उत्पत्ति 1:1-26
उत्पत्ति 1:1-26 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
आदिमा परमेश्वरले आकाशमण्डल र पृथ्वी सृष्टि गर्नुभयो। पृथ्वी आकारविनाको र शून्य थियो। अथाह समुद्रमाथि अन्धकार थियो, र परमेश्वरका आत्मा पानीमाथि परिभ्रमण गर्दैरहनुहुन्थ्यो। अनि परमेश्वरले भन्नुभयो, “उज्यालो होस्।” तब उज्यालो भयो। र परमेश्वरले उज्यालोलाई हेर्नुभयो, त्यो असल थियो। उहाँले उज्यालो र अँध्यारोलाई अलग-अलग गर्नुभयो। परमेश्वरले उज्यालोलाई “दिन” र अँध्यारोलाई “रात” भन्नुभयो। साँझ पर्यो र बिहान भयो— पहिलो दिन। अनि परमेश्वरले भन्नुभयो, “पानीका बीचमा एक क्षेत्र होस्, र त्यसले पानीलाई दुई भाग गरोस्।” परमेश्वरले सो बनाएर क्षेत्रमुनिको र माथिको पानीलाई अलग-अलग गर्नुभयो। तब त्यस्तै भइहाल्यो। परमेश्वरले यस अन्तरिक्षलाई आकाश भन्नुभयो। साँझ पर्यो र बिहान भयो— दोस्रो दिन। अनि परमेश्वरले भन्नुभयो, “आकाशमुनि भएको पानी एक ठाउँमा जम्मा होस् र ओबानो भूमि देखा परोस्।” तब त्यस्तै भइहाल्यो। परमेश्वरले ओबानो भूमिलाई “पृथ्वी” भन्नुभयो, र जम्मा भएको पानीलाई “समुद्र” भन्नुभयो। अनि परमेश्वरले हेर्नुभयो, त्यो असल थियो। अनि परमेश्वरले भन्नुभयो, “भूमिले वनस्पति, बीउ हुने बोट-बिरुवाहरू र आ-आफ्नो किसिमको बीउ हुने फल फल्ने वृक्षहरू पृथ्वीमा उमारोस्।” तब त्यस्तै भइहाल्यो। भूमिले वनस्पति, बीउ हुने बोटहरू र आ-आफ्नो किसिमको बीउ हुने फल फल्ने वृक्षहरू उमार्यो। अनि परमेश्वरले हेर्नुभयो, त्यो असल थियो। साँझ पर्यो र बिहान भयो— तेस्रो दिन। अनि परमेश्वरले भन्नुभयो, “अन्तरिक्षमा दिन र रात छुट्ट्याउनलाई ज्योतिहरू होऊन्। तिनीहरू ऋतुहरू, दिनहरू र वर्षहरू छुट्ट्याउन चिन्हको रूपमा काम गरून्। र पृथ्वीमा प्रकाश दिनलाई अन्तरिक्षमा ती ज्योतिहरू होऊन्।” तब त्यस्तै भइहाल्यो। अनि परमेश्वरले दुई विशाल ज्योतिहरू बनाउनुभयो— ठूलो ज्योति दिनमाथि प्रभुत्व गर्न, र सानो ज्योति रातमाथि प्रभुत्व गर्न। उहाँले ताराहरू पनि बनाउनुभयो। अनि परमेश्वरले पृथ्वीमा प्रकाश दिनलाई, दिन र रातमाथि प्रभुत्व गर्न अनि उज्यालो र अँध्यारोलाई अलग-अलग गर्नलाई ती आकाशमा राख्नुभयो। अनि परमेश्वरले हेर्नुभयो, त्यो असल थियो। साँझ पर्यो र बिहान भयो— चौथो दिन। अनि परमेश्वरले भन्नुभयो, “पानी जीवित प्राणीहरूले प्रशस्त गरी भरिऊन् र पक्षीहरूचाहिँ पृथ्वीमाथि आकाशमा उडून्।” यसैले समुद्रका विशाल जलचरहरू, पानीहरूमा भरिएर चलहल गर्ने किसिम-किसिमका सबै जीवित प्राणीहरू र जात-जातका पखेटा भएका सबै पक्षीहरू परमेश्वरले सृष्टि गर्नुभयो। अनि परमेश्वरले हेर्नुभयो, त्यो असल थियो। अनि परमेश्वरले तिनीहरूलाई यसो