YouVersion लोगो
खोज आइकन

उत्‍पत्ति 22:1-12

उत्‍पत्ति 22:1-12 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

केही समयपछि परमेश्‍वरले अब्राहामको ठूलो जाँच गर्नुभयो, र तिनलाई भन्‍नुभयो, “ए अब्राहाम।” तिनले भने, “म यहीँ छु।” उहाँले भन्‍नुभयो, “तेरो छोरो, अर्थात्‌ तैंले माया गरेको तेरो एउटै छोरो इसहाकलाई लिएर मोरीयाहको देशमा गई मैले तँलाई देखाएको डाँड़ामा त्‍यसलाई होमबलि गर्‌।” अब्राहाम बिहानै उठेर गधामा काठी कसे, र आफ्‍ना कमाराहरूमध्‍येका दुई जना र छोरो इसहाकलाई साथमा लिए, र होमबलिको निम्‍ति दाउरा चिरेर परमेश्‍वरले तिनलाई भन्‍नुभएको त्‍यस ठाउँमा हिँड़े। तेस्रो दिन अब्राहामले हेर्दा टाढ़ामा त्‍यो ठाउँ देखे। तब अब्राहामले आफ्‍ना कमाराहरूलाई भने, “तिमीहरू यहीँ गधासँग बस। म र यो केटो ऊ परसम्‍म गएर पूजा गरी तिमीहरूकहाँ फर्केर आउनेछौं।” अब्राहामले होमबलिको दाउरा उठाएर आफ्‍नो छोरो इसहाकलाई बोकाए, र आगो र छुरी आफ्‍नो हातमा लिए। यसरी ती दुवै जना सँगसँगै गए। इसहाकले आफ्‍ना पिता अब्राहामलाई भने, “बुबा।” तिनले भने, “के हो, छोरा?” त्‍यसले भन्‍यो, “यी आगो र दाउरा त छन्, तर होमबलिको थुमाचाहिँ खोइ?” अब्राहामले भने, “छोरा, परमेश्‍वरले नै होमबलिको निम्‍ति थुमा जुटाइदिनुहुनेछ।” अनि ती दुवै सँगसँगै गए। परमेश्‍वरले तिनलाई भन्‍नुभएको ठाउँमा पुगेपछि अब्राहामले त्‍यहाँ एउटा वेदी बनाएर दाउरा तह लाएर राखे। त्‍यसपछि तिनले आफ्‍नो छोरो इसहाकलाई बाँधेर वेदीमा दाउरामाथि राखे। तब अब्राहामले आफ्‍नो छोरालाई बलि गर्न छुरी उठाए। तर परमप्रभुका एक जना दूतले स्‍वर्गबाट तिनलाई हपारेर भने, “ए अब्राहाम, अब्राहाम!” तिनले भने, “म यहीँ छु।” उनले भने, “तेरो हात त्‍यस केटामाथि नउठा”, र “त्‍यसलाई केही नगर्‌। अब मैले थाहा पाएँ तैले परमेश्‍वरको भय मान्दोरहेछस्, किनकि तेरो छोरो, तेरो एकमात्र छोरालाई पनि मबाट तैंले रोकेर राखिनस्‌।”

शेयर गर्नुहोस्
उत्‍पत्ति 22 पढ्नुहोस्

उत्‍पत्ति 22:1-12 पवित्र बाइबल (NERV)

