YouVersion लोगो
खोज आइकन

एज्रा 9:5-15

एज्रा 9:5-15 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

तब बेलुकीका बलिदानको समयमा म फाटेको पोशाक र खास्‍टोमा नै आफूलाई स्‍वयम्‌ होच्‍याएको अवस्‍थाबाट उठें। मैले घुँड़ा टेकेर परमप्रभु मेरा परमेश्‍वरतिर हात पसारी यसो भनेर प्रार्थना गरें: “हे मेरा परमेश्‍वर, मेरो अनुहार तपाईंतिर उठाउन म साह्रै लज्‍जित र अपमानित भएको छु। किनभने हे मेरा परमेश्‍वर, हाम्रा पाप हाम्रो शिरभन्‍दा अल्‍गा भएका छन्‌ र हाम्रो दोष आकाशसम्‍मै पुगेको छ। हाम्रा पुर्खाहरूका दिनदेखि आजको दिनसम्‍मै हाम्रो दोष अत्‍यन्‍तै ठूलो भएको छ। हाम्रो अधर्मले गर्दा हामीहरू र हाम्रा राजा र हाम्रा पूजाहारीहरूलाई विदेशी राजाहरूका हातमा मृत्‍यु, कैद, लूटपीट र ठूलो बेइज्‍जतको शिकार हुनु परेको छ, र हाम्रो वर्तमान दशा पनि यस्‍तै छ। “तर अब परमप्रभु हाम्रा परमेश्‍वरले हाम्रा लागि केही बाँकी मानिसहरूलाई दिएर र हामीलाई आफ्‍नो पवित्रस्‍थानमा सुरक्षित स्‍थान दिएर हामीमाथि एक छिनको लागि कृपालु हुनुभएको छ। र यसरी हाम्रा परमेश्‍वरले हाम्रा आँखामा ज्‍योति दिनुभएको छ र हाम्रो दासत्‍वमा केही आराम दिनुभएको छ। हामी दासहरू भए तापनि हाम्रो दासत्‍वको बन्‍धनमा हाम्रा परमेश्‍वरले हामीलाई त्‍याग्‍नुभएको छैन। उहाँले फारसका राजाहरूका सामु हामीमाथि आफ्‍नो कृपा देखाउनुभएको छ। हामीले हाम्रा परमेश्‍वरको भवन पुन: मरम्‍मत गर्न र त्‍यसका भत्‍केका भागलाई पुनर्निर्माण गर्न उहाँले हामीलाई जीवन प्रदान गर्नुभएको छ, र यहूदा र यरूशलेममा रक्षाको