YouVersion लोगो
खोज आइकन

एज्रा 4:1-16

एज्रा 4:1-16 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

कैदबाट फर्केर आएकाहरूले परमप्रभु इस्राएलका परमेश्‍वरको मन्‍दिर बनाउँदैछन्‌ भन्‍ने कुरा जब यहूदा र बेन्‍यामीनका शत्रुहरूले सुने, उनीहरू यरुबाबेल, येशूअ, र परिवारका मुख्‍य मानिसहरूकहाँ आएर यसो भने, “हामीलाई पनि तपाईंसँग भवन निर्माण गर्न दिनुहोस्, किनभने हामी पनि तपाईंहरूझैँ तपाईंहरूका परमेश्‍वरको खोजी गर्दछौं, र हामीलाई यहाँ ल्‍याउने अश्‍शूरका राजा एसरहदोनको पालोदेखि नै हामी उहाँलाई नै बलिदान चढ़ाउँदैआएका छौं।” तर यरुबाबेल, येशूअ, र इस्राएलका बाँकी रहेका परिवारका मुखियाहरूले उनीहरूलाई यसो भने, “यो भवन, जो हामी हाम्रा परमेश्‍वरको निम्‍ति निर्माण गरिरहेका छौं, त्‍यसमा तिमीहरूको केही सम्‍बन्‍ध छैन। फारसका महाराजा कोरेसले हामीलाई आज्ञा गर्नुभएझैँ हाम्रा परमप्रभु इस्राएलका परमेश्‍वरको निम्‍ति यो भवन हामी मात्र निर्माण गर्नेछौं।” तब त्‍यस देशका मानिसहरूले यहूदीहरूको मन निराश गराउन र त्‍यो भवन निर्माण गर्ने काम बिथोल्‍न त्रास हाल्‍ने काम सुरु गरे। तिनीहरूको अभिप्रायलाई नाश गर्न उनीहरूले तिनीहरूको विरुद्धमा काम गर्न सल्‍लाहकारहरूलाई भाड़ामा लिए। फारसका राजा कोरेसको शासनकालभरि र दाराको शासनकालसम्‍म यस्‍तो काम चली नै रह्यो। अहासूरसका राजत्‍वकालको सुरुमा त्‍यस देशका मानिसहरूले यहूदा र यरूशलेमका बासिन्‍दाहरूका विरुद्धमा एउटा अभियोग-पत्र लेखेर पठाए। फारसका राजा अर्तासास्‍तको पालोमा विश्‍लाम, मित्रेता, ताबेल, र तिनका सबै सहयोगीहरूले उनलाई एउटा चिट्ठी लेखे। त्‍यो चिट्ठी आरमेइक अक्षर र आरमेइक भाषामा लेखिएको थियो। सेनापति रेहूम र सचिव शिम्‍शैले यरूशलेमको विरुद्धमा