भनेर आशिष् दिनुभयो, “फल्दै-फुल्दै, वृद्धि हुँदै र समुद्रमा भरिँदैजाओ। अनि पक्षीहरूको पनि पृथ्वीमा वृद्धि हुँदैजाओस्।” अनि साँझ पर्यो र बिहान भयो— पाँचौँ दिन। अनि परमेश्वरले भन्नुभयो, पृथ्वीले जात-जातका जीवित प्राणीहरू, अर्थात् जात-जातका पाल्तु पशुहरू, घस्रने जन्तुहरू र जात-जातका वन-पशुहरू उत्पन्न गरोस्। तब त्यस्तै भयो। परमेश्वरले पृथ्वीका जात-जातका वन-पशुहरू, जात-जातका पाल्तु पशुहरू र जमिनमा घस्रने जात-जातका जन्तुहरू बनाउनुभयो। अनि परमेश्वरले हेर्नुभयो, त्यो असल थियो। अनि परमेश्वरले भन्नुभयो, “मानिसलाई आफ्नै स्वरूपमा, हाम्रै प्रतिरूपमा बनाऔं। तिनीहरूले समुद्रका माछाहरू, आकाशका पक्षीहरू, पाल्तु पशुहरू र जमिनमा चलहल गर्ने सबै जन्तुहरूमाथि अधिकार गरून्।”
उत्पत्ति 1:1-26 पवित्र बाइबल (NERV)
आरम्भमा परमेश्वरले आकाश र पृथ्वी सृष्टि गर्नु भयो। पृथ्वी शून्य थियो, पृथ्वीमा केही पनि थिएन। समुद्रलाई अँध्यारोले ढाकेको थियो अनि परमेश्वरको आत्मा पानीमाथि परिभ्रमण गरिरहन्थ्यो। तब परमेश्वरले भन्नुभयो, “उज्यालो होस्!” अनि उज्यालो चम्कन थाल्यो। परमेश्वरले उज्यालो देख्नु भयो अनि त्यसलाई असल मान्नु भयो। तब परमेश्वरले उज्यालो र अँध्यारोलाई छुट्याउनु भयो। परमेश्वरले उज्यालोलाई “दिन” र अँध्यारोलाई “रात” नाउँ दिनु भयो। साँझ पर्यो अनि बिहान भयो। यो पहिलो दिन थियो। तब परमेश्वरले भन्नुभयो, “पानीलाई दुइ भाग पार्न त्यहाँ बतास होस्!” यसर्थ परमेश्वरले त्यहाँ बतास सृष्टि गर्नुभयो अनि पानी छुट्टियो। केही पानी बतासमाथि रह्यो अनि केही पानी बतास मुनि। परमेश्वरले त्यस बतासलाई “आकाश” नाउँ दिनु भयो। साँझ पर्यो अनि बिहान भयो। यो दोस्रो दिन थियो। तब परमेश्वरले भन्नुभयो, “आकाश मुनिको पानी एकै ठाउँमा जम्मा होस्, र त्यहाँ सुख्खा भूमि देखियोस्।” अनि त्यस्तै भयो। त्यो सुख्खा भूमिलाई परमेश्वरले “पृथ्वी” नाउँ राख्नु भयो। अनि एकै ठाउँमा जम्मा भएको पानीलाई “समुद्र” नाउँ राख्नु भयो। परमेश्वरलाई यस्तो भएकोमा असल लाग्यो। तब परमेश्वरले भन्नुभयो, “पृथ्वीमा घाँस, अन्न उत्पन्न गर्ने उद्भिद तथा फल हुने बोटहरू उम्रियोस्। फल-रूखहरूले बीउ भएका फल फलाउने छन्। अनि प्रत्येक रूखले आफ्नै जातिका बीउ उब्जाउनेछ। यी उद्भिदहरू पृथवीमा उम्रिउन्।” अनि यस्तै भयो। पृथ्वीमा घाँस र उद्भिदहरू उम्रे अनि अन्नहरू फले। अनि पृथ्वीमा फलभित्र बीउहरू हुने फल फल्ने रूखहरू उम्रिए। प्रत्येक उद्भिदले आफ्नै प्रकारको बीउहरू सिर्जना गरे। अनि परमेश्वरले यिनलाई देखेर असल मान्नु भयो। साँझ पर्यो अनि बिहान भयो। यो तेस्रो दिन थियो। तब परमेश्वरले भन्नुभयो, “आकाशमा उज्यालो होस्। यी