प्रस्थान 29:38-46
प्रस्थान 29:38-46 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“अब वेदीमा दिनहुँ तैंले निरन्तर चढ़ाउनुपर्ने कुरो यही हो: दुई वटा एक वर्षका थुमा। एउटा थुमा बिहान चढ़ाउनू र अर्को बेलुकी। पहिलो थुमासित एक लिटर कुटेको भद्राक्षको तेलमा मुछेको आधा पाथी मसिनो पीठो, र अर्घ-बलिको निम्ति चाहिँ एक लिटर दाखमद्य चढ़ाउनू। अर्कोचाहिँ थुमा बेलुकी चढ़ाउनू, र त्यससँग बिहानको जस्तै अन्नबलि र अर्घबलि होस्। परमप्रभुको निम्ति मीठो बास्ना भएको, आगोद्वारा चढ़ाइएको बलि त्यो होस्।” “तिमीहरूका पुस्ता-पुस्ताका निम्ति परमप्रभुको सामुन्ने भेट हुने पालको ढोकानेर त्यो निरन्तरको होमबलि होस्। त्यही ठाउँमा म तँसित कुरा गर्नलाई तँसँग भेट गर्नेछु। इस्राएलीहरूसित म त्यहीँ नै भेट गर्नेछु, र त्यो पाल मेरो महिमाले पवित्र हुनेछ। “म भेट हुने पाल र वेदीलाई पवित्र गर्नेछु। हारून र त्यसका छोराहरूलाई पनि मेरो निम्ति पूजाहारी पदमा मेरो सेवा गर्नलाई पवित्र गर्नेछु। म इस्राएलीहरूका बीचमा वास गर्नेछु, र तिनीहरूका परमेश्वर हुनेछु। तिनीहरूका मध्यमा बस्न भनी तिनीहरूलाई मिश्रबाट निकालेर ल्याउने म परमप्रभु तिनीहरूका परमेश्वर हुँ भनी तिनीहरूले जान्नेछन्। म परमप्रभु तिनीहरूका परमेश्वर हुँ।”
प्रस्थान 29:38-46 पवित्र बाइबल (NERV)
“प्रत्येक दिन तिमीले वेदीमा उपहार चढाउनु नै पर्छ। तिमीले दुइवटा एक बर्षे थुमाबलि चढाउनु पर्छ। तिमीहरूले पहिलो थुमा बिहान अनि दोस्रो थुमा घाम अस्ताउँदा बलि दिनु पर्छ। जब तिमीले पहिलो थुमा बलि दिनेछौ त्यस समय एक दशांश एपाको राम्रो गहुँको पिठोसित भद्राक्षको एक पावा कुटेको तेल अनि एक पावा दाखरसको अर्घबलि यो बलिमा मिसाऊ र चढाऊ। जब तिमीहरूले साँझमा दोस्रो बलि चढाउँछौ पहिलो थुमालाई बिहान गरे झैं गर बलिको सुगन्धले परमप्रभुलाई खुशी पार्छ। “तिमीहरूले यी चीजहरू बलिदान स्वरूप परमप्रभुलाई तिमीहरूका सन्तानहरू बाँचुन्जेलसम्म प्रत्येक दिन जलाउनु पर्छ। भेट हुने पालको प्रवेश द्वारमा यसो गर। यो त्यो स्थान हो जहाँ म परमप्रभुले तिमीहरूलाई भेट्नेछु र तिमीहरूसित कुरा गर्नेछु। त्यस स्थानमा म इस्राएली मानिसहरूलाई भेट्छु अनि मेरो महिमाले त्यो स्थान सधैँ पवित्र बनिरहनेछ। “यसर्थ म भेट हुने पाल र वेदी पवित्र पार्नेछु। म हारून र तिनका छोराहरूलाई पनि पवित्र बनाउँनेछु अनि तिनीहरूले मलाई पूजाहारीहरू झैं सेवा गर्न सक्छन्। म इस्राएली मानिसहरूको परमेश्वर भई तिनीहरूसँग बस्ने छु। तिनीहरूले जान्नेछन् म नै परमप्रभु तिनीहरूका परमप्रभु परमेश्वर हुँ जसले तिनीहरूलाई मिश्र बाहिर निकाले म तिनीहरू माझ वास गर्न सकूँ। म परमप्रभु तिनीहरूको परमेश्वर हुँ।”
प्रस्थान 29:38-46 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
“सधैँभरि दिनहुँ दुईवटा एकवर्षे भेडाको पाठो वेदीमा बलि चढाउने गर्नू। एउटा पाठो बिहान र अर्को पाठो बेलुका बलि गर्नू। बिहानको पाठोसित एक किलो गहुँ, एक लिटर शुद्ध जैतुनको तेल मिसाएर चढाउनू। एक लिटर दाखमद्य पनि भेटी स्वरूप खन्याइदिनू। बेलुकाको पाठो बलि गर्दा पनि त्योसित बिहानको झैँ बराबर मात्राले पिठो, जैतुनको तेल र दाखमद्य चढाउनू। यो म परमप्रभुलाई चढाइएको होमबलि हुनेछ र त्यसको मीठो बास्नाले मलाई सन्तुष्ट गराउनेछ। सधैँभरि मेरो सामु म बास गर्ने पवित्र पालको ढोकामा यो होमबलि चढाउने गर्नू। त्यहाँ म मेरा प्रजासित भेट गर्नेछु र तँसित बोल्नेछु। त्यहाँ म इस्राएलीहरूलाई भेट्नेछु र मेरो उपस्थितिको चम्किलो ज्योतिले त्यस ठाउँलाई पवित्र पार्नेछु। म वेदी र पाललाई पवित्र गर्नेछु र हारून र त्यसका छोराहरूलाई मेरा पूजाहारी भई सेवा गर्न अलग गर्नेछु। म इस्राएलीहरूका माझमा बास गर्नेछु र तिनीहरूका परमेश्वर हुनेछु। म तिनीहरूका माझमा बास गर्न सक्नेछु। मिश्रदेशदेखि तिनीहरूलाई छुटाइल्याउने तिनीहरूका परमेश्वर परमप्रभु म हुँ भनी तिनीहरूले जान्नेछन्। म परमप्रभु तिनीहरूका परमेश्वर हुँ।