तलका विवरण दिएर अर्तासास्‍तलाई एउटा चिट्ठी लेखे: “सेनापति रेहूम, सचिव शिम्‍शै र उनीहरूसँग काम गर्ने सबै सहयोगीहरू, अर्थात्‌ त्रीपोलीस, फारस, एरेक र बेबिलोनका मानिसहरूमाथि अधिकार गर्ने न्‍यायाधीशहरू र हाकिमहरू, तथा शूशनका एलामीहरू, एवम्‌ अरू मानिसहरू, जसलाई महान्‌ र प्रसिद्ध अशूरवनिपलले देशनिकाला गरेर सामरियाको सहर र यूफ्रेटिस नदीको पारिको प्रान्‍तमा बसालेका थिए।” (उनीहरूले पठाएको चिट्ठीको नकल यही थियो।) अर्तासास्‍त महाराजाकहाँ हजूरका दास, यूफ्रेटिस पारिका मानिसहरूबाट: “महाराजालाई यो कुरो जाहेर होस्‌ कि हजूरलाई छोड़ेर यस ठाउँमा आएका यहूदीहरू यरूशलेममा आइपुगेर त्‍यस दुष्‍ट र बागी सहरको पुनर्निर्माण गरिरहेका छन्‌। तिनीहरूले त्‍यसको जग मरम्‍मत गरी त्‍यसको पर्खाल सिद्ध्याउनै लागेका छन्‌। “महाराजालाई यो कुरो पनि थाहा होस्‌ कि तिनीहरूका सहरको पुनर्निर्माण भयो र त्‍यसको पर्खाल सिद्ध्याइयो भने तिनीहरूले राजकर, आयकर, अथवा महसूल तिर्नेछैनन्, अनि आखिरमा राजसत्तामा हानि ल्‍याइनेछ। हामीले राजाको निमक खाएका हुनाले र राजाको अपमान भएको हेर्न हामीलाई उचित नलागेकोले, महाराजालाई यो कुरो जनाउनलाई हामी यो सन्‍देश पठाइरहेका छौं, कि हजूरका पूर्वजहरूका अभिलेखहरूको तलाश गरिबक्‍सिओस्‌। अभिलेखहरूमा खोजे हजूरलाई यो कुरो थाहा लाग्‍नेछ, कि यो सहर एउटा बागी सहर हो, र राजसत्ता र प्रान्‍तहरूमाथि हानि पुर्‍याउने यो सहर प्राचीन कालदेखि नै राजद्रोही भएको हो। त्‍यसैकारण यो उजाड़ पारिएको थियो। महाराजाकहाँ हामी यही जाहेर गर्न चाहन्‍छौं कि यदि यस सहरको पुनर्निर्माण भयो र यसको पर्खाल सिद्ध्याइयो भने त्‍यसको परिणाम यही हुनेछ, कि यूफ्रेटिस पारिको प्रान्‍तमा हजूरको केही अधिकार रहनेछैन।”

