YouVersion लोगो
खोज आइकन

इजकिएल 11:16-25

इजकिएल 11:16-25 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

“यसकारण यसो भन्, ‘परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ: यद्यपि मैले तिनीहरूलाई जाति-जातिहरूका बीचमा टाढ़ा पठाएँ र तिनीहरूलाई देश-देशमा तितरबितर पारें, तिनीहरू गएका देशमा केही समयको निम्‍ति म तिनीहरूको शरणस्‍थान भएको छु’। “यसकारण भन्, ‘परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: जाति-जातिहरूबाट म तिमीहरूलाई जम्‍मा गर्नेछु। जहाँ-जहाँ तिमीहरू तितरबितर भएका छौ, ती देशहरूबाट म तिमीहरूलाई फर्काएर इस्राएलको देश दिनेछु’। “तिनीहरू त्‍यहाँ फर्किआउनेछन्‌ र तिनीहरूले त्‍यहाँबाट त्‍यसका सबै घृणित प्रतिमाहरू र घिनलाग्‍दा मूर्तिहरू हटाउनेछन्‌। अनि म तिनीहरूलाई विभक्त नहुने हृदय दिनेछु, र तिनीहरूमा एउटा नयाँ आत्‍मा हालिदिनेछु। म तिनीहरूबाट ढुङ्गाको हृदय निकालेर मासुको हृदय हालिदिनेछु। तब तिनीहरू मेरा विधिहरूमा चल्‍नेछन्, र मेरा नियमहरू पालन गर्न होशियार हुनेछन्, र तिनीहरू मेरा प्रजा हुनेछन्, अनि म तिनीहरूका परमेश्‍वर हुनेछु। तर आफ्‍ना घृणित प्रतिमाहरू र घिनलाग्‍दा मूर्तिहरूलाई भक्ति गर्ने हृदय भएकाहरूलाई चाहिँ म तिनीहरूका कामहरूको प्रतिफल तिनीहरूकै शिरमा खन्‍याइदिनेछु, परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ।” तब छेउमा पाङ्‌ग्राहरू भएका ती करूबहरूले आफ्‍ना पखेटा फैलाए। अनि इस्राएलका परमेश्‍वरको महिमा तिनीहरूका मास्‍तिर थियो। सहरको बीचबाट परमप्रभुको महिमा उँभो गयो, र पर्वतमाथि त्‍यो अड़ियो, जो सहरको पूर्वपट्टि थियो। तब आत्‍माले मलाई माथि उठाउनुभयो, र परमेश्‍वरका आत्‍माद्वारा दिइएको दर्शनमा बेबिलोनियामा निर्वासित भएकाहरूकहाँ उहाँले मलाई ल्‍याउनुभयो। तब मैले देखेको त्‍यो दर्शन मबाट मास्‍तिर गइहाल्‍यो। अनि परमप्रभुले मलाई देखाउनुभएका सबै कुरा मैले निर्वासित भएकाहरूलाई बताएँ।

शेयर गर्नुहोस्
इजकिएल 11 पढ्नुहोस्

इजकिएल 11:16-25 पवित्र बाइबल (NERV)

