उत्पत्ति 21:1-34
उत्पत्ति 21:1-34 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
आफूले भन्नुभएअनुसार सारालाई परमप्रभुले कृपा देखाउनुभयो, र आफ्नो प्रतिज्ञाबमोजिम गर्नुभयो। सारा गर्भवती भइन्, र अब्राहामको वृद्धावस्थामा, परमेश्वरले अब्राहामलाई भन्नुभएको समयमा तिनले एक जना छोरा जन्माइन्। साराले तिनीबाट जन्माएको आफ्नो छोराको नाउँ अब्राहामले इसहाक राखे। अब्राहामको आफ्नै छोरा इसहाक आठ दिनको हुँदा तिनले परमेश्वरको आज्ञाअनुसार त्यसको खतना गरे। तिनको छोरा इसहाक जन्मँदा अब्राहाम एक सय वर्ष पुगेका थिए। साराले भनिन्, “परमेश्वरले मलाई एउटा हाँस्ने कारण दिनुभयो। यो सुन्ने जति सबै मसँगै हाँस्नेछन्।” तिनले फेरि भनिन्, “साराले बालकलाई दूध खुवाउँछे भनेर कसले अब्राहामलाई भन्नेथियो? तापनि तिनको बुढ़ेसकालमा मैले तिनीबाट एक जना छोरा जन्माएँ।” बालक बढ्दैगयो, र त्यसले दूध खान छोड़्यो। र इसहाकले दूध खान छोड़ेको दिन अब्राहामले एउटा ठूलो भोज दिए। तर मिश्री हागारले अब्राहामबाट जन्माएको छोरालाई ठट्टा गरिरहेको साराले देखिन्। यसैकारण तिनले अब्राहामलाई भनिन्, “यस कमारीलाई त्यसको छोरासँगै निकालिदिनुहोस्, किनकि यस कमारीको छोरो मेरा छोरा इसहाकसँग उत्तराधिकारी हुन पाउनेछैन।” आफ्नै छोरो भएकोले यो कुरा अब्राहामलाई साह्रै नराम्रो लाग्यो। तर परमेश्वरले अब्राहामलाई भन्नुभयो, “त्यो बालक र तेरी कमारीको निम्ति तैंले चिन्ता नगरी साराले तँलाई जसो भन्छे सोहीबमोजिम गर्, किनकि इसहाकबाट नै तेरो वंशको नाउँ रहनेछ। म त्यस कमारीको छोराबाट पनि एक जाति खड़ा गर्नेछु, किनभने त्यो पनि तेरै सन्तान हो।” अब्राहामले बिहानै उठेर रोटी र पानीको एउटा मशक हागारको काँधमा राखिदिए, र बालकलाई पनि त्यसकै साथ लगाएर बिदा गरिदिए। अनि हागार बेर्शेबाको उजाड़-स्थान हुँदो डुल्न लागी। जब मशकको पानी सिद्धियो तब तिनले बालकलाई एउटा पोथ्रोमुनि छोड़ेर आफैचाहिँ उतापट्टि एक काँड़ले पार गर्ने दूरीमा बसी, किनकि “मैले यो बालक मरेको हेर्नु नपरोस्” भनी त्यसले मनमा सोची। अनि हागार त्यहाँ बसेर डाँको छोड़ी-छोड़ी रुन लागी। परमेश्वरले बालकको सोर सुन्नुभयो। अनि परमेश्वरका दूतले स्वर्गबाट हागारलाई हपारेर भने, “ए हागार, तँलाई के दु:ख पर्यो? नडरा, किनभने बालक भएको ठाउँबाट त्यसको सोर परमेश्वरले सुन्नुभएको छ। उठ्, गएर बालकलाई उठा, र त्यसको हात बलियो गरी पक्री नै राख्, किनभने म त्यसबाट एउटा ठूलो जाति खड़ा गर्नेछु।” तब परमेश्वरले तिनका आँखा खोलिदिनुभयो, र तिनले एउटा पानीको कूवा देखी, र गएर मशकमा पानी भरेर बालकलाई पिउन दिई। परमेश्वर त्यस बालकको साथ रहनुभयो। त्यो बढ्दैगयो, र उजाड़-स्थानमा बसेर एक धनुर्धारी बन्यो। त्यो पारानको मरुभूमिमा