शेयर गर्नुहोस्
एज्रा 4 पढ्नुहोस्

एज्रा 4:1-16 पवित्र बाइबल (NERV)

जब यहूदा अनि बिन्यामीनका शत्रुहरूले सुने कि कैदीहरूले परमप्रभु, इस्राएलका परमेश्वरको मन्दिर पुनःर्निर्माण गर्दैछन्। तिनीहरू यरूबाबेल कुलका अगुवाहरू कहाँ आए अनि तिनीहरूलाई भने, “हामीहरूलाई निर्माण गर्न र तिमीहरूलाई सहायता गर्न देऊ, तिमीहरूले जस्तै हामी पनि तिमीहरूका परमेश्वरको प्रार्थना गर्छौं अनि हामीहरू अश्शूरका राजा एसरहद्‌दोनको समयदेखि बलिदान अर्पण गरिरहेका छौं जसले हामीहरूलाई यहाँ ल्याए।” तर यरूबाबेल येशूअ अनि इस्राएलका अन्य कुलका अगुवाहरूले तिनीहरूलाई भने, “हाम्रो परमेश्वरको मन्दिर निर्माण गर्न हामीलाई तिमीहरूले सहायता गर्नुपर्दैन। किनभने फारसका राजा कोरेसले हामीलाई आदेश गर्नु भए अनुसार परमप्रभु, इस्राएलका परमेश्वरको निम्ति हामीले मात्र मन्दिरको निर्माण गर्ने छौ।” यस प्रकारले ती वरिपरिका मानिसहरूले यहूदाका मानिसहरूलाई हतोत्साहित पारे अनि मन्दिर निर्माण गर्न तिनीहरूलाई भयभीत तुल्याए। फारसका राजा कोरेसको समयभरि, राजा दाराले शासन नगरे सम्म ती यहूदी मानिसहरू। अहासूरसको शासनकालको शुरूमा तिनीहरूले यहूदा अनि यरूशलेममा बस्ने यहूदीहरूको विरूद्ध एउटा अभियोग पत्र लेखेर पठाए। अनि आर्ट-जारसेज समयमा बिश्लाम, मित्रदात, ताबेल अनि आफ्ना अन्य सहयोगीहरूले फारसका राजा आर्ट-जारसेजलाई कागजमा लेखेको पत्र आरामी लिपिमा थियो, अनि अरामी भाषामा नै अनुवाद गरिएको थियो। उच्च आयुक्त रहूम, अनि शिम्शै, सचिवले यरूशलेमको विरूद्ध राजा आर्ट-जारसेजलाई एक पत्र यसरी लेखेः उच्च आयुक्त रहूम अनि शिम्शै सचिव र तिनिहरूका अन्य सहयोगिहरू, न्यायधीशहरू, आयुक्तहरू, फारसीहरू, एरेकहरू, बाबेल अनि शूशनका मानिसहरू अथवा एलामीहरू अनि अन्य मानिसहरू जसलाई महान अनि प्रख्यात अस्सूरबनिपालले तिनीहरूका देशबाट निकालेका थिए। अनि सामरियाको शहरहरू र प्रदेशका नदीपारि अन्य स्थानमा बसेका थिए। यो तिनीहरूले उनलाई पठाएका पत्र को एक प्रतीलिपि हो। राजा आर्ट-जारसेज प्रति, तपाईंका सेवकहरू नदी पारिको प्रदेशका मानिसहरूद्वारा। अबः राजालाई यो थाहा होला कि यहूदीहरू जो तपाई बाट हामी कहाँ आएका थिए यरूशलेम गएका छन्। तिनीहरूले बागी अर्थात दुष्ट शहर पुनःर्निर्माण गरिरहेछन्। तिनीहरूले पर्खालहरू पुनःर्निर्माण गरिरहेछन् तिनीहरूले जग निर्माण गरिरहेछन्। अब, राजालाई यो कुरा थाहा होस् कि यदि त्यो शहरको पुनःर्निर्माण भयो भने र त्यसका पर्खालहरू पूर्ण भए भने तिनीहरूले कुनै किसिमका तिरोहरू तिर्नेछैनन्। आखिरमा यसले राज्यसत्ता प्रति हानी पुर्याउनेछ। अहिले, हामीले राजा प्रति स्वामीभक्त हुने वचन दिएकाछौं। यसकारण राजाप्रति अपमान भएको हेर्नु हाम्रो निम्ति उचित होइन। यसैकारण हामीले राजालाई सूचित गर्न यो समाचार पठाएका छौं। जसमा कि तपाईका पिता-पुर्खाहरूका अभिलेखमा खोजि गरियोस्। यी अभिलेखहरूमा तपाईंले यो पाउनुहुनेछ अनि जान्नु हुनेछ कि त्यो एक बागी शहर हो। एक शहर जसले राजाहरू अनि देशहरूप्रति घात पुर्याउँछ। धेरै अघि देखिनै त्यो देश भित्र विद्रोह भईराइराखेको छ। यसैकारणले गर्दा त्यो शहर ध्वंश भएको थियो। हामी राजालाई यो सूचित गर्दछौं, कि त्यो शहरको पुनःर्निर्माण भयो अनि त्यसका पर्खालहरूको निर्माण भयो भने यूफ्रेटिस नदीको पश्चिमी सीमानापारी तपाईं को अधिकार रहने छैन।