ती कुराहरू भइसकेपछि परमेश्वरले अब्राहामको जाँच लिने निर्णय लिनु भयो। परमेश्वरले तिनलाई भन्नुभयो, “अब्राहाम!” अनि अब्राहामले भने, “हजुर!” तब परमेश्वरले भन्नुभयो, “मोरीयाह भूमिमा तिम्रो छोरोलाई लैजाऊ। मोरीयामा मेरो निम्ति बलिदान स्वरूप तिम्रो छोरो बलि देऊ। तिम्रो छोरो चाँहि इसहाक हुनु पर्छ तिम्रो एउटा छोरा जुन छोरालाई तिमी बढी माया गर्छौ। त्यहाँको कुनै एउटा पर्वतमा तिम्रो छोरोलाई होमबलि चढाऊ। कुन चाँहि पर्वतमा बलिदान चढाउनु पर्छ त्यो म बताउनेछु।” बिहान अब्राहाम उठे अनि गधामा लगाम कसे। अब्राहामले आफूसँग छोरो इसहाक र दुइ जना नोकरहरू पनि लगे। तिनले बलिको निम्ति दाउरा काटे अनि परमेश्वरले बताउनु भएको ठाउँमा गए। तीन दिनसम्म यात्रा गरेपछि अब्राहामले माथितिर हेरे अनि तिनीहरू जानु पर्ने ठाउँ देखे। त्यसपछि अब्राहामले कमाराहरूलाई भने, “गधासित यही पर्ख। म छोरोसित त्यस ठाउँमा जानेछु, अनि उपासना गर्नेछौं। अनि केही बेरपछि तिमीहरू भएको ठाउँमा हामी फर्कन्छौ।” अब्राहामले होमबलिको निम्ति दाउरा उठाएर छोरोको काँधमा राखि दिए। तिनले एउटा विशेष काट्ने हतियार र आगो पनि लगे। त्यसपछि अब्राहाम र तिनको छोरो आराधना गरिने ठाउँमा गए। इसहाकले आफ्नो पिता अब्राहामलाई सोध्यो, “बुबा!” अब्राहामले उत्तर दिए, “भन, छोरा।” इसहाकले भने, “म दाउरा र आगो देख्छु तर होम बलिको निम्ति दिनु पर्ने थुमाचाहिँ कहाँ छ?” अब्राहामले उत्तर दियो, “छोरो परमेश्वर आफैंले बलिदानको निम्ति थुमा बन्दोबस्त गरिदिनु हुँदैछ।” यसरी अब्राहाम र तिनको छोरो इसहाकसँगै बलिदिने ठाउँमा पुगे। तिनीहरू त्यही निर्दिष्ट जग्गामा पुगे जहाँ परमेश्वरले अह्राउनु भएको थियो। त्यहाँ अब्राहामले वेदी बनाए अनि त्यसपछि वेदी माथि दाउरा राखेर आफ्नो छोरोलाई बाँधी वेदीमाथि राखिएको दाउरामाथि राखे। तब तिनले काट्ने हतियार लिएर इसहाकलाई मार्न तत्पर भए। तर अब्राहामलाई परमप्रभुका स्वर्गदूतले बाधा दिए। र्स्वगबाट स्वर्गदूतले बोलाए अनि भने, “अब्राहाम, अब्राहाम!” अब्राहामले उत्तर दिए, “हजूर।” स्वर्गदूतले भने, “तिम्रो छोरोलाई नमार। उसलाई कुनै प्रकारको चोट पनि नलागोस्। मैले साँच्चै नै थाहा पाएँ तिमीले परमेश्वरलाई सम्मान गर्छौ अनि उहाँको आज्ञा पालन गर्छौ। तिमीले आफ्नो एक मात्र छोरोलाई मेरो निम्ति मार्न तयार भएको पनि मैले देखें।”

शेयर गर्नुहोस्
उत्‍पत्ति 22 पढ्नुहोस्

उत्‍पत्ति 22:1-12 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

केही समयपछि परमेश्‍वरले अब्राहामलाई जाँच्‍नुभयो र “हे अब्राहाम” भनी बोलाउनुभयो। अब्राहामले उत्तरमा भने, “हजुर, म यहाँ छु।” परमेश्‍वरले भन्‍नुभयो, “तेरो एकमात्र छोरो इसहाक, जसलाई तँ औधी प्रेम गर्छस्, त्‍यसलाई लिएर मोरीयाह देशमा जा। त्‍यहाँ म तँलाई एउटा डाँडा देखाउनेछु र त्‍यस डाँडामा तैँले त्‍यसलाई मेरो लागि होमबलि गर्‌।” भोलिपल्‍ट बिहानै अब्राहामले होमबलिको लागि केही दाउरा काटे, आफ्‍नो गधामा भारी बाँधे र इसहाक र दुई जना चाकरहरू साथमा लिए। परमेश्‍वरले उनलाई भन्‍नुभएको ठाउँमा जान तिनीहरू हिँडे। तेस्रो दिनमा अब्राहामले त्‍यस ठाउँलाई टाढैबाट देखे। तब उनले आफ्‍ना चाकरहरूलाई भने, “तिमीहरू यहीँ गधासँग बस। म र यो केटो त्‍यहाँ गई आराधना गर्नेछौं। त्‍यसपछि हामी फर्की आउनेछौं।” होमबलिको लागि लिएका दाउरा अब्राहामले इसहाकलाई बोक्‍न लगाए र आफैंले चाहिँ एउटा छुरी र आगो सल्‍काउन केही बलिरहेका आगोका कोइला लिए। सँगसँगै हिँडिरहेको बेलामा इसहाकले “बुबा!” भनी बोलायो। उनले जवाफ दिए, “के हो, मेरो छोरो?” इसहाकले सोध्‍यो, “हामीसित आगो र दाउरा त छन् तर होमबलिको निम्‍ति भेडाको थुमा खोइ?” अब्राहामले उत्तर दिए, “परमेश्‍वर आफैंले थुमा जुटाइदिनुहुनेछ।” अनि ती दुई सँगसँगै अघि बढे। परमेश्‍वरले भन्‍नुभएको ठाउँमा पुगेपछि अब्राहामले एउटा वेदी बनाए र त्‍यसमाथि दाउराहरू मिलाएर राखे। उनले आफ्‍नो छोरा इसहाकलाई बाँधेर वेदीमा दाउरामाथि राखे। तब छोरालाई बलि गर्न उनले छुरी उठाए। तर परमप्रभुका दूतले स्‍वर्गबाट उनलाई हपारे, “अब्राहाम, ए अब्राहाम!” उनले जवाफ दिए, “हजुर, म यहाँ छु।” दूतले भने, “केटोलाई हात नलगा, त्‍यसलाई केही नगर्‌। मैले अब जानें कि तैँले परमेश्‍वरको डर मान्‍दोरहेछस् किनभने तैँले आफ्‍नो एउटै छोरालाई पनि उहाँदेखि अलग गरी बचाइराख्‍न चाहिनस्।”

शेयर गर्नुहोस्
उत्‍पत्ति 22 पढ्नुहोस्