“यसकारण मानिसहरूसँग भन परमप्रभु हाम्रा मालिक भन्नु हुन्छ, ‘यो साँच्चो हो कि मैले आफ्नो मानिसहरूलाई टाढो भूमिहरूमा जानको निम्ति बाध्य गरें। मैले नै तिनीहरूलाई धेरै देशहरूमा तितर-बितर पारें। ती भूमिहरूमा म तिनीहरूको निम्ति केही समय मन्दिर हुनेछ। यसकारण तिमीले तिनीहरूलाई भन्नु पर्छ कि परमप्रभु तिनीहरूको मालिकले तिनीहरूलाई फेरि फर्काएर ल्याउँनु हुन्छ। मैले तिमीहरूलाई धेरै देशहरूमा छरिदिएँ। तर म तिमीहरूलाई एक ठाँउमा जम्मा गर्नेछु अनि ती देशहरूबाट तिमीहरूलाई फर्काएर ल्याउँनेछु। म इस्राएलको प्रदेश तिमीहरूलाई फेरि दिनेछु। अनि जब हाम्रा मानिसहरू फर्कन्छन् त्यसबेला तिनीहरूले त्यो सबै डरलाग्दा कुहिएको देव-मूर्तिहरू जुन अहिले यहाँ छ नष्ट गरिदिनेछन्। म तिनीहरूलाई एकैसाथ ल्याउँनेछु अनि तिनीहरूलाई एउटै मानिस जस्तै बनाउँनेछु। म तिनीहरूमा नयाँ आत्मा भर्नेछु। म तिनीहरूको ढुङ्गाको हृदय तोडेर त्यो ठाँउमा साँच्चो हृदय भरिदिनेछु। तब तिनीहरूले मेरो विधिहरू पालन गर्नेछन्। तिनीहरूले मेरो नियमहरू पालन गर्नेछन्, तिनीहरूले त्यो काम गर्नेछन् जुन म गर्न लगाउँछु। तिनीहरू साँच्चै मेरो प्रजा हुनेछन् अनि म तिनीहरूका परमेश्वर हुनेछु।’” त्यसपछि परमेश्वरले भन्नुभयो, “तर यस समय उहाँको हृदय डरलाग्दा कुहिएको मूर्ति भइसकेको छ। मैले ती मानिसहरूलाई तिनीहरूको नराम्रो कामको निम्ति दण्ड दिनुपर्छ जुन तिनीहरूले गरेका छन्।” मेरा स्वामी परमप्रभु मेरा मालिकले यी सबै कुराहरू भन्नुभयो। तबपछि करूब स्वर्गदूतले आफ्नो पखेंटा फट्फटायो अनि हावामाथि उड्यो। पाङ्ग्रा तिनीहरूसितै गयो। इस्राएलका परमेश्वरको महिमा तिनीहरूमाथि थियो। परमप्रभुको महिमामाथि हावामा उठ्यो अनि उसले यरूशलेम छोडि दियो। अनि केही क्षणको लागि यरूशलेमको पूर्वी पहाडमा गएर बस्यो। तब वतासले मलाई हावामाथि उठायो अनि फेरि बाबेल पुरायो, ती मानिसहरूकहाँ पुरायो जुन मानिसहरूलाई इस्राएल छोड्नुको निम्ति बाध्य गराइएको थियो। त्यसपछि दर्शनमा परमेश्वरको आत्मा हावामा उठाउनुभयो अनि मलाई छोडियो। मैले ती सबै चीजहरू परमेश्वरको दर्शनमा देखें। त्यसपछि मैले निर्वासित मानिसहरूसँग कुरा गरें। मैले ती सबै कुराहरू बताएँ जुन परमप्रभुले मलाई देखाउनु भएको थियो।

शेयर गर्नुहोस्
इजकिएल 11 पढ्नुहोस्

इजकिएल 11:16-25 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

“अब तेरा इस्राएली बन्‍धुहरूलाई म के भन्‍दै छु, त्‍यो सुन्। तिनीहरूलाई टाढा देशहरूमा छरपष्‍ट पारेर अरू जातिहरूका माझमा बसोबास गर्न पठाउने म नै हुँ। तापनि केही समयको लागि तिनीहरू बसोबास गरेका देशहरूमा म तिनीहरूको साथमा हुनेछु। “यसकारण तिनीहरूलाई म सार्वभौम परमप्रभु जे भन्‍दै छु त्यो सुना। मैले तिनीहरूलाई छरपष्‍ट पारिराखेका देशहरूबाट फेरि एकसाथ जम्‍मा गर्नेछु र तिनीहरूका हातमा यस इस्राएल देश फर्काइदिनेछु। जब तिनीहरू फर्की आउनेछन्, तब तिनीहरूले यहाँ भेट्टाउने सबै अशुद्ध र घिनलाग्‍दा मूर्तिहरू हटाउनेछन्। म तिनीहरूलाई एउटै हृदय र नयाँ आत्‍मा दिनेछु। म तिनीहरूका ढुङ्गाको कठोर हृदय हटाउनेछु र आज्ञाकारी हृदय दिनेछु। त्‍यसपछि तिनीहरूले मेरा नियमविधिहरू मान्‍नेछन् र होशियारीसाथ मेरा आज्ञाहरू पालन गर्नेछन्। तिनीहरू मेरा प्रजा हुनेछन् र म तिनीहरूका परमेश्‍वर हुनेछु। तर अशुद्ध र घिनलाग्‍दा मूर्तिहरू पुज्‍न रुचाउनेहरूलाई म दण्‍ड दिनेछु। तिनीहरूले गरेका कामको निम्‍ति म तिनीहरूलाई दण्‍ड दिनेछु।” सार्वभौम परमप्रभुले बोल्‍नुभएको छ। ती जीवित प्राणीहरू उड्‍न थाले र पाङ्ग्राहरू पनि तिनकै साथमा गए। तिनीहरूमाथि इस्राएलका परमेश्‍वरको महिमा थियो। परमप्रभुको महिमा सहरबाट हटेर गयो र त्‍यसको पूर्वपट्टिको पहाडमाथि अडियो। दर्शनमा परमेश्‍वरको आत्‍माले मलाई उचाल्‍नुभयो र बेबिलोनियाको कैदमा बसेका देशनिकाला भएकाहरूको बीचमा ल्‍याइपुर्‍याउनुभयो। तब मैले देखेको दर्शन हटेर गयो। अनि परमप्रभुले मलाई देखाउनुभएको सबै कुरा मैले कैदी-बन्‍धुहरूलाई सुनाएँ।

शेयर गर्नुहोस्
इजकिएल 11 पढ्नुहोस्