उत्पत्ति 1:28-31
उत्पत्ति 1:28-31 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमेश्वरले तिनीहरूलाई आशिष् दिनुभयो, र तिनीहरूलाई भन्नुभयो, “फल्दै-फुल्दै, वृद्धि हुँदै, पृथ्वीमा भरिँदै र त्यसलाई आफ्नो वशमा पार्दैजाओ। समुद्रका माछाहरू, आकाशका पक्षीहरू तथा पृथ्वीका सबै जीवित प्राणीहरूमाथि अधिकार गर।” अनि परमेश्वरले भन्नुभयो, “हेर, म तिमीहरूलाई पृथ्वीका सबै बीउ उमार्ने बोटहरू र फलमा नै बीउ हुने सबै फलका रूखहरू दिन्छु। ती तिमीहरूलाई आहाराको निम्ति हुनेछन्। अनि पृथ्वीको हरेक पशु, आकाशको हरेक पक्षी र जमिनमा चलहल गर्ने हरेक जन्तु— हरेक प्राणी जसमा जीवन छ— तिनीहरूका आहाराको निम्ति म हरिया वनस्पति दिन्छु।” तब त्यस्तै भयो। आफूले बनाउनुभएको हरेक कुरा परमेश्वरले हेर्नुभयो। वास्तवमा त्यो साह्रै राम्रो थियो। अनि साँझ पर्यो र बिहान भयो— छैटौँ दिन।
उत्पत्ति 1:28-31 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
परमेश्वरले तिनीहरूलाई आशिष् दिनुभयो, र आज्ञा गर्नुभयो, “फल्दै-फुल्दै, वृद्धि हुँदै पृथ्वीमा भरिँदै र त्यसलाई आफ्नो वशमा पार्दैजाओ। समुद्रका माछा, आकाशका चराहरू र जमिनमा हलचल गर्ने प्रत्येक प्राणीहरूमाथि शासन गर।” तब परमेश्वरले तिनीहरूलाई भन्नुभयो, “हेर, म तिमीहरूलाई सम्पूर्ण पृथ्वीमा प्रत्येक बिउ भएका बिरुवा र फलमा बिउ भएका प्रत्येक रूख दिन्छु। ती तिमीहरूका भोजनका निम्ति हुनेछन्। तर पृथ्वीमा भएका सबै पशुहरू र आकाशमा भएका सबै चराहरू र जमिनमा चलहल गर्ने सबै प्राणीहरू—जीवनको सास भएका प्रत्येकका निम्ति—म आहाराको लागि हरियो वनस्पति दिन्छु;” तब त्यस्तै भइहाल्यो। आफूले बनाउनुभएका सबै कुरा परमेश्वरले हेर्नुभयो र ती अति असल थिए। तब साँझ पर्यो र बिहान भयो—छैटौँ दिन।
उत्पत्ति 1:28-31 पवित्र बाइबल (NERV)
परमेश्वरले तिनीहरूलाई आशीर्वाद दिंदै भन्नुभयो, “धेरै सन्तानहरू उत्पति गराऊ र पृथवी भरेर तिनीहरूको हेरचाह गर। समुद्रका माछाहरू, आकाशमा उड्ने चराहरू अनि पृथ्वीमा हिँड्डुल गर्ने, सबै प्राणीहरूमाथि शासन गर।” परमेश्वरले भन्नुभयो, “म तिमीहरूलाई अन्न हुने उद्भिद र फल फल्ने रूखहरू दिन्छु। ती रुखहरूले आफैं भित्र फेरि उम्रने बीउ भएका फलहरू दिनेछन् र यी अन्न र फलहरू तिमीहरूको निम्ति खाद्य-पदार्थ हुनेछन्। म फेरि पशुहरूलाई खानका निम्ति हरियो घाँस तथा उद्भिद दिनेछु र पृथ्वीमा भएका प्रत्येक सा-साना घस्रने प्राणीहरू, आकाशमा उड्ने चराहरू अनि पृथ्वीका सबै जनावरहरूले, यी चीजहरू खानेछन्।” अनि यस्तै भयो। परमेश्वरले आफूले सृष्टि गरेका प्रत्येक चीजको निरीक्षण गर्नु भयो अनि सबै असल लाग्यो। त्यहाँ साँझ पर्यो र फेरि अर्को बिहान भयो। यो छैटौं दिन थियो।
उत्पत्ति 1:28-31 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
परमेश्वरले आशिष् दिँदै यसो भन्नुभयो, “तिम्रा धेरै छोरा-छोरीहरू होऊन् र तिम्रा सन्तानले सारा पृथ्वी भरून् र त्यसमाथि अधिकार गरून्। माछा, चरा-चुरुङ्गी र सबै जङ्गलका पशुहरू म तिम्रा हातमा दिँदै छु। मैले तिमीहरूलाई सबै प्रकारका अन्न र फलहरू खानलाई दिएको छु। तर सबै जङ्गली पशुहरू र चरा-चुरुङ्गीको लागि चाहिँ तिनीहरूलाई खानलाई घाँस-पातहरू दिएको छु।” अनि त्यस्तै भइहाल्यो। परमेश्वरले आफूले बनाएका सबै थोकलाई हेर्नुभयो र साह्रै खुसी हुनुभयो। साँझ पर्यो र बिहान भयो– छैटौँ दिन।