YouVersion लोगो
खोज आइकन

उत्‍पत्ति 18:16-32

उत्‍पत्ति 18:16-32 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

तब ती पुरुषहरू त्‍यहाँबाट सदोमतिर हेर्न लागे। अब्राहाम उनीहरूसित अलि परसम्‍म बाटो देखाउन गए। परमप्रभुले भन्‍नुभयो, “मैले गर्न लागेको काम के अब्राहामबाट लुकाएर राखूँ? अब्राहामबाट एउटा ठूलो र शक्तिशाली जाति बन्‍नेछ, र त्‍यसद्वारा नै पृथ्‍वीका सबै जातिहरूले आशिष्‌ पाउनेछन्‌ किनभने त्‍यसले आफ्‍ना छोराछोरीहरू र घरानालाई धर्म र न्‍याय गरेर परमप्रभुको मार्ग पालन गर्नलाई आज्ञा देओस्‌ भनेर मैले त्‍यसलाई छानेको छु। यसैले नै परमप्रभुले अब्राहामसित गर्नुभएको प्रतिज्ञा पूरा गरिदिनुहुनेछ।” तब परमप्रभुले भन्‍नुभयो, “सदोम र गमोराको विरुद्धमा ठूलो आवाज उठेको छ, र तिनीहरूका पाप साह्रै ज्‍यादा भएका छन्‌। अब त्‍यही आवाजअनुसार तिनीहरूबाट यो काम भएको हो कि होइन भनी हेर्नलाई म तल ओर्लेर जानेछु। होइन रहेछ भने मलाई थाहा हुनेछ।” यसकारण ती पुरुषहरू त्‍यहाँबाट झरेर सदोमतिर गए। तर अब्राहामचाहिँ अझै परमप्रभुकै सामु उभिरहे। तब अब्राहामले नजिक गएर उहाँलाई भने, ‘के दुष्‍टहरूसँग धर्मीहरूलाई पनि सर्वनाश गर्नुहुनेछ? त्‍यस सहरमा पचास धर्मी जन रहेछन्‌ भने, के त्‍यसमा भएका पचास धर्मी जनका निम्‍ति त्‍यस सहरलाई नजोगाएर नष्‍ट पार्नुहुनेछ र? दुष्‍टका साथमा धर्मी जनलाई मार्ने काम तपाईंबाट कहिल्‍यै नहोस्‌। धर्मीको दशा पनि दुष्‍टको जस्‍तै हुनु त तपाईंबाट पर रहोस्‌। सारा पृथ्‍वीका न्‍यायकर्ताले उचित न्‍याय गर्नुहुन्‍न र? परमप्रभुले भन्‍नुभयो, “सदोम सहरभित्र पचास धर्मी जन पाएँ भने म तिनीहरूका खातिर जम्‍मैलाई छोड़िदिनेछु।” अब्राहामले भने, “हेर्नुहोस्, म केवल माटो र खरानी मात्र भएर पनि परमप्रभुसँग कुरा गर्न आँट गरेको छु। पाँच कम पचास जना धर्मी जन त्‍यहाँ रहेछन्‌ भने, केवल पाँच मात्र घटी भएकामा सारा सहरै तपाईं नाश गर्नुहुनेछ?” उहाँले भन्‍नुभयो, “त्‍यहाँ पैँतालीस पाएँ भने म त्‍यो नाश गर्नेछैनँ।” फेरि तिनले भने, “त्‍यहाँ चालीस रहेछन्‌ भने?” उहाँले भन्‍नुभयो, “चालीस जनाका खातिर पनि म त्‍यसो गर्नेछैनँ।” तब तिनले भने, “परमप्रभुलाई रिसानी नभए म अझै बोल्‍नेछु। यदि त्‍यहाँ तीस जना पाइए भने?” उहाँले भन्‍नुभयो, “त्‍यहाँ तीसै पाएँ भने पनि म त्‍यसो गर्नेछैनँ।” तिनले भने, “हेर्नुहोस्, परमप्रभुसँग मैले कुरा गर्ने आँट गरिरहेछु। बीस जना पाइए भने?” उहाँले भन्‍नुभयो, “बीस जनाका खातिर पनि म नाश गर्नेछैनँ।” अनि तिनले भने, “परमप्रभु रिसानी नहोस्‌। अब एक पल्‍ट मात्र बोल्‍नेछु। यदि त्‍यहाँ दश जना पाइए भने?” उहाँले भन्‍नुभयो, “दश जनाका खातिरमा पनि म त्‍यो नाश गर्नेछैनँ।”

शेयर गर्नुहोस्
उत्‍पत्ति 18 पढ्नुहोस्

उत्‍पत्ति 18:16-32 पवित्र बाइबल (NERV)

