उत्पत्ति 1:20-25
उत्पत्ति 1:20-25 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अनि परमेश्वरले भन्नुभयो, “पानी जीवित प्राणीहरूले प्रशस्त गरी भरिऊन् र पक्षीहरूचाहिँ पृथ्वीमाथि आकाशमा उडून्।” यसैले समुद्रका विशाल जलचरहरू, पानीहरूमा भरिएर चलहल गर्ने किसिम-किसिमका सबै जीवित प्राणीहरू र जात-जातका पखेटा भएका सबै पक्षीहरू परमेश्वरले सृष्टि गर्नुभयो। अनि परमेश्वरले हेर्नुभयो, त्यो असल थियो। अनि परमेश्वरले तिनीहरूलाई यसो भनेर आशिष् दिनुभयो, “फल्दै-फुल्दै, वृद्धि हुँदै र समुद्रमा भरिँदैजाओ। अनि पक्षीहरूको पनि पृथ्वीमा वृद्धि हुँदैजाओस्।” अनि साँझ पर्यो र बिहान भयो— पाँचौँ दिन। अनि परमेश्वरले भन्नुभयो, पृथ्वीले जात-जातका जीवित प्राणीहरू, अर्थात् जात-जातका पाल्तु पशुहरू, घस्रने जन्तुहरू र जात-जातका वन-पशुहरू उत्पन्न गरोस्। तब त्यस्तै भयो। परमेश्वरले पृथ्वीका जात-जातका वन-पशुहरू, जात-जातका पाल्तु पशुहरू र जमिनमा घस्रने जात-जातका जन्तुहरू बनाउनुभयो। अनि परमेश्वरले हेर्नुभयो, त्यो असल थियो।
उत्पत्ति 1:20-25 पवित्र बाइबल (NERV)
तब परमेश्वरले भन्नुभयो, “पानी धेरै-धेरै प्राणीहरूले भरियोस्।” अनि पृथ्वीमाथि आकाशको फैलावटमा चरा चुरूङ्गीहरू उड्न थाले। यसर्थ परमेश्वरले सामुद्रिक ठूला-ठूला प्राणीहरू र पानीमा पौडिने विभिन्न प्रकारका जीव जन्तुहरू सृष्टि गर्नुभयो। परमेश्वरले आकाशमा उड्ने जाति-जातिका प्राणीहरू सृष्टि गर्नुभयो। पृथ्वीमा जलचर र थलचर विभिन्न प्रकारका प्राणीहरू परमेश्वरले सृष्टि गरी हेर्नु भयो र ती सबै असल लाग्यो। परमेश्वरले यी सबै प्राणीहरूलाई आशीर्वाद दिएर भन्नुभयो, पानीका प्राणीहरूले धेरै बच्चाहरू जन्माएर समुद्र भरियोस् अनि भूमिमा पनि चरा-चुरूङ्गीहरूले धेरै-धेरै बच्चाहरू जन्माएर पृथ्वी भरियोस्। त्यहाँ साँझ पर्यो र फेरि अर्कौ बिहान भयो। यो पाँचौ दिन थियो। परमेश्वरले भन्नुभयो, “पृथवीले धेरै प्रकारका जीवित चीजहरू बनाओस्। त्यहाँ घरेलु पशुहरू, घस्रने जन्तुहरू अनि सबै प्रकारको जङ्गली जनावरहरू रहोस्।” अनि परमेश्वरले इच्छा गर्नु भएझैं नै यी सबै भए। यसर्थ परमेश्वरले जङ्गली जनावरहरू, पाल्तू जनावर, स-साना घस्रने जनावर विभिन्न प्रकारका प्राणीहरू सृष्टि गरेर हेर्दा उहाँलाई राम्रो लाग्यो।
उत्पत्ति 1:20-25 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तब परमेश्वरले आज्ञा गर्नुभयो, “पानी थरी-थरीका जन्तुहरूले भरियोस् अनि आकाश पंक्षीहरूले भरियोस्।” यसरी परमेश्वरले ठूल्ठूला जल-जन्तु, पानीमा बास गर्ने सबै थरीका जन्तुहरू र सबै प्रकारका चरा-चुरुङ्गीहरू सृष्टि गर्नुभयो। त्यो देखेर परमेश्वर खुसी हुनुभयो। उहाँले तिनीहरू सबैलाई आशिष् दिनुभयो, पानीमा बास गर्नेहरूलाई बढ्दैगएर समुद्रमा भरिंदै जानू भन्नुभयो र चरा-चुरुङ्गीहरूलाई पनि बढ्दैजानू भन्नुभयो। साँझ पर्यो र बिहान भयो– पाँचौँ दिन। तब परमेश्वरले आज्ञा गर्नुभयो, “पृथ्वीले हरेक थरीका ठूला-साना घरपालुवा र बन-पशुहरू उत्पन्न गरोस्,” अनि त्यस्तै भइहाल्यो। यसरी परमेश्वरले ती सबैलाई बनाउनुभयो र ती देखेर खुसी हुनुभयो।