उत्पत्ति 41:41-57
उत्पत्ति 41:41-57 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अनि फारोले योसेफलाई भने, “हेर, मैले तिमीलाई सम्पूर्ण मिश्रदेशमाथि अधिकार दिएको छु।” तब फारोले आफ्नो छाप-औँठी आफ्नो औँलाबाट फुकालेर योसेफको औँलामा लगाइदिए, र तिनलाई मलमलको लुगा पहिराइदिए, र तिनको गलामा सुनको सिक्री लगाइदिए। तिनलाई फारोले आफ्नो दोस्रो प्रशासकझैँ रथमा सवार गराए। मानिसहरू तिनको अगिअगि “घुँड़ा टेकेर झुक” भनी कराउँदै हिँड़े। यसरी फारोले तिनलाई सम्पूर्ण मिश्रदेशमाथि अधिकार दिए। फारोले फेरि पनि योसेफलाई भने, “म फारो हुँ, तर म यो भन्दछु कि तिम्रो इच्छाबाहेक अरू कुनै मानिसले मिश्रदेशभरि केही गर्न पाउनेछैन।” फारोले योसेफको नाउँ सापनत-पानेह राखे, र उनले तिनलाई ओनका पूजाहारी पोतीपेराकी छोरी आसनतसँग विवाह गरिदिए। त्यसपछि योसेफ मिश्रभरि दौड़ाहा गर्न लागे। मिश्रका राजा फारोको राजसेवामा नियुक्त हुँदा योसेफ तीस वर्ष पुगेका थिए। अनि योसेफ फारोको सम्मुखबाट निस्केर सारा मिश्रदेशभरि दौड़ाहा गर्न लागे। सहकालका सात वर्षसम्म जमिनले प्रशस्त उब्जनी दियो। तिनले सहकालका सात वर्षसम्म मिश्रका सबै अन्न जम्मा गरे, र सहर-सहरमा अनाजहरू थन्क्याए। तिनले हरेक सहरमा वरिपरिका खेतहरूका अनाज थन्क्याएर राखे। योसेफले समुद्रका बालुवासरी प्रशस्त मात्रामा अनाजहरू सञ्चय गरे, यहाँसम्म कि ती अघोर प्रशस्त भएको कारणले तिनले हिसाब राख्न पनि छोड़िदिए। अनिकालका वर्ष आउन अघि ओनका पूजाहारी पोतीपेराकी छोरी आसनतबाट योसेफका दुई छोराहरू जन्मिसकेका थिए। जेठाको नाउँ योसेफले मनश्शे राखे, र तिनले भने, “परमेश्वरले मेरा सबै कष्ट र मेरा बुबाका घरको सम्झना मलाई बिर्साउनुभएको छ।” अर्काको नाउँ तिनले एफ्राइम राखे, र तिनले भने, “परमेश्वरले मेरो कष्टको देशमा मलाई फलिफाप गराउनुभएको छ।” मिश्रको सात वर्षको ठूलो सहकालको अन्त भयो। तब योसेफले भनेझैँ अनिकालका सात वर्ष आउन लाग्यो। सबै देश-देशमा अनिकाल पर्यो, तर सारा मिश्रमा चाहिँ अन्न थियो। जब सारा मिश्र अनिकालले पीडित भयो, तब प्रजाहरूले फारोसँग अनाजको निम्ति बिन्ती चढ़ाए। फारोले सबै मिश्रीहरूलाई भने, “योसेफकहाँ जाओ। तिनले तिमीहरूलाई जे गर्नु भन्छन् त्यही गर।” जब सारा देशभरि अनिकाल पर्यो, तब योसेफले सबै धनसारहरू खोलेर सबै मिश्रीहरूलाई अनाज बेच्न सुरु गरे, किनकि मिश्रभरि घोर अनिकाल परेको थियो। यसैले सबै देशका मानिसहरू मिश्रमा योसेफकहाँ अनाज किन्न आए। किनभने पृथ्वीभरि नै भयङ्कर अनिकाल परेको थियो।
