उत्पत्ति 29:15-30
उत्पत्ति 29:15-30 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
लाबानले याकोबलाई भने, “हुन त तिमी मेरा नातेदार हौ, तर यसो भन्दैमा तिमीले सित्तैँमा मेरो सेवा गर्नुपर्छ र? तिम्रो ज्याला कति हुनुपर्ने हो, मलाई भन।” लाबानका दुई छोरीहरू थिए; जेठीको नाम लेआ, र कान्छीको नाम राहेल थियो। लेआका आँखा कमजोर थिए, तर राहेलचाहिँ राम्रो बनोट भएकी र सुन्दरी थिइन्। याकोबले राहेललाई प्रेम गर्थे, त्यसैले उनले लाबानलाई भने, “म तपाईंकी कान्छी छोरी राहेलका निम्ति तपाईंसित सात वर्ष सेवा गर्नेछु।” लाबानले भने, “मैले यसलाई अरू मानिसलाई दिनुभन्दा त तिमीलाई दिनु नै असल हो। मसित यहीँ बस।” यसकारण राहेललाई पाउनका लागि याकोबले सात वर्षसम्म सेवा गरे; तर तिनले उनलाई प्रेम गरेको कारण याकोबका लागि ती थोरै दिनजस्तो मात्र लाग्यो। तब याकोबले लाबानलाई भने, “मलाई मेरी पत्नी दिनुहोस्। मेरो समय पूरा भयो, र म तिनीसँग सहबास गर्न चाहन्छु।” यसकारण लाबानले त्यस ठाउँका सबै मानिसहरूलाई एकसाथ बोलाएर भोज दिए। तर जब साँझ भयो, तिनले आफ्नी छोरी लेआलाई ल्याएर याकोबलाई दिए। अनि याकोबले तिनीसित सहबास गरे। अनि लाबानले आफ्नी दासी जिल्पालाई आफ्नी छोरी लेआकी सेविका हुनलाई दिए। जब बिहान भयो, राहेलको सट्टा लेआ पो त्यहाँ रहिछिन्! यसकारण याकोबले लाबानलाई भने, “यो तपाईंले मलाई के गर्नुभयो? के मैले राहेलका निम्ति तपाईंको सेवा गरेको होइनँ र? तपाईंले मलाई किन धोका दिनुभयो?” लाबानले जवाफ दिए, “यहाँ हाम्रो परम्पराअनुसार कान्छीको विवाह जेठीभन्दा पहिले गर्नुहुँदैन। यस छोरीसित एक साता वैवाहिक उत्सव पूरा गर, र तिमीले अर्को सात वर्ष मेरो सेवा गर; तब तिमीलाई कान्छी छोरी पनि दिनेछौँ।” अनि याकोबले त्यस्तै गरे। तिनले लेआसित एक हप्ता बिताए; अनि लाबानले आफ्नी छोरी राहेललाई तिनकी पत्नी हुनलाई दिए। अनि लाबानले आफ्नी सेविका बिल्हालाई आफ्नी छोरी राहेलकी सेविका हुनलाई दिए। याकोबले राहेलसित सहबास गरे; अनि तिनले लेआलाई भन्दा राहेललाई बढी प्रेम गरे। अनि तिनले अर्को सात वर्ष लाबानको सेवा गरे।
उत्पत्ति 29:15-30 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
लाबानले तिनलाई भने, “मेरा नातेदार हुँदैमा तिमीले सित्तैँमा मेरो सेवा गर्ने? ज्याला कति हुनुपर्छ मलाई भन।” लाबानका दुई छोरीहरू थिए। जेठीको नाउँ लेआ र कान्छीको नाउँ राहेल थियो। लेआका आँखा धमिला थिए, तर राहेलचाहिँ सुडौल र सुन्दरी थिइन्। याकूबले राहेललाई प्रेम गरे। तिनले भने, “तपाईंकी कान्छी छोरी राहेलको निम्ति सात वर्षसम्म म तपाईंको सेवा गर्नेछु।” लाबानले भने, “त्यसलाई अरू कोहीसँग विवाह गरिदिनुभन्दा