निम्‍ति उहाँले एउटा पर्खाल दिनुभएको छ। “अब हे हाम्रा परमेश्‍वर, यति भएपछि हामी के भनौं? तपाईंले आफ्‍ना दास अगमवक्ताहरूद्वारा दिनुभएका आज्ञाहरूको अवहेलना हामीले गरेका छौं, जब तपाईंले यसो भन्‍नुभएको थियो: तिमीहरूले अधिकार गर्नलाई प्रवेश गरिरहेको देश त्‍यसका मानिसहरूको दुष्‍टताले दूषित भएको छ। आफ्‍ना घिनलाग्‍दा चलनद्वारा ती अन्‍यजातिहरूले त्‍यस देशको कुना-कुनासम्‍मै आफ्‍नो अशुद्धताले भरेका छन्‌। यसकारण तिमीहरूले आफ्‍ना छोरीहरूलाई उनीहरूका छोराहरूसित र तिमीहरूका छोराहरूलाई उनीहरूका छोरीहरूसित विवाह नगरिदिनू। तिमीहरूले उनीहरूसित मित्रताको सम्‍झौता राख्‍न नखोज्‍नू। यसरी तिमीहरू शक्तिशाली भएर त्‍यस देशका असल-असल कुराहरूको भोग गर्नेछौ र तिमीहरूका सन्‍तानलाई त्‍यो चिरस्‍थायी अधिकार हुनलाई छोड़िराख्‍नेछौ। “अब हाम्रा दुष्‍ट कामहरू र हाम्रो ठूलो दोषको कारण हामीले दु:ख पाएका भए तापनि तपाईं, हाम्रा परमेश्‍वरले हामीलाई हाम्रा पापअनुसार पाउनुपर्नेभन्‍दा कम दण्‍ड दिनुभएको छ, र हामीलाई यस्‍तो बाँकी हिस्‍सा दिनुभएको छ। के हामी फेरि तपाईंका आज्ञाहरू उल्‍लङ्घन गरेर यस्‍ता घिनलाग्‍दा चालमा चल्‍ने मानिसहरूसँग वैवाहिक सम्‍बन्‍ध जोड़ौं? के तपाईं हाम्रा निम्‍ति कुनै अवशेष नराखी नाश गर्नसम्‍म रिसाउनुहुनेथिएन र? हे परमप्रभु इस्राएलका परमेश्‍वर, तपाईं धर्मी हुनुहुन्‍छ। आज हामी अवशेषको रूपमा छोड़िएका छौं। हामी आफ्‍नो दोषमा तपाईंको सामु उपस्‍थित छौं, यद्यपि हाम्रो दोषको कारण हामीमध्‍येको कोही पनि तपाईंको सामु टिक्‍न सक्‍दैनौं।”