उत्पत्ति 41:41-57 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यसकारण फारोले योसेफलाई भने, “अबदेखि मैले तिमीलाई सम्पूर्ण इजिप्टको जिम्मेवारी सुम्पेको छु।” तब फारोले आफ्नो औँलाबाट छाप-औँठी झिकेर योसेफका औँलामा लगाइदिए। उनले तिनलाई मलमलको लबेदा पहिर्याइदिए; र तिनको गलामा सुनको सिक्री लगाइदिए। उनले तिनलाई आफ्नो दोस्रो दर्जाको अधिकारीको रूपमा रथमा सवार गराए; अनि मानिसहरू उनका अगि-अगि “बाटो छोड्!” भन्दै कराए। यसरी उनले तिनलाई सम्पूर्ण इजिप्ट देशमाथि अख्तियारवाला बनाए। तब फारोले योसेफलाई भने, “म फारो हुँ; तर तिम्रो हुकुमविना इजिप्टभरि कसैले पनि हात वा खुट्टा उठाउन पाउनेछैन।” फारोले योसेफलाई सापनान-पानेह नाम दिए; अनि ओनका पुजारी पोतीफेराकी छोरी आसनतलाई तिनकी पत्नी हुनलाई दिए। अनि योसेफले इजिप्टभरि भ्रमण गरे। इजिप्टका राजा फारोको सेवामा प्रवेश गर्दा योसेफ तीस वर्ष पुगेका थिए। अनि योसेफ फारोको उपस्थितिबाट निस्किएर गए, र इजिप्टभरि भ्रमण गरे। सात वर्षको सहकालमा देशमा प्रशस्त उब्जनी भयो। योसेफले ती सात वर्षहरूमा इजिप्टमा प्रशस्त गरी उब्जिएका सबै अन्न ती जम्मा गरे, र सहरहरूमा जम्मा गरे। प्रत्येक सहरका छेउछाउका खेतहरूमा भएका उब्जनी तिनले सहरहरूमा थन्क्याए। योसेफले समुद्रको बालुवासरह धेरै परिमाणमा अन्न जम्मा गरे; त्यो अन्न यति धेरै थियो कि नाप्न पनि नसकेकोले तिनले त्यसको हिसाब राख्नै छोडिदिए। अनिकालका वर्षहरू आउनुभन्दा अगि ओनका पुजारी पोतीफेराकी छोरी आसनतबाट योसेफका दुई छोराहरू जन्मे। योसेफले जेठोको नाम मनश्शे राखेर यसो भने, “योचाहिँ परमेश्वरले मेरा सबै कष्ट र मेरा पिताका सबै घरानालाई बिर्सन दिनुभएको कारणले गर्दा हो।” दोस्रो छोराको नाम तिनले एफ्राइम राखेर भने, “योचाहिँ मेरो कष्टको देशमा परमेश्वरले मलाई फलिफाप गराउनुभएको कारणले गर्दा हो।” इजिप्टमा सात वर्षको सहकाल समाप्त भयो; अनि योसेफले भनेझैँ सात वर्षको अनिकाल सुरु भयो। अरू सबै देशहरूमा अनिकाल पर्यो, तर इजिप्टभरि चाहिँ भोजन थियो। जब सारा इजिप्टका मानिसहरूले अनिकालको अनुभव गर्न थाले, तब मानिसहरू भोजनका लागि फारोसित बिलौना गर्न लागे। तब फारोले सबै इजिप्टियनहरूलाई भने, “योसेफकहाँ जाओ, र तिनले तिमीहरूलाई जे भन्छन्, त्यही गर।” यसरी अनिकाल सारा देशभरि फैलियो। योसेफले सम्पूर्ण भण्डारहरू खोलिदिए, र इजिप्टियनहरूलाई अन्न बेचे; किनकि इजिप्टभरि नै घोर अनिकाल फैलिएको थियो। अनि सबै देशका मानिसहरू योसेफबाट अन्न किन्नलाई इजिप्टमा आए; किनकि संसारभरि नै जताततै घोर अनिकाल परेको थियो।