उज्यालाहरूले दिनहरूबाट रातहरूलाई छुट्याउनेछन्। यो उज्यालाहरूलाई विशेष चिन्हहरूको निम्ति प्रयोग गरिनेछन् र यिनीहरूले सभाहरू कहिले हुने बताउनेछन्। अनि यिनीहरूलाई दिनहरू र वर्षहरू बताउनमा प्रयोग गरिनेछ। यी उज्यालाहरू पृथ्वीमा ज्योति चम्काउनको निम्ति आकाशमा रहनेछन्।” अनि यस्तै भयो। यसर्थ परमेश्वरले दुइवटा ठूला-ठूला प्रकाश पुञ्जहरू निर्माण गर्नुभयो। दिनमा प्रयोग गर्नको निम्ति परमेश्वरले ठूलो प्रकाश-पुन्ज बनाउनु भयो अनि रातको निम्ति सानो प्रकाश-पुन्ज बनाउनु भयो। परमेश्वरले ताराहरू पनि सृष्टि गर्नु भयो। पृथ्वीलाई उज्यालो पार्नको निम्ति यी प्रकाश-पुन्जहरू परमेश्वरले आकाशमा राख्नु भयो। यसकारण उहाँले तिनीहरूलाई आकाशमा दिन र रातमाथि शासन गाराउनु भयो। यी प्रकाश पुञ्जहरूले अँध्यारोबाट उज्यालो छुट्याए अनि परमेश्वरलाई यो असल लाग्यो। त्यहाँ साँझ पर्यो र फेरि अर्को बिहान भयो। यो चौथो दिन थियो। तब परमेश्वरले भन्नुभयो, “पानी धेरै-धेरै प्राणीहरूले भरियोस्।” अनि पृथ्वीमाथि आकाशको फैलावटमा चरा चुरूङ्गीहरू उड्न थाले। यसर्थ परमेश्वरले सामुद्रिक ठूला-ठूला प्राणीहरू र पानीमा पौडिने विभिन्न प्रकारका जीव जन्तुहरू सृष्टि गर्नुभयो। परमेश्वरले आकाशमा उड्ने जाति-जातिका प्राणीहरू सृष्टि गर्नुभयो। पृथ्वीमा जलचर र थलचर विभिन्न प्रकारका प्राणीहरू परमेश्वरले सृष्टि गरी हेर्नु भयो र ती सबै असल लाग्यो। परमेश्वरले यी सबै प्राणीहरूलाई आशीर्वाद दिएर भन्नुभयो, पानीका प्राणीहरूले धेरै बच्चाहरू जन्माएर समुद्र भरियोस् अनि भूमिमा पनि चरा-चुरूङ्गीहरूले धेरै-धेरै बच्चाहरू जन्माएर पृथ्वी भरियोस्। त्यहाँ साँझ पर्यो र फेरि अर्कौ बिहान भयो। यो पाँचौ दिन थियो। परमेश्वरले भन्नुभयो, “पृथवीले धेरै प्रकारका जीवित चीजहरू बनाओस्। त्यहाँ घरेलु पशुहरू, घस्रने जन्तुहरू अनि सबै प्रकारको जङ्गली जनावरहरू रहोस्।” अनि परमेश्वरले इच्छा गर्नु भएझैं नै यी सबै भए। यसर्थ परमेश्वरले जङ्गली जनावरहरू, पाल्तू जनावर, स-साना घस्रने जनावर विभिन्न प्रकारका प्राणीहरू सृष्टि गरेर हेर्दा उहाँलाई राम्रो लाग्यो। तब परमेश्वरले भन्नुभयो, “अब हामी मानिस सृष्टि गरौं। हामी मानिस हाम्रै स्वरूप बनाउनेछौं र मानिस हामी जस्तै हुनेछन्। तिनीहरूले जलचर, नभचर, स्थलचरमा ठूला साना अनि घस्रने सबै प्राणीहरूमाथि शासन गर्नैछन्।”
उत्पत्ति 1:1-26 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