शेयर गर्नुहोस्
एज्रा 9 पढ्नुहोस्

एज्रा 9:5-15 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

त्यसपछि साँझको बलिदानको समयमा म आफ्नो शोकाकुल अवस्थाबाट फाटेकै पोशाक र खास्टोसित उठेँ; अनि याहवेह मेरा परमेश्‍वरको सामु घुँडा टेकेर आफ्ना हातहरू फैलाउँदै प्रार्थना गरेँ: “हे मेरा परमेश्‍वर, तपाईंतिर मेरो अनुहार देखाउन म अति नै लज्जित र अपमानित भएको छु; किनकि हाम्रा पापहरू हाम्रो शिरभन्दा माथि छन् र हाम्रा दोषहरू आकाशसम्मै पुगेका छन्। हाम्रा पितापुर्खाहरूका दिनदेखि आजसम्म, हाम्रा दोषहरू अत्यन्तै धेरै भएका छन्। हाम्रा पापहरूले गर्दा हामी र हाम्रा राजाहरू र हाम्रा पुजारीहरूले विदेशी राजाहरूका तरवारबाट आजसम्मै मृत्यु, लुटपाट, कैद र अपमान खेप्नुपरेको छ, आज पनि हाम्रो हालत त्यस्तै छ। “तर अब थोरै समयका लागि याहवेह हाम्रा परमेश्‍वर हामीप्रति कृपालु हुनुभएर हामीमध्ये केहीलाई अवशेषको रूपमा बचाउनुभएको छ; अनि उहाँको पवित्रस्थानमा हामीलाई एउटा स्थिर ठाउँ दिनुभएको छ। यसरी हाम्रा परमेश्‍वरले हाम्रा आँखाहरूमा ज्योति र हाम्रा दासत्वबाट केही विश्राम दिनुभएको छ। हामीहरू दासहरू भए तापनि हाम्रा परमेश्‍वरले हामीलाई दासत्वमा त्याग्नुभएको छैन। परसीयाका राजाको सामु उहाँले हामीलाई अचुक कृपा देखाउनुभएको छ: हाम्रा परमेश्‍वरको भवन फेरि बनाउन र भत्केका भागलाई पुनर्निर्माण गर्नलाई उहाँले हामीलाई नयाँ जीवन दिनुभएको छ। अनि उहाँले हामीलाई यहूदा र यरूशलेममा सुरक्षाको पर्खाल दिनुभएको छ। “तर अब हे हाम्रा परमेश्‍वर, यो भएपछि हामीले के भन्‍न सक्छौँ र? किनकि हामीले आज्ञाहरू तोडेका छौँ, जुन तपाईंले आफ्नो सेवक अगमवक्ताहरूद्वारा अधिकार गर्न दिनुभयो; अनि त्यस बेला तपाईंले भन्‍नुभयो: ‘जुन देशमा तिमीहरू प्रवेश गर्न लागेका छौ, त्यो देश त्यहाँका मानिसहरूको अशुद्धताले दूषित पारिएको छ। तिनीहरूका घृणित व्यवहारहरूले र तिनीहरूका अशुद्धताले देशको एक कुनादेखि अर्को कुनासम्म भरिएको छ। यसकारण तिमीहरूले आफ्ना छोरीहरू तिनीहरूका छोराहरूसित विवाहको निम्ति नदिनू। अनि तिमीहरूले पनि उनीहरूका छोरीहरू आफ्ना छोराहरूका निम्ति नल्याउनू। तिनीहरूसित मित्रताको नाता कहिल्यै नजोड्नु, ताकि तिमीहरू बलिया हुन सक र त्यस देशको असल थोकहरूमा अधिकार गर्न सक। तिमीहरूका सन्तानहरूका निम्ति सदासर्वदाका लागि पैतृक सम्पत्तिको रूपमा राख्न सक।’ “हामीलाई जे भएको छ, त्यो हाम्रै दुष्‍ट कामहरू र हाम्रै ठूलो दोषको परिणाम हो। तथापि हाम्रा परमेश्‍वर, तपाईंले हाम्रा पापहरूभन्दा कम नै सजाय दिनुभएको छ; यसरी हामीलाई अझै बाँकी राख्नुभएको छ। के हामी फेरि तपाईंका आज्ञाहरूलाई तोडेर घृणित व्यवहार गर्ने र घृणित काम गर्ने मानिसहरूसित अन्तर-विवाह गर्ने? अनि के तपाईं हामीलाई एउटै पनि बाँकी नराखी नाश पार्न, अथवा एउटै पनि जीवित नछोडेसम्म तपाईंलाई रिस उठ्दैन थियो र? हे याहवेह, इस्राएलका परमेश्‍वर, तपाईं धर्मी हुनुहुन्छ! आजको दिनसम्म हामी अवशेषको रूपमा छोडिएका छौँ। यहाँ हामी हाम्रा दोषहरूसहित तपाईंको उपस्थितिमा छौँ। यद्यपि पापको कारणले हामीमध्ये कोही पनि तपाईंको उपस्थितिमा उभिन योग्यको छैनौँ।”

