उत्पत्ति 37:5-11
उत्पत्ति 37:5-11 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
एक पल्ट योसेफले एउटा सपना देखे। तिनले त्यो सपना आफ्ना दाजुहरूलाई भनेपछि तिनीहरू उनीसँग झन् बढ़ी दुश्मनी राख्न लागे। तिनले उनीहरूलाई भने, “मैले देखेको सपना सुन्नुहोस्। हामीहरू खेतमा अन्नका बिटा बाँधिरहेका थियौं। मेरो बिटाचाहिँ ठाड़ो भयो, र तपाईंहरूका बिटाहरू त्यसका चारैतिर जम्मा भएर मेरो बिटालाई दण्डवत् गरे।” तिनका दाजुहरूले तिनलाई भने, “के तँ हामीमाथि राज्य गर्ने भइस्? के तेरो प्रभुत्व हामीमाथि हुने भयो?” अनि तिनको सपना र तिनका कुराहरूको कारणले उनीहरूले तिनीसँग झन् दुश्मनी राखे। तब तिनले अर्को सपना देखे र तिनका दाजुहरूलाई यसो भनेर बताए, “सुन्नुहोस्, मैले अर्को सपना देखें। सूर्य, चन्द्र र एघार वटा ताराले मलाई दण्डवत् गरिरहेका थिए।” जब तिनले आफ्ना बुबा र दाजुहरूलाई यो सपना बताए, तब तिनका बुबाले तिनलाई हप्काएर भने, “तैंले देखेको यो सपना के हो? के साँच्ची नै म र तेरी आमा र तेरा दाजुहरू आएर भूइँसम्मै झुकेर तँलाई ढोग्नुपर्ने?” तब तिनका दाजुहरूले तिनलाई डाह गर्न लागे। तर तिनका बाबुले चाहिँ यी कुरा मनैमा राखे।
उत्पत्ति 37:5-11 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
योसेफले एउटा सपना देखे; अनि जब त्यो सपना तिनले आफ्ना दाजुहरूलाई सुनाए, तब उनीहरूले तिनलाई झन् धेरै घृणा गर्न थाले। तिनले उनीहरूलाई भने, “मैले देखेको सपना सुन्नुहोस्: हामी खेतमा अन्नका बिटाहरू बाँधिरहेका थियौँ; तब अकस्मात् मेरो बिटा उठेर सीधा खडा भयो; अनि तपाईंहरूका बिटाहरू मेरो बिटाका चारैतिर जम्मा भएर मेरो बिटालाई दण्डवत् गरे।” यो सुनेर तिनका दाजुहरूले तिनलाई भने, “के तँ हामीमाथि शासन गर्न खोज्दैछस्? के तैँले साँच्चै नै हामीमाथि शासन गर्नेछस्?” अनि त्यो सपना र तिनले भनेका कुराको कारण उनीहरूले तिनलाई झन् धेरै घृणा गरे। त्यसपछि तिनले अर्को सपना देखे, र तिनले त्यो आफ्ना दाजुहरूलाई सुनाए। तिनले भने, “सुन्नुहोस्, मैले अर्को सपना देखेको छु; अनि यस पटक सूर्य, चन्द्र र एघार ताराहरूले मलाई दण्डवत् गरिरहेका थिए।” जब तिनले आफ्ना दाजुहरूलाई बताएझैँ त्यो सपना आफ्ना पितालाई पनि बताए; तब तिनका पिताले तिनलाई हप्काउँदै भने, “तैँले देखेको यो सपना कस्तो हो? के तेरी आमा र मैले अनि तेरा दाजुहरूले साँच्चै आएर तेरो सामु भुइँसम्मै निहुरेर तँलाई दण्डवत् गर्नुपर्ने हो?” तिनका दाजुहरू तिनीप्रति डाही भए; तर तिनका पिताले चाहिँ यस कुरालाई मनमै राखे।
उत्पत्ति 37:5-11 पवित्र बाइबल (NERV)
एकपल्ट यूसुफले एउटा विशेष सपना देख्यो। पछि उनले आफ्नो दाज्यू-भाइहरूलाई त्यस सपनाको बारेमा भन्यो। त्यसपछि उसका दाज्यू-भाइहरूले झन् वेशी घृणा गर्न थाले। यूसुफले भने, “मैले एउटा सपना देखें। हामीहरू सबै खेतमा काम गर्दैथियौ। हामीहरू सबैले मिलेर गहुँको बिटा बाँध्दै थिर्यो। मैले बाँधेको बिटा अनि तिमीहरूले बाँधेको बिटाहरूले मेरो बिटालाई चारै तिरबाट घेर्यो। त्यसपछि तिमीहरूको बिटाले मेरो बिटालाई निहुरिएर ढोग्यो।” यूसुफका दाज्यू-भाइहरूले भने, “के यसको अर्थ, तँ राजा हुन्छस् अनि हामीहरू सबैलाई शासन गर्छस्?” उसको दाज्यू-भाइहरूले ऊ माथि अझै धेरै घृणा गर्न थाले, कारण तिनीहरूको विषयमा उसले सपना देखेको थियो। तब फेरि यूसुफले अर्को सपना देख्यो। यूसुफले यस सपना बारेमा पनि आफ्नो दाज्यू-भाइहरूलाई बतायो। उनले भने, “मैले अर्को सपना देखें। मैले घाम, जुन र एघार नक्षत्रहरूले मलाई ढोग गर्दै गरेको देखें।” उनले आफ्नो बाबुलाई पनि त्यस सपना बारे भन्यो। तर उसको बाबुले त्यो सपनाको विषयमा आलोचना गरे। उसका बाबुले भने, “यो कस्तो प्रकारको सपना हो? के तँलाईं विश्वास हुन्छ तेरी आमा, तेरो दाज्यू-भाइहरू अनि म तँलाई ढोग्छौं।” यूसुफका दाज्यू-भाइहरूले साह्रै ईर्ष्या गरिरहे। तर उसको बाबुले यी विषयमा धेरै गहिरिएर सोचे अनि विचार गरे यो सबको अर्थ के हुन सक्छ?
उत्पत्ति 37:5-11 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
एक रात योसेफले सपना देखे र त्यो सपना दाजुहरूलाई बताएपछि तिनीहरूले उनलाई अझै बढी घृणा गर्न लागे। उनले भने, “मेरो सपना सुन। हामी सबै खेतमा गहुँका बिटाहरू बाँध्दै थियौं। तब मेरो बिटा उभिएर सोझो भई खडा भए। तिमीहरूका बिटाहरूचाहिँ त्यसका चारैपट्टि उभिएर त्यसलाई ढोग्दै थिए।” “तँ राजा भएर हामीहरूमाथि राज गर्छु भनी सोच्दछस्?” तिनका दाजुहरूले सोधे। यसरी उनको सपना र उनले तिनीहरूबारे भनेका कुराहरूले गर्दा तिनीहरूले उनलाई अझ बढी घृणा गर्न लागे। योसेफले अर्को एउटा सपना देखे र दाजुहरूलाई भने, “मैले अर्को एउटा सपना देखें। सपनामा घाम, जून र एघार वटा ताराहरूले मलाई ढोगेको देखें।” उनले त्यो सपना बुबालाई पनि सुनाए। बुबाले उनलाई हकारे, “त्यो कस्तो खालको सपना हो? के तँ यो सोच्दछस् कि तेरा दाजुहरू, तेरी आमा र म आएर तँलाई ढोग्नेछौं?” योसेफका दाजुहरूले उनलाई डाहा गर्न थाले तर बुबाचाहिँले यी सबै कुरा मनमै राखे।