प्रस्थान 34:28-35
प्रस्थान 34:28-35 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
मोशा त्यहाँ परमप्रभुसित चालीस दिन र चालीस रात रहे। तिनले न त रोटी खाए न पानी पिए। तिनले ती शिला-पाटीहरूमा त्यस करारका वचन, अर्थात् ती दश आज्ञाहरू लेखे। जब मोशा गवाहीका ती दुई शिला-पाटी आफ्ना हातमा लिएर सीनै पर्वतबाट ओर्लेर आए, तब परमेश्वर तिनीसित कुरा गर्नुभएकोले आफ्नो अनुहार चम्कँदैछ भन्ने कुरो मोशालाई थाहा थिएन। जब हारून र सारा इस्राएलीहरूले मोशालाई देखे, तब तिनको अनुहार चम्केको तिनीहरूले देखे, र तिनको नजिक आउन तिनीहरू डराए। तर मोशाले तिनीहरूलाई बोलाए, र समुदायका सारा नाइकेहरूसमेत हारून तिनीकहाँ फर्केर आए, अनि मोशाले तिनीहरूसित कुरा गरे। त्यसपछि सारा इस्राएलीहरू पनि नजिक आए, अनि जे परमप्रभुले तिनलाई सीनै पर्वतमा भन्नुभएको थियो, ती सबै तिनले तिनीहरूलाई आज्ञाको रूपमा सुनाए। जब मोशाले तिनीहरूसित कुरा गरिसके, तब तिनले आफ्नो अनुहारमा एउटा घुम्टो हाले। तर जब मोशा परमप्रभुको सामुन्ने उहाँसित कुरा गर्न जान्थे, तब बाहिर ननिस्कुञ्जेल त्यो घुम्टो उतार्थे। जे आज्ञा तिनले पाउँथे, त्यो तिनले बाहिर आएर इस्राएलीहरूलाई सुनाउँथे। इस्राएलीहरूले मोशाको अनुहार चम्केको देख्तथे। तब मोशाले परमप्रभुसित कुरा गर्नलाई भित्र नपसुञ्जेल त्यो घुम्टो आफ्नो अनुहारमा फेरि लगाउँथे।
प्रस्थान 34:28-35 पवित्र बाइबल (NERV)
त्यहाँ मोशा चालीस दिन र चालीस रातसम्म परमप्रभुसँग बसे। तिनले न ता केही खाए न ता पिए। मोशाले करारका वचनहरू अर्थात् दश आज्ञाहरू दुइवटा पाटीहरूमा लेखे। त्यसपछि मोशा सीनै पर्वतबाट तल आए। उनले आफूसित दुइ शिला-पाटीहरू ल्याए। मोशाले थाह पाएनन् उनको अनुहार चम्किरहेको थियो किनभने उनले परमप्रभुसँग कुरा गरेका थिए। हारून र इस्राएली मानिसहरूले देखे मोशाको अनुहार चम्किरहेको थियो। तिनीहरू उनको छेउमा जान डराए। मोशाले हारून अनि सबै बूढा-प्रधानहरूलाई आफूसित बस्न बोलाए। मोशाले तिनीहरूसँग कुरा गरे। त्यसपछि इस्राएलीहरू मोशाको छेउमा आए अनि उनले परमप्रभुद्वारा सीनै पर्वतमाथि दिनु भएका ती आज्ञाहरू तिनीहरूलाई दिए। जब तिनले मानिसहरूसित कुरा गरी सके पछि तिनले आफ्नो अनुहार ढाके। कुनै पनि समय जब मोशा कुरा गर्नको निम्ति परमप्रभुअघि जान्थे आफ्नो अनुहार नढाकी जान्थे। त्यसपछि मोशा बाहिर आएर परमप्रभुले दिनु भएका आज्ञाहरू इस्राएलका मानिसहरूलाई सुनाउथे। इस्राएली मानिसहरूले मोशाको अनुहार चम्किरहेको देखे। यसकारण अर्को पल्ट परमप्रभुसँग कुरा गर्न नजाउञ्ञेलसम्म मोशाले आफ्नो अनुहार छोपिरहे।
प्रस्थान 34:28-35 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
मोशा त्यहाँ परमप्रभुसित चालीस दिन र चालीस रात केही नखाई र नपिई रहे। करारका यी कुराहरू अर्थात् दश आज्ञाहरू मोशाले ती पाटीहरूमा लेखे। ती दश आज्ञाहरू बोकेर जब मोशा सीनै पर्वतबाट ओर्लिआए, तिनको चेहरा चम्किरहेको थियो किनभने तिनले परमप्रभुसित कुरा गरेका थिए तर उनलाई त्यो थाहा थिएन। हारून र सबै मानिसहरूले मोशालाई हेरे र तिनको चेहरा चम्किरहेको देखे। तिनीहरू मोशाको छेउमा जान डराए। तर मोशाले तिनीहरूलाई बोलाए र हारून र इस्राएलका सबै अगुवाहरू तिनकहाँ आए। मोशाले तिनीहरूसित कुरा गरे। त्यसपछि इस्राएलका सबै मानिसहरू तिनको चारैपट्टि भेला भए। तिनीहरूलाई मोशाले सीनै पर्वतमा परमप्रभुले दिनुभएका सबै धार्मिक नियमहरू सुनाए। मोशाले तिनीहरूसित बोलिसकेपछि एउटा घुम्टोले आफ्नो चेहरा ढाके। मोशा परमप्रभुले बास गर्ने पवित्र पालभित्र उहाँसित कुरा गर्नलाई पस्दा उनले घुम्टो खोल्थे। त्यहाँबाट बाहिर निस्किआएपछि उनले इस्राएलीहरूलाई आफूले आज्ञा पाएअनुसार सबै कुरा सुनाउँथे अनि तिनीहरूले उनको मुहार चम्किरहेको देख्दथे। त्यसपछि अर्कोपल्ट परमप्रभुसित कुरा गर्नलाई पवित्र पालभित्र नपसुञ्जेल उनले घुम्टो लगाइराख्थे।