उत्पत्ति 41:41-57 पवित्र बाइबल (NERV)
तब फिरऊनले यूसुफलाई फेरि भने, “मैले तिमीलाई समस्त मिश्र देशको राज्यपाल बनाएको छु।” अनि फिरऊनले आफ्नो राजकीय मुकुटको छाप भएको औंठी यूसुफलाई दिए, उसलाई राम्रो रेशमी लुगा लगाई दिए अनि फिरऊनले उसको गलामा सुनको एउटा सिक्री लगाई दिए। जब तिनिहरू रथको परेडमा चढे। फिरऊनले यूसुफलाई आफ्नो रथको पछाडी राखे अनि “यूसुफलाई बाटो देऊ” भन्दै कराउँदै हिँडे त्यसरी फिरऊनले यूसुफलाई सम्पूर्ण मिश्रदेशको राज्यपाल बनाए। राजा फिरऊनले तिनलाई भने, “म फिरऊन राजा हुँ। तिम्रो अनुमति बिना मिश्र देशको भूमिमा कसैले पनि हात अथवा खुट्टा हाल्न पाउने छैन।” त्यसपछि फिरऊनले उनलाई अर्को नाउँ साप्नत-पानेह दिए। फिरऊनले उसको विवाह आसनत नाउँ भएकी आइमाईसित गराए जो ओन शहरका पूजाहारी पोतीफरकी छोरी थिइ। यस प्रकार यूसुफ समस्त मिश्र देशका राज्यपाल भए। मिश्र देश भरी भ्रमणमा निस्के। जब यूसुफले मिश्रका राजाको सेवा गर्न शुरू गरे। यूसुफ तीस बर्षका हुँदा निस्के अनि सारा मिश्र देशको भ्रमण गरे। सहकालको सात बर्षको समयसम्म देशमा राम्रो उब्जनी भयो। अनि तिनले ती बर्षहरूमा अन्नहरू जोगाएर शहरहरूमा जम्मा गरे। प्रत्येक शहरमा त्यस शहरको वरिपरिको भूमिबाट उब्जिएको अन्न जम्मा गराए। समुद्रको बालुवाको थुप्रो झैं अन्न यूसुफले थुपारे। तिनले थुपारेको अन्न यति विध्न थियो ओजन गर्न असम्भव थियो। यूसुफकी पत्नी आसनत थिइन् अनि तिनी ओन शहरका पूजाहारी पोतीफेराकी छोरी थिइन। अनिकाल लाग्न दुइ बर्ष अघाडि यूसुफ र आसनतका दुइ छोराहरू जन्मे। यूसुफले आफ्नो पहिलो छोरोको नाउँ मनश्शे राखे। यूसुफले उसको यस्तो नाउँ राखे कारण उनले भने, “मैले जति कष्ट पाएको थिएँ परमप्रभुले सबै देख्नु भयो र मेरो घरको सम्झना पनि विर्साइ दिनु भयो।” तिनले आफ्नो दोस्रो छोरोको नाउँ एप्रैम राखे। तिनले उसको नाउँ यस्तो राखेको कारण बताए, “परमेश्वरले मलाई सफल तुल्याउनु भयो, जुन ठाउँमा मैले कष्ट भोगें।” सात बर्षसम्म मानिसहरूले जति चाहान्थे खाने अन्न पाए तर त्यसपछि ती बर्षहरू बिते। अनि यूसुफको भविष्यवाणी अनुसार नै सात बर्षको अनिकाल शुरू भयो। यस देशहरूका सबै अंञ्चलहरूमा खाद्यको अभाव भयो। तर मिश्रमा अन्न प्रचूर थियो। यस्तो भएको कारण यूसुफले अन्न जम्मा गरेर राखेका थिए। जब अनिकाल शुरू भयो मिश्रका मानिसहरूले फिरऊनलाई