बस्थ्यो, र त्यसकी आमाले त्यसको लागि मिश्रबाट एउटी पत्नी ल्याइदिई। त्यस बेला अबीमेलेक र उनका सेनापति पीकोलले अब्राहामलाई भने, “तपाईंले गर्नुभएका सबै काममा परमेश्वर तपाईंसँग हुनुहुन्छ। यसकारण यहाँ मसित परमेश्वरको सामु शपथ खानुहोस्, कि तपाईं मसँग वा मेरा छोराछोरीसँग अथवा मेरा नाति-पनातिसँग छलकपटको व्यवहार गर्नुहुनेछैन। तर मैले तपाईंसँग गरेको कृपाअनुसार नै मसँग र तपाईं परदेशी भएर बस्नुभएको देशसँग व्यवहार गर्नुहोला।” अब्राहामले भने, “हुन्छ, म शपथ खान्छु।” तब अब्राहामले अबीमेलेकका दासहरूले जबरदस्तसित खोसेर लिएको इनारको विषयमा अबीमेलेकलाई सुनाए। तर अबीमेलेकले भने, “यस्तो काम कसले गर्यो सो मलाई थाहा छैन। तपाईंले मलाई भन्नुभएन। आज मात्र मैले यो कुरा सुनें।” त्यसकारण अब्राहामले भेड़ा र गाई-गोरुहरू ल्याएर अबीमेलेकलाई दिए, र ती दुवै जनाले करार बाँधे। अब्राहामले बगालबाट भेड़ाका सात वटा पाठी छुट्ट्याएर राखे। अबीमेलेकले अब्राहामलाई सोधे, “तपाईंले यी सात पाठी छुट्ट्याएर राखेको अर्थ के हो?” अब्राहामले भने, “यो इनार मैले खनेको हो भन्ने गवाहीको निम्ति यी सात वटा पाठी मेरो हातबाट तपाईं लिनुहोस्।” यसैकारण त्यस ठाउँको नाउँ बेर्शेबा राखियो, किनकि त्यहाँ ती दुवैले आपसमा शपथ खाएका थिए। यसरी तिनीहरूले बेर्शेबामा आपसमा करार बाँधे। तब अबीमेलेक र उनका सेनापति पीकोल पलिश्तीहरूको देशमा फर्के। अब्राहामले बेर्शेबामा एउटा झ्याउको बोट रोपे, र त्यहाँ अनन्तका परमेश्वरको नाउँको पुकारा गरे। त्यसपछि अब्राहाम पलिश्तीहरूको देशमा धेरै दिनसम्म बसोबास गरे।
उत्पत्ति 21:1-34 पवित्र बाइबल (NERV)
परमप्रभुले सारालाई दया गर्ने प्रतिज्ञा गर्नु भएको थियो। परमप्रभु आफ्नो प्रतिज्ञा अनुसार साराप्रति दयालु हुनुभयो। सारा गर्भवती भइन अनि तिनले बृद्धाअवस्थामा अब्राहामको निम्ति एउटा छोरा जन्माइन्। ठीक समयमा परमेश्वरले जे वचन दिनु भएको थियो त्यो पुरा भयो। साराले तिनको निम्ति एउटा छोरो जन्माएकी थिइन् उसको नाउँ अब्राहामले इसहाक राखे। परमेश्वरको आज्ञा अनुसार त्यो बालक आठ दिनको हुँदा अब्राहामले उसको खतना गराए। अब्राहाम एक सय बर्ष पुग्दा उसको छोरो इसहाक जन्मियो। अनि साराले भनिन्, “परमेश्वरले मेरो निम्ति हाँसो ल्याउनु भएको छ, प्रत्येक मानिस जसले यो सुन्छ मसँग हाँस्नेछ। कसैले पनि त्यो सोचेको थिएन अब्राहामको बुढेसकालमा साराले तिनलाई एउटा छोरो जन्माउनेछिन्। तर मैले बूढो अब्राहामको निम्ति छोरो जन्माइ दिएँ।” इसहाक लगातर बढी रह्यो र चाँडै खँदिलो खाना खान शुरू गर्ने भयो। यसर्थ अब्राहामले एउटा ठूलो भोज खुवाए। एकजना मिश्रकी कमारी हागारले अब्राहामको पहिलो छोरो जन्माएकी थिइन्। सारा दिक्क भइन जब उनले हागारको