YouVersion लोगो
खोज आइकन

उत्‍पत्ति 40:1-19

उत्‍पत्ति 40:1-19 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

केही समयपछि मिश्रका राजाका मुख्‍य पियाउने र मुख्‍य पकाउनेले आफ्‍ना मालिक मिश्रका राजाको विरुद्धमा अपराध गरे। फारो आफ्‍ना यी दुई अधिकृतहरू, अर्थात्‌ मुख्‍य पियाउने र मुख्‍य पकाउनेसँग क्रोधित भए। उनले उनीहरूलाई अङ्गरक्षकका कप्‍तानको घर, अर्थात्‌ झ्‍यालखानको पहरामा हालिदिए। योसेफ पनि त्‍यहीँ नै थुनामा थिए। अङ्गरक्षकका कप्‍तानले उनीहरूलाई योसेफको जिम्‍मामा राखिदिए, र तिनले उनीहरूको रेखदेख गर्थे। केही समयसम्‍म उनीहरू पहरामा नै बसे। एक पल्‍ट एकै रात झ्‍यालखानमा परेका मिश्रका राजाका मुख्‍य पियाउने र मुख्‍य पकाउने दुवैले आ-आफ्‍नो अर्थ भएका सपना देखे। बिहान आउँदा योसेफले उनीहरूलाई अफसोस गरिरहेका देखे। यसकारण तिनले आफ्‍ना मालिकको कैदमा रहेका फारोका ती दुई अधिकृतहरूलाई सोधे, “आज किन तपाईंहरूको मुख दु:खी छ?” उनीहरूले तिनलाई भने, “हामीले सपना देख्‍यौं, तर तिनको अर्थ खोलिदिने कोही पनि छैन।” योसेफले उनीहरूलाई भने, “सपनाको अर्थ त परमेश्‍वरकै हातमा हुँदैन र? मलाई तपाईंहरूका सपना बताउनुहोस्‌।” तब मुख्‍य पियाउनेले चाहिँ आफ्‍नो सपना योसेफलाई यसरी बताए। “मेरो सपनामा मेरो सामुन्‍ने एउटा दाखको बोट थियो। दाखको बोटमा तीन वटा हाँगाहरू थिए। त्‍यसमा टुसा पलाएपछि फूलहरू पनि ढकमक्‍क लागे, र दाखका झुप्‍पाहरू लटरम्‍म भएर पाके। फारोको कचौरा मेरो हातमा थियो, र मैले दाख लिई निचोरेर फारोको कचौरामा हालेँ, र त्‍यो कचौरा फारोको बाहुलीमा टक्र्याएँ।” योसेफले उनलाई भने, “यसको अर्थ यही हो; तीन हाँगाहरू भनेको तीन दिन हो। तीन दिनभित्रै फारोले तपाईंको शिर ठाड़ो पारिदिनुहुनेछ, र फेरि तपाईंको आफ्‍नो काम दिनुहुनेछ, र तपाईं अघि उहाँका मुख्‍य पियाउने हुनुहुँदाजस्‍तै फेरि फारोको कचौरा उहाँको बाहुलीमा टक्र्याउनुहुनेछ। तर जब तपाईंको भलो हुनेछ तब मलाई पनि सम्‍झनुहोला। कृपा गरी फारोसँग मेरो विषयमा कुरा उठाएर मलाई यस झ्‍यालखानबाट निकालिदिनुहोला, किनकि मलाई वास्‍तवमा हिब्रूहरूको देशबाट चोरी गरेर ल्‍याएको हो, र यहाँ पनि झ्‍यालखानमा पर्ने काम मैले केही गरेको थिइनँ।” सपनाको अर्थ असल भएको देखेर मुख्‍य पकाउनेले पनि योसेफलाई भने, “मैले पनि यस्‍तो एउटा सपना देखें। मेरो टाउकोमा रोटीका तीन वटा टोकरी थिए। माथिल्‍लो टोकरीमा फारोको निम्‍ति पकाएका अनेक किसिमका खानेकुरा थिए। तर मेरो टाउकोमा भएको टोकरीबाट चराहरूले ठुँगी-ठुँगी खाइरहेका थिए।” योसेफले भने, “यसको अर्थ यही हो: तीन वटा टोकरीहरूचाहिँ तीन दिन हो। तीन दिनभित्रै फारोले तपाईंको शिर उड़ाइदिनुहुनेछ, र तपाईंलाई रूखमा झुण्‍ड्याइदिनुहुनेछ। र चराहरूले तपाईंको मासु ठुँगी-ठुँगी खानेछन्‌।”

