गलाती 6:11-18
गलाती 6:11-18 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हेर, म कति ठूला-ठूला अक्षरहरूले आफ्नै हातले तिमीहरूलाई लेखिरहेछु। ख्रीष्टका क्रूसको कारणले सतावटमा नपरून् भनी बाहिरी तवरले सब ठीक देखिन चाहनेहरूले नै तिमीहरूलाई खतना गर्न कर लाउँछन्। किनकि खतना गर्नेहरू आफै पनि व्यवस्था पालन गर्दैनन्, तर तिमीहरूको शरीरमा घमण्ड गर्नको निम्ति तिमीहरूले खतना गरेको तिनीहरू चाहन्छन्। हाम्रा प्रभु येशू ख्रीष्टको क्रूस बाहेक अरू कुनै पनि कुरामाथि घमण्ड गर्ने कुरा मदेखि दूर रहोस्, जसद्वारा मचाहिँ संसारको लेखि, र संसार मेरो लेखि क्रूसमा झुण्ड्याइएको छ। न त खतनाको केही महत्त्व छ, न बेखतनाको, तर नयाँ सृष्टि नै सब थोक हो। अब जो-जति यस नियममा चल्दछन्, तिनीहरूमाथि र परमेश्वरका इस्राएल जातिमाथि शान्ति र कृपा रहोस्। अबदेखि उसो कसैले मलाई कष्ट नदेओस्, किनभने म आफ्नो शरीरमा येशूका डामहरू धारण गर्दछु। भाइ हो, हाम्रा प्रभु येशू ख्रीष्टको अनुग्रह तिमीहरूको आत्मासँग रहोस्। आमेन।
गलाती 6:11-18 नेपाली समकालीन संस्करण (NCV)
हेर, मैले तिमीहरूलाई आफ्नै हातले कति ठूला-ठूला अक्षरमा पत्र लेखेको छु। जो पापमय स्वभावद्वारा मानिसहरूलाई प्रभाव पार्न चाहन्छ, तिनीहरूले तिमीहरूलाई खतना गर्न बाध्य गराउँछन्। उनीहरूले यसो गराउनुको कारणचाहिँ ख्रीष्टको क्रूसको सन्देशबाट हुने सतावटबाट जोगिनलाई मात्र हो। खतना गर्नेहरूले पनि व्यवस्था पालन गर्दैनन्, तापनि तिमीहरूको खतना भएको तिनीहरू चाहन्छन्, ताकि तिमीहरूको शरीरको खतनामा उनीहरूले घमण्ड गर्न सकून्। मैले हाम्रा प्रभु येशू ख्रीष्टको क्रूसमा बाहेक अरू कुनै कुरामा घमण्ड गर्न नपरोस्, जसद्वारा मचाहिँ संसारको निम्ति र संसार मेरो निम्ति क्रूसमा टाँगिएको छ। खतना होस् वा बेखतनाको होस् कुनै अर्थ छैन, तर ख्रीष्टमा भएको नयाँ सृष्टिचाहिँ अर्थपूर्ण छ। यो नियम पालन गर्ने सबैलाई र परमेश्वरको इस्राएललाई शान्ति र कृपा। अन्त्यमा, अबदेखि उसो कसैले मलाई कष्टमा नपारोस्, किनकि मैले मेरो शरीरमा येशूका डामहरू धारण गरेको छु। दाजुभाइ-दिदीबहिनीहरूहो, हाम्रा प्रभु येशू ख्रीष्टको अनुग्रह तिमीहरूको आत्मासँग रहोस्। आमेन!
गलाती 6:11-18 पवित्र बाइबल (NERV)
यो म आफैं लेख्दैछु। हेर कति लामो चिठ्ठी म लेख्छु। कसैले तिमीहरूलाई खतना गर्न कर लगाउलान्। अरूले तिनीहरूलाई मानुन् भन्ने आशामा मात्र तिनीहरूले त्यसो गर्छन्। ख्रीष्टको क्रूसलाई मात्र मान्दा तिनीहरूको खेदो होला कि भनेर ती डराउँछन्। जसले खतना गराऊन बल दिन्छन्, तिनीहरू आफैं व्यवस्था मान्दैनन् तर तिमीहरूलाई खतना भने गराउन चाहन्छन्। यदि तिनीहरू आफ्नो इच्छा पूरा गराउन सके तिनीहरू आफूमा गर्व गर्छन्। म चाँहि त्यस्ता कुरामा गर्व गर्दिन भन्ने आशा गर्छु। म हाम्रा प्रभु येशू ख्रीष्टको क्रूसमा गर्व गर्छु। क्रूसद्वारा संसार मेरोलागि मरेको छ र संसारकोलागी म मरिसकेको छु। खतना किन गर्नु? त्यो कुनै महत्वपूर्ण कुरा होइन। महत्वपूर्ण कुरा हो परमेश्वरले बनाउनु भएको नयाँ मानिस हुनु। यो व्यवस्था पालन गर्ने परमेश्वरका सम्पूर्ण जनहरू अनि परमेश्वरका जम्मै मानिसहरू प्रति शान्ति र करूणा रहोस्। अब उसो कसैले मलाई धेरै कष्ट नदेऊ। मेरो शरीरभरि चोटका दागहरू छन्। यी दागहरूले प्रमाण गर्छ कि म ख्रीष्ट येशूकै हुँ। मेरा दाज्यू-भाइ दिदी-बहिनीहरू! हाम्रा प्रभु येशू ख्रीष्टको अनुग्रह तिमीहरूको आत्मामा रहिरहोस् भनी म प्रार्थना गर्छु। आमिन।
गलाती 6:11-18 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
मैले आफ्नै हातले ठूला-ठूला अक्षरमा तिमीहरूलाई यो लेखेको छु। बाहिरी देखावटी कुरा चाहनेहरूले नै खतना चाहिन्छ भनी तिमीहरूलाई कर लाउँछन्। यो कुरो उनीहरू क्रूसमा दिएको ख्रीष्टको बलिदानले गर्दा खेदो आइनपरोस् भनेर जोगिनलाई मात्र भन्दछन्। खतना लिनेहरू आफैं पनि व्यवस्थाले भनेझैँ गर्दैनन्। तर खतनाको रीति पालन गर्न लाग्यौं भनी घमण्ड गर्न मात्र उनीहरू तिमीहरूलाई गर्न लगाउँछन्। तर मचाहिँ अरू कुरामा होइन, येशू ख्रीष्टको क्रूसमा मात्र घमण्ड गर्छु। उहाँको क्रूसले गर्दा मेरो लागि संसार मरेको छ र संसारको लागि म मरेको छु। खतना लाए पनि, नलाए पनि केही हुँदैन, तर नयाँ सृष्टि हुनुचाहिँ मुख्य कुरो हो। यस कुरालाई जीवनमा पालन गर्ने जति र परमेश्वरका सबै जनमाथि शान्ति र दया रहोस्। अब मलाई यस कुरामा कसैले दु:ख नदेओस्। येशूको कमारो हुँ भनी देखाउने चोटका दागहरू मैले मेरो शरीरमा बोकेको छु। हे दाजुभाइहरू, तिमीहरूको आत्मामा प्रभु येशू ख्रीष्टको अनुग्रह रहोस्। आमेन।