छोरासित आफ्नो छोरा इसहाकलाई खेल्दै गरेको देखिन्। साराले अब्राहामलाई भनी, “त्यो कमारी स्त्री र उसको छोरोलाई खेदि दिनु होस्, तिनीहरूलाई टाढा पठाउनु पर्छ। जब हामी मर्छौ हामीसँग जे छ हाम्रो छोरो इसहाकले पाउनेछ। म चाँहदिन कमारी स्त्रीको छोरो हाम्रा छोरो इसहाकको अंशको हकदार होस्।” यसले अब्राहामलाई अत्यन्तै दुःखी बनायो र तिनी आफ्नो छोरा इश्माएलको निम्ति चिन्तित भए। तर परमेश्वरले अब्राहामलाई भन्नुभयो, “त्यो केटा र कमारी स्त्रीको विषयमा तिमी चिन्ता नगर। जे साराले चाहन्छे त्यही गर, इसहाक मात्र तिम्रो उत्तराधिकारी हुनेछ। तर म तिम्रो कमारी स्त्रीको छोरालाई पनि आशीर्वाद दिनेछु। ऊ पनि तिम्रो पुत्र हो र उनले पनि आफ्नो परिवारबाट एउटा विशाल राष्ट्र बनाउने छ।” अर्को दिन बिहानै अब्राहामले केही खाने कुरा र पानी ल्याए र हागारलाई दिए। हागारले ती कुराहरू लिई अनि आफ्नो छोरा लिएर हिंडी। हागारले त्यो ठाउँ छोडी अनि बेर्शेबाको मरुभूमिमा यता उता घुमी हिंड्न थालिन्। केही समयपछि मशकको पानी सिद्धियो र पिउने पानी पनि थिएन। यसर्थ उनले आफ्नो छोरोलाई पोथ्रोमुनि राखिन्। तब तिनी गइन् अनि आफ्नो छोरादेखि केही पर बसिन्। तिनले आफैंलाई यस्तो भनिन्, म मेरो छोरालाई तिर्खाले मर्दै गरेको देख्न चाहन्न। आफ्नो छोराको मृत्यु शोक सही नसक्नु हुनेवाला थियो, तिनी आफ्नो छोराको लागि नराम्रो घतले रून थालिन्। परमेश्वरले हागारको छोरो रोएको सुन्नु भयो। अनि र्स्वगबाट परमेश्वरका स्वर्गदूत हागार कहाँ आए। उनले सोधे, “हागार तिमीलाई के कष्ट छ? परमेश्वरले बालक रोएको सुन्नुभयो। जाऊ, अनि बालकलाई सहायता गर उसको हात समात अनि सँग-सँगै हिंडाऊ। म उसलाई धेरै-धेरै मानिसहरूको पिता बनाउनेछु।” परमेश्वरले हागारको आँखा यसरी उघारी दिनु भयो उनले एउटा पानीको कुवा देखिन्। यसर्थ पानीको कूवामा तिनी गइन् अनि पानीको मशक पहिले भरिन् त्यपछि छोरोलाई पानी पिउन दिइन्। जबसम्म हागारको छोरो ठूलो भएन परमेश्वर ऊसँग नै रहनु भयो। इश्माएल मरुभूमिमा नै बस्यो र त्यहाँ एक शिकारी भयो। उनले तीर चलाउन राम्ररी सिकेको थियो। उसको आमाले मिश्र देशबाट उसको निम्ति एउटी दुलही ल्याई दिइन्। इश्माएल पारान मरुभूमिमा बसो-बास गर्न थाल्यो। त्यही समय अबीमेलेक र उसको सेनापतिले अब्राहामसित कुरा गरे। तिनीहरूले अब्राहामलाई भने, “तिमी जे पनि गर्छौ परमेश्वरले तिमीलाई सघाउनु हुन्छ। यसर्थ परमेश्वरको नाउँमा मलाई वचन देऊ तिमी म र मेरा नानीहरूसित राम्रो व्यवहार गर्नेछौ। वचन देऊ तिमी, म अनि धर्ती प्रति जहाँ तिमी बाहिरको मानिस जस्तो भएर बसेका छौ दयालु हुने छौ। कसम् पनि खाऊ तिमी म प्रति दयालु हुने छौ जस्तो म तिमीप्रति छु।” अब्राहामले भने, “म शपथ दिन्छु तिमीले मसित जस्तो