उत्पत्ति 16:1-14
उत्पत्ति 16:1-14 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
आफ्नी पत्नी साराईबाट अब्रामको कोही सन्तान भएको थिएन। तर हागार नाउँ भएकी तिनकी एउटी मिश्री कमारी थिई। साराईले अब्रामलाई भनिन्, “हेर्नुहोस्, परमप्रभुले मेरो कोख बन्द गरिदिनुभएको छ। यसकारण मेरी कमारीकहाँ जानुहोस्। शायद त्यसबाट मेरो निम्ति सन्तान हुन सक्छ।” अब्रामले साराईको कुरा माने। अब्राम कनानमा बसेका दश वर्षपछि तिनकी पत्नी साराईले आफ्नी कमारी मिश्री हागारलाई आफ्ना पति अब्रामलाई तिनकी पत्नी हुनलाई दिइन्। अनि तिनी हागारकहाँ गए, र त्यो गर्भवती भई। जब त्यसले “म गर्भवती भएछु” भनी थाहा पाई, तब त्यसले आफ्नी मालिक्नीलाई तुच्छ दृष्टिले हेर्न लागी। साराईले अब्रामलाई भनिन्, “ममाथिको अन्याय तपाईंकै शिरमाथि परोस्। मैले आफ्नी कमारी तपाईंकै काखमा दिएँ, र त्यो गर्भवती हुने बित्तिकै मलाई तुच्छ दृष्टिले हेर्न लागी। परमप्रभुले तपाईं र मेरो बीचमा इन्साफ गरिदेऊन्।” तर अब्रामले साराईलाई भने, “हेर, तिम्री कमारी तिम्रै हातमा छे। त्यसलाई जे गर्न मन लाग्छ त्यही गर।” तब साराईले त्यससित कठोर व्यवहार गर्न लागिन्, र त्यो तिनको सामुन्नेबाट भागेर गई। परमप्रभुका दूतले त्यसलाई उजाड़-स्थानमा शूरतिर जाने बाटोकै पानीको मूलनेर भेट्टाए। र तिनले सोधे, “ए साराईकी दासी हागार, कहाँबाट आइस् र कता जाँदैछेस्?” त्यसले भनी, “मेरी मालिक्नी साराईको सामुन्नेबाट भाग्दैछु।” परमप्रभुका दूतले त्यसलाई भने, “तेरी मालिक्नीकहाँ फर्केर जा, र तिनकै अधीनमा बस्।” परमप्रभुका दूतले फेरि त्यसलाई भने, “म तेरो वंशलाई यति औधी बढ़ाउनेछु कि त्यो धेरै भएकोले गन्न सकिनेछैन।” परमप्रभुका दूतले त्यसलाई भने, “तँ गर्भवती छेस्, र तैंले एउटा छोरो जन्माउनेछेस्। तैंले त्यसको नाउँ इश्माएल राख्नू, किनभने परमप्रभुले तेरो दु:ख हेर्नुभएको छ। मानिसहरूमा त्यो जङ्गली गधाजस्तै हुनेछ। त्यसको हात सबैका विरुद्धमा उठ्नेछ, र सबैका हात त्यसको विरुद्धमा उठ्नेछन्। आफ्ना सबै नातेदारहरूकै शत्रुतामा त्यो बसोबास गर्नेछ।” हागारले आफूसित कुरा गर्नुहुने परमप्रभुलाई यस्तो नाउँ दिई, “मलाई देख्नुहुने परमेश्वर तपाईं हुनुहुन्छ।” किनभने त्यसले भनी, “मैले साँच्ची नै परमेश्वरलाई देखेकी छु, र उहाँलाई देखेर पनि म जीवितै छु।” यसकारण त्यस पँधेरोको नाउँ बेअर-लहै-रोइ राखियो। कादेश र बेरेदको बीचमा त्यो पर्छ।
उत्पत्ति 16:1-14 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
अब्रामकी पत्नी साराईले तिनका निम्ति कुनै सन्तान जन्माइनन्। तर तिनकी हागार नाम भएकी एउटी इजिप्टियन दासी थिइन्; अनि साराईले अब्रामलाई भनिन्, “याहवेहले मेरो कोख बन्द गरिदिनुभएको छ। यसकारण जानुहोस्, मेरी दासीसित सुत्नुहोस्; सायद त्यसबाट मेरो लागि सन्तान पाउन सक्छु कि।” साराईले जे भनिन्, त्यस कुरामा अब्राम सहमत भए। यसरी अब्राम कनानमा दश वर्ष बसेपछि तिनकी पत्नी साराईले आफ्नी इजिप्टियन दासी हागारलाई आफ्ना पतिका निम्ति पत्नी हुनलाई दिइन्। अनि उनी हागारकहाँ गए, र त्यो गर्भवती भई। जब त्यसले आफू गर्भवती भएकी थाहा पाई, तब त्यसले आफ्नी मालिक्नीलाई हेप्न थाली। तब साराईले अब्रामलाई भनिन्, “मैले भोगिरहेको कष्टको