शेयर गर्नुहोस्
एज्रा 4 पढ्नुहोस्

एज्रा 4:1-16 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

यहूदा र बेन्‍यामीनका मानिसहरूका शत्रुहरूले बेबिलोनियाका कैदबाट फर्किआएका मानिसहरूले परमप्रभु इस्राएलका परमेश्‍वरको मन्‍दिर फेरि बनाउन थालेका छन् भनी सुने। यसकारण तिनीहरू यरुबाबेल र गोत्र-गोत्रका प्रधानहरूसित भेट गर्न गए र भने, “मन्‍दिर बनाउने काममा तपाईंहरूलाई साथ दिने अनुमति हामीलाई दिनुहोस्। तपाईंहरूले पुजेका परमेश्‍वरलाई नै हामी पनि पुज्‍छौं। अश्‍शूरका महाराजा एसरहदोनले हामीलाई यहाँ बास गर्न पठाएका बेलादेखि नै हामीले उहाँलाई बलिदान चढाउँदैआएका छौं।” यरुबाबेल, येशूअ र गोत्र-गोत्रका प्रधानहरूले तिनीहरूलाई भने, “परमप्रभु हाम्रा परमेश्‍वरको मन्‍दिर बनाउन हामीलाई तपाईंहरूको मद्दत चाहिँदैन। त्‍यो हामी आफैं बनाउनेछौं। फारसका महाराजा कोरेसले आज्ञा गरेझैँ हामी सो काम गर्नेछौं।” त्‍यही देशमा बसोबास गर्दैआएका मानिसहरूले यहूदीहरूलाई हतास गराउने, तर्साउने र मन्‍दिर बनाउने कामबाट रोक्‍ने चेष्‍टा गरे। तिनीहरूले फारसका सरकारी अधिकारीहरूलाई यहूदीहरूका विरुद्धमा केही गरून् भनी घुस दिए। कोरेसको शासनकालभरि र दाराको शासनकालसम्‍म तिनीहरूले त्‍यसो गरिरहे। अहासूरस महाराजाका शासनको सुरुमा यहूदा र यरूशलेममा बास गर्ने मानिसहरूका विरुद्धमा तिनीहरूका शत्रुहरूले एउटा दोष-पत्र लेखेर ल्‍याए। फेरि अर्तासास्‍त, फारसका महाराजाका शासनकालमा विश्‍लाम, मित्रेता, ताबेल र तिनका साथीहरूले महाराजालाई एउटा चिठी लेखे। त्‍यो चिठी अरामी भाषामा लेखिएको थियो र पढ्दा अनुवाद गर्नपर्थ्‍यो। बडा-हाकिम रेहूम र प्रान्‍तका सचिव शिम्‍शैले पनि यरूशलेमबारे यस्‍तो चिठी अर्तासास्‍तलाई लेखे: “बडा-हाकिम रेहूम, प्रान्‍तका सचिव शिम्‍शै, तिनीहरूका सहकर्मीहरू, न्‍यायकर्ताहरू र अरू सबै भारदारहरू, जो सुरुमा एरेक, बेबिलोन र एलाम देशका शूशनबाट आएका हुन्, साथै अरू जातिहरूका मानिसहरू, जसलाई पराक्रमी अशूरवनिपलले तिनका घरबाट हटाई सामरिया सहर र पश्‍चिम यूफ्रेटिस प्रान्‍तका अरू स्‍थानहरूमा बसालेका थिए।” चिठीमा यो कुरा लेखिएको थियो: “पश्‍चिम यूफ्रेटिसका मानिसहरू, हजुरका सेवकहरूबाट महाराजा अर्तासास्‍तका चरणमा: “हामी महाराजालाई यो जनाउन चाहन्‍छौं कि हजुरका राज्‍यका अरू इलाकाहरूबाट आएका यहूदीहरूले यरूशलेममा बास गरेका छन् र त्‍यो दुष्‍ट र विद्रोही सहरलाई फेरि निर्माण गर्दै छन्। तिनीहरूले पर्खाल बनाउन थालेका छन् र चाँडै सिध्‍याउनेछन्। राजन्! यदि यो सहर फेरि बसालियो र यसका पर्खालहरू बनिसकिए भने यी मानिसहरूले कर तिर्न छोड्‍नेछन् र महाराजाका खजानामा कमी हुनेछ। तब हामीले महाराजाको नुन खाएको हुनाले यो भएको हामी हेर्न चाहँदैनौं र राजालाई यो सुझाव दिन्‍छौं कि हजुरका पिता-पुर्खाले राखेका राज्‍यका कागज-पत्रमा खोजी गर्ने आज्ञा गर्नुहोस्। यो यरूशलेम सहर सधैँ एउटा विद्रोही गर्ने सहर रहेको र प्राचीन समयबाट नै राजा र प्रान्‍तका शासकहरूलाई कष्‍ट दिँदै आएको कुरा हजुरले थाहा पाउनुहुनेछ। सधैँ यस सहरका मानिसहरूलाई शासन गर्न गाह्रो भएको छ। यसैकारणले सहरको नाश गरिएको थियो। यसकारण यो कुरा हामी पक्‍का जान्‍दछौं कि यो सहर फेरि बसालियो र यसका पर्खालहरू बनिसके भने हजुरलाई यूफ्रेटिस नदीको पश्‍चिम प्रान्‍तमा आफ्‍नो अधिकार राख्‍न सम्‍भव हुनेछैन।”

शेयर गर्नुहोस्
एज्रा 4 पढ्नुहोस्