व्यवहार गरेका छौ त्यही व्यवहार म पनि तिमीसित गर्नेछु।” तब अब्राहामले अबीमेलेकसित नालिश गरे। उनले नालिश गरे कारण अबीमेलेकका नोकरहरूले एउटा पानीको कूवा खोसेका थिए। तर अबीमेलेकले भने, “म जान्दिन कसले यस्तो काम गर्यो, तिमीले यस विषयमा मलाई भनेका थिएनौ, नत्र मैले आज भन्दा पहिला नै थाहा पाएँ।” यसकारण अब्राहाम र अबीमेलेकले एउटा सम्झौता गरे। यस सम्झौताको चिन्ह स्वरूप अब्राहामले अबीमेलेकलाई केही भेंडाहरू र गाई वस्तुहरू दिए। अब्राहामले सातवटा पाठी अबीमेलेकअघि राखि दिए। अबीमेलेकले अब्राहामलाई सोधे, “तिमीले यी सातओटा पाठीहरू चाँहि किन अलग्गै राखेका छौ?” अब्राहामले भने, “जब तिमीले मबाट यी सातवटा पाठीहरू लिन्छौ तब यो प्रमाण हुन्छ त्यो कूवा मैले खनाएको हो।” यसकारण यस घटनापछि त्यस कूवाको नाउँ बर्शेबा भयो। तिनीहरूले यस कूवाको नाउँ यस्तो राखे किन भने यस भूमिमा जहाँ तिनीहरूले एक अर्कालाई वचन दिएका थिए। यस प्रकारले अब्राहाम र अबीमेलेकले बर्शेबामा सम्झौता गरेका थिए। त्यसपछि अबीमेलेक अनि उनको सेनापति पलिश्तीहरूको देशतिर फर्किए। अब्राहामले बर्शेबामा एक विशेष रूख रोपे। त्यस भूमिमा अब्राहामले परमप्रभु परमेश्वर जो सधैँ जीवित हुनुहुन्छ उहाँसित प्रार्थना गरे। अनि अब्राहाम बाहिरको मानिस जस्तो भएर धेरै बर्षसम्म पलिश्तीहरूको देशमा बसे।
उत्पत्ति 21:1-34 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
परमप्रभुले आफ्नो प्रतिज्ञाअनुसार सारालाई आशिष् दिनुभयो। उनी गर्भवती भइन् र अब्राहाम बुढेसकालमा छोराका बुबा भए। परमेश्वरले भन्नुभएको समयअनुसार बालक जन्म्यो। अब्राहामले त्यसको नाम इसहाक राखे अनि आठ दिन पुगेपछि परमेश्वरको आज्ञाअनुसार त्यसको खतना गरे। इसहाक जन्मँदा अब्राहामको उमेर १०० वर्ष भएको थियो। साराले भनिन्, “परमेश्वरले मलाई आनन्द र हाँसी-खुसी गर्न दिनुभएको छ। यो कुरा सुन्ने सबैले मसँग हाँसी-खुसी गर्नेछन्।” तब उनले भनिन्, “साराले आफ्नो छोरा-छोरी हुर्काउनेछ भनी अब्राहामलाई कसले भन्न सक्नेथियो र? तापनि उनको बुढेसकालमा मबाट उनको एउटा छोरो जन्म्यो।” बालक बढ्दैगयो र त्यसले आमाको दूध खान छोडेको दिन अब्राहामले एउटा ठूलो भोज लगाए। एक दिन मिश्री हागारबाट जन्मेका अब्राहामको छोरो इश्माएलले उनको सारापट्टिको छोरो इसहाकसँग ठट्टा गर्दै थियो। तिनीहरूलाई देखेर साराले अब्राहामलाई भनिन्, “यो कमारी र त्यसको छोरालाई कतै पठाइदिनुहोस्, मेरो छोरो इसहाकले तपाईंबाट पाउने धन-सम्पत्तिको कुनै हिस्सा त्यसका छोराले पाउनुहुन्न।” यस कुराले अब्राहामलाई मनमा औधी कष्ट भयो किनभने इश्माएल पनि उनको छोरो थियो। तर परमेश्वरले अब्राहामलाई भन्नुभयो, “तेरी कमारी हागार र त्यसका छोराको लागि चिन्ता नगर्। साराले