उत्पत्ति 13:14-18
उत्पत्ति 13:14-18 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
लोत तिनीबाट अलग भएपछि परमप्रभुले अब्रामलाई भन्नुभयो, “अब तेरा आँखा उठाएर तँ भएको ठाउँबाट उत्तर, दक्षिण, पूर्व र पश्चिमतिर हेर्। तैंले देखेका सबै ठाउँ म तँलाई र तेरा सन्तानलाई सधैँको निम्ति दिनेछु। म तेरा सन्तानलाई पृथ्वीको धूलोसरह बढ़ाउनेछु, यहाँसम्म कि कसैले धूलो गन्न सक्छ भने तेरा सन्तान पनि गन्न सक्नेछ। उठ्, देशको चारैतिर जा, किनकि म त्यो तँलाई दिनेछु।” तब अब्रामले आफ्ना पाल सारे, र हेब्रोनमा भएका मम्रेका फलाँटका रूखहरूमा आए। त्यहाँ आएर तिनी त्यहीँ बसोबास गर्न लागे। त्यहाँ परमप्रभुको निम्ति तिनले एउटा वेदी बनाए।
उत्पत्ति 13:14-18 पवित्र बाइबल (NERV)
लूत गएपछि परमप्रभुले अब्रामलाई भन्नुभयो, “आफ्नो वरिपरि हेर, उत्तर, दक्षिण पूर्व, पश्चिमतिर हेर। किनभने म तिमीलाई सम्पूर्ण भूमि दिनेछु जो तिम्रो आफ्नो आउँदो पुस्ताकोलागि हुनेछ अनि यो सदाका लागि तिम्रो भूमि हुनेछ। म तिम्रो सन्तानहरूलाई पृथ्वीको धूलो जस्तै गन्न नसकिने बनाउनेछु। जसरी पृथ्वीमा धूलो गन्न सकिंदैन अनि त्यसतै प्रकारले तिम्रो सन्तानहरूलाई गन्न सकिने छैन। यसर्थ अघि बढ, आफ्नो सम्पूर्ण भूमिमा हिंड किनभने मैले यो तँलाईं दिएको छु।” यसरी अब्रामले आफ्नो पालहरू हटाए अनि हेब्रोनमा माम्रे फँलाटका रूखहरू भएकहाँ गए। अब्रामले त्यस ठाउँमा परमप्रभुको आराधना गर्नको लागि एउटा वेदी बनाए।
उत्पत्ति 13:14-18 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
लोत गएपछि परमप्रभुले अब्रामलाई भन्नुभयो, “तँ जहाँ छस्, त्यहाँबाट चारैपट्टि हेर्। तैँले देखेका जति जम्मै जमिन म तँलाई र तेरा सन्तानलाई दिनेछु र ती सधैँको लागि तेरा हुनेछन्। म तँलाई यति धेरै छोरा-नातिहरू दिनेछु कि कसैले तिनीहरूको गन्ती लिन सक्नेछैन। तीभन्दा बरु पृथ्वीको धुलो गन्न सजिलो होला। अब गएर पूरा देशलाई हेर् किनभने त्यो सम्पूर्ण म तँलाई दिनेछु।” अनि अब्रामले आफ्ना पाल सारेर हेब्रोनमा मम्रेका पवित्र रूखहरूका छेउमा बास गर्न थाले। त्यहाँ उनले परमप्रभुको लागि एउटा वेदी बनाए।