 600 बर्षको दोस्रो महीनाको सातौं दिनमा जमीनबाट मूल फुट्यो अनि आकाशमा ठूला-ठूला प्वालहरू बनिए। अनि पृथ्वीमा मूसलधारे पानी चालीस दिन चालीस रात एकोहोरो परिरह्यो। त्यही दिन नूह, उसकी पत्नी, छोराहरू शेम, हाम र येपेत अनि बुहारीहरू जहाज भित्र गए। ती मानिसहरू, प्रत्येक जातका भाले पोथी गरी जोडी जोडी वन पशुहरू, घरमा पालिने पशुहरू, भूँईमा घस्रने जन्तुहरू अनि प्रत्येक जातका चराहरू जहाजमा पसे। यी सबै पशु-चराहरू नूहसँगै जहाजमा पसे। सास फेर्ने सबै जीवित प्राणीहरू भाले र पोथीको जोडीको दलमा ती पशु चराहरू जहाजमा आए। यी सबै पशुहरू परमेश्वरले नूहलाई दिनु भएको आज्ञा अनुसार जोडी जोडी भएर आए। त्यसपछि परमप्रभुले जहाजको ढोका बन्द गरिदिनु भयो। जल प्रलय पृथ्वीमा चालीस दिन चालीस रातसम्म भयो। पानी बढेर जहाजलाई जमीनबाटमाथि उचाल्न थाल्यो। पानीको स्तर माथि उठ्यो अनि जहाज पानी माथि तैरिन थाल्यो। पानी यति साह्रो बढ्यो अग्लो-अग्लो पहाडहरू पनि पानीले ढाकिए। एकोहोरो पानी परिरहेकोले पृथ्वीमा यति धेरै पानी भयो अग्ला पहाडहरू पनि पानीमा बीस फिट डुबे। पृथ्वीमा बस्ने सबै पुरुष र स्त्रीहरू घरेलु पशुहरू, र जंङ्गली पशुहरू, पृथ्वीमाथि उड्ने सबै प्राणीहरू अनि सबै सजीव वस्तुहरू जो सुख्खा भूमिमा थिए मरे। यसर्थ पृथ्वीको सतहमा रहने मानिसहरू पशुहरू, घस्रिने जन्तुहरू अनि आकाशमा उड्ने प्राणीहरू परमेश्वरले नष्ट पार्नु भयो। यी सब प्राणीहरूलाई पृथ्वीबाट नष्ट गरियो। केवल नूह र उनीसँगै जहाजमा भएका मानिसहरू र अन्य प्राणीहरू मात्र जीवित रहे। एक सय पचास दिनसम्म परेको पानी पृथ्वीमाथि बगिरह्यो।
उत्पत्ति 7:6-24 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
नोआको उमेर ६०० वर्षको हुँदा पृथ्वीमा जलप्रलय भएको थियो। नोआ, उनकी स्वास्नी, उनका छोराहरू र बुहारी, जलप्रलयको भलदेखि बाँच्न नाउभित्रै गए। परमेश्वरले आज्ञा गर्नुभएझैँ शुद्ध वा अशुद्ध हरथरीका पशु-पंक्षी, जोडी-जोडी, भाले-पोथी गरी नोआसित नाउमा पसे। सात दिनपछि पानीको भल आयो। नोआ ६०० वर्षको हुँदा दोस्रो महिनाको सत्रौँ दिनमा पृथ्वीमुनिका अगाध पानीका मूलहरू फुटे, आकाशका पानीका ढोकाहरू सबै खुले र दिनरात चालीस दिनसम्म पानी परिरह्यो। त्यही दिन नोआ र उनकी स्वास्नी आफ्ना तीन जना छोराहरू शेम, हाम र येपेत र तिनका स्वास्नीहरूसँगै लिएर नाउमा पसे। तिनीहरूसँग हरथरीका ठूला-साना घरेलु र बन-पशुहरू र हरथरीका पंक्षीहरू पनि नाउमा गए। परमेश्वरले आज्ञा गर्नुभएअनुसार हरप्रकारका जिउँदा प्राणीहरू जोडी-जोडी, भाले-पोथी गरी, नोआसित नाउमा गए। त्यसपछि परमप्रभुले ढोका बन्द गरिदिनुभयो। जलप्रलय ४० दिनसम्म भइरह्यो। पानी बढेर यति गहिरो भयो कि नाउ उचालिएर तैरन लाग्यो। पानी अझै गहिरो भयो र नाउ माथि-माथि बग्न थाल्यो। पानी यति गहिरो भयो कि अग्लाभन्दा अग्ला पहाडहरू पानीमा डुबे। पानी अझै बढ्दै गयो र पर्वतहरूमाथि सात मिटर अग्लोसम्म पुग्यो। पृथ्वीमा भएका जम्मै जिउँदा प्राणीहरू सबै चरा-चुरुङ्गी, पशु र नर-नारीहरू मरे। पृथ्वीमा भएका सास फेर्ने प्राणीहरू सबै मरे। पृथ्वीमा भएका सबै जिउँदा प्राणीहरू मानिस, पशु र पंक्षीहरूलाई परमप्रभुले नाश पार्नुभयो। नोआ र उनीसित नाउमा हुनेहरू मात्र जिउँदा छोडिए। पानी १५० दिनसम्म घटेन।