प्रस्थान 9:27-35
प्रस्थान 9:27-35 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तब फारोले मोशा र हारूनलाई बोलाइपठाए। तिनले उनीहरूलाई भने, “यस पटक मैले पाप गरेको छु। याहवेह धर्मी हुनुहुन्छ; अनि म र मेरा मानिसहरू गलत रहेछौँ। यो गर्जन र असिना अति भयो भनी याहवेहसित बिन्ती गरिदेओ; म तिमीहरूलाई जान दिनेछु; तिमीहरू अब उसो एकक्षण पनि बस्नुपर्नेछैन।” मोशाले जवाफ दिए, “म यस सहरबाट बाहिर निस्केपछि मेरा याहवेहसित बिन्ती गर्दै आफ्ना हात पसार्नेछु। तब गर्जन थामिनेछ, र असिना फेरि पर्नेछैन; र तपाईंले यो पृथ्वी याहवेहकै हो भनी जान्नुहुनेछ। तर म जान्दछु, तपाईं र तपाईंका अधिकारीहरू अझ पनि याहवेह परमेश्वरको डर मान्नुहुन्न।” (सनपाटका फूल फुलेका र जौका बाला निस्केका हुनाले ती नष्ट भए। तर गहुँ र कठियागहुँ ढिलो पाक्ने हुनाले नष्ट भएनन्।) तब मोशा फारोकहाँबाट निस्केर सहरबाहिर गए। तिनले आफ्ना हात याहवेहतिर फैलाए; अनि गर्जन र असिना थामिए, र देशमा पानी पर्न छाड्यो। जब फारोले पानी, असिना र गर्जन थामिएको देखे, तब तिनले फेरि पाप गरे: तिनी र तिनका अधिकारीहरूले आफ्ना हृदय कठोर गरे। तब फारोको हृदय कठोर भयो; याहवेहले मोशाद्वारा भन्नुभएझैँ तिनले इस्राएलीहरूलाई जान दिएनन्।
प्रस्थान 9:27-35 पवित्र बाइबल (NERV)
फिरऊनले मोशा र हारूनलाई बोलाए। तिनीहरूलाई भने, “यस पल्ट मैले पाप गरेकोछु। परमप्रभु सही हुनुहुन्छ। म र मेरा मानिसहरू गलत छौं। परमेश्वरद्वारा परेको असिना अनि गर्जन एकदमै बेशी भयो। परमेश्वरसित आँधी थाम्नको निम्ति प्रार्थना गर, म तिमीहरूलाई जान दिनेछु। तिमीहरूले यहाँ बस्नु पर्ने छैन।” मोशाले फिरऊनलाई भने, “जब म शहर छोडछु, म मेरो पाखुरा परमप्रभुसँगको प्रार्थनामा उठाउँनेछु गर्जन र असिना पर्न रोकिनेछ। तब तिमीलाई थाहा हुनेछ परमप्रभु यो भूमिमा हुनुहुन्छ। तर म जान्दछु तिमी अनि तिम्रा अधिकारीहरू अझै पनि परमप्रभु परमेश्वरसित डराएका छैनौ अनि सम्मान गर्दैनौ।” पातमा बिउहरू लागि सकेको थियो अनि जौंमा फूल फूलिसकेको थियो। यसकारण यो उद्भिदहरू नष्ट भयो। गहूँ र कठिया गहूँ अरू अन्नहरू भन्दा ढिलो उम्रन्छ यसकारण यो नष्ट भएन। मोशाले फिरऊनबाट विदा लिए अनि शहर बाहिर गए। उनले आफ्नो हात प्रार्थनामा उठाए गर्जन र असिना रोकियो अनि त्यसपछि पानी पर्न थामियो। जब फिरऊनले असिना पानी अनि गर्जन रोकिएको देखे उनले फेरि परमेश्वरको विरूद्ध पाप गरे, फिरऊन र उसका अधिकारीहरू अट्टेरी भए। उनले इस्राएलका मानिसहरूलाई स्वतन्त्रता गर्नु अस्वीकार गरे। परमेश्वरले मोशालाई जे भन्नु भएको थियो त्यो पूरा भयो।
