YouVersion लोगो
खोज आइकन

प्रस्‍थान 19:1-25

प्रस्‍थान 19:1-25 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

इस्राएलीहरू मिश्रबाट निक्‍लेका तीन महिना भएपछि— त्‍यही दिनमा तिनीहरू सीनैको उजाड़-स्‍थानमा आइपुगे। जब तिनीहरू रपीदीमबाट हिड़ेर सीनैको उजाड़-स्‍थानमा आए, त्‍यही पर्वतकै सामुन्‍ने इस्राएलीहरूले छाउनी बनाए। तब मोशा परमेश्‍वरकहाँ गए र परमप्रभुले तिनलाई पर्वतबाट भन्‍नुभयो, “याकूबका घराना र इस्राएलीहरूलाई तैंले यसो भन्‍नू: ‘मैले मिश्रीहरूलाई के गरें, र तिमीहरूलाई कसरी गरुडका पखेटामा झैँ बोकेर मकहाँ ल्‍याएँ, सो तिमीहरूले देखेका छौ। अब यदि तिमीहरूले मेरा कुरा साँच्‍चै नै सुन्‍यौ र मेरो करार पालन गर्‍यौ भने, सबै जातिहरूमध्‍ये तिमीहरूचाहिँ मेरो बहुमूल्‍य निज धन हुनेछौ। सारा पृथ्‍वी मेरै भए तापनि तिमीहरू मेरो निम्‍ति पूजाहारीहरूको एक राज्‍य र एक पवित्र जाति हुनेछौ’। इस्राएलीहरूलाई तैंले भन्‍नुपर्ने कुरा यी नै हुन्‌।” अनि मोशा तल आए, र मानिसहरूका धर्म-गुरुहरूलाई बोलाउन पठाए, र परमप्रभुले तिनलाई बोल्‍नू भनी आज्ञा गर्नुभएका यी सबै कुराहरू तिनीहरूका सामु राखिदिए। सारा मानिसहरूले एकसाथ यसो भने, “परमप्रभुले भन्‍नुभएका सबै कुराहरू हामी पालन गर्नेछौं।” तब मोशाले मानिसहरूको जवाफ परमप्रभुलाई सुनाइदिए। परमप्रभुले मोशालाई भन्‍नुभयो, “हेर्, म तँसित कुरा गर्दा मानिसहरूले सुनून्‌ र तँलाई सधैँ विश्‍वास पनि गरून्‌ भनेर म तँकहाँ बाक्‍लो बादलमा आउनेछु।” तब मोशाले मानिसहरूले भनेका कुरा परमप्रभुलाई सुनाए। अनि परमप्रभुले मोशालाई भन्‍नुभयो, “मानिसहरूकहाँ गएर तिनीहरूलाई आज र भोलि शुद्ध गर्‌। तिनीहरूले आ-आफ्‍ना लुगा धोऊन्, र तेस्रो दिनको निम्‍ति तिनीहरू तयार रहून्, किनकि तेस्रो दिन सीनै पर्वतमा सबै मानिसहरूका आँखाकै सामुन्‍ने परमप्रभु आउनुहुनेछ। तैंले चाहिँ मानिसहरूका निम्‍ति चारैतिर यसो भनेर बार लगाउनू, ‘होशियार बस, तिमीहरू पर्वतमाथि नजानू, र त्‍यसका सिमाना पनि नछुनू। जसले पर्वत छुन्‍छ त्‍यो निश्‍चय नै