उत्पत्ति 1:24-31
उत्पत्ति 1:24-31 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अनि परमेश्वरले भन्नुभयो, पृथ्वीले जात-जातका जीवित प्राणीहरू, अर्थात् जात-जातका पाल्तु पशुहरू, घस्रने जन्तुहरू र जात-जातका वन-पशुहरू उत्पन्न गरोस्। तब त्यस्तै भयो। परमेश्वरले पृथ्वीका जात-जातका वन-पशुहरू, जात-जातका पाल्तु पशुहरू र जमिनमा घस्रने जात-जातका जन्तुहरू बनाउनुभयो। अनि परमेश्वरले हेर्नुभयो, त्यो असल थियो। अनि परमेश्वरले भन्नुभयो, “मानिसलाई आफ्नै स्वरूपमा, हाम्रै प्रतिरूपमा बनाऔं। तिनीहरूले समुद्रका माछाहरू, आकाशका पक्षीहरू, पाल्तु पशुहरू र जमिनमा चलहल गर्ने सबै जन्तुहरूमाथि अधिकार गरून्।” यसैकारण परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो। परमेश्वरकै प्रतिरूपमा उहाँले तिनलाई सृष्टि गर्नुभयो। नर र नारी नै गरी उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो। परमेश्वरले तिनीहरूलाई आशिष् दिनुभयो, र तिनीहरूलाई भन्नुभयो, “फल्दै-फुल्दै, वृद्धि हुँदै, पृथ्वीमा भरिँदै र त्यसलाई आफ्नो वशमा पार्दैजाओ। समुद्रका माछाहरू, आकाशका पक्षीहरू तथा पृथ्वीका सबै जीवित प्राणीहरूमाथि अधिकार गर।” अनि परमेश्वरले भन्नुभयो, “हेर, म तिमीहरूलाई पृथ्वीका सबै बीउ उमार्ने बोटहरू र फलमा नै बीउ हुने सबै फलका रूखहरू दिन्छु। ती तिमीहरूलाई आहाराको निम्ति हुनेछन्। अनि पृथ्वीको हरेक पशु, आकाशको हरेक पक्षी र जमिनमा चलहल गर्ने हरेक जन्तु— हरेक प्राणी जसमा जीवन छ— तिनीहरूका आहाराको निम्ति म हरिया वनस्पति दिन्छु।” तब त्यस्तै भयो। आफूले बनाउनुभएको हरेक कुरा परमेश्वरले हेर्नुभयो। वास्तवमा त्यो साह्रै राम्रो थियो। अनि साँझ पर्यो र बिहान भयो— छैटौँ दिन।
उत्पत्ति 1:24-31 पवित्र बाइबल (NERV)
परमेश्वरले भन्नुभयो, “पृथवीले धेरै प्रकारका जीवित चीजहरू बनाओस्। त्यहाँ घरेलु पशुहरू, घस्रने जन्तुहरू अनि सबै प्रकारको जङ्गली जनावरहरू रहोस्।” अनि परमेश्वरले इच्छा गर्नु भएझैं नै यी सबै भए। यसर्थ परमेश्वरले जङ्गली जनावरहरू, पाल्तू जनावर, स-साना घस्रने जनावर विभिन्न प्रकारका प्राणीहरू सृष्टि गरेर हेर्दा उहाँलाई राम्रो लाग्यो। तब परमेश्वरले भन्नुभयो, “अब हामी मानिस सृष्टि गरौं। हामी मानिस हाम्रै स्वरूप बनाउनेछौं र मानिस हामी जस्तै हुनेछन्। तिनीहरूले जलचर, नभचर, स्थलचरमा ठूला साना अनि घस्रने सबै प्राणीहरूमाथि शासन गर्नैछन्।” यसर्थ परमेश्वरले आफ्नै प्रतिरूपमा मानिसलाई सृष्टि गर्नुभयो। परमेश्वरले आफ्नै स्वरूपमा मानिसलाई सृष्टि गर्नु भयो। उहाँले पुरुष र स्त्री सृष्टि गर्नुभयो। परमेश्वरले तिनीहरूलाई आशीर्वाद दिंदै भन्नुभयो, “धेरै सन्तानहरू उत्पति गराऊ र पृथवी भरेर तिनीहरूको हेरचाह गर। समुद्रका माछाहरू, आकाशमा उड्ने चराहरू अनि पृथ्वीमा हिँड्डुल गर्ने, सबै प्राणीहरूमाथि शासन गर।” परमेश्वरले भन्नुभयो, “म तिमीहरूलाई अन्न हुने उद्भिद र फल फल्ने रूखहरू दिन्छु। ती रुखहरूले आफैं भित्र फेरि उम्रने बीउ भएका फलहरू दिनेछन् र यी अन्न र फलहरू तिमीहरूको निम्ति खाद्य-पदार्थ हुनेछन्। म फेरि पशुहरूलाई खानका निम्ति हरियो घाँस तथा उद्भिद दिनेछु र पृथ्वीमा भएका प्रत्येक सा-साना घस्रने प्राणीहरू, आकाशमा उड्ने चराहरू अनि पृथ्वीका सबै जनावरहरूले, यी चीजहरू खानेछन्।” अनि यस्तै भयो। परमेश्वरले आफूले सृष्टि गरेका प्रत्येक चीजको निरीक्षण गर्नु भयो अनि सबै असल लाग्यो। त्यहाँ साँझ पर्यो र फेरि अर्को बिहान भयो। यो छैटौं दिन थियो।
उत्पत्ति 1:24-31 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तब परमेश्वरले आज्ञा गर्नुभयो, “पृथ्वीले हरेक थरीका ठूला-साना घरपालुवा र बन-पशुहरू उत्पन्न गरोस्,” अनि त्यस्तै भइहाल्यो। यसरी परमेश्वरले ती सबैलाई बनाउनुभयो र ती देखेर खुसी हुनुभयो। तब परमेश्वरले भन्नुभयो, “अब हामी मानिसलाई हाम्रै स्वरूपमा, हाम्रै प्रतिरूपमा बनाऔं। तिनीहरूले माछा, चरा-चुरुङ्गी, ठूला-साना सबै घरपालुवा र जङ्गली पशुहरूमाथि अधिकार गरून्।” यसरी परमेश्वरले मानिसजातिलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो। तिनीहरूलाई नर र नारी गरी सृष्टि गर्नुभयो। परमेश्वरले आशिष् दिँदै यसो भन्नुभयो, “तिम्रा धेरै छोरा-छोरीहरू होऊन् र तिम्रा सन्तानले सारा पृथ्वी भरून् र त्यसमाथि अधिकार गरून्। माछा, चरा-चुरुङ्गी र सबै जङ्गलका पशुहरू म तिम्रा हातमा दिँदै छु। मैले तिमीहरूलाई सबै प्रकारका अन्न र फलहरू खानलाई दिएको छु। तर सबै जङ्गली पशुहरू र चरा-चुरुङ्गीको लागि चाहिँ तिनीहरूलाई खानलाई घाँस-पातहरू दिएको छु।” अनि त्यस्तै भइहाल्यो। परमेश्वरले आफूले बनाएका सबै थोकलाई हेर्नुभयो र साह्रै खुसी हुनुभयो। साँझ पर्यो र बिहान भयो– छैटौँ दिन।