शेयर गर्नुहोस्
उत्‍पत्ति 40 पढ्नुहोस्

उत्‍पत्ति 40:1-19 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

केही समयपछि इजिप्टका राजाका मुख्य मद्य टक्र्याउने र मुख्य भान्सेले आफ्ना मालिक इजिप्टका राजाको विरुद्धमा अपराध गरे। फारो आफ्ना दुई पदाधिकारीहरू अर्थात् मुख्य मद्य टक्र्याउने र मुख्य भान्से दुवैसँग क्रोधित भए। अनि तिनीहरूलाई अङ्गरक्षकका सेनापतिको घरमा थुनामा राखिदिए, जहाँ योसेफ पनि थुनामा परेका थिए। अङ्गरक्षकका सेनापतिले तिनीहरूलाई पनि योसेफको जिम्मामा सुम्पिदिए, र तिनले उनीहरूको हेरचाह गरे। उनीहरू थुनामा रहेको केही समयपछि, ती दुई मानिसहरू—अर्थात् इजिप्टका राजाका मद्य टक्र्याउने र भान्से, जो झ्यालखानामा परेका थिए, ती दुवैले एकै रातमा आ-आफ्ना सपना देखे, र प्रत्येक सपनाको आ-आफ्नै अर्थ थियो। भोलिपल्ट बिहान जब योसेफ उनीहरूकहाँ आए, तिनले उनीहरूलाई उदास देखे। यसकारण तिनले आफ्ना मालिकका घरमा आफूसित थुनामा परेका फारोका पदाधिकारीहरूलाई सोधे, “आज तपाईंहरू किन यति उदास हुनुहुन्छ?” तिनीहरू दुवैले जवाफ दिए, “हामी दुवैले सपना देखेका छौँ, तर यसको अर्थ खोलिदिने कोही पनि छैन।” तब योसेफले तिनीहरूलाई भने, “के सपनाका अर्थहरू परमेश्‍वरबाट खोलिने होइनन् र? मलाई तपाईंहरूका सपनाहरू भन्‍नुहोस्।” यसकारण मुख्य मद्य टक्र्याउनेले योसेफलाई आफ्नो सपना भने। उनले तिनलाई भने, “मेरो सपनामा मैले मेरो सामु एउटा दाखको बोट देखेँ, अनि त्यस बोटमा तीन वटा हाँगाहरू थिए। जब त्यसमा टुसा पलाएर फूल फुल्यो, त्यसका झुप्पाहरू पाकेका दाखहरू भए। फारोको कचौरा मेरो हातमा थियो, मैले दाखहरू लिएँ, र ती दाखहरूलाई फारोको कचौराभित्र निचोरिदिएँ; अनि त्यो कचौरा तिनको हातमा टक्र्याइदिएँ।” योसेफले उनलाई भने, “यसको अर्थ यही हो, तीन हाँगाहरू तीन दिन हुन्। तीन दिनभित्र फारोले तपाईंलाई उच्‍च पार्नुहुनेछ, र तपाईंलाई तपाईंको पहिलेकै काममा नियुक्त गर्नुहुनेछ; अनि तपाईं तिनको मद्य टक्र्याउने हुँदा जे गर्नुहुन्थ्यो, त्यसरी नै तपाईंले फारोको कचौरा उहाँको हातमा टक्र्याउनुहुनेछ। तर जब तपाईंसँग सबै कुरा सही हुन्छ, मलाई सम्झनुहोला, र ममाथि दया देखाउनुहोला; फारोलाई मेरो विषयमा भनिदिनुहोस्, र मलाई यस झ्यालखानाबाट बाहिर निकालिदिनुहोस्। किनकि मलाई हिब्रूहरूको देशबाट बलपूर्वक ल्याइएको हो; अनि यहाँ पनि मैले झ्यालखानामा हालिने कुनै काम गरेको छैनँ।” जब योसेफले मुख्य मद्य टक्र्याउनेको सपनाको अर्थ राम्रो खोलिदिएको मुख्य भान्सेले देखे, उनले योसेफलाई भने, “मैले पनि एउटा सपना देखेँ: मेरो शिरमा रोटीले भरिएका तीन टोकरीहरू थिए। माथिल्‍लो टोकरीमा फारोका लागि पकाइएका सबै किसिमका खानेकुराहरू थिए; तर चराहरूले मेरो शिरमा भएको टोकरीबाट खाइरहेका थिए।” “यसको अर्थ यही हो,” योसेफले भने, “ती तीन टोकरीहरू तीन दिन हुन्। तीन दिनभित्र फारोले तपाईंको शिर काट्नुहुनेछ, र तपाईंको शरीरलाई एउटा रूखमा झुण्ड्याइदिनुहुनेछ। अनि चराहरूले तपाईंको शरीरलाई खानेछन्।”