मारिनेछ। कसैले पनि त्‍यसलाई नछुनू, तर ढुङ्गाले वा काँड़ले हानेर त्‍यसलाई मार्नू। पशु होस्‌ अथवा मानिस, त्‍यो जीवित रहनेछैन’। तुरही लामो गरी बज्‍दा तिनीहरू पर्वतसम्‍म आऊन्‌।” मोशा पर्वतबाट तल मानिसहरूकहाँ उत्रेर आएपछि, तिनले मानिसहरूलाई शुद्ध गरे, र तिनीहरूले आ-आफ्‍ना लुगा धोए। तब तिनले मानिसहरूलाई भने, “तेस्रो दिनको निम्‍ति तयार होओ। यौनक्रिया नगर।” तेस्रो दिन जब बिहान भयो तब पर्वतमा गड्‌याङगुडुङ भयो र बिजुली चम्‍क्‍यो र बाक्‍लो बादल पर्वतमा उठ्यो, र तुरहीको अति चर्को आवाज सुनियो। छाउनीमा भएका सबै जना थरथर कामे। तब मोशाले मानिसहरूलाई छाउनीबाट परमेश्‍वरसँग भेट गर्न ल्‍याए। तिनीहरूचाहिँ पर्वतको फेदीमा खड़ा भए। परमप्रभु आगोमा ओर्लेर त्‍यहाँ आउनुभएको कारणले सीनै पर्वत बिलकुलै धूवैँधूवाँले भरियो। पर्वतबाट धूवाँ भट्टीबाट झैँ निस्‍क्‍यो र सारा पर्वत जोडसित काँप्‍न लाग्‍यो, र तुरहीको आवाज अझ चर्को गरी बज्‍न लाग्‍यो। तब मोशा बोल्‍न लागे, र परमेश्‍वरले मेघ गर्जनमा तिनलाई जवाफ दिनुभयो। अनि परमप्रभु सीनै पर्वतको टाकुरामा ओर्लेर आउनुभयो, र परमप्रभुले मोशालाई पर्वतको टाकुरामा बोलाउनुभयो, र मोशा माथि उक्‍लेर गए। तब परमप्रभुले मोशालाई भन्‍नुभयो, “तल गएर मानिसहरूलाई सावधान गर्, नत्रता तिनीहरू परमप्रभुलाई हेर्न बार नाघेर माथि आउलान्‌ र तिनीहरूमध्‍ये धेरै नष्‍ट होलान्‌। परमप्रभुको नजिक आउन पूजाहारीले पनि आफैलाई शुद्ध गरून्, नत्रता परमप्रभुले तिनीहरूलाई तत्‍कालै नाश गर्नुहुन्‍छ।” मोशाले परमप्रभुलाई भने, “मानिसहरू सीनै पर्वतमा उक्‍लेर आउन सक्‍दैनन्, किनकि तपाईंले हामीलाई ‘पर्वतको वरिपरि बार लगाएर पवित्र भनी अलग गर,’ भनी आज्ञा दिनुभएको थियो।” अनि परमप्रभुले तिनलाई भन्‍नुभयो, “जा, तँ आफै तल जा, र हारूनको साथमा माथि उक्‍लेर आइज। तर पूजाहारीहरू र मानिसहरूचाहिँ परमप्रभुकहाँ बार नाघेर उक्‍ली नआऊन्, नत्रता उहाँले तिनीहरूलाई तत्‍कालै नाश गर्नुहुनेछ।” यसैले मोशा तल मानिसहरूकहाँ ओर्लेर गए, र तिनीहरूलाई यी कुरा बताइदिए।

