YouVersion लोगो
खोज आइकन

उत्‍पत्ति 17:15-21

उत्‍पत्ति 17:15-21 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

परमेश्‍वरले अब्राहामलाई भन्‍नुभयो, “अबदेखि तैँले तेरी स्‍वास्‍नीलाई साराई भनी बोलाउनेछैनस्, अब उसको नाम ‘सारा’ हुनेछ। म उसलाई आशिष् दिनेछु र उसबाट तँलाई एउटा छोरो दिनेछु। म उसलाई आशिष् दिनेछु र ऊ जाति-जातिका आमा हुनेछे र उसबाट जन्‍मेका सन्‍तानमा राजाहरू पनि हुनेछन्।” अब्राहामले निहुरेर निधारले भूइँ छोए तर यस्‍तो विचार गरेर हाँसे, “मानिस सय वर्षको बुढो हुँदा छोरा-छोरीको बुबा बन्‍न सक्‍छ र? नब्‍बे वर्षकी साराले छोरा-छोरी जन्‍माउन सक्‍ली र?” उनले परमेश्‍वरलाई प्रश्‍न गरे, “किन? इश्‍माएलले नै मपछि छोराले पाउने अधिकार पाओस् न?” तर परमेश्‍वरले भन्‍नुभयो, “अँहँ, हुँदैन, तेरी स्‍वास्‍नी साराले एउटा छोरो जन्‍माउनेछे, त्‍यसको नाम तैँले इसहाक राख्‍नेछस्। म त्‍योसित र त्‍यसका सन्‍तानसित सदाकालको निम्‍ति आफ्‍नो करार राख्‍नेछु। यो करार सदासर्वदाको लागि हो। तैँले इश्‍माएलको निम्‍ति गरेको बिन्‍ती मैले सुनें र म त्‍यसलाई आशिष् दिनेछु र धेरै छोरा-नातिहरू दिनेछु। त्‍यसका वंशमा बाह्र जना राजकुमारहरू जन्‍मनेछन् र त्‍यसका सन्‍तानलाई पनि म एउटा महान् जाति बनाउनेछु। तर साराले जन्‍माउने इसहाकसँग नै म मेरो करार पूरा गर्नेछु, त्‍यो बालक यस्‍तै बेलामा आउँदो साल जन्‍मनेछ।”

शेयर गर्नुहोस्
उत्‍पत्ति 17 पढ्नुहोस्

उत्‍पत्ति 17:15-21 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

फेरि परमेश्‍वरले अब्राहामलाई भन्‍नुभयो, “तेरी पत्‍नी साराईलाई चाहिँ अबदेखि साराई नाउँले नबोलाउनू, तर त्‍यसको नाउँ सारा हुनेछ। म त्‍यसलाई आशिष्‌ दिनेछु, र निश्‍चय नै त्‍यसबाट म तँलाई एक जना छोरो दिनेछु। म त्‍यसलाई आशिष्‌ दिनेछु, र त्‍यो धेरै जातिहरूकी आमा हुनेछे। जाति-जातिहरूका राजाहरू त्‍यसबाट उत्‍पन्‍न हुनेछन्‌।” तब अब्राहाम घोप्‍टो परी मनमनै हाँसेर भने, “के सय वर्ष पुगिसकेकोलाई सन्‍तान होला? नब्‍बे वर्ष पुगेकी साराले बालक जन्‍माउलिन्‌ र?” अनि अब्राहामले परमेश्‍वरलाई भने, “इश्‍माएल नै तपाईंको आशिष्‌मा बाँचिरहे त हुन्‍छ।” तब परमेश्‍वरले भन्‍नुभयो, “हो, तर तेरी पत्‍नी साराले नै तेरो लागि एक जना छोरा जन्‍माउनेछे, र तैंले त्‍यसको नाउँ इसहाक राख्‍नेछस्‌। म त्‍यससित र त्‍यसपछि हुने त्‍यसका सन्‍तानसित आफ्‍नो करार स्‍थापित गर्नेछु। अनि इश्‍माएलको विषयमा चाहिँ मैले तेरो बिन्‍ती सुनें। हेर्, म त्‍यसलाई आशिष्‌ दिनेछु, र म त्‍यसलाई फल्‍दो-फुल्‍दो तुल्‍याएर प्रशस्‍त गरी त्‍यसको वृद्धि गर्नेछु। बाह्र शासकको त्‍यो पिता हुनेछ, र म त्‍यसबाट एउटा ठूलो जाति उत्‍पन्‍न गराउनेछु। तर मेरो करार त म इसहाकसँगै स्‍थापित गर्नेछु, जसलाई साराले आउँदो साल यही समयमा तँबाट जन्‍माउनेछे।”