शेयर गर्नुहोस्
उत्‍पत्ति 40 पढ्नुहोस्

उत्‍पत्ति 40:1-19 पवित्र बाइबल (NERV)

पछि, फिरऊनका दुइजना नोकरहरूले फिरऊनप्रति केही गल्ती गरे। तिनीहरूमध्ये एकजना फिरऊनका लागि रोटी पकाउने अनि अर्को उनको दाखरस दिने नोकर थिए। फिरऊन यी रोटी पकाउने र दाखरस सेवा गर्ने मानिसहरूसित क्रोधित भए। उनले तिनीहरूलाई फिरउनले यूसुफलाई जस्तै फोतिफरलाई झ्यालखानाम पठाए जसको मुख्य अगंरक्षकको घरमा जहाँ यूसुफ थियो। प्रमुखले ती दुइजनालाई यूसुफको हेरचाहमा राखि दिनुभयो। तिनीहरू यस झ्यालखानामा केही दिन थिए। एक दिन राती ती दुइजनाले सपना देखे। ती दुइजना नोकरहरू, एकजना रोटी पकाउने र अर्को दाखरस सेवा गराउने मिश्र देशका राजाका नोकरहरू थिए। प्रत्येक कैदीको आ-आफ्नो सपना थियो। अनि प्रत्येक सपनाको अलग्गै अर्थ थियो। यूसुफ भोलिपल्ट बिहानै तिनीहरूकहाँ गए। उनले तिनीहरूलाई साह्रै कष्टमा परेको भेट्टाए। यूसुफले सोध्यो, “आज तिमीहरू किन चिन्तित देखिन्छौ?” ती दुइजना मानिसहरूले उत्तर दिए, “हामीले राती सपना देख्यौं तर के सपना देख्यौं बुझ्न सकेनौं। त्यो सपनाको अर्थ हामीलाई बुझाउने अथवा व्याख्या गर्ने मानिस यहाँ कोही पनि छैन।” यूसुफले तिनीहरूलाई भने, “परमेश्वर नै एकजना हुनुहुन्छ जसले सपना बुझाउनु अथवा व्याख्या गर्न सक्नु हुन्छ। यसर्थ म बिन्ती गर्छु मलाई तिमीहरूको सपना बताऊ।” यसर्थ दाखरस सेवकले यूसुफलाई आफ्नो सपना बतायो। त्यसले भने, “मैले मेरो सपनामा दाखको बोट देखें। त्यस बोटमा तीनवटा हाँगाहरू थिए। कोपिला लागेपछि लगत्तै यसका फूलहरू प्रस्फूटित भए अनि पाकेको अंङ्गूरको गुच्छा भयो। मैले फिरऊनको प्याला समातेको थिए यसर्थ दाख टिपेर त्यो प्यालामा निचोरेर त्यो प्याला फिरऊनलाई दिएँ।” तब यूसुफले उत्तर दियो, “म सपनाको व्याख्या तिमीलाई दिनेछु। ती तीनवटा हाँगाहरूको अर्थ तीन दिन हो। तीन दिन शेष हुनुअघि फिरऊनले यहाँ आएर तिमीलाई आफ्नो काममा जान अनुमति दिनेछन्। तिमीले त्यही काम गर्नेछौ जुन काम तिमीले फिरऊनसित पहिले गरिरहेका थियौ। तर जब तिमी यहाँबाट मुक्ति पाउँछौ मलाई पनि सम्झना गर्नु। मलाई सहायता अनि मेरो भलाई गर। मेरो विषयमा फिरऊनलाई भन जसले गर्दा म यहाँबाट निस्कन सकुँ। मलाई हिब्रूहरूको भूमि, मेरो देशबाट बल प्रयोग गरेर निकालियो। अनि त्यस समयमा मैले कुनै भूल गरेको थिइनँ जसले गर्दा म कैदमा पर्नु पर्ने थियो।” त्यस रोटी पकाउनेले थाहा पायो अर्को नोकरको सपना राम्रो थियो। यसर्थ मुख्य रोटी पकाउनेले यूसुफलाई भने, “मैले पनि सपना देखें। मैले सपनामा देखें मेरो टाउको माथि रोटीले भरिएको तीनओटा डालाहरू थिए। सब भन्दा माथिको डालामा सबै प्रकारको पकाएको भोजन थियो। यो भोजन राजाको निम्ति थियो। तर भोजन चराहरूले खाइरहेका थिए।” यूसुफले उत्तर दियो, “सपनाको अर्थ के हुन्छ म बताउने छु। ती तीन डालाहरूको अर्थ तीन दिन हो। तीन दिनभित्र राजा यहाँ आउनु हुनेछ अनि तिमी कैदबाट मुक्त हुनेछौ। तब राजाले तिम्रो टाउको छिनाउनु हुनेछ अनि तिम्रो शरीर खुट्टामा झुण्ड्याउँनु हुनेछ अनि तिम्रो शरीरको मासु चराहरूले खानेछन्।”