लागि तपाईं जिम्मेवार हुनुहुन्छ। मैले मेरी दासीलाई तपाईंको अँगालोमा सुम्पेँ; अब त्यसले आफू गर्भवती भएकी थाहा पाएर मलाई हेप्न थालेकी छ। याहवेहले नै तपाईं र मेरो बीचमा न्याय गरिदेऊन्।” अब्रामले भने, “तिम्री दासी तिम्रै हातमा छे। तिमीलाई जे उचित लाग्छ, त्यससित त्यसै गर।” तब साराईले हागारसित दुर्व्यवहार गरिन्; त्यसकारण त्यो साराईबाट भागेर गई। पछि याहवेहका दूतले हागारलाई उजाडस्थानमा पानीको मूलको छेउमा भेटे; त्यो मूल शूरतिर जाने बाटोको छेउमा थियो। अनि उनले भने, “साराईकी दासी हागार, तँ कहाँबाट आइस्, र कहाँ जाँदैछस्?” तब त्यसले भनी, “म मेरी मालिक्नी साराईबाट भाग्दैछु।” तब याहवेहका दूतले त्यसलाई भने, “तँ आफ्नी मालिक्नीकहाँ जा, र तिनकै अधीनमा बस्।” याहवेहका दूतले फेरि भने, “म तेरा सन्तानहरूलाई यति धेरै बढाउनेछु कि तिनीहरूलाई गन्न सकिनेछैन।” याहवेहका दूतले त्यसलाई यो पनि भने: “तँ गर्भवती छस्, र तैँले एउटा छोरा जन्माउनेछस्। तैँले उसको नाम इश्माएल राख्नू; किनकि याहवेहले तेरो कष्टको पुकार सुन्नुभएको छ। तेरो छोरा मानिसहरूमा जङ्गली गधाझैँ हुनेछ; उसको हात सबैको विरुद्धमा उठ्नेछ, अनि सबैको हात त्यसको विरुद्धमा उठ्नेछ; र ऊ आफ्ना दाजुभाइहरूसँग शत्रुतामा बसोबास गर्नेछ।” हागारले आफूसित बोल्नुहुने याहवेहलाई यो नाम दिई, “तपाईं मलाई देख्नुहुने परमेश्वर हुनुहुन्छ,” किनकि त्यसले भनी, “मलाई देख्नुहुनेलाई अब मैले पनि देखेकी छु।” त्यसैकारण त्यस कुवालाई बेअर-लहै-रोइ भनियो; जुनचाहिँ कादेश र बेरेदको बीचमा अहिलेसम्म पनि छ।
उत्पत्ति 16:1-14 पवित्र बाइबल (NERV)
साराई अब्रामकी पत्नी थिइन्, तर ती दुइ जनाको कुनै सन्तान भएन। साराईकी एउटी कमारी थिई, जसको नाउँ हागार थियो त्यो मिश्रकी थिई। साराईले आफ्नो लोग्नेलाई भनी, “परमप्रभुले मलाई कुनै सन्तान दिनु भएन। यसर्थ मेरी कमारीसित तपाईंले सहवास गर्नुहोस् अनि म त्यस कमारीबाट जन्मेको नानीलाई मेरो आफ्नै नानी मान्नेछु।” अब्रामले आफ्नी पत्नीको सल्लाह माने। यो घट्ना अब्राम कनानमा दशबर्षसम्म बसे पछिको हो। साराईले अब्रामलाई आफ्नो कमारी राख्ने अनुमति दिई हालिन्। (हागार साराईको मिश्र देशकी कमारी थिई) हागारले अब्रामको गर्भ धारण गरी। जब उनले चाल पाई उनले गर्भ धारण गरी ऊ घमण्डले फुलिइ अनि अनुभव गरी ऊ साराई उसको मालिकनीभन्दा असल हो। तर साराईले अब्रामलाई भनिन्, “मेरी कमारीले मलाई घृणा गर्छे। यसको निम्ति म तपाईंलाई जिम्मावार ठहराउँछु। मैले तपाईंलाई आफ्नी कमारी दिएँ र त्यसले गर्भ धारण गरी। तब उनले आफूलाई म भन्दा असल हुँ भन्ने गर्छे। म चाहन्छु परमप्रभुले हामी दुइ बीच ठीक न्याय गरून्।” तर अब्रामले साराईलाई भने, “तिमी हागारकी मालिकनी हौ र तिमीले उसलाई जे इच्छा लाग्छ त्यही गर्न सक्छौ।” यसर्थ साराईले हागारलाई सजाय दिई अनि हागार भागी। परमप्रभुको र्स्वग दूतले हागारलाई मरुभूमिमा पानीको स्रोतनेर भेटे। त्यो पानीको स्रोत शूर जाने बाटोनिर थियो। स्वर्गदूतले हागारलाई भने, “हागार तिमी साराईकी दासी हौ, तिमी किन यहाँ छौ? तिमी कहाँ जाँदैछौ?” हागारले भनी, “म साराईदेखि भाग्दैछु।” परमप्रभुका स्वर्गदूतले हागारलाई भने, “साराई तिम्री मालिक्नी हुन, फर्केर जाऊ अनि तिनको आज्ञा पालन