शेयर गर्नुहोस्
एज्रा 9 पढ्नुहोस्

एज्रा 9:5-15 पवित्र बाइबल (NERV)

तब साँझको बलिदानको समयमा लज्जीत अवस्थामा बसिरहेको देखि म उठें अनि च्यातिएका पहिरन अङ्ग वस्त्र सहित म घुँडा टेकेरे निहुरिए र परमप्रभु मेरो परमेश्वर तर्फ मैले मेरा हात फैलाएँ र मैले भने: “हे मेरो परमेश्वर, तपाईं प्रति मेरो अनुहार उठाउनु होस्, हे परमेश्वर, म अत्यन्तै लज्जित एवं घबराहट् छु तपाईंलाई माथिहेर्न। किनभने हाम्रो पापहरू हाम्रो शिर जतिकै उच्च भएर बढेका छन्। अनि हाम्रो अपराधहरू धेरै भएकाछन्। हाम्रा पापको कारणले आज हामी, हाम्रा राजाहरू अनि हाम्रा पूजाहारीहरू। विदेशी राजाहरूबाट तरवार, कैद, लुटमार अनि लाज र हीनता बोझद्वारा दण्डित् भएकाछौं। “अनि अहिले क्षणभरका निम्ति हाम्रा परमप्रभु परमेश्वरले हामी प्रति दया दर्शाउनु भएको छ। हामीमध्ये केहीलाई कैदी बाट उम्कन दिनु भएर अनि आफ्नो पवित्रस्थानमा हामीलाई सुरक्षित स्थान दिनुभएर जसमा कि हाम्रा परमेश्वरले हामीलाई नयाँ आशा दिनुहुन्छ, अनि हाम्रो दासत्वबाट हामीलाई नयाँ जीवन दिनु हुन्छ। किनभने हामी दासहरू हौं तर हाम्रा परमेश्वरले हामीलाई हाम्रो दासत्वबाट छाड्नु भएको छैन। हामीलाई नयाँ जिवन दिनु भएर हाम्रा परमेश्वरको मन्दिर पुनःर्निर्माण गर्न अनि त्यसको जीर्णोद्वार गर्नका निम्ति यहूदा एवं यरूशलेममा हामीलाई संरक्षणशील पर्खाल दिनु भएर फारसका राजा समक्ष उहाँले हामीलाई प्रेम, भक्तिभाव र दया दर्शाउनु भएको छ। “तर अब हाम्रा परमेश्वर, यसपछि हामी के भन्न सक्छौं? किनभने हामीले तपाईंका आदेशहरू ल्याएका छौं। जो तपाईंले तपाईंका सेवकहरू अगमबक्ताहरूद्वारा दिनु भयो। जब तपाईंले भन्नु भयोः ‘त्यो भूमि जसलाई अधिकारमा लिन तिमीहरू प्रवेश गरिरहेछौ, मानिसहरूको दुष्ट कार्यले गर्दा त्यो भूमि भ्रष्ट भएका छन्। तिनीहरूले त्यो भूमि एक छेऊ देखि अर्को छेऊ सम्म कुकर्म अनि अशुद्धताले भरिएका छन्। त्यो भुमिमा तिनीहरू एकछेउ देखि अर्कोछेउ सम्म आफ्ना दुष्कर्मद्वारा आफ्ना अस्वच्छ पनाद्वारा मरेका थिए। यसर्थ आफ्ना छोरा-छोरीहरूको लागि तिनीहरूका छोरा-छोरीहरूसँग पति-पत्नीको रूपमा तिनीहरूको कल्याण अथवा सफलताको चाहना कहिल्यै नगर जसद्वारा तिमीहरू शक्तिशाली हुनेछौ।’ “अनि तिमीहरूले त्यस भूमिको असल कुराहरूको उपभोग गर्न सक्ने छौ र तिमीहरूले सदाको निम्ति यसलाई पैतृक सम्पत्ति को रूपमा आफ्ना छोरा-छोरीहरू तथा सन्तानलाई दिन सक्ने छौ। आखिरमा हाम्रो दुष्टकर्म अनि महा-दोषको कारणले त्यो हामीमाथि आइपरेको भएता पनि तपाईं, हाम्रा परमेश्वरले हाम्रो पाप प्रति। उचित भन्दा कमदण्ड दिनु भएकोछ तपाईंले हामीलाई यसरी बाँच्नेहरूको एक समूह दिनु भए पछि के हामिले फेरि तपाईंको आदेश भङ्ग गर्नु, अनि यी इच्छा विपरित कार्य गर्ने मानिसहरू सित अन्तर-जातिय विवाह गर्नु? के हामीलाई नष्ट गर्नका निम्ति तपाईं क्रोधित हुनुहुन्न। जसमा कि त्यहाँ कोही पनि रहने छैन? “हे परमप्रभु इस्राएलका परमेश्वर तपाई असल हुनुहुन्छ! किनभने आज हामी बाँच्नेहरूको समुहमा छाडिएका छौं। यो दोष को कारण कोही पनि तपाईंको समक्ष निर्दोष घोषित हुन नसकेता पनि हामी दोष सहित यहाँ तपाईंका समक्ष छौं।”

