प्रस्थान 17:1-13
प्रस्थान 17:1-13 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
इस्राएलीहरूका सारा समुदाय सीनको उजाड़-स्थानबाट परमप्रभुको आज्ञाबमोजिम ठाउँ-ठाउँमा यात्रा गरेर रपीदीममा आइपुगे। त्यहाँ तिनीहरूले डेरा बनाए, तर मानिसहरूका निम्ति खाने पानी थिएन। यसकारण तिनीहरूले मोशासित झगड़ा गरेर भने, “हामीलाई खाने पानी दिनुहोस्।” मोशाले तिनीहरूलाई भने, “तिमीहरू किन मसित कलह गर्दछौ? तिमीहरू किन परमप्रभुको परीक्षा गर्दछौ?” तर मानिसहरूलाई पानीको तिर्खा लाग्यो, र ती यसो भनेर मोशाको विरुद्धमा गनगनाए, “तपाईंले हामी, हाम्रा बालबच्चा र पशुहरूलाई तिर्खाले मार्न किन मिश्रबाट यहाँ ल्याउनुभयो?” तब मोशाले यसो भनी परमप्रभुलाई पुकारा गरे, “म यी मानिसहरूलाई के गरूँ? यिनीहरूले त मलाई ढुङ्गाले हान्नै आँटेका छन्।” परमप्रभुले मोशालाई भन्नुभयो, “इस्राएलीहरूका धर्म-गुरुहरूमध्ये कतिलाई साथमा लिएर मानिसहरूका अगिअगि जा, र तैंले नील नदीलाई हिर्काएको तेरो लहुरो पनि आफ्नो हातमा लिएर जा। म होरेबमा भएको चट्टानमा तेरो अगि खड़ा हुनेछु। तैंले चट्टानलाई हिर्काउनू, र मानिसहरूले पिउनलाई त्यहाँबाट पानी निस्कनेछ।” तब मोशाले इस्राएलीहरूका धर्म-गुरुहरूका सामुन्ने त्यसै गरे। “परमप्रभु हाम्रा बीचमा हुनुहुन्छ कि हुनुहुन्न” भन्ने इस्राएलीहरूका झगड़ाको कारण र तिनीहरूले परमप्रभुको परीक्षा गरेको कारण त्यस ठाउँको नाउँ तिनले मस्साह र मेरीबा राखे। तब अमालेकीहरू आएर रपीदीममा इस्राएलीहरूमाथि आक्रमण गरे। अनि मोशाले यहोशूलाई भने, “हाम्रा निम्ति मानिसहरू चुनेर अमालेकीहरूसित युद्ध गर्न जाऊ। भोलि परमप्रभुको लहुरो मेरा हातमा लिएर म डाँड़ाको टाकुरामा खड़ा हुनेछु।” तब मोशाले तिनलाई भनेबमोजिम यहोशूले गरे, र अमालेकीहरूका विरुद्धमा लड्न लागे। मोशा, हारून र हूरचाहिँ डाँड़ाको टाकुरामा गए। मोशाले आफ्ना हात माथि उचालिराख्दा इस्राएलीहरू विजयी हुन्थे। तर तिनले आफ्ना हात तल झार्दा अमालेकीहरू विजयी हुन्थे। जब मोशाका हात थाके, तब तिनीहरूले एउटा ढुङ्गा ल्याएर तिनीमुनि राखिदिए, र तिनी त्यसमाथि बसे। हारून र हूरले चाहिँ तिनका हात थामिराखे, एउटाले एकापट्टि र अर्काले अर्कोपट्टि। यसरी सूर्यास्त नहोउञ्जेल तिनका हात स्थिर रहे। अनि यहोशूले अमालेकी फौजलाई तरवारले जिते।
प्रस्थान 17:1-13 पवित्र बाइबल (NERV)
सीनैको मरुभूमिबाट सबै इस्राएली दलसँगै यात्रा गरे। परमप्रभुको आज्ञा अनुसार तिनीहरू एक ठाउँदेखि अर्को ठाउँ यात्रा गरे। जब तिनीहरू रपीदीम पुगे त्यही छाउनी बनाए। त्यस ठाउँमा मानिसहरूको निम्ति पिउने पानी थिएन। यसर्थ तिनीहरू मोशाको विरोधमा कुरा गर्न लागे अनि तिनीहरूले भने, “हामीलाई पिउने पानी देऊ।” मोशाले तिनीहरूलाई भने, “तिमीहरू किन मसित बहस गर्छौ? किन परमप्रभुको परीक्षा लिन्छौ?” तर मानिसहरू पानीको निम्ति साह्रै तिर्खाएका थिए, यसर्थ तिनीहरूले लगातर मोशा विरूद्ध गन-गन गरिरहे। मानिसहरूले भने, “किन तिमीले हामीलाई मिश्र देशबाट बाहिरा ल्यायौ? के तिमीले हामी हाम्रा बाल-बच्चा तथा गाई-वतुहरू सबै पानी बिना मरून् भनी लिएर आएका हौ?” अनि मोशाले परमप्रभुलाई विन्ती गरे, “म यी मानिसहरूसित के गर्न सक्छु? तिनीहरू मलाई मार्न तैयार छन्।” परमप्रभुले मोशालाई भन्नुभयो, “इस्राएली मानिसहरूअघि जाऊ र तिनीहरूबाट केही बूढाप्रधानहरूलाई तिमीसँगै लैजाऊ। र आफ्नो लहुरो पनि ल्याऊ। त्यो लहुरो त्यही हो जुन तिमीले नील नदीमा हिर्काउनमा प्रयोग गरेका थियौ। म