उत्‍पत्ति 6:13-22

उत्‍पत्ति 6:13-22 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

यसकारण परमेश्‍वरले नोआलाई भन्‍नुभयो, “सबै मानिसहरूको अन्‍त्‍य गर्ने मैले अठोट गरेको छु, किनभने पृथ्‍वी तिनीहरूद्वारा उपद्रवले भरिएको छ। हेर, म तिनीहरूलाई पृथ्‍वीसमेत नाश गर्नेछु। तैंले गोपेर काठको एउटा जहाज बनाउनू। जहाजमा कोठा-कोठा बनाउनू र त्‍यसलाई भित्र-बाहिर अलकत्राले लिप्‍नू। तैंले त्‍यो यसरी बनाउनू: जहाजको लमाइ एक सय चालीस मिटर, चौड़ाइ तेईस मिटर र उचाइ चौध मिटरको होस्‌। जहाजमा उज्‍यालो आओस्‌ भनेर त्‍यो मास्‍तिर माथिबाट एक हात छोड़ेर टुङ्ग्याउनू। जहाजको ढोका त्‍यसको एकापट्टि राख्‍नू। पहिलो, दोस्रो र तेस्रो तला भएको त्‍यो बनाउनू। जीवनको सास हुने आकाशमुनिका सबै प्राणीलाई म सर्वनाश पार्नलाई पृथ्‍वीमा जलप्रलय ल्‍याउनेछु, र पृथ्‍वीमा भएको हरेक प्राणी मर्नेछ। तर तँसँगचाहिँ म आफ्‍नो करार स्‍थापित गर्नेछु। तँ तेरा छोराहरू, तेरी पत्‍नी र तेरा बुहारीहरूसमेत जहाजमा आउनेछस्‌। सबै जीवित प्राणीमध्‍ये हरेक जातका भाले र पोथी दुई-दुई गरी जहाजमा ले, र तिनीहरू पनि तँसँग बाँचिरहून्‌। पक्षीहरूमध्‍ये तिनीहरूका जात-जातअनुसार, पशुहरूमध्‍ये तिनीहरूका जात-जातअनुसार र जमिनमा घस्रने सबै प्राणीहरूमध्‍ये जात-जातअनुसार— सबै थरीका दुई वटा— तिनीहरू जीवित रहनलाई तँकहाँ आउनेछन्‌। हरेक किसिमका आहारा पनि तैंले आफ्‍नो साथमा जम्‍मा गरेर राख्‍नू। ती तेरो र तिनीहरूका निम्‍ति आहार हुनेछन्‌।” परमेश्‍वरले नोआलाई आज्ञा गर्नुभएबमोजिम तिनले सबै गरे।

शेयर गर्नुहोस्
उत्‍पत्ति 6 पढ्नुहोस्

उत्‍पत्ति 6:13-22 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

यसकारण परमेश्‍वरले नोआलाई भन्‍नुभयो, “म सबै मानिसहरूको अन्त्य गर्दैछु; किनकि तिनीहरूको कारण पृथ्वी हिंसाले भरिएको छ। म निश्‍चय नै तिनीहरू र पृथ्वीलाई नष्‍ट गर्दैछु। यसकारण तैँले आफ्नो निम्ति गोपेर काठको एउटा जहाज बनाउनू; अनि त्यसमा कोठाहरू बनाएर त्यसलाई भित्र र बाहिर अलकत्रले लिप्नू। तैँले त्यसलाई यसरी बनाउनू—त्यो जहाज तीन सय क्यूबिट लामो, पचास क्यूबिट चौडा र तीस क्यूबिट अल्गो होस्। त्यसको छानो बनाउनू र छानामुनि वरिपरि एक क्यूबिट खुल्‍ला छोड्नु। जहाजको एक छेउमा एउटा ढोका राख्नू र, तल्‍लो, बीचको र माथिल्‍लो तला भएको बनाउनू। म आकाशमुनि भएका सम्पूर्ण प्राणीहरू, जीवनको सास हुने प्रत्येक प्राणीलाई नाश गर्नका निम्ति पृथ्वीमा जलप्रलय ल्याउनेछु। पृथ्वीमा भएको प्रत्येक चीज नष्‍ट हुनेछ। तर तँसितचाहिँ म मेरो करार स्थापित गर्नेछु; अनि तँ जहाजभित्र पस्‍नेछस्—तँ र तेरा छोराहरू, तेरी पत्नी र तेरा बुहारीहरू पनि। तँसित जीवित रहनलाई आफूसितै भाले र पोथी गरेर सबै जीवित प्राणीहरूका एक-एक जोडीलाई जहाजभित्र लैजानू। हरेक प्रकारका चराचुरुङ्गी, हरेक प्रकारका जनावर, र जमिनमा चलहल गर्ने हरेक प्रकारको प्राणीको एक-एक जोडी गरी तँसित जीवित रहनलाई आउनेछन्। तैँले आफ्ना निम्ति र तिनीहरूका निम्ति हरेक प्रकारका खानेकुरा लैजा, र जम्मा पारिराख्।” नोआले परमेश्‍वरले तिनलाई आज्ञा गर्नुभएअनुसार सबै गरे, हो, उनले त्यो गरे।

