उत्पत्ति 42:18-24
उत्पत्ति 42:18-24 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तेस्रो दिन योसेफले उनीहरूलाई भने, “यसो गर, र तिमीहरू बाँच्नेछौ, किनकि म परमेश्वरसँग डराउँछु। यदि तिमीहरू ईमानदार हौ भने तिमीहरू दाजुभाइहरूमध्ये एक जना यहाँ थुनामा बस, र बाँकीचाहिँ अनिकालमा तिमीहरूका परिवारको भोक मार्नलाई अनाज बोकेर जाओ। तर तिमीहरूको कान्छो भाइलाई यहाँ मकहाँ ल्याओ। यसरी तिमीहरूको कुरा साँचो ठहरिनेछ, र तिमीहरू मर्नेछैनौ।” उनीहरूले त्यसै गरे। उनीहरू एकले अर्कालाई भने, “साँच्ची नै हाम्रो भाइको विषयमा हामी दोषी छौं, किनकि त्यसले हामीसित बिन्ती गर्दा हामीले त्यसको मनको व्याकुलता देखेर पनि त्यसको कुरा सुनेनौं। यसकारण यो सङ्कष्ट हामीमाथि पर्न आएको हो।” रूबेनले उनीहरूलाई जवाफ दिए, “त्यस ठिटाको विरुद्ध अपराध नगर भनी मैले तिमीहरूलाई भनेको होइन? तर तिमीहरूले सुन्दै सुनेनौ। अब त्यसका रगतको बदला हामीले भोग्नुपर्छ।” योसेफ र तिनका दाजुभाइहरूका बीचमा दोभासे भएको हुनाले उनीहरूको कुरा योसेफले बुझ्छन् भनी उनीहरूलाई थाहा भएन। योसेफ उनीहरूबाट एकातर्फ फर्केर रोए। तर फेरि उनीहरूतिर फर्केर तिनले उनीहरूसित कुरा गरे। तिनले उनीहरूबाट शिमियोनलाई लिएर उनीहरूका आँखाकै सामुन्ने उनलाई बाँधे।
उत्पत्ति 42:18-24 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तेस्रो दिनमा योसेफले तिनीहरूलाई भने “म परमेश्वरसित डराउने मानिस हुँ। एउटा काम गर्छौ भने म तिमीहरूलाई छोडिदिनेछु। तिमीहरू इमानदार मानिसहरू हौ भनी बुझाउन एक भाइ यहाँ थुनामा बस, अरूचाहिँ तिमीहरूको भोको परिवारको लागि आफूले किनेको अन्न लिएर जाओ। तिमीहरूको कान्छो भाइलाई मकहाँ ल्याओ। अनि तिमीहरूले साँचो कुरा भनेका रहेछौ भनी प्रमाण हुनेछ र तिमीहरूको ज्यान बाँच्नेछ।” तिनीहरू राजी भएर, आपसमा भन्न लागे, “हामीले आफ्ना भाइलाई के गरेका थियौं, त्यसको फल भोग्दै छौं। हामीले त्यसको दु:ख देखी मद्दतको लागि बिन्ती सुनेर पनि त्यसको कुरा मानेनौं। त्यसकारण आज हामीलाई यो विपद् आइपर्यो।” रूबेनले भने, “मैले त केटाको केही क्षति नगर्नू भनी तिमीहरूलाई भनेको थिएँ। तर तिमीहरूले मेरो कुरा सुनेनौ र आज त्यसको मृत्युको दाम हामीले चुकाउनुपर्छ।” तिनीहरू कुराकानी गर्दै थिए, योसेफले बुझे तर तिनीहरूले चाहिँ चाल पाएनन् किनभने तिनीहरू उनीसँग दोभासेको मद्दतमा कुरा गर्दै थिए। तिनीहरूलाई छोडेर गए र योसेफ रुन लागे। फेरि कुरा गर्न सक्ने भएपछि तिनी फर्की आए र तिनीहरूको सामुन्ने शिमियोनलाई लिएर बाँधे।
उत्पत्ति 42:18-24 पवित्र बाइबल (NERV)
तीन दिनपछि यूसुफले तिनीहरूलाई भने, “म परमेश्वरको डर मान्ने मानिस हुँ। मैले भनेको मान तब म तिमीहरूलाई बाँच्ने मौका दिन्छु। यदि तिमीहरू साँच्चै नै इमानदार मानिसहरू हौ भने, तिमीहरू मध्ये एक भाइ यही झ्यालखानमा रहन सक्छ। अनि अन्य भाइहरू तिमीहरूका मानिसहरूको निम्ति अन्न लिएर फर्किन सक्छन्। तर तिमीहरूको कान्छो भाइ लिएर तिमीहरू फर्की आउनै पर्छ। तब मात्र म थाहा पाउने छु तिमीहरूले साँच्चो बोलिरहेका छौ अनि तिमीहरूले मर्नु पर्ने छैन।” दाज्यू-भाइहरू यसमा सहमत भए। तिनीहरूले एकार्कामा कुरा गरे, “हामीले हाम्रो भाइ यूसुफलाई नराम्रो कुरा गरेकोले दण्ड भोगिरहेका छौं। उनले भोगेको कष्ट हामीले देख्यौं, उनले आफ्नो बचाऊको निम्ति हामीसित प्रार्थना गर्यो तर हामीले उसको प्रार्थना अस्वीकार गर्यौ। यसर्थ अहिले हामीहरूले कष्ट भोगिरहेका छौं।” त्यसपछि रूबेनले तिनीहरूलाई भने, “मैले त्यस केटोलाई नराम्रो केही नगर्नु भनी तिमीहरूलाई भनेको थिएँ। तर तिमीहरूले मेरो सल्लाह मानेनौ। यसर्थ अहिले उसको मृत्युको सट्टामा हामी दण्ड भोगिरहेका छौं।” आफ्ना दाज्यू-भाइहरूसित कुरा गर्नको निम्ति यूसुफले एकजना अनुवादक राखेका थिए। यसर्थ उनका भाइहरूले तिनीहरूको भाषा बुझे भनी जान्न सकेनन्। तर तिनीहरूले के-के कुरा गरे तिनले सुने र बुझे। तिनीहरूको कुराले यूसुफ अत्यन्तै दुःखी भए। यसर्थ उनी तिनीहरूबाट अलग भए अनि रोए। केही क्षणपछि यूसुफ तिनीहरू समक्ष गए। उनले शिमोनलाई समाते अनि बाँधे तर अरू दाज्यू भाइहरूले हेरिरहे।