प्रस्थान 9:27-35 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
राजाले मोशा र हारूनलाई बोलाएर भने, “यस पालि मैले पाप गरें। परमप्रभु ठीक हुनुहुन्छ, म र मेरा प्रजाले भुल गर्यौं। परमप्रभुसँग प्रार्थना गरिदेओ। यो गर्जन र असिना अति नै भयो। म वचन दिन्छु कि म तिमीहरूलाई जान दिनेछु, अब तिमीहरू यहाँ बस्नुपर्दैन।” मोशाले राजालाई भने, “सहरबाट बाहिर जानेबित्तिकै मेरा हातहरू उचालेर परमप्रभुलाई प्रार्थना गर्नेछु। गर्जन बन्द हुनेछ र असिना थामिनेछ। तब यो पृथ्वी परमप्रभुको हो भनी तपाईंहरूलाई थाहा हुनेछ। तर म जान्दछु कि तपाईंहरू– तपाईं र तपाईंका भारदारहरूले अझसम्म परमप्रभु परमेश्वरको भय मान्नुहुन्न।” जौ पाकिसकेको थियो र सनपाट फुलिसकेको थियो तर असिनाले ती सबै नष्ट भए। तर गहुँचाहिँ बाँच्यो किनभने त्यसमा बाला लागेको थिएन। राजाबाट बिदा भएर मोशा बाहिर गए र हात उचालेर परमप्रभुलाई प्रार्थना गरे अनि आकाशको गर्जन, असिना र वर्षा सबै थामियो। त्यो देखेर राजाले फेरि पाप गरे। तिनी र तिनका भारदारहरू सबै अघिझैँ कठोर भए। अनि परमप्रभुले अघिबाटै मोशालाई भन्नुभएअनुसार राजाले इस्राएलीहरूलाई जान दिएनन्।
प्रस्थान 9:27-35 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब फारोले मोशा र हारूनलाई बोलाएर भने, “यस पल्ट मैले पाप गरें। परमप्रभु धर्मी हुनुहुन्छ, म र मेरा प्रजा गलत रहेछौं। परमप्रभुलाई बिन्ती गरिदेऊ, किनकि यो गर्जन र असिना अति भयो। म तिमीहरूलाई जान दिनेछु। तिमीहरू अब कति पनि बस्नुपर्दैन।” मोशाले उनलाई जवाफ दिए, “सहरबाट निस्कने बित्तिकै म परमप्रभुतिर आफ्नो हात पसार्नेछु, र गर्जन थामिनेछ, र असिना बर्सिनेछैन। अनि तपाईं जान्नुहोला कि पृथ्वी परमप्रभुकै हो। तर मलाई थाहा छ, तपाईं र तपाईंका अधिकारीहरूले भने परमप्रभु परमेश्वरको डर अझसम्म मान्नुभएको छैन।” (सनपाट र जौमा असिनाको प्रहार परेको थियो, किनकि जौमा बाला लागिसकेको थियो, र सनपाटचाहिँ फुलिसकेका थिए। तर गहूँ र कठियागहूँमा चाहिँ प्रहार परेन, किनकि तीचाहिँ पछि पाक्छन्।) अनि मोशा फारोबाट सहरदेखि निस्केर गए, र परमप्रभुतिर आफ्ना हात पसारे। तब गर्जन र असिना थामियो, र जमिनमा पानी ओइरिएन। तर जब फारोले पानी, असिना र गर्जन थामिएका देखे, तब उनले अझ बढ्ता पाप गरे, र उनले र उनका अधिकारीहरूले आफ्ना हृदय कठोर गरे। यसरी फारोको हृदय कठोर भयो, र परमप्रभुले मोशालाई भन्नुभएबमोजिम उनले इस्राएलीहरूलाई जान दिएनन्।