शेयर गर्नुहोस्
उत्‍पत्ति 17 पढ्नुहोस्

उत्‍पत्ति 17:15-21 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

परमेश्‍वरले अब्राहामलाई यो पनि भन्‍नुभयो, “तेरी पत्नी साराईको विषयमा चाहिँ, तैँले त्यसलाई अब उसो साराई भनेर नबोलाउनू; तर त्यसको नाम सारा हुनेछ। म त्यसलाई आशिष् दिनेछु, र म निश्‍चय तँलाई त्यसबाट एउटा छोरा दिनेछु। म त्यसलाई आशिष् दिनेछु, र त्यो धेरै जातिकी आमा हुनेछे; त्यसबाट जाति-जातिका राजाहरू उत्पन्‍न हुनेछन्।” तब अब्राहाम भुइँमा घोप्टो परे; अनि हाँसेर मनमनै भने, “के एक सय वर्ष पुगेको मानिसको पनि छोरा जन्मला र? के नब्बे वर्ष पुगेकी साराले पनि बच्‍चा जन्माउलिन् र?” अनि अब्राहामले परमेश्‍वरलाई भने, “इश्माएल तपाईंको आशिष्‌मुनि बाँच्छ भने पनि असल हुनेछ।” तब परमेश्‍वरले भन्‍नुभयो, “तेरी पत्नी साराले तेरो निम्ति एउटा छोरा जन्माउनेछे; र तैँले त्यसको नाम इसहाक राख्नू। म त्यससित र त्यसपछिका सन्तानका निम्ति मेरो करार अनन्तको करारको रूपमा स्थापित गर्नेछु। अनि इश्माएलको विषयमा चाहिँ मैले तेरो कुरा सुनेको छु; हेर्, म निश्‍चय नै त्यसलाई आशिष् दिनेछु; म त्यसलाई फलवन्त बनाउनेछु; अनि त्यसलाई संख्यामा असाध्यै बढाउनेछु। त्यो बाह्र शासकहरूका पिता हुनेछ, र म त्यसलाई एउटा महान् जाति बनाउनेछु। तर मेरो करारचाहिँ म इसहाकसँग नै स्थापित गर्नेछु, जसलाई साराले आउँदो साल यही समयमा तेरो निम्ति जन्माउनेछे”

शेयर गर्नुहोस्
उत्‍पत्ति 17 पढ्नुहोस्

उत्‍पत्ति 17:15-21 पवित्र बाइबल (NERV)

परमेश्वरले अब्राहामलाई भन्नुभयो, “म साराईलाई नयाँ नाउँ दिनेछु अनि तिम्री पत्नि साराईको नयाँ नाउँ सारा हुनेछ। म उसलाई आशीर्वाद दिनेछु। म उसलाई एउटा छोरा पनि दिनेछु अनि तँ छोराको बुबा हुनेछस्। तिनी धेरै राष्ट्रहरूको आमा हुनेछिन् अनि उबाट धेरै राजाहरू जन्मिनेछन्।” परमेश्वरलाई सम्मान दर्शाउन अब्राहाम जमीनतिर मुख गरी घोप्टो भए। तर तिनले हाँस्दै आफैंसित भने, “म एक सय बर्षको भएँ, अब म छोरा जन्माउन सक्तिन। अनि सारा पनि नब्बे बर्षकी भई र उनले नानी जन्माउन सक्तिन।” तब अब्राहामले परमेश्वरलाई भने, “म आशा गर्छु इश्माएल जीवित रही तपाईंको सेवा गर्नेछ।” परमेश्वरले भन्नुभयो, “होइन! मैले भनी सकें तिम्री पत्नी साराले एउटा छोरो जन्माउनेछिन् जसको नाउँ तिमीले इसहाक राख्नेछौ। म त्यो सित करार गर्नेछु। त्यो करार त्यस्तो हुनेछ उसका सबै सन्तानहरूसित सधैँको निम्ति बाँचिरहने छ।” “तैंले इश्माएलको कुरा गरिस अनि मैले त्यो सुनें। म उसलाई आशीर्वाद दिन्छु। उसको धेरै सन्तानहरू हुनछन् अनि तिनी बाह्रजना महान राजकुमारहरूको पिता हुनेछन् र तिनको परिवारहरूबाट एउटा महान् राष्ट्र बनिनेछ। मेरो करार इसहाकसित गर्नेछु। इसहाक साराको छोरो हुनेछ। त्यो छोरो अर्को बर्ष यही समयमा जन्मिनेछ।”

शेयर गर्नुहोस्
उत्‍पत्ति 17 पढ्नुहोस्