शेयर गर्नुहोस्
प्रस्‍थान 19 पढ्नुहोस्

प्रस्‍थान 19:1-25 पवित्र बाइबल (NERV)

इस्राएलीहरू मिश्र छोडेर बसाइँ सर्दा तेस्रो महिनामा सीनै मरुभूमिमा पुगे। तिनीहरू रपीदीमबाट सीनै मरुभूमिमासम्म यात्रा गए र तिनीहरूले आफ्नो छाउनी होरेब पर्वतको नजिकै मरुभूमिमा बनाए। तब मोशा परमेश्वरसित भेट गर्न पर्वतमा चढे। परमप्रभुले मोशासित कुरा गर्नु भयो अनि तिनलाई भन्नु भयो, “यी कुराहरू याकूबको ठूलो परिवारलाई भन, ‘तिमीहरूले देख्यौ मैले तिमीहरूलाई मिश्रबाट चील झैं ल्याएँ। यसकारण म अहिले तिमीहरूलाई मेरा आज्ञा पालन गर अनि मेरो करार अनुशरण गर भन्छु। यदि तिमीहरूले यसो गर्यौ भने तिमीहरू मेरो आफ्नै मानिसहरू हुनेछौ। सम्पूर्ण संसार मेरो हो। तिमीहरू मेरो लागि पूजाहारीहरूको एउटा विशेष राष्ट्र हुनेछौ।’ मोशा मैले तिमीलाई भनेका कुराहरू इस्राएली मानिसहरूलाई अवश्यै भन्नुपर्छ।” मोशा पर्वतबाट तल आए अनि मानिसका अगुवाहरूलाई बोलाए। मोशाले सबै कुरा तिनीहरूलाई भने जुन परमप्रभुले उनलाई आज्ञा दिनुभएको थियो। सबै मानिसहरू राजी हुँदै भने, “परमप्रभुले जे भन्नु हुन्छ हामी गर्ने छौं।” त्यसपछि मोशा फर्केर परमेश्वरकहाँ पर्वतमाथि गए अनि मानिसहरूले भनेका कुरा मोशाले परमप्रभुलाई भने। तब परमप्रभुले मोशालाई भन्नु भयो, “म तिमीकहाँ बाक्लो बादलको रूपमा आउँनेछु। म तिमीसित बोल्नेछु। मैले तिमीसँग कुरा गरेको सबैले सुन्ने छन्। म यसो गर्नेछु जसले गर्दा ती मानिसहरूले तिमीले भनेको कुरा सधैँ विश्वास गर्नेछन्।” त्यसपछि मानिसहरूले भनेका सबै कुराहरू मोशाले परमेश्वरलाई भने। अनि परमप्रभुले मोशालाई भन्नु भयो, “आज र भोलि तिमीले मानिसहरूलाई एक विशेष सभाको निम्ति तयारी राख्नु पर्छ। मानिसहरूले आफ्नो लुगाहरू धुनुपर्छ। अनि तेस्रो दिन मेरो निम्ति तयार होऊ। तेस्रो दिन परमप्रभु सीनै पर्वतमा आउनु हुनेछ अनि सबै मानिसहरूले मलाई देख्नेछन्। तर तिमीले मानिसहरूलाई पर्वतदेखि पर बस्नु भनी भन्नु पर्छ। लाईन लगाऊ ताकि मानिसहरूले लाईन पार नगरून्। यदि कुनै मानिस अथवा पशुले पर्वत स्पर्श गरे त्यो मारिनु पर्छ। त्यसलाई ढुङ्गाले हिर्काएर अथवा काँडले