प्रस्थान 40:34-38
प्रस्थान 40:34-38 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब भेट हुने पाल बादलले छोप्यो, र परमप्रभुको महिमाले पवित्र वासस्थान भरियो। अनि मोशा भेट हुने पालमा पस्न सकेनन्, किनकि त्यो बादल त्यसमा बसिरह्यो, र परमप्रभुको महिमाले पवित्र वासस्थान भरियो। आफ्ना सबै यात्राहरूमा, जब त्यो बादल पवित्र वासस्थानबाट माथि उठ्थ्यो, तब इस्राएलीहरू अगि बढ्थे। तर त्यो बादल माथि उठेन भने, जुन दिनसम्म त्यो माथि उठ्दैनथ्यो तिनीहरू हिँड्दैनथे। तसर्थ सबै इस्राएलीहरूका घरानाअगि र तिनीहरूका सबै यात्राभरि दिउँसो परमप्रभुको बादल पवित्र वासस्थानमा हुन्थ्यो, र रातीचाहिँ बादलमा आगो हुन्थ्यो।
प्रस्थान 40:34-38 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तब भेट हुने पाललाई बादलले ढाक्यो, र समागम पाल याहवेहको महिमाले भरियो। मोशाचाहिँ भेट हुने पालभित्र पस्न सकेनन्; किनकि बादल त्यसमाथि बसिरह्यो र याहवेहको महिमाले समागम पाल भरियो। इस्राएलीहरूका सबै यात्राभरि जहिले-जहिले त्यो बादल समागम पालबाट उठ्थ्यो, तब तिनीहरू अगाडि बढ्थे; तर यदि बादल उठेर गएन भने नउठेको त्यस दिनसम्म तिनीहरू हिँड्दैनथे। यसरी सारा इस्राएलीहरूले तिनीहरूका सबै यात्राभरि समागम पालमाथि दिनमा याहवेहको बादल र राति बादलमा आगो देख्थे।
प्रस्थान 40:34-38 पवित्र बाइबल (NERV)
भेट हुने पाललाई बादलले ढाक्यो र परमप्रभुको महिमाले पवित्र पाल भरिपूर्ण भयो। बादल त्यहाँ बसेकोले र पवित्र पालभित्र परमप्रभुको महिमा भरिएकोले मोशा भेटहुने पालभित्र जान सकेनन्। जब बादल पवित्र पालबाटमाथि उठ्थ्यो इस्राएलीहरूले आफ्नो यात्रा शुरू गर्थे। तर जब बादल पवित्र पालबाटमाथि उठ्दैनथ्यो भने मानिसहरू हिंड्ने चेष्टा गर्दैनथे। तिनीहरू बादल माथि नउठुन्जेलसम्म एकैठाउँमा बसिरहन्थे। यसर्थ दिउँसो पवित्र पालमाथि परमप्रभुको बादल रहन्थ्यो अनि राती बादलमा आगो देखिन्थ्यो। यसर्थ जब यात्रा गर्थे समस्त इस्राएलीहरू बादल देख्न सक्थे।
प्रस्थान 40:34-38 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तब बादलले पवित्र पाललाई ढाक्यो र परमप्रभुको उपस्थितिको चम्किलो ज्योतिले पाल भरियो। त्यसले गर्दा मोशा पवित्र पालभित्र जान सकेनन्। पवित्र पालबाट हट्दा मात्र इस्राएलीहरू अर्को ठाउँमा सर्थे। बादल पवित्र पालमाथि रहुञ्जेल तिनीहरू ठाउँ सर्दैनथे। तिनीहरूले जहिलेसम्म यात्रा गरे, त्यतिञ्जेल तिनीहरूले दिउँसो पवित्र पालमाथि परमप्रभु उपस्थित हुनुभएको जनाउने बादल र राती त्यसमाथि आगो बलेको देख्थे।