तब ती मानिसहरू जानका लागि तर्खरमा उठे। तिनीहरूले सदोमतर्फ हेरे अनि त्यही दिशातर्फ हिंडे। अब्राहाम तिनीहरूलाई बाटो देखाउन केही परसम्म गए। परमप्रभुले आफैंलाई भन्नुभयो, “के म अब के गर्नेछु अब्राहामलाई भनुँ? अब्राहाम एउटा महान र शक्तिशाली जाति बनिनेछन् अनि पृथ्वीका सबै मानिसहरू तिनको कारणले आशिष पाउनेछन्। म अब्राहामसित राम्रो सम्बन्ध राख्न आएकोछु जसले गर्दा ऊ आफ्ना नानीहरू अनि सन्तानहरूलाई सही र स्वच्छ के हो त्यो गर्न सिकाउन सक्छ ताकि तिनीलाई जे प्रतिज्ञा गरेको छ त्यो हुन दिन्छु।” तब परमप्रभुले भन्नुभयो, “मैले धेरै पल्ट सुनेकोछु सदोम र गमोराका मानिसहरू साह्रै दुष्ट छन्। म त्यहाँ जान्छु अनि हेर्छु मानिसहरू जस्तो मैले सुनेकोछु त्यस्तै छन् कि छैनन्। तब म पक्का जान्नेछु।” तब ती मानिसहरू फर्के अनि सदोम तर्फ हिंड्न थाले। तर अब्राहाम परमप्रभुकोअघि उभिए। तब अब्राहामले परमप्रभुतर्फ बढेर सोधे, “परमप्रभु, के दुष्ट मानिसहरूलाई ध्वंश पार्दा धर्मी मानिसहरूलाई पनि ध्वंश पार्नु हुन्छ? यदि त्यहाँ पचास धर्मी मानिसहरू छन् भने त्यो शहरलाई नाश गर्नु हुन्छ? साँच्ची नै, तपाईंले शहर नष्ट पार्नु हुनेछैन। दुष्ट मानिसहरूलाई सर्वनाश पार्दा ती पचास जना मानिसहरूलाई ध्वंश पार्नु हुँदैन। यदि त्यस्तो भयो भने दुष्ट र राम्रा मानिसहरू एकै हुन्छन दुवै वर्गले सजाय भोग्ने छन् निश्चय ब्रम्हाण्डका न्यायधिशले जे सही छ त्यही गर्नुहुन्छ।” तब परमप्रभुले भन्नुभयो, “यदि मैले सदोममा पचास जना असल मानिसहरू पाएँ भने म सम्पूर्ण शहरलाई माफ गर्नेछु।” तब अब्राहामले भने, “तपाईंको तुलनामा परमप्रभु म धूलो, र खरानी बराबर मात्र हुँ। तर तपाईंलाई विरक्त बनाउदै म एउटा प्रश्न फेरि गर्न पाउँ के यदि पाँच जना धर्मी मानिसहरू हराए अनि पैतालीस जना मानिसहरू असल छन भने पनि के ती पाँच जानले गर्दा सारा शहर नाश पार्नुहुन्छ?” परमप्रभुले भन्नुभयो, “यदि मैले पैंतालीस जना धर्मी व्यक्तिहरू पाए भने त्यो शहर नाश पार्ने छैन।” अब्राहामले फेरि भने, “के यदि चालीसजना त्यहाँ असल भेटीए त्यो शहर नष्ट पार्नु हुन्छ?” परमप्रभुले भन्नुभयो, “यदि मैले चालीस जना व्यक्तिहरू असल भेटे त्यो शहर नाश पार्नेछैन।” तब अब्राहामले भने, “परमप्रभु दया गरी मसँग नरिसाउनु होस्। मलाई यो जान्न दिनु होस् यदि त्यस शहरमा तीस जना व्यक्तिहरू असल भेटे तपाईं के त्यो शहर नष्ट पार्नु हुन्छ?” परमप्रभुले भननुभयो, “यदि मैले तीस जना व्यक्तिहरू असल भेट त्यो शहर नष्ट पार्ने छैन।” तब अब्राहामले सोधे, “म मेरा परमप्रभुलाई विरक्त पार्दै फेरि प्रश्न गर्छु, यदि बीस जना मात्र असल मानिसहरू भेटे के गर्नु हुन्छ?” परमप्रभुले उत्तर दिनु भयो, “यदि मैले बीस जना मात्र असल मानिसहरू भेटे म त्यो शहर नष्ट पार्ने छैन।” तब अब्राहामले भने, “परमप्रभु, दया गरी मसँग नरिसाउनु होला, तर अन्तिम पटक तपाईलाई विरक्त पार्दै फेरि म प्रश्न राख्न चाहन्छु। यदि तपाईंले दश जना मात्र असल मानिसहरू भेटे के गर्नु हुन्छ?” परमप्रभुले भन्नुभयो, “यदि दश जना मात्र पनि असल मानिसहरू भेटे म नाश पार्ने छैन।”