जसो भन्छे, त्यसै गर् किनभने मैले तँलाई प्रतिज्ञा गरेको तेरो सन्तान इसहाकबाट हुनेछ। कमारीका छोरालाई पनि धेरै छोरानाति दिनेछु र तिनीहरूबाट पनि एउटा जाति बन्नेछ। त्यो पनि तेरै छोरो हो।” भोलिपल्ट बिहानै अब्राहामले हागारलाई केही खाना र एउटा छालाको मशकभरि पानी काँधमा राखिदिए र बालकसाथ त्यसलाई बिदा गरिदिए र घरबाट निकालिदिए। त्यो हिँडी र बेर्शेबाको जङ्गलमा यताउता डुल्न लागी। पानी सबै सिद्धिएपछि बालकलाई एउटा पोथ्रामुनि छोडिराखेर आफू सय मिटरजति टाढा गएर बसी। त्यसले मनमा भनी, “मेरो बालक मरेको म हेर्न सक्दिनँ।” त्यो त्यहाँ बसेर रुन लागी। परमेश्वरले बालक रोएको सुन्नुभयो र स्वर्गबाट परमेश्वरका दूतले हागारलाई भने, “हागार, तँलाई के कुराको दु:ख पर्यो? नडरा। परमेश्वरले बालक रोएको सुन्नुभएको छ। उठ्, गएर त्यसलाई उठा र फकाएर शान्त पार्। त्यसका वंशबाट म एउटा ठूलो जाति बनाउनेछु।” तब परमेश्वरले त्यसका आँखा खोलिदिनुभयो र त्यसले एउटा इनार देखी। त्यसले गएर मशकमा पानी भरी र केही पानी बालकलाई खुवाई। बालक बढ्दैगयो अनि परमेश्वर त्योसित हुनुहुन्थ्यो। त्यो पारानको जङ्गलमा बस्न लाग्यो र एउटा सिपालु शिकारी भयो। त्यसकी आमाले एउटी मिश्री स्वास्नी त्यसलाई ल्याइदिई। त्यति बेला अबीमेलेकले आफ्ना सेनापति पीकोलसँग गई अब्राहामलाई भने, “तपाईंले गरेका सबै काममा परमेश्वर तपाईंसित हुनुहुन्छ। यसकारण परमेश्वरको सामु यहाँ तपाईंले मलाई मेरा छोरा-छोरीहरूलाई र तिनका सन्तानहरूलाई समेत छल्ने काम गर्नेछैनौ भनी शपथ खानुहोस्। म तपाईंसित विश्वासयोग्य रहेको छु। यसकारण तपाईं पनि म र यो तपाईंले बास गरेको देशसित विश्वासयोग्य रहनुहुनेछ भनी प्रतिज्ञा गर्नुहोस्।” अब्राहामले भने, “म प्रतिज्ञा गर्दछु।” अबीमेलेकका चाकरहरूले जब्बरजस्ती अधीन गरेको एउटा इनारको बारेमा अब्राहामले अबीमेलेकलाई भने। अबीमेलेकले भने, “यो काम कसले गर्यो, म जान्दिनँ। तपाईंले मलाई केही भन्नुभएन र आज पहिलोपल्ट म यो कुरा सुन्दै छु।” तब अब्राहामले केही भेडा र गाई-वस्तुहरू अबीमेलेकलाई दिए र ती दुईले आपसमा राजी भई सम्झौता गरे। अब्राहामले आफ्नो बथानदेखि सातवटा भेडाका पाठा अलग गरे। अबीमेलेकले सोधे, “किन तपाईंले त्यसो गर्नुभयो?” अब्राहामले जवाफ दिए, “यो सातवटा भेडाका पाठा तपाईं लिनुहोस्। त्यसो गर्दा यो इनार खन्ने म अब्राहाम नै हो भनी तपाईंले मानेको हुनेछ।” र यसरी त्यस ठाउँको नाम बेर्शेबा राखियो किनभने त्यहीँ ती दुईले आपसमा शपथ खाएका थिए। यसरी बेर्शेबामा सम्झौता बाँधेपछि अबीमेलेक र पीकोल पलिश्त देशमा फर्की गए। तब अब्राहामले बेर्शेबामा एउटा झ्याउको रूखको बोट रोपे र परमप्रभु अनन्त परमेश्वरको आराधना गरे। धेरै दिनसम्म अब्राहामले पलिश्तमा बास गरे।