शेयर गर्नुहोस्
एज्रा 9 पढ्नुहोस्

एज्रा 9:5-15 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

साँझपख बलिदान चढाउने समय हुँदा म आफैं शोक गर्दैगरेको ठाउँबाट उठें। मैले अझै ती च्‍यातेका वस्‍त्र नै लाइराखेको थिएँ। प्रार्थना गर्न घुँडा टेकें र आफ्‍ना हात परमप्रभु, मेरा परमेश्‍वरतिर पसारें। मैले बिन्‍ती गरें, “हे परमेश्‍वर, तपाईंको सामुन्‍नेमा आफ्‍नो शिर उठाउन मलाई साह्रै लाज लाग्‍छ। हाम्रा पापको रास हाम्रा टाउकाभन्दा माथि उठेको छ, त्‍यसले स्‍वर्ग पनि छुँदछ। हाम्रा पिता-पुर्खाका पालादेखि आजसम्‍म हामी तपाईंका प्रजाले ठूला पाप गरेका छौं। हाम्रा पापका कारणले हाम्रा राजा र पूजाहारीहरू, विदेशी राजाहरूका हातमा परे र हामी मारियौं, लुटियौं र कैदी बनाई विदेशमा लगियौं। हाम्रो धेरै अपमान भयो। आज पनि हामी त्‍यस्‍तै अवस्‍थामा छौं। हे परमप्रभु हाम्रा परमेश्‍वर, यस बेला केही समयको निम्‍ति तपाईं हामीप्रति कृपालु हुनुभएको छ र हामी कति जनालाई कमारापनबाट भागी यस पवित्रस्‍थानमा कुशलसाथ बस्‍न दिनुभएको छ। कमारा छँदाछँदै पनि तपाईंले हामीलाई नयाँ जीवन दिनुभएको छ। हामी कमारा थियौं तर हामीलाई तपाईंले त्‍यस अवस्‍थामा छोडिराख्‍नुभएन। तपाईंले फारसका राजाहरूलाई हामीमाथि कृपा-दृष्‍टि राख्‍न दिनुभएको र हामीलाई बाँच्‍न र भत्‍केको मन्‍दिर बनाउने अनि यहाँ यहूदा र यरूशलेममा सुरक्षा पाउने अनुमति दिन लाउनुभयो। “तर अब यी सबै भइसकेपछि हे परमेश्‍वर, हामी के भन्‍न सक्‍छौं र? हामीले फेरि ती आज्ञाहरू मानेनौं, जुन तपाईंले आफ्‍ना सेवक अगमवक्ताहरूद्वारा हामीलाई दिनुभएको थियो। तिनीहरूले हामीलाई भनेका थिए कि जुन देश कब्‍जा गरी हामी बास गर्नेछौं, त्‍यो एउटा अपवित्र देश हुनेछ किनभने त्‍यहाँ बस्‍ने मानिसहरूले त्‍यस देशलाई एक छेउदेखि अर्को छेउसम्‍म घिनलाग्‍दा फोहोर कामहरूले भरिराखेका छन्। ती देशका मानिसहरूसित बिहाबारी नगर्नू र तिनीहरूलाई उन्‍नति वा सफलता दिलाउने मद्दत नदिनू र मात्रै सो देश तिमीहरूले उपभोग गर्न पाउनेछौ र आफ्‍ना सन्‍तानहरूको लागि छोडिराख्‍नेछौ भनी तिनीहरूले हामीलाई भने। हाम्रा पाप र कुकर्मको निम्‍ति दण्‍ड दिँदै जति कुराहरू हामीमाथि आइपरे, त्‍यसपछि पनि हामी यो जान्‍दछौं कि तपाईंले हामीलाई हामीले पाउनुपर्ने जति दण्‍डभन्दा त कम नै दण्‍ड दिनुभएको छ र बाँचिरहन दिनुभएको छ। कसरी हामी फेरि तपाईंका आज्ञाहरू नमानी यी दुष्‍ट मानिसहरूसित बिहाबारी गर्न सक्‍छौं र? हामीले त्‍यसो गरे तपाईं यति साह्रो रिसाउनुहुनेछ कि हामीलाई पूरा नाश गरी कसैलाई बाँच्‍न दिनुहुनेछैन। परमप्रभु, इस्राएलका परमेश्‍वर, तपाईं न्‍यायी हुनुहुन्‍छ र तपाईंले हामीलाई बाँचिरहन दिनुभयो। हामी तपाईंसँग आफ्‍ना पाप मानिलिन्‍छौं। तपाईंको सामुन्‍ने आउने हाम्रो केही अधिकार छैन।”

शेयर गर्नुहोस्
एज्रा 9 पढ्नुहोस्