अन्नको दावी गरे अनि तिनले आफ्नो देशका मानिसहरूलाई भने, “यूसुफकहाँ जाऊ अनि सोध के गर्नु पर्छ।” प्रत्येक ठाउँमा अनिकाल चलिरहेको थियो। यसर्थ यूसुफले मानिसहरूलाई गोदामबाट अन्न दिए। तिनले जोगाएर राखेको अन्न मिश्र देशका मानिसहरूलाई बेचे। मिश्र देशमा नै घोर अनिकाल लाग्यो। प्रत्येक यूसुफकहाँ अन्न किन्न आए, किनभने अनिकाल सबै ठाउँमा भयंकर थियो।
उत्पत्ति 41:41-57 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तिमीलाई सारा मिश्रदेशमाथि बडाहाकिम खटाउँछु।” तब राजाले आफ्नो औँलादेखि शिल-मोहोर भएको छाप औँठी फुकालेर योसेफको औँलामा लाइदिए र राम्रो मलमलको वस्त्र पहिराइदिए अनि गलामा सुनको सिक्री लगाइदिए। उनलाई राजाले आफ्ना दोस्रो रथमा सवारी गराए र राजाको पहरेदारहरू उनको अघि-अघि “बाटो छोड्, बाटो छोड्,” भन्दै हिँडे। यसरी योसेफ सारा मिश्रदेशमाथि बडा-हाकिम भए। राजाले उनलाई भने, “म राजा हुँ तर तिम्रो अनुमतिबिना कसैले आफ्नो हात वा खुट्टा उठाउन पनि पाउनेछैन।” तिनले योसेफलाई मिश्री नाम सापनत-पानेह राखिदिए र ओनका पूजाहारी सहरको पुरोहित पोतीपेराकी छोरी आसनतसित उनको विवाह गरिदिए। योसेफ मिश्रका राजाको सेवामा खटाइँदा तीस वर्ष पुगेका थिए। राजाको दरबारबाट निस्केर उनले सारा देशमा यात्रा गरे। सात वर्ष सहकालमा जमिनबाट प्रशस्त उब्जनी भयो। ती सबै योसेफले बटुलेर सहर-सहरका ढुकुटीमा जम्मा गरे। हरेक सहरमा त्यसको वरिपरिको खेतमा अन्न बटुलिन्थे। यति बिघ्न अन्न उम्रियो कि योसेफले तौलन पनि छोडिदिए। ती समुद्रको बालुवासरि भएका थिए। अनिकाल सुरु हुनुभन्दा अघि आसनतले योसेफका दुई भाइ छोराहरू जन्माइन्। उनले भने, “परमेश्वरले मेरो सारा दु:ख-कष्ट र बुबाको परिवारको सम्झना बिर्सन लाउनुभयो र उनले जेठो छोराको नाम मनश्शे राखे। उनले फेरि यसो पनि भने, परमेश्वरले मलाई कष्ट पाएको देशमा छोराहरू दिनुभयो र दोस्रो छोराको नाम एफ्राइम राखे। मिश्रमा सात वर्षको सहकाल सकियो। अब सात वर्षको अनिकाल सुरु भयो। योसेफले भनेजस्तै भयो। अरू सबै देशहरूमा अनिकाल पर्यो तर मिश्रभरि अन्न थियो। मिश्रीहरू पनि भोकले छट्पटाए र राजालाई अन्न माग्न थाले। तिनले आफ्ना प्रजालाई योसेफकहाँ पठाए र उनले भनेअनुसार गर्नू भनी आज्ञा दिए। अनिकाल बढ्दै गयो र सारा देशमा फैलियो। यसकारण योसेफले सम्पूर्ण ढुकुटीहरू खोलेर मिश्रीहरूलाई अन्न बेच्न लाए। पृथ्वीभरिका मानिसहरू मिश्रमा योसेफकहाँ अन्न किन्न आए किनभने चारैतिर भयङ्कर अनिकाल मच्चिएको थियो।