तिमीहरूको अघि होरेबमा सिनै पर्वतको चट्टानमाथि म हुनेछु। त्यो लहुरोले चट्टानलाई हिर्काउ अनि त्यो चट्टानबाट पानी निस्कनेछ, तब मानिसहरूले त्यो पानी पिउन सक्छन्।” मोशाले त्यही गरे जुन इस्राएलका बूढा-प्रधानहरूले त्यो देखे। मोशाले त्यस ठाउँको नाउँ मरीबा र मस्सा राखे किनभने यो त्यही ठाउँ हो जहाँ इस्राएली मानिसहरूले उनको विरोद्धमा गए अनि परमप्रभुको परीक्षा लिएका थिए। मानिसहरू जान्न चाहन्थे, परमप्रभु तिनीहरूसित हुनुहुन्छ अथवा हुन्न। रपीदीममा अमालेकी मानिसहरू आए अनि इस्राएली मानिसहरूसित लडाइँ गरे। यसर्थ मोशाले यहोशूलाई भने, “केही मानिसहरूलाई छान र भोलि अमालेकीहरूसित युद्ध गर्न जाऊ। म पर्वतमाथि बसेर तिमीहरूलाई हेर्नेछु। म त्यहाँ परमेश्वरको लहुरो पक्री रहनेछु।” यहोशूले मोशाको आज्ञा पालन गरे। अर्को दिन उनी अमालेकीहरूसित युद्ध गर्न गए। त्यही समय मोशा, हारून र हूर पर्वतको टाकुरामा गए। केही समयमा जब मोशाले आफ्नो हात हावामामाथि उठाउँथे इस्राएलीहरूले युद्धमा जित्थे तर जब मोशा आफ्नो हात तल झार्थे अमालेकीहरूले जित्नु शुरू गर्थे। केही समय पछि मोशाका पाखुरा थाके। मोशासित भएका मानिसहरूले बस्नको निम्ति एउटा ढुङ्गा ल्याए अनि हारून र हूरले मोशाको हात उठाएर राखे। मोशाको एकापट्टि हारून र अर्कोपट्टि हूर थिए। तिनीहरूले मोशाको हातहरू घाम नअस्ताउन्जेलसम्म माथि उठाई राखे। यसरी यहोशू र उसका मानिसहरूले अमालेकीहरूलाई यस युद्धमा परास्त गरे।
प्रस्थान 17:1-13 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
सारा इस्राएली समुदाय सीनको उजाड-स्थानबाट हिँड्यो। परमप्रभुको आज्ञाअनुसार एक ठाउँदेखि अर्को गर्दै तिनीहरू अघि बढे। तिनीहरूले रपीदीममा डेरा हाले तर त्यहाँ पिउने पानी थिएन। तिनीहरूले मोशालाई गनगनाए र भने, “हामीलाई पिउने पानी दिनुहोस्।” मोशाले उत्तर दिए, “तिमीहरू किन गनगनाउँछौ? किन तिमीहरू परमप्रभुको जाँच गर्दछौ?” तर मानिसहरू औधी तिर्खाएका थिए र मोशासित गनगनाइरहे। तिनीहरूले भने, “किन तपाईंले हामीलाई मिश्रबाट निकाली ल्याउनुभयो? हाम्रा बालबच्चा र गाई-वस्तुसहित हामीलाई तिर्खाले मार्नलाई?” मोशाले परमप्रभुलाई हृदयबाट प्रार्थना गरे र भने, “म यी मानिसहरूसित के गर्नु? यिनीहरू मलाई ढुङ्गाले हान्न तयार छन्।” परमप्रभुले मोशालाई भन्नुभयो, “इस्राएलका केही अगुवाहरू लिएर मानिसहरूको अघिअघि जा। तैँले नील नदीलाई हिर्काएको लट्ठी लिएर जा। म सीनै पर्वतमा एउटा चट्टानको अघि तेरो सामु उभिनेछु। त्यस चट्टानलाई हिर्काउनू र त्यहाँबाट मानिसहरूले पिउने पानी निस्कनेछ।” मोशाले इस्राएलका अगुवाहरूको अघि त्यसै गरे। त्यो ठाउँको नाम मस्सा र मेरीबा भयो किनभने इस्राएलीहरूले त्यहाँ गनगनाएर “के परमप्रभु हामीसित हुनुहुन्छ र” भनी उहाँको जाँच गरेका थिए। अमालेकीहरू आएर रपीदीममा इस्राएलीहरूमाथि हमला गरे। मोशाले यहोशूलाई भने, “भोलि गएर अमालेकीहरूसित लड्न केही मानिसहरू चुन। परमप्रभुले मलाई दिनुभएको लट्ठी लिएर म डाँडामाथि उभिनेछु।” यहोशूले मोशाले आज्ञा गरेझैँ गरे र अमालेकीहरूसित लडाइँ गर्न गए। मोशा, हारून र हूरचाहिँ डाँडामाथि गए। मोशाले आफ्ना हात उचालेर राखुञ्जेल इस्राएलीहरूले जित्थे तर उनले हात झार्ने बित्तिकै अमालेकीहरूले जित्थे। मोशाको हात थाकेपछि हारून र हूरले उनी बस्नलाई एउटा ढुङ्गा ल्याए र ती दुईले छेउ-छेउमा उभिएर उनका दुवै हात थामिराखे। घाम नअस्ताउञ्जेल तिनीहरूले त्यसो गरे। यसरी यहोशूले अमालेकीहरूलाई तरवारले सोतर पारे।