शेयर गर्नुहोस्
उत्‍पत्ति 6 पढ्नुहोस्

उत्‍पत्ति 6:13-22 पवित्र बाइबल (NERV)

तब परमेश्वरले नूहलाई भन्नुभयो, “मानिसहरूको हिंसाले पृथ्वी भरिएकोले यसमा भएका सबै प्राणीहरूलाई नष्ट पार्न मैले निर्णय लिएँ। यसर्थ पृथ्वीसितै तिनीहरू सबैलाई म झट्टै नष्ट पार्नेछु। तैंले गोपेर काठको एउटा जहाज बनाउनु र त्यसमा कोठाहरू बनाउनु र त्यसको भित्र र बाहिर पट्टी अलकत्राले लिप्नु। “त्यो जहाज 300 हात लामो, 50 हात चौंडा र 30 हात अल्गो बनाउनु र त्यसमा छाना लगाउनु। तब छानाको एक हात तल झ्याल बनाउँनु। त्यस जहाजको एकापट्टी एउटा ढोका राख्नु र त्यसमा पहिलो, दोस्रो र तेस्रो तला बनाउनु। “मेरो भागमा म यस धर्तीका सबै प्राणीहरूको सर्वनाश पार्न खतरनाक बाढी ल्याइरहेको छु। सजीव वस्तुहरू मर्नेछन्। तर म तँसँग एउटा करार गर्नेछु। जहाज भित्र पस्दा तैंले आफूसँग आफ्नो छोराहरू, पत्नी, अनि बुहारीहरू लानु। अनि आफूसँग प्रत्येक जोडी जीवित प्राणी जहाज भित्र लानु, ती जीवित प्राणीहरू सबै भाले-पोथीको जोडी होस् र तिनीहरू पनि तिमीहरूसितै बाँचिरहुन्। जीवन रक्षाको निम्ति प्रत्येक जातका पशु चरा र घस्रने प्राणीहरू त्यहाँ तिमीहरूसित रहनेछन्। अनि तेरो भागमा सबै प्रकारको खाद्य सामग्री भोजनको लागि जम्मा गर्नु। तेरो र ती सब प्राणीहरूका निम्ति भोजन हुनेछ।” परमेश्वरको आज्ञा अनुसार नूहले सबै काम पूरा गर्यो।

शेयर गर्नुहोस्
उत्‍पत्ति 6 पढ्नुहोस्

उत्‍पत्ति 6:13-22 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

परमेश्‍वरले नोआलाई भन्‍नुभयो, “मैले सारा मानवजातिको अन्‍त्‍य गर्ने पक्‍का विचार गरेको छु। म तिनीहरूलाई नाश पार्नेछु किनभने तिनीहरूले गरेका हिँसाका कामले यो संसार भरिएको छ। तैँले आफ्‍नो लागि असल काठको एउटा ठूलो जहाज बनाउनू, त्‍यसमा कोठा-कोठा बनाएर भित्र-बाहिर दुवैपट्टि अलकत्राले पोत्‍नू। त्‍यसलाई १३३ मिटर लामो, २२ मिटर चौडा र १३ मिटर अग्‍लो बनाउनू। जहाजमा छाना हाल्‍नू र छाना र छेउका भित्ताबीच ४४ सेन्‍टिमिटर ठाउँ छोडिदिनू। त्‍यो तीनतले बनाउनू र एकापट्टि ढोका राख्‍नू। सबै जिउँदा प्राणीहरूलाई नाश पार्न म पृथ्‍वीमा जलप्रलय ल्‍याउनेछु। पृथ्‍वीमा भएका सबै थोक र प्राणी मर्नेछन्, तर तँसँग म एउटा करार बाँध्‍नेछु। आफ्‍नी स्‍वास्‍नी र छोरा-बुहारीहरू सँगै लिएर तँ भित्र जानू। हरथरीका पशु-पंक्षीहरूलाई जीवित राख्‍न भाले र पोथी गरी एक-एक जोडी तँसँग जहाजमा लानू। आफ्‍ना लागि र ती पशु-पंक्षीका लागि सबै प्रकारका खाना आफूसँग राख्‍नू।” परमेश्‍वरले आज्ञा गर्नुभएअनुसार सबै कुरा नोआले गरे।

शेयर गर्नुहोस्
उत्‍पत्ति 6 पढ्नुहोस्