प्रस्थान 23:1-13
प्रस्थान 23:1-13 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
“झूटो हल्ला नफैलाओ र झूटो साक्षी दिएर एउटा अपराधीलाई मद्दत नगर। धेरै मानिसहरूले खराबी गरे वा गवाही दिएर न्याय बिगारे भन्दैमा तिमीहरूले पनि त्यसै नगर। गरीब भनेर मुद्दामा त्यसको पक्ष नलेओ। “तिमीहरूले शत्रुको गाई वा गधालाई खुला दगुरेको देख्यौ भने त्यो पक्रेर त्यसकहाँ पुराइदेओ। त्यसको गधा भारीमुनि लडेर थिचिएको देख्यौ भने त्यसलाई आफ्नो गधा उठाउन मद्दत गर, त्यसलाई त्यहीँ छोडेर नहिँड। “गरीबको मुद्दामा त्यसको न्याय नखोस। झूटो दोष नलगाओ र निर्दोषलाई प्राणदण्ड नदेओ। त्यस्तो दुष्ट काम गर्नेलाई म दोषी ठहराउनेछु। घुस नलेओ किनभने घुसले मानिसलाई अन्धो बनाउँछ र त्यसले उचित कुरा चिन्दैन। त्यसले गर्दा निर्दोषले न्याय पाउँदैन। “परदेशीसँग खराब व्यवहार नगर। परदेशी छँदा आफूलाई कस्तो लाग्छ, त्यो तिमीहरू जान्दछौ किनभने तिमीहरू मिश्रमा परदेशी थियौ। “छ वर्षसम्म आफ्नो खेतबारीमा बिउ छर र त्यसको उब्जनी उठाओ। तर सातौँ वर्षमा त्यसलाई बाँझो राख र त्यहाँ उम्रेको अन्न नबटुल। गरीबहरूले ती अन्न खाऊन् र उब्रेकोचाहिँ जङ्गली जन्तुले खाऊन्, तिमीहरूले आफ्ना दाख र जैतुनका बारीहरूमा पनि त्यसै गर। “छ दिनसम्म काम गर; तर सातौँ दिनमा काम नगर। त्यसो भए, तिम्रा कमारा-कमारीहरू र तिम्रा काम गर्ने परदेशीहरू र पशुहरूले आराम पाउनेछन्। “म परमप्रभुले तिमीहरूलाई भनेका सबै कुरा सुनेर ती मान। अरू देवताहरूलाई प्रार्थना नगर, तिनीहरूको नाम पनि नलेओ।
प्रस्थान 23:1-13 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
झूटा गवाही नदेओ। दुष्टको साथ लागेर त्यसको निम्ति ईर्ष्यापूर्ण गवाह नबन। खराबी गर्न भीड़सँग नलाग। मुद्दामा बहुमततिर लागी गवाही दिएर इन्साफ नबिगार। गरीब भनेर उसको मुद्दामा पनपक्ष नगर। यदि तिमीहरूले आफ्नो शत्रुको गोरु वा गधा बिच्केर जाँदैगरेको देख्यौ भने, त्यसलाई फर्काएर फेरि त्यसकहाँ ल्याइदेओ। तिमीहरूसित रीस-इबी गर्नेको गधा भारीले थिचिएको देख्यौ भने, त्यसलाई त्यतिकै नछोड़, तर त्यसलाई उठाओ। मुद्दामा गरीब मानिसको न्याय नखोस। झूटा कुराबाट दूर बस। निरपराध र ईमानदारलाई प्राणदण्ड नदेओ, किनकि दोषीलाई म कहिल्यै निर्दोष ठहराउनेछैनँ। “घूस नखाओ, किनकि घूसले मानिसलाई अन्धा तुल्याउँछ, र धार्मिकताको कुरालाई उल्टाइदिन्छ।” “प्रवासीलाई अत्याचार नगर। तिमीहरू मिश्रमा परदेशी रहेको कारण तिमीहरूले प्रवासीको मनलाई जान्दछौ।” “छ वर्षसम्म आफ्नो जमिनमा बीउ छरेर त्यसको उब्जनी बटुल, तर सातौँ वर्षमा चाहिँ त्यसलाई नजोती बाँझै छोड़िदेओ, र त्यसबाट तिमीहरूमध्येका गरीबहरूले खाऊन्। तिनीहरूले उबारेका चाहिँ जङ्गली पशुहरूले खाऊन्। तिमीहरूका दाखबारी र भद्राक्षबारीलाई पनि त्यसै गर।” छ दिनसम्म आफ्नो कामकाज गर र सातौँ दिनमा चाहिँ विश्राम लेओ, र तिमीहरूको गोरु, गधा, तिम्रो घरमा जन्मेको दास, र विदेशी पनि ताजा होऊन्। मैले भनेका सबै कुरामा तिमीहरूले ध्यान देओ। अरू देवताहरूको नाउँ नै पनि नलेओ। ती तिमीहरूको मुखबाट उच्चारण नै नहोस्।