हानेर मार्नु पर्छ। तर त्यसलाई कसैले नछोओस्। तुरही नबजुन्जेल मानिस पर्खि रहनुपर्छ तब मात्र मानिसहरूमाथि पर्वतमा जान सक्छन्।” यसर्थ मोशा पर्वतबाट तल झरे अनि मानिसहरू भएको ठाउँमा गए। तिनले मानिसहरूलाई विशेष सभाको निम्ति तयार पारे अनि तिनीहरूले आ-आफ्नो लुगा धोए। तब मोशाले मानिसहरूलाई भने, “तीन दिनपछि परमेश्वरसित हुने सभाको निम्ति तयार बस। त्यस समयसम्म पुरूषहरूले स्त्रीहरूलाई छुनु हुँदैन।” तेस्रो दिन बिहान बाक्लो बादल पर्वतमा झर्यो। त्यहाँ बिजुलीको चमक देखियो आकाशको गर्जनको साथै तुरहीको एकदमै चर्को आवाज सुनियो। छाउनीमा भएका मानिसहरू डराए। तब मोशाले मानिसहरूलाई परमेश्वरसँग भेट गर्न अगुवाई गरे। तिनीहरू पर्वतको फेदिमा नै उभिए। सीनै पर्वत धुवाँले ढाकिएको थियो। पर्वतमाथि निस्केको धुवाँ भट्टीदेखि निस्केको जस्तै थियो। यस्तो भयो किनभने परमप्रभु पर्वतमा आगोमा आउनु भयो। सम्पूर्ण पर्वत पनि जोरसित हल्लियो। तुरहीको आवाज झन्-झन् चर्को हुदै गयो। प्रत्येक पल्ट मोशाले परमेश्वरसित बोले परमेश्वरले उसलाई गर्जन जस्तो आवाजमा उत्तर दिनु भयो। अनि परमप्रभु सीनै पर्वतमा ओर्लिनु भयो। परमप्रभु स्वर्गबाट पर्वतको टाकुरामा आउनु भयो। तब उहाँले मोशालाई पर्वतको टाकुरामाथि बोलाउनु भयो अनि मोशा पर्वतमाथि गए। परमप्रभुले मोशालाई भन्नु भयो, “तल झर अनि मानिसहरूलाई मेरो नजिक नआउन र मलाई नहेर्ने चेताउनी देऊ। यदि तिनीहरूले त्यसो गरे धेरै जना मर्नेछन्। पूजाहारीहरूलाई यो पनि भन जो परमप्रभुको सामुन्ने आउँछन् तिनीहरूले आफैंलाई पवित्र बनाउनु पर्छ। तिनीहरूले त्यसो गर्दैनन् भने तब म तिनीहरूलाई दण्ड दिनेछु।” मोशाले परमप्रभुलाई भने, “तर मानिसहरू सीनै पर्वतमाथि आउन सक्तैनन्। तपाईं आफैले हामीलाई पवित्र भूमिमा धर्का कोर्नु अनि मानिसहरूलाई नाध्न नदिनु भन्नु भयो।” परमप्रभुले उसलाई भन्नु भयो, “मानिसहरू कहाँ जाऊ, हारूनलाई भेट अनि आफूसँगै मकहाँ लिएर आऊ, तर पूजाहारी र मानिसहरूलाई मेरो नजिक आउन नदेऊ। यदि तिनीहरू नजिक आए म तिनीहरूलाई दण्ड दिनसक्छु।” यसर्थ मोशा तल मानिसहरू भएकहाँ गए र तिनीहरूलाई यी सब कुराहरू बताए।