त तिमीलाई दिनु नै असल हो। हुन्छ, मसँगै बस।” यसकारण याकूबले राहेलको निम्ति सात वर्षसम्म सेवा गरे। तिनले राहेललाई यति प्रेम गर्थे कि त्यो समय तिनलाई थोरै दिनजस्तो लाग्यो। त्यसपछि याकूबले लाबानलाई भने, “मैले तपाईंको सेवा गरिसकें। अब मेरी पत्नी हुनलाई राहेल मलाई दिनुहोस्। म तिनीसँग सहवास गर्न चाहन्छु।” तब लाबानले त्यस ठाउँका सबै मानिसहरू जम्मा गरेर भोज दिए। तर साँझमा उनले आफ्नी छोरी लेआलाई याकूबकहाँ ल्याइदिए, र याकूबले तिनीसँग सहवास गरे। लाबानले आफ्नी कमारी जिल्पालाई आफ्नी छोरी लेआकी कमारी हुनलाई दिए। याकूबले बिहान हेर्दा त लेआ पो रहिछन्। तब तिनले लाबानलाई भने, “तपाईंले मप्रति किन यस्तो गर्नुभयो? मैले राहेलको निम्ति सेवा गरेको होइन र? तपाईंले किन मसित यसरी छल गर्नुभयो?” लाबानले भने, “हाम्रो देशमा जेठीको भन्दा कान्छीको विवाह अघिबाट गर्नुहुँदैन। लेआसँग एक साता पूरा गर, र अर्को सात वर्ष मेरो सेवा गरेको सट्टामा म तिमीलाई कान्छी पनि दिइहाल्छु।” याकूबले त्यसै गरे, र लेआसँग एक साता पूरा गरे। तब लाबानले आफ्नी छोरी राहेललाई पनि याकूबकी पत्नीको रूपमा दिए। लाबानले आफ्नी कमारी बिल्हालाई आफ्नी छोरी राहेलकी कमारी हुनलाई दिए। याकूबले राहेलसँग पनि सहवास गरे। तिनले लेआलाई भन्दा राहेललाई बढ़ी प्रेम गर्थे, र अर्को सात साल याकूबले लाबानको सेवा गरे।
उत्पत्ति 29:15-30 पवित्र बाइबल (NERV)
एक दिन लाबानले याकूबलाई भने, “तिमी मेरो घरमा बिना तलब काम गर्न उचित होइन कारण तिमी आफन्त हौ, तर कमारा होइनौ मैले तिमीलाई के दिनु पर्छ?” लाबानकी दुइवटी छोरीहरू थिए। जेठीको नाउँ लेआ अनि सानी चाँहि राहेल थिइन्। लेआका आँखाहरू सुन्दर थिए तर राहेल मनमोहक र सुन्दरी थिइन्। याकूबले राहेललाई माया गर्दथ्यो। याकूबले लाबानलाई भने, “म सात बर्ष सम्म तपाईंको सेवा गर्छु यदि तपाईंले आफ्नी छोरी राहेलसित मेरो विवाह गर्ने अनुमति दिनु भयो भने।” लाबानले भने, “अरू मानिससित विवाह गर्नुभन्दा तिमीसितै विवाह गर्नु उसको निम्ति राम्रो हुनेछ। यसर्थ मसित बस।” याकूबले सात बर्षसम्म लाबानको सेवा गर्यो तर उनले राहेललाई अत्यन्तै माया गरेकोले सात बर्ष समय बिताउन केही गाह्रो परेन। सात बर्ष सेवा गरेपछि याकूबले लाबानलाई भने, “राहेललाई मलाई दिनुहोस् म उसलाई विवाह गर्न सकुँ। मैले तपाईंलाई गर्नु पर्ने सेवाको अवधि-शेष भयो।” यसर्थ त्यस ठाउँको सबै मानिसहरूको लागि लाबानले भोज गराए अनि त्यस रात उनकी छोरी लेआ याकूबलाई दिए। याकूब र लेआले त्यस रात सहवास गरे। (लाबानले आफ्नी कमारी जिल्पालाई आफ्नी छोरी लेआकी कमारीको रूपमा दिए।) बिहान याकूबले चाल पायो राती ऊसित सुत्ने स्त्री लेआ थिइन्। याकूबले लाबानलाई भने, “तपाईंले मलाई किन झुक्याउनु भयो। मैले तपाईंको धेरै सेवा गरें जसले गर्दा म राहेललाई विवाह गर्न पाऊँ। तपाईंले मलाई किन झुक्याउनु भयो?” लाबानले भने, “हाम्रो देशमा हामी जेठी छोरीको विवाह नभई सानीको विवाह हुन दिंदैनौं। विवाह-भोजको हप्ताहभरि उसित बस अनि तिमीलाई राहेलसित पनि विवाह गर्ने अनुमति दिन्छु। तर तिमीले अझै सात बर्ष मेरो सेवा गर्नु पर्छ।” यसर्थ याकूबले त्यसै गरे र एक हप्ता पूरा भयो। तब लाबानले आफ्नो छोरी राहेललाई पनि याकूबको पत्नीको रूपमा दिए। (लाबानले आफ्नी कमारी बिलहालाई आफ्नी छोरी राहेलकी कमारीको रूपमा दिए)। यसर्थ याकूबले राहेलसित पनि सहवास गरे अनि उनले लेआलाई भन्दा राहेललाई बढी प्रेम गर्थे उनले लाबानको निम्ति अरू सात साल सेवा गरे।
उत्पत्ति 29:15-30 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
लाबानले याकूबलाई भने, “तिमी मेरा आफ्नै मानिस हौ भन्दैमा तिमीले सित्तैमा मेरो काम गर्नुपर्दैन। तिमी कति ज्याला लिन्छौ?” लाबानका दुईटी छोरीहरू थिए, जेठीको नाम लेआ र कान्छीको राहेल थियो। लेआका आँखा धमिला थिए तर राहेल हेर्नमा सुन्दरी राम्रा जिउ-डाल भएकी थिइन्। याकूबले राहेललाई माया गरे र भने, “मलाई राहेलसित विवाह गर्न दिने हो भने म सात वर्ष तपाईंको सेवा गर्नेछु।” लाबानले उत्तर दिए, “अरू कसैलाई दिनुभन्दा ता बरु म त्यसलाई तिमीलाई नै दिनेछु। ठीक छ, मसित बस।” याकूबले राहेलको लागि सात वर्ष काम गरे तर त्यो उनलाई थोरै दिनजस्तो लाग्यो, कारण उनले राहेललाई प्रेम गर्थे। तब याकूबले लाबानलाई भने, “अब समय पूरा भयो, मलाई तपाईंकी छोरीसित विवाह गर्न दिनुहोस्।” यसकारण लाबानले विवाहको भोज लाए र सबैलाई निम्त्याए। तर त्यस रात राहेलका सट्टामा लेआलाई उनले याकूबकहाँ पुर्याइदिए र याकूब उनीसित सुते। (लाबानले आफ्नी कमारी केटी जिल्पालाई लेआकी दासी बन्नलाई दिए।) भोलिपल्ट बिहान मात्र आफूसँग राती रहने लेआ रहिछन् भनी याकूबलाई पत्तो भयो र उनले लाबानकहाँ गएर भने, “तपाईंले किन मसित यस्तो गर्नुभयो? म राहेलको निम्ति खटेको थिएँ। किन मलाई छल गर्नुभयो?” लाबानले उत्तर दिए, “यहाँ जेठीभन्दा अघि कान्छीको विवाह गरिदिने चलन छैन। विवाहको उत्सव सात दिन चल्नेछ, त्यतिञ्जेल पर्ख र त्यसपछि अरू सात वर्ष काम गर्न तयार छौ भने म तिमीलाई राहेल दिनेछु।” याकूब राजी भए। विवाहको सातदिने उत्सव सकेपछि लाबानले आफ्नी छोरी राहेललाई याकूबकी स्वास्नी हुनलाई दिए। (लाबानले आफ्नी कमारी केटी बिल्हालाई राहेलकी दासी हुनलाई दिए।) याकूब राहेलसित पनि सुते, उनले राहेललाई लेआलाई भन्दा बढी प्रेम गर्थे। अरू सात वर्ष उनले लाबानको सेवा गरे।