प्रस्थान 23:1-13 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“तैँले झूटो कुरा नफैलाउनू। झूटो साक्षी बनेर दुष्ट मानिसलाई नसघाउनू। “तैँले खराबी गर्न भीडको पछि नलाग्नू। मुद्दामा साक्षी दिँदा भीडतिर लागेर न्याय नबिगार्नू; अनि गरिब भन्दैमा मुद्दामा त्यसलाई पक्षपात नगर्नू। “तिमीहरूका शत्रुका गोरु अथवा गधा फुस्केको देख्यौ भने त्यसलाई उसकहाँ लगिदिनू। यदि तिमीहरूलाई घृणा गर्नेको गधा भारीमुनि दबिएको देख्यौ भने त्यसलाई त्यत्तिकै नछोड्नू, बरु त्यसलाई सहायता दिनैपर्छ। “मुद्दामा आफ्ना गरिब मानिसहरूलाई न्याय गरिदिन इन्कार नगर्नू। झूटो अभियोगबाट टाढा बस्नू र कुनै निर्दोष अथवा इमानदार व्यक्तिलाई नमार्नू; किनकि म दोषीलाई त्यत्तिकै छोड्नेछैनँ। “घूस स्वीकार नगर्नू; किनकि घूसले आँखा देख्नेहरूलाई अन्धा तुल्याइदिन्छ, र निर्दोषका कुरालाई बङ्ग्याइदिन्छ। “प्रवासीलाई अत्याचार नगर्नू; प्रवासी हुँदा कस्तो हुन्छ, त्यो तिमीहरू आफैँलाई थाहा छ; किनकि तिमीहरू इजिप्टमा प्रवासी थियौ। “छ वर्षसम्म तिमीहरूले आफ्नो खेती गर्नू, र फसलको कटनी गर्नू, तर सातौँ वर्षमा खेत नजोत्नू, र प्रयोग नगरी छोडिदिनू। तब तिमीहरूमध्ये गरिबहरूले त्यसबाट भोजन पाऊन्, र तिनीहरूले छोडेका जङ्गली पशुहरूले खाऊन्। तिमीहरूका अङ्गुर र जैतुनका बारीलाई पनि त्यसै गर्नू। “छ दिनसम्म आफ्ना काम गर्नू, तर सातौँ दिनमा चाहिँ काम नगर्नू, र तिमीहरूका गोरु र गधाले विश्राम पाऊन्, र तिमीहरूका घरमा जन्मेका दास र प्रवासीहरू पनि ताजा होऊन्। “मैले तिमीहरूलाई भनेका प्रत्येक कुरा होशियार भई पालन गर्नू। अरू देवी-देवताहरूको नाम नलेओ; तिनीहरूका नाम तिमीहरूको मुखबाट उच्चारण नै नहोस्।
प्रस्थान 23:1-13 पवित्र बाइबल (NERV)
“कसैको विरोधमा झूटो नबोल। यदि तिमी अदालतमा साक्षी छौ भने झूटो बोलेर दुष्ट मानिसहरूलाई सघाउनमा सहमत नहोऊ। “गल्ती कर्म गर्ने मानिसहरूको समूहमा सामेल नहोऊ। यदि तिमीहरूले अदालतमा साक्षी दिनु परे बहुसंख्यकको पक्षमा नलाग। “मुद्दा मामला लागेको मानिसहरूलाई गरीब भए पनि सहयोग नगर। “यदि तिमीले तिम्रो शत्रुको हराएको गोरू अथवा गधा भेटायौ भने उसको पशु उसलाई नै फर्काई देऊ। “यदि तिमीले देख्यौ तिम्रो शत्रुको गधा गह्रौं भारीको कारणले लड्यो तिमीले त्यसलाई उठाएर सहायता गर्नुपर्छ। “गरीब मानिससति न्यायालयमा अन्याय नगर। “कसैलाई झूटो दोष नलगाऊ। एउटा निर्दोष मानिसको हत्या नगर जसले अन्याय गरेको छ त्यसलाई म निर्दोष मान्दिन। “घूस स्वीकार नगर, घूसले न्यायलाई अन्धा बनाउन सक्छ अनि निर्दोष मानिसको अधिकारलाई अस्वीकार गर्छ। “विदेशी नागरिकहरूमाथि कहिले पनि अत्याचार नगर। एक समयमा तिमीहरू पनि मिश्र देशमा विदेशी थियौ यसकारण तिमीहरू जान्दछौ एउटा विदेशी कस्तो हुन्छ। “छ बर्षसम्म आफ्नो जमीनमा बीउ छर, फसल काट। तर सातौं बर्षमा त्यो जमीन उपयोग नगर। त्यस जमीनमा कुनै बिरूवा नरोप, तर यदि त्यहाँ केही चीजहरू आफैं उब्जन्छ भने गरीबहरूलाई खान देऊ। अनि छोडिएको अन्नहरू जनावरहरूलाई खान देऊ। तिम्रा दाखको बगैंचा र भद्राक्षको रूखहरूमाथि पनि त्यसरी नै व्यवहार गर। “छ दिनसम्म काम गर सातौं दिन विश्रामको दिन हो। यसो गर्दा तिमीहरूका गोरूहरू गधाहरू, कमारा-कमारीहरू अनि विदेशीहरूले पनि विश्राम गर्ने समय पाउँन। “मैले भनेका सबै काम गर्न निश्चित होऊ। अरू देवताहरूको पूजा नगर। तिमीले तिनीहरूको नाउँ पनि उच्चारण नगर।