शेयर गर्नुहोस्
प्रस्‍थान 19 पढ्नुहोस्

प्रस्‍थान 19:1-25 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

इस्राएलीहरू रपीदीमबाट हिँडे र मिश्रदेश छोडेको तेस्रो महिनाको पहिलो दिनमा सीनैको मरुभूमिमा आइपुगे। त्‍यहाँ सीनै पर्वतको फेदीमा तिनीहरूले डेरा हाले। मोशा परमेश्‍वरसित भेट गर्न पर्वतमाथि चढे। परमप्रभुले मोशालाई पर्वतबाट बोलाउनुभयो र याकूबका सन्‍तान इस्राएलीहरूलाई यसो भन्‍न लाउनुभयो, “म परमप्रभुले मिश्रीहरूलाई के गरें, कसरी मैले तिमीहरूलाई गरुडले आफ्‍ना चल्‍ला पखेटामा बोकेझैँ उचालेर बोकें र यहाँ मकहाँ ल्‍याएँ, सो तिमीहरूले देखेका छौ। अब तिमीहरूले मेरो आज्ञा मान्‍यौ र मेरो करार पालन गर्‍यौ भने तिमीहरू मेरो निज प्रजा हुनेछौ। सारा पृथ्‍वी मेरो हो; तर तिमीहरू मेरा चुनिएका जाति हुनेछौ, मेरो निम्‍ति मात्र अर्पण भएका जाति हुनेछौ र पूजाहारी बनेर मेरो सेवा गर्नेछौ।” मोशा पर्वतबाट तल ओर्लेर आए र इस्राएलीहरूका अगुवाहरूलाई भेला गरेर परमप्रभुले आफूलाई आज्ञा गर्नुभएका सबै कुरा तिनीहरूलाई सुनाए। तब सबै मानिसहरूले एकसाथ मिलेर भने, “परमप्रभुले आज्ञा गर्नुभएको हरेक कुरा हामी गर्नेछौं।” यो कुरा मोशाले परमप्रभुलाई सुनाए। परमप्रभुले मोशालाई भन्‍नुभयो, “म बाक्‍लो बादलभित्र भएर तँकहाँ आउनेछु र मानिसहरूले म तँसित बोलेको सुन्‍नेछन् र अबदेखि उसो तँलाई विश्‍वास गर्नेछन्।” मानिसहरूले के उत्तर दिएका थिए, त्‍यो मोशाले परमप्रभुलाई सुनाए र उहाँले मोशालाई भन्‍नुभयो, “मानिसहरूकहाँ गएर भन् कि मलाई पुज्‍नको निम्‍ति आज र भोलि तिनीहरूले आफैंलाई चोख्‍याउने काम गरून्। आफ्‍ना लुगाफाटा धोएर पर्सि तिनीहरू तयार हुनुपर्नेछ। त्‍यस दिन म सीनै पर्वतमा उत्रनेछु। सबैले त्‍यहाँ मलाई देख्‍न सक्‍नेछन्। पर्वतको चारैपट्टि मानिसहरूले ननागून्‌ भनी एउटा सिमाना लाइदिनू। मानिसहरूलाई पर्वतमाथि नचढ्‍नू, त्‍यसको छेउमा पनि नजानू भनी आदेश दिनू। कसैले पर्वतमाथि पाइलो टेक्‍यो भने त्‍यो मारिनेछ, त्‍यसलाई कसैले नछोई ढुङ्गाले वा काँडले हान्‍नू। यो कुरा मानिस वा पशु दुवैमाथि लागू हुनेछ अनि पर्वतमा पाइलो टेक्‍ने सबै निश्‍चय मारिनेछन्। तर जब तुरही बज्‍नेछ, तब मानिसहरू पर्वतसम्‍म आऊन्‌।” तब मोशा पर्वतबाट तल ओर्ले र परमेश्‍वरलाई पुज्‍न मानिसहरूलाई तयार हुन आदेश दिए। तिनीहरूले आफ्‍नो लुगाफाटा धोए। त्‍यसपछि मोशाले तिनीहरूलाई भने, “पर्सिसम्‍म तयार हुनू र यस बीचमा स्‍त्रीहरूलाई नछुनू।” तेस्रो दिन बिहान बिजुली चम्‍क्‍यो र आकाश गर्ज्‍यो, बाक्‍लो बादल पहाडमाथि छायो र तुरहीको चर्को स्‍वर सुनियो। डेराका सबै मानिसहरू डरले काँपे। मोशाले तिनीहरूलाई परमेश्‍वरसित भेट्‍न डेराबाट बाहिर लगे र तिनीहरू पर्वतको फेदमा उभिए। सारा सीनै पर्वत धुवाँले ढाकिएको थियो किनभने परमप्रभु आगोमा त्‍यसमाथि उत्रनुभएको थियो। धुवाँ भट्टीको धुवाँझैँ निस्‍किरहेको थियो। अनि सबै मानिसहरू थरथर काँप्‍न लागेका थिए। तुरहीको स्‍वर अझ चर्को हुन लाग्‍यो। मोशा बोले र परमेश्‍वरले तिनलाई मेघको गर्जनमा उत्तर दिनुभयो। परमप्रभु सीनै पर्वतको टुप्‍पोमा आउनुभयो र मोशालाई त्‍यहाँ बोलाउनुभयो। मोशा पर्वतमा चढे र परमप्रभुले उनलाई भन्‍नुभयो, “तल गएर मानिसहरूलाई भन् कि तिनीहरू सिमाना नाघेर नआऊन् र मलाई नहेरून्। त्‍यसो गरे, तिनीहरू धेरैजना मर्नेछन्। मेरो छेउमा आउने पूजाहारीहरूले पनि आफैंलाई चोख्‍याउनुपर्छ नत्र म तिनीहरूलाई दण्‍ड दिनेछु।” मोशाले परमप्रभुलाई भने, “मानिसहरू उँभो आउन सक्‍नेछैनन् किनभने तपाईंले यस पर्वतलाई पवित्र ठान्‍नू अनि यसलाई सिमानाले घेर्नू भनी हामीलाई आज्ञा गर्नुभएको थियो।” परमप्रभुले उत्तर दिनुभयो, “तल जा र हारूनलाई लिएर आइज। तर पूजाहारी र मानिसहरू भने सिमाना नाघेर मकहाँ नआऊन्, नत्र म तिनीहरूलाई दण्‍ड दिनेछु।” तब मोशा तल मानिसहरूकहाँ गए र परमप्रभुले भनेका कुरा तिनीहरूलाई सुनाए।

शेयर गर्नुहोस्
प्रस्‍थान 19 पढ्नुहोस्