YouVersion लोगो
खोज आइकन

उत्‍पत्ति 2:5-15

उत्‍पत्ति 2:5-15 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

भूमिमा एउटै पनि वनस्‍पति थिएन, र भूमिमा कुनै घाँसपात पनि उम्रेको थिएन, किनभने परमप्रभु परमेश्‍वरले पृथ्‍वीमा पानी बर्साउनुभएको थिएन र भूमि खनजोत गर्न कुनै मानिस पनि थिएन। तर पृथ्‍वीबाट खोलाहरू निस्‍की उठेर समस्‍त भूमिलाई भिजाउने गर्थे। तब परमप्रभु परमेश्‍वरले भूमिको माटोबाट मानिस बनाउनुभयो, र तिनको नाकमा जीवनको सास फुकिदिनुभयो, र मानिस जीवित प्राणी भए। परमेश्‍वरले पूर्वतिर अदनमा एउटा बगैँचा लगाउनुभयो, र उहाँले बनाउनुभएको मानिसलाई त्‍यहीँ राख्‍नुभयो। अनि हेर्नमा राम्रो र खानमा असल फल भएको हरेक किसिमको रूख परमप्रभु परमेश्‍वरले भूमिबाट उमार्नुभयो। उहाँले बगैँचाको बीचमा जीवनको रूख र असल र खराबको ज्ञान दिने रूख पनि लगाउनुभयो। बगैँचा भिजाउनलाई अदनबाट एउटा नदी निस्‍केको थियो, र त्‍यहाँबाट छुट्टिएर त्‍यो चार वटा शाखा भएको थियो। पहिलो नदीको नाउँ पीशोन हो। यो त्‍यही नदी हो, जुन हवीलाको समस्‍त मुलुकमा बग्छ, जहाँ सुन पाइन्‍छ। त्‍यस देशको सुन असल हुन्‍छ। त्‍यहाँ खोटो र आनिक्‍सहरू छन्‌। दोस्रो नदीको नाउँ गीहोन हो। कूशको समस्‍त देशमा बग्ने नदी यही हो। तेस्रो नदीको नाउँ टाइग्रिस हो। यो अश्‍शूरको पूर्वतिर बग्छ र चौथो नदी यूफ्रेटिस हो। परमप्रभु परमेश्‍वरले मानिसलाई अदनको बगैँचामा लानुभई त्‍यसको गोड़गाड़ र हेरचाह गर्न राख्‍नुभयो।

शेयर गर्नुहोस्
उत्‍पत्ति 2 पढ्नुहोस्

उत्‍पत्ति 2:5-15 पवित्र बाइबल (NERV)

पृथ्वीमा उद्भिदहरूको उम्रनु अघिका कुरा यही हुन्। भूमिहरूमा केही पनि उम्रेको थिएन, किनभने परमप्रभुले पृथ्वीमा यतिञ्जेल पानीसम्म वर्षाउनुँ भएको थिएन। त्यहाँ उद्भिदहरू हेरचाह गर्नलाई कुनै व्यक्ति पनि थिएन। पृथ्वीबाट पानी निस्कियो अनि मैदानमा फैलियो। तब त्यसपछि परमप्रभु परमेश्वरले भूँईबाट माटो उठाउनु भयो अनि मानिस सृष्टि गर्नु भयो। परमप्रभुले मानिसको नाकबाट सास हालिदिनु भयो र यसलाई जिउँदो बनाउनु भयो। परमप्रभु परमेश्वरले अदन नाउँ भएको ठाउँमा पूर्वपट्टि एउटा बगैंचा बनाउनु भयो र उहाँले सृष्टि गर्नु भएको मानिसलाई त्यहाँ राख्नु भयो। परमेश्वरले भूमिबाट राम्रा-राम्रा रुखहरू अनि खान योग्य फलहरू लाग्ने रुखहरू उमार्नु भयो। उहाँले बगैंचाको बीचमा जीवनको रुख अनि असल र खराबको ज्ञान दिन योग्य रुख पनि रोप्नु भयो। बगैंचा भिजाउनलाई अदनबाट एउटा नदी बग्यो र पछि त्यो नदी चारवटा शाखाहरूमा विभाजन भयो। ती शाखाहरूमध्ये पहिलो शाखा नदीको नाउँ पीशोन हो। यो त्यही नदी हो जुन हवीलाको सम्पूर्ण भूमिमा बग्छ र त्यहाँ सुन पाइन्छ। यस प्रदेशको सुन राम्रो दर्जाको छ। धूप गोमेद र पत्थर पनि पाइन्छन्। दोस्रो नदीको नाउँ गीहोन हो र कूश देशको सम्पूर्ण भूमिमा बग्ने नदी पनि यही हो। तेस्रो शाखा नदीको नाउँ हिद्‌देकेल हो र यो नदी अश्शूरको पूर्वतिर बग्छ। चौथो शाखा नदीको नाउँ यूफ्रेटिस हो। तब परमप्रभु परमेश्वरले मानिसलाई लानु भयो अनि बगैंचा खन-जोत अनि हेरचाह गर्न उसलाई राख्नु भयो।

शेयर गर्नुहोस्
उत्‍पत्ति 2 पढ्नुहोस्

उत्‍पत्ति 2:5-15 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

परमप्रभु परमेश्‍वरले आकाश र पृथ्‍वी सृष्‍टि गर्नुभएको बेलामा पृथ्‍वीमा रूखपात थिएन र कुनै बिउ उम्रेको थिएन किनभने त्‍यतिञ्‍जेलसम्‍म उहाँले पानी वर्षाउनुभएको थिएन र जमिन खनजोत गरी रोप्‍ने कोही मानिस थिएन, तर भूइँमुनिबाट पानी उम्रेर आई जमिन भिजाउँथ्‍यो। तब परमप्रभु परमेश्‍वरले जमिनबाट माटो लिनुभयो र त्‍यसबाट मानिस बनाउनुभयो र उसका नाकमा जीवनको सास फुकिदिनुभयो र मानिस जिउँदो प्राणी भयो। तर परमप्रभु परमेश्‍वरले पूर्वपट्टि अदनमा एउटा बगैँचा लगाउनुभयो र उहाँले बनाउनुभएको मानिसलाई त्यहाँ राख्‍नुभयो। उहाँले त्‍यहाँ सबै प्रकारका हेर्नमा असल र खानमा राम्रा फल दिने रूखहरू उमार्नुभयो। बगैँचाका बीचमा जीवनको रूख अनि असल र खराबको ज्ञान दिने रूख पनि लगाइएका थिए। अदनमा एउटा नदी बग्‍थ्‍यो र बगैँचालाई भिजाउँथ्‍यो, अदन नाघेर गएपछि त्‍यो नदी भङ्गालो छुट्टिएर चारवटा भएको थियो। पहिलो नदी पीशोन हो, यो हवीला देशको चारैपट्टि घुमेर बग्‍छ। (त्‍यहाँ निखुर सुन र हतपत नपाइने सुगन्‍ध तेल र दामी पत्‍थरहरू पाइन्‍छन्।) दोस्रो नदी गीहोन हो, यो कूश देशको चारैपट्टि बग्‍छ। तेस्रो नदी टाइग्रिस हो, यो अश्‍शूर देशको पूर्वमा बग्‍छ अनि चौथो नदी यूफ्रेटिस हो। तब परमप्रभु परमेश्‍वरले मानिसलाई अदनको बगैँचामा त्‍यसको गोड-गाड र हेरचाहा गरोस् भनी राख्‍नुभयो।

शेयर गर्नुहोस्
उत्‍पत्ति 2 पढ्नुहोस्