प्रस्थान 19:3-6
प्रस्थान 19:3-6 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब मोशा परमेश्वरकहाँ गए र परमप्रभुले तिनलाई पर्वतबाट भन्नुभयो, “याकूबका घराना र इस्राएलीहरूलाई तैंले यसो भन्नू: ‘मैले मिश्रीहरूलाई के गरें, र तिमीहरूलाई कसरी गरुडका पखेटामा झैँ बोकेर मकहाँ ल्याएँ, सो तिमीहरूले देखेका छौ। अब यदि तिमीहरूले मेरा कुरा साँच्चै नै सुन्यौ र मेरो करार पालन गर्यौ भने, सबै जातिहरूमध्ये तिमीहरूचाहिँ मेरो बहुमूल्य निज धन हुनेछौ। सारा पृथ्वी मेरै भए तापनि तिमीहरू मेरो निम्ति पूजाहारीहरूको एक राज्य र एक पवित्र जाति हुनेछौ’। इस्राएलीहरूलाई तैंले भन्नुपर्ने कुरा यी नै हुन्।”
प्रस्थान 19:3-6 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तब मोशा माथि डाँडामा परमेश्वरलाई भेट्न गए; अनि याहवेहले पर्वतबाट तिनलाई भन्नुभयो, “तैँले याकोबको घरानालाई भन्नुपर्ने र इस्राएलका मानिसहरूलाई बताउनुपर्ने यही हो: ‘मैले इजिप्टलाई के गरेँ, मैले कसरी तिमीहरूलाई गरुडहरूझैँ पखेटामा उडाएर मकहाँ ल्याएँ, त्यो तिमीहरूले देखेका छौ। अब यदि तिमीहरूले मैले भनेको कुरा सुन्यौ, र मेरा करारहरू पूर्ण पालन गर्यौ भने सबै जातिमध्ये तिमीहरू मेरा निज धन हुनेछौ। सारा पृथ्वी मेरै हुन्। तिमीहरू मेरा निम्ति पुजारीहरूको एउटा राज्य र एउटा पवित्र जाति हुनेछौ।’ तैँले इस्राएलीहरूलाई भन्नुपर्ने कुराहरू यिनै हुन्।”
प्रस्थान 19:3-6 पवित्र बाइबल (NERV)
तब मोशा परमेश्वरसित भेट गर्न पर्वतमा चढे। परमप्रभुले मोशासित कुरा गर्नु भयो अनि तिनलाई भन्नु भयो, “यी कुराहरू याकूबको ठूलो परिवारलाई भन, ‘तिमीहरूले देख्यौ मैले तिमीहरूलाई मिश्रबाट चील झैं ल्याएँ। यसकारण म अहिले तिमीहरूलाई मेरा आज्ञा पालन गर अनि मेरो करार अनुशरण गर भन्छु। यदि तिमीहरूले यसो गर्यौ भने तिमीहरू मेरो आफ्नै मानिसहरू हुनेछौ। सम्पूर्ण संसार मेरो हो। तिमीहरू मेरो लागि पूजाहारीहरूको एउटा विशेष राष्ट्र हुनेछौ।’ मोशा मैले तिमीलाई भनेका कुराहरू इस्राएली मानिसहरूलाई अवश्यै भन्नुपर्छ।”
प्रस्थान 19:3-6 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
मोशा परमेश्वरसित भेट गर्न पर्वतमाथि चढे। परमप्रभुले मोशालाई पर्वतबाट बोलाउनुभयो र याकूबका सन्तान इस्राएलीहरूलाई यसो भन्न लाउनुभयो, “म परमप्रभुले मिश्रीहरूलाई के गरें, कसरी मैले तिमीहरूलाई गरुडले आफ्ना चल्ला पखेटामा बोकेझैँ उचालेर बोकें र यहाँ मकहाँ ल्याएँ, सो तिमीहरूले देखेका छौ। अब तिमीहरूले मेरो आज्ञा मान्यौ र मेरो करार पालन गर्यौ भने तिमीहरू मेरो निज प्रजा हुनेछौ। सारा पृथ्वी मेरो हो; तर तिमीहरू मेरा चुनिएका जाति हुनेछौ, मेरो निम्ति मात्र अर्पण भएका जाति हुनेछौ र पूजाहारी बनेर मेरो सेवा गर्नेछौ।”