सुरुमा जब परमेश्वरले आकाश र पृथ्वी सृष्टि गर्नुभयो, पृथ्वी आकारबिनाको, उजाड र सुनसान थियो। पानीले सबै ठाउँ ढाकेको थियो र गहिरो अन्धकार थियो। अनि पानीमाथि परमेश्वरका आत्मा घुमिरहनुहुन्थ्यो। तब परमेश्वरले आज्ञा गर्नुभयो, “उज्यालो होस्,” अनि उज्यालो भयो। त्यो देखेर परमेश्वर खुसी हुनुभयो। तब उहाँले उज्यालोलाई अँध्यारोबाट अलग पार्नुभयो र उज्यालोलाई ‘दिन’ र अँध्यारोलाई ‘रात’ नाम दिनुभयो। साँझ पर्यो र बिहान भयो– पहिलो दिन। तब परमेश्वरले आज्ञा गर्नुभयो, “पानीलाई भाग गरेर बीचमा एउटा अन्तर होस् र त्यसले पानी अलग-अलग ठाउँमा छुट्ट्याइराखोस्।” अनि त्यसै भयो। यसरी परमेश्वरले एउटा अन्तर बनाउनुभयो र त्यसका मुनि र माथिको पानीलाई छुट्ट्याउनुभयो। त्यस अन्तरलाई उहाँले ‘आकाश’ नाम दिनुभयो। साँझ पर्यो र बिहान भयो– दोस्रो दिन। तब परमेश्वरले आज्ञा गर्नुभयो, “आकाशमुनिको पानी एकै ठाउँमा जम्मा होस् र सुक्खा जमिन देखा परोस्!” अनि त्यस्तै भयो। उहाँले सुक्खा जमिनलाई ‘पृथ्वी’ र जम्मा भएको पानीलाई ‘समुद्र’ नाम दिनुभयो। त्यो देखेर परमेश्वर खुसी हुनुभयो। तब उहाँले आज्ञा गर्नुभयो, “पृथ्वीले सबै प्रकारका रूखपात, अन्न र फल फलाउने बोटहरू उमारोस्।” अनि त्यस्तै भयो। यसरी पृथ्वीले हरेक प्रकारका रूखपात उमार्यो र यो देखेर परमेश्वर खुसी हुनुभयो। साँझ पर्यो र बिहान भयो– तेस्रो दिन। तब परमेश्वरले आज्ञा गर्नुभयो, “दिन र रात छुट्ट्याउन र दिन, वर्ष र धर्मिक चाडहरू जनाउन आकाशमा ज्योतिहरू देखा परून्। पृथ्वीमा ज्योति दिन तिनीहरू आकाशबाट चम्कून्।” अनि त्यस्तै भइहाल्यो। परमेश्वरले दिउँसो राज्य गर्न घाम र राती राज्य गर्न जून, दुईवटा ठूल्ठूला ज्योतिहरू बनाउनुभयो। उहाँले ताराहरू पनि बनाउनुभयो। उहाँले ती ज्योतिहरूलाई पृथ्वीमाथि चम्कन, दिन र रातमाथि राज्य गर्न र उज्यालो र अँध्यारोलाई छुट्ट्याउन आकाशमा राख्नुभयो। अनि त्यो देखेर परमेश्वर खुसी हुनुभयो। साँझ पर्यो र बिहान भयो– चौथो दिन। तब परमेश्वरले आज्ञा गर्नुभयो, “पानी थरी-थरीका जन्तुहरूले भरियोस् अनि आकाश पंक्षीहरूले भरियोस्।” यसरी परमेश्वरले ठूल्ठूला जल-जन्तु, पानीमा बास गर्ने सबै थरीका जन्तुहरू र सबै प्रकारका चरा-चुरुङ्गीहरू सृष्टि गर्नुभयो। त्यो देखेर परमेश्वर खुसी हुनुभयो। उहाँले तिनीहरू सबैलाई आशिष् दिनुभयो, पानीमा बास गर्नेहरूलाई बढ्दैगएर समुद्रमा भरिंदै जानू भन्नुभयो र चरा-चुरुङ्गीहरूलाई पनि बढ्दैजानू भन्नुभयो। साँझ पर्यो र बिहान भयो– पाँचौँ दिन। तब परमेश्वरले आज्ञा गर्नुभयो, “पृथ्वीले हरेक थरीका ठूला-साना घरपालुवा र बन-पशुहरू उत्पन्न गरोस्,” अनि त्यस्तै भइहाल्यो। यसरी परमेश्वरले ती सबैलाई बनाउनुभयो र ती देखेर खुसी हुनुभयो। तब परमेश्वरले भन्नुभयो, “अब हामी मानिसलाई हाम्रै स्वरूपमा, हाम्रै प्रतिरूपमा बनाऔं। तिनीहरूले माछा, चरा-चुरुङ्गी, ठूला-साना सबै घरपालुवा र जङ्गली पशुहरूमाथि अधिकार गरून्।”