शेयर गर्नुहोस्
उत्‍पत्ति 18 पढ्नुहोस्

उत्‍पत्ति 18:16-32 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

तब ती मानिसहरू उठे र त्‍यस ठाउँमा गए, जहाँबाट सदोम देखिन्‍थ्‍यो। तिनीहरूसँग अलि परसम्‍म गई अब्राहामले तिनीहरूलाई बिदा गरे। परमप्रभुले आफ्‍नो मनमा यस्‍तो सोच्‍नुभयो, “मैले के गर्न आँटेको छु, सो अब्राहामबाट लुकाउनेछैनँ। उसका सन्‍तानहरू एक महान् र सामर्थी जाति बन्‍नेछन् र ऊद्वारा म सबै जातिहरूलाई आशिष् दिनेछु। आफ्‍ना छोरा-नातिहरूलाई मेरा आज्ञा मान्‍न र जे कुरा ठीक र न्‍यायसङ्गत छ, सो गर्न आदेश देओस् भनी मैले अब्राहामलाई चुनेको हुँ। तिनीहरूले त्‍यसो गरे भने मैले प्रतिज्ञा गरेका सबै कुराहरू उसको लागि पूरा गर्नेछु।” तब परमप्रभुले अब्राहामलाई भन्‍नुभयो, “सदोम र गमोरामाथि ठूलो डरलाग्‍दो दोष लगाइएका छन् अनि तिनीहरूले ठूला पाप गरेका छन्। तिनीहरूमाथि लगाइएका र मैले सुनेका ती दोषहरू साँचा हुन् कि होइनन्, सो बुझ्‍नलाई म त्‍यहाँ जानुपर्छ।” तब दुई मानिसहरू हिँडे र सदोमतिर गए तर परमप्रभुचाहिँ अब्राहामसित रहनुभयो। परमप्रभुको छेउमा गएर अब्राहामले सोधे, “के तपाईंले साँच्‍चै निर्दोषहरूलाई पनि अपराधीहरूसितै नाश गर्नुहुन्‍छ? यदि त्‍यस सहरमा पचास जना निर्दोष मानिसहरू छन् भने पनि सारा सहरलाई नै नाश पार्नुहुनेछ? ती पचास जनालाई बचाउन के त्‍यस सहरलाई छोडिदिनुहुन्‍न? निश्‍चय नै अपराधीहरूसँग तपाईंले निर्दोषीहरूलाई मार्नुहुन्‍न। त्‍यसो हुन सक्‍दैन! तपाईंले त्‍यसो गर्न सक्‍नुहुन्‍न। तपाईंले त्‍यसो गर्नुभयो भने अपराधीहरूसित निर्दोषहरूले पनि दण्‍ड पाउनेछन्। त्‍यो हुन नसक्‍ने कुरा हो। सारा पृथ्‍वीका न्‍यायकर्ताले ठीकसँग न्‍याय गर्नुहुन्‍न र?” परमप्रभुले उत्तर दिनुभयो, “मैले सदोममा पचास जना निर्दोष मानिसहरूलाई पाएँ भने तिनीहरूको खातिर म पूरा सहर नै छोडिदिनेछु।” अब्राहामले फेरि भने, “परमप्रभु तपाईंसित बोलिरहने यो मेरो आँटलाई क्षमा गर्नुहोस्। म मानिस मात्र हुँ र मेरो केही भन्‍ने हक छैन। तर पचास जनाका सट्टामा पैँतालीस जना मात्र निर्दोष मानिसहरू पाइएलान्। तब के पाँच जना कम हुँदा सारा सहरै नाश पार्नुहुन्‍छ र?” परमप्रभुले उत्तर दिनुभयो, “पैँतालीस जना निर्दोष मानिसहरू पाएँ भने म सहरलाई नाश गर्नेछैनँ।” अब्राहाम फेरि बोले, “सायद चालीस जना मात्र पाइएलान् नि।” उहाँले भन्‍नुभयो, “चालीस जना मात्र भए पनि म त्‍यो सहर नाश गर्नेछैनँ।” अब्राहामले भने, “रिसानी माफ गर्नुहोला परमप्रभु, म फेरि बिन्‍ती नगरी सक्‍दिनँ। तीसै जना मात्र भए नि, कसो गर्नुहुनेछ?” उहाँले भन्‍नुभयो, “तीस जना पाए पनि म नाश गर्दिनँ।” अब्राहामले भने, “म तपाईंसँग बोलिरहने आँट गरिरहेको छु, माफ गर्नुहोला, परमप्रभु मानिलिनुहोस्, बीसै जना मात्र भए नि।” उहाँले भन्‍नुभयो, “बीसै जना पाएँ भने म त्‍यस सहरलाई नाश गर्नेछैनँ।” अब्राहामले भने, “परमप्रभु, अब एकचोटि बिन्‍ती गर्छु, रिसानी माफ गर्नुहोला, दशै जना मात्र पाइए भने कसो होला?” उहाँले भन्‍नुभयो, “दश जना छन् भने पनि म नाश गर्नेछैनँ।”

शेयर गर्नुहोस्
उत्‍पत्ति 18 पढ्नुहोस्