उत्पत्ति 21:1-6
उत्पत्ति 21:1-6 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
अब याहवेहले भन्नुभएझैँ साराप्रति उहाँ अनुग्रही हुनुभयो; अनि याहवेह आफूले प्रतिज्ञा गर्नुभएझैँ साराका निम्ति गर्नुभयो। सारा गर्भवती भइन्, र अब्राहामको वृद्धाअवस्थामा तिनका निम्ति परमेश्वरले प्रतिज्ञा गर्नुभएकै समयमा एउटा छोरा जन्माइन्। साराले अब्राहामका निम्ति जन्माएकी छोरालाई तिनले इसहाक नाम दिए। जब अब्राहामको छोरा इसहाक आठ दिनका भए, तब परमेश्वरको आज्ञाअनुसार तिनले उसको खतना गरे। आफ्नो छोरा इसहाकको जन्म हुँदा अब्राहाम सय वर्ष पुगेका थिए। साराले भनिन्, “परमेश्वरले मलाई हाँस्ने तुल्याउनुभएको छ; अनि जजसले मेरो बारेमा यो कुरा सुन्छन्, तिनीहरू पनि सबै मसँगसँगै हाँस्नेछन्।”
उत्पत्ति 21:1-6 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
आफूले भन्नुभएअनुसार सारालाई परमप्रभुले कृपा देखाउनुभयो, र आफ्नो प्रतिज्ञाबमोजिम गर्नुभयो। सारा गर्भवती भइन्, र अब्राहामको वृद्धावस्थामा, परमेश्वरले अब्राहामलाई भन्नुभएको समयमा तिनले एक जना छोरा जन्माइन्। साराले तिनीबाट जन्माएको आफ्नो छोराको नाउँ अब्राहामले इसहाक राखे। अब्राहामको आफ्नै छोरा इसहाक आठ दिनको हुँदा तिनले परमेश्वरको आज्ञाअनुसार त्यसको खतना गरे। तिनको छोरा इसहाक जन्मँदा अब्राहाम एक सय वर्ष पुगेका थिए। साराले भनिन्, “परमेश्वरले मलाई एउटा हाँस्ने कारण दिनुभयो। यो सुन्ने जति सबै मसँगै हाँस्नेछन्।”
उत्पत्ति 21:1-6 पवित्र बाइबल (NERV)
परमप्रभुले सारालाई दया गर्ने प्रतिज्ञा गर्नु भएको थियो। परमप्रभु आफ्नो प्रतिज्ञा अनुसार साराप्रति दयालु हुनुभयो। सारा गर्भवती भइन अनि तिनले बृद्धाअवस्थामा अब्राहामको निम्ति एउटा छोरा जन्माइन्। ठीक समयमा परमेश्वरले जे वचन दिनु भएको थियो त्यो पुरा भयो। साराले तिनको निम्ति एउटा छोरो जन्माएकी थिइन् उसको नाउँ अब्राहामले इसहाक राखे। परमेश्वरको आज्ञा अनुसार त्यो बालक आठ दिनको हुँदा अब्राहामले उसको खतना गराए। अब्राहाम एक सय बर्ष पुग्दा उसको छोरो इसहाक जन्मियो। अनि साराले भनिन्, “परमेश्वरले मेरो निम्ति हाँसो ल्याउनु भएको छ, प्रत्येक मानिस जसले यो सुन्छ मसँग हाँस्नेछ।
उत्पत्ति 21:1-6 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
परमप्रभुले आफ्नो प्रतिज्ञाअनुसार सारालाई आशिष् दिनुभयो। उनी गर्भवती भइन् र अब्राहाम बुढेसकालमा छोराका बुबा भए। परमेश्वरले भन्नुभएको समयअनुसार बालक जन्म्यो। अब्राहामले त्यसको नाम इसहाक राखे अनि आठ दिन पुगेपछि परमेश्वरको आज्ञाअनुसार त्यसको खतना गरे। इसहाक जन्मँदा अब्राहामको उमेर १०० वर्ष भएको थियो। साराले भनिन्, “परमेश्वरले मलाई आनन्द र हाँसी-खुसी गर्न दिनुभएको छ। यो कुरा सुन्ने सबैले मसँग हाँसी-खुसी गर्नेछन्।”