गर।” स्वर्गदूतले पनि भने, “म तिम्रा सन्तानहरू यति सम्म बढाउनेछु तिनीहरूलाई गन्न सकिंदैन।” परमप्रभुका दूतले यसो पनि भने, “हागार अहिले तिमी गर्भवती छौ, अनि तिमीले छोरो जन्माउने छौ। तिमीले उसको नाउँ इश्माएल राख्ने छौ, किनभने तिमीलाई कुव्यावहार गरिएको छ जो परमप्रभुले सुन्नु भएको छ, र उहाँले तिमीलाई सहायता गर्नु हुनेछ। इश्माएल स्वतन्त्र र जंङ्गली गधा झैं हुनेछ, ऊ सबैको विरूद्धमा जानेछ, अनि सबै व्यक्तिहरू उसको विरूद्धमा आउनेछन्। ऊ एउटा भूमिबाट अर्को भूमिमा जानेछ, उनले आफ्नो आफन्तहरूको नजिक पाल हाल्नेछ, तर तिनीहरूको विरूद्धमा जानेछ।” परमप्रभुले हागारसित कुरा गर्नु भयो। हागारले परमेश्वरलाई अर्कै नाउँले सम्बोधन गरेर भनिन्, “तपाईं परमेश्वर हुनुहुन्छ जसले मेरो हेरचाह गर्नु हुन्छ।” यसैकारण उनले भनिन्, किनभने उनले विचार गरिन्, उनले साँच्चै त्यहाँ परमप्रभुलाई देखिन् जसले उसको हेरचाह गर्नु हुदै थियो। यसैले त्यस पानीको स्रोतको नाउँ बेर-लहै-रोइ राखियो। त्यो स्रोत कादेश र बेरेदको बीचमा छ।
उत्पत्ति 16:1-14 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
अब्रामकी स्वास्नी साराईको सन्तान हुन सकेको थिएन। उनकी एउटी हागार नाम गरेकी मिश्री कमारी थिई। उनले अब्रामलाई भनिन्, “परमप्रभुले मलाई छोरा-छोरीहरू दिनुभएन। यो मेरी कमारी केटीसित तपाईं सुत्नुहोस्। सायद त्यसले मेरो निम्ति एउटा सन्तान जन्माउन सक्छे कि?” साराईले भनेका कुरा अब्रामले माने। उनलाई साराईले रखेल बनाउन हागार दिइन्। (यो हुँदा, अब्रामले कनानमा दश वर्ष बास गरिसकेका थिए।) अब्राम हागारसित सुते र त्यो गर्भवती भई। आफू गर्भवती भएको थाहा पाएर हागार घमण्डी भई र साराईलाई हेप्न लागी। तब साराईले अब्रामलाई भनिन्, “तपाईंले गर्दा हागारले मलाई तुच्छ ठान्छे। मैले नै त्यसलाई तपाईंलाई दिएकी थिएँ। त्यसले आफू गर्भवती भएको चाल पाएपछि मलाई तुच्छ ठानेकी छे। तपाईं र मेरो बीचमा को ठीक छ भनी परमप्रभुले नै न्याय गरिदेऊन्।” अब्रामले उत्तर दिए, “हुन्छ, त्यो तिम्री कमारी हो र तिम्रै अधीनमा छे। तिमीलाई जे मन पर्छ, त्योसित त्यसै गर।” त्यसपछि साराईले हागारमाथि यति कठोर व्यवहार गरिन् कि त्यो घरबाट भागी। परमप्रभुका दूतले त्यसलाई मरुभूमिमा शूर जाने बाटोमा पानीका मूलनिर भेट्टाए र भने, “हागार, साराईको कमारी, तँ कताबाट आइस् र कता जाँदै छस्?” त्यसले उत्तर दिई, “मेरी मालिकनीदेखि म भाग्दै छु।” दूतले भने, “आफ्नो मालिकनीकहाँ फर्किगएर उसकी कमारी भएर बस्।” तब उनले भने, “म तँलाई यति धेरै सन्तान दिनेछु कि कसैले तिनलाई गन्न सक्नेछैन। तैँले छोरो जन्माउनेछस् र त्यसको नाम इश्माएल राख्नू किनभने परमप्रभुले तेरो दु:खको पुकारा सुन्नुभएको छ। तर तेरो छोरो जङ्गली गधाझैँ हुनेछ, त्यो हरेकको विरुद्धमा हुनेछ र हरेकले त्यसको विरोध गर्नेछ। त्यो आफ्ना सबै कुटुम्बहरूदेखि छुट्टिएर बास गर्नेछ।” हागारले मनमा सोची, “के साँच्चै मैले परमेश्वरलाई देखें र यसबारे भन्नलाई अझै जिउँदै छु?” त्यसरी आफूसित बोल्नुहुने परमप्रभुलाई त्यसले ‘मलाई देख्नुहुने परमेश्वर’ भनी नाम दिई। त्यसैले मानिसहरूले कादेश र बेरेदका बीचमा भएको त्यो इनारलाई ‘मलाई देख्नुहुने जीवित परमेश्वरको इनार’ भन्दछन्।