शेयर गर्नुहोस्
उत्‍पत्ति 40 पढ्नुहोस्

उत्‍पत्ति 40:1-19 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

केही समयपछि मिश्रका राजाको मुख्‍य-भान्से र मुख्‍य-मद्य टक्र्याउने मानिसले काम बिगारेर राजालाई रिस उठाए। रिसमा राजाले ती दुईलाई पहरेदारको कप्‍तानको घरमा भएको झ्‍यालखानमा हालिदिए। योसेफ पनि त्‍यहीँ नै थुनामा परेका थिए। तिनीहरूले धेरै दिन कैदमा बिताउनुपर्‍यो। कप्‍तानले योसेफलाई तिनीहरूको चाकर खटाइदिए। एक रात झ्‍यालखानमा ती दुई भान्‍से र मद्य टक्र्याउने मानिसले एक-एक वटा तर भिन्‍नाभिन्‍नै अर्थ भएको सपना देखे। बिहान तिनीहरूकहाँ आउँदा योसेफले तिनीहरूलाई चिन्‍तामा परेका देखे। उनले सोधे, “आज किन यति चिन्‍तित देखा पर्नुहुन्‍छ?” तिनीहरूले उत्तर दिए, “हामी दुवैले राती एक-एक वटा सपना देख्‍यौं तर सपनाको अर्थ लाउने मानिस यहाँ कोही पनि छैन।” योसेफले भने, “सपनाको अर्थ खोल्‍ने ज्ञान त परमेश्‍वरले दिनुहुन्‍छ। मलाई तपाईंहरूको सपना भन्‍नुहोस् त।” मद्य टक्र्याउनेले भन्‍यो, “सपनामा मेरो अघि एउटा दाखमद्यको बोट थियो। त्‍यसमा तीनवटा हाँगाहरू थिए। बोटमा पात लाग्‍ने बित्तिकै फूलै-फूल र फल फलेर पाके। राजाको कचौरा मेरो हातमा थियो। मैले दाख टिपेर कचौरामा निचोरें र त्‍यो राजालाई टक्र्याएँ।” योसेफले भने, “त्‍यसको अर्थ यो हो, तीनवटा हाँगाहरूले तीन दिन बुझाउँछ। आजको तीन दिनमा राजाले तपाईंलाई कैददेखि छोडिदिनुहुनेछ। तपाईंलाई माफ गरेर तपाईंको आफ्‍नो काम दिनुहुनेछ। पहिलेजस्‍तै मद्य टक्र्याउन गएझैँ तपाईंले राजालाई उहाँको कचौरा फेरि टक्र्याउनुहुनेछ। तर कृपा गरी तपाईंको सुदिनमा मलाई सम्‍झनुहोला र दया गरी राजाकहाँ मेरो बारे भन्‍नुहोला र मलाई कैदबाट छुटाउनमा मद्दत गर्नुहोला। वास्‍तवमा मलाई हिब्रूहरूको देशबाट चोरी गरेर ल्‍याएको हो अनि यहाँ मिश्रदेशमा पनि मैले कैदमा पर्ने कुनै यस्‍तो काम गरेको छैनँ।” मद्य टक्र्याउने मानिसको सपनाको अर्थ असल लागेको देखेर मुख्‍य भान्‍सेले योसेफलाई भन्‍यो, “मैले पनि एउटा सपना देखें। मैले टाउकोमा तीनवटा रोटीका डालाहरू बोकेको थिएँ। माथिल्‍लो डालामा राजाको निम्‍ति सबै प्रकारका स्‍वादिला खानेकुराहरू राखिएका थिए र चरा-चुरुङ्गीहरूले ती ठुँगी खाँदै थिए।” योसेफले उत्तर दिए, “त्‍यसको अर्थ यो हो: तीनवटा डालाहरूले तीन दिन बुझाउँछ। तीन दिनमा राजाले तपाईंलाई कैददेखि छुटाउनुहुनेछ र तपाईंको शिर काट्‍न लगाउनुहुनेछ। त्‍यसपछि राजाले तपाईंको लाश खम्‍बामा झुन्‍ड्याइदिनुहुनेछ र चराहरूले तपाईंको मासु ठुँगी खानेछन्।”

शेयर गर्नुहोस्
उत्‍पत्ति 40 पढ्नुहोस्