प्रस्थान 15:1-18
प्रस्थान 15:1-18 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब मोशा र इस्राएलीहरूले परमप्रभुको नाउँमा यो स्तुति गाए: “म परमप्रभुको स्तुतिगान गाउनेछु, किनकि उहाँ धेरै उचालिनुभएको छ। घोड़ा र त्यसको सवारलाई उहाँले समुद्रमा फालिदिनुभएको छ। परमप्रभु नै मेरो शक्ति र गीत हुनुहुन्छ, र उहाँ मेरो मुक्ति हुनुभएको छ। उहाँ मेरा परमेश्वर हुनुहुन्छ, म उहाँको स्तुति गर्नेछु। मेरा पिता-पुर्खाका परमेश्वर, म उहाँको नाउँ उच्च पार्नेछु। परमप्रभु नै योद्धा हुनुहुन्छ, उहाँको नाउँ परमप्रभु हो। फारोका रथहरू र उनका सेनालाई समेत उहाँले समुद्रमा फालिदिनुभएको छ। फारोका सर्वश्रेष्ठ अधिकृतहरू लाल समुद्रमा डुबे। गहिरा पानीले उनीहरूलाई छोपे। उनीहरू ढुङ्गाझैँ गहिराइमा डुबे। हे परमप्रभु, तपाईंको दाहिने बाहुली शक्तिमा प्रतापी थियो, हे परमप्रभु, तपाईंको दाहिने बाहुलीले शत्रुहरूलाई चकनाचूर पार्यो। तपाईंका विरुद्धमा उठ्नेहरूलाई तपाईंका गौरवको उच्चतामा तपाईंले तल झार्नुभयो। तपाईंले आफ्नो जल्दो क्रोध प्रकट गर्नुभयो, र त्यसले उनीहरूलाई ठोसाझैँ भस्म पार्यो। तपाईंका नाकको सासले पानीको थुप्रो लाग्यो, उर्लिंदो पानी एकै थुप्रो भई पर्खालजस्तो स्थिर भई उभियो, गहिरो पानी समुद्रको बीचमा जम्यो। “शत्रुले धाक लगायो, ‘म तिनीहरूलाई खेदेर भेट्टाउनेछु, लुटिएका मालहरू म बाँड्नेछु। तिनीहरूमा म टन्न भोज गर्नेछु। म मेरो तरवार थुत्नेछु, र मेरो हातले तिनीहरूलाई नष्ट पार्नेछु।’ तर तपाईंले आफ्नो सास फुक्नुभयो, र समुद्रले उनीहरूलाई छोप्यो। शक्तिशाली समुद्रमा उनीहरू सीसाझैँ डुबे। हे परमप्रभु, देवताहरूमा तपाईंझैँ को छ र? पवित्रतामा अति महान्, महिमामा भययोग्य, र उदेकका कर्म गर्नुहुने तपाईंझैँ को छ र? तपाईंले आफ्नो दाहिने बाहुली पसार्नुभयो, र पृथ्वीले उनीहरूलाई निलिहाल्यो। “तपाईंले छुटकारा गर्नुभएका मानिसहरूलाई तपाईंले आफ्नो नचुक्ने प्रेममा डोर्याउनुहुनेछ। तपाईंले आफ्नो शक्तिद्वारै तिनीहरूलाई आफ्नो पवित्र वासस्थानमा अगुवाइ गर्नुहुनेछ। जातिहरूले सुन्नेछन् र काम्नेछन्। पलिश्त देशमा वास गर्नेहरूलाई पीडाले पक्रनेछ। एदोमका अधिपतिहरू भयभीत हुनेछन्, मोआबका नेताहरूलाई कम्पले पक्रनेछ। कनानका सारा बासिन्दाहरू पग्लनेछन्, डर र त्रास उनीहरूमाथि पर्नेछ। हे प्रभु, तपाईंका प्रजा पार नहोउञ्जेल, तपाईंले किन्नुभएका प्रजा पार नहोउञ्जेल तपाईंका पाखुराको शक्तिले उनीहरू पत्थरझैँ अचल रहनेछन्। तपाईंले तिनीहरूलाई ल्याएर तपाईंको आफ्नो उत्तराधिकारको पर्वतमा रोप्नुहुनेछ— त्यसै ठाउँमा, हे परमप्रभु, जो तपाईंले आफ्नो वासको निम्ति बनाउनुभयो, त्यही पवित्रस्थानमा, हे परमप्रभु, जो तपाईंका बाहुलीहरूले स्थापना गरे। परमप्रभुले सदासर्वदै राज्य गर्नुहुनेछ।”
प्रस्थान 15:1-18 पवित्र बाइबल (NERV)
त्यसपछि मोशा अनि इस्राएलीहरूले परमप्रभुको निम्ति यो गीत गाउन थालेः “म परमप्रभुको निम्ति गाउनेछु! उहाँले महान कार्य गर्नु भयो। उहाँले घोडाहरू तथा सवारीहरूलाई समुद्रमा फ्याँकि दिनुभयो। परमप्रभु मेरो शक्ति हुनुहुन्छ, उहाँले मलाई बचाउनु हुन्छ। परमप्रभु मेरो परमेश्वर हुनुहुन्छ, अनि म उहाँको स्तुति गर्छु। परमप्रभु मेरो पिता-पुर्खाहरूको परमेश्वर हुनुहुन्छ, अनि म उहाँको आदर गर्छु। परमप्रभु एउटा योद्धा हुनुहुन्छ, उहाँको नाउँ परमप्रभु हो। उहाँले फिरऊनका रथहरू, र सेनालाई समुद्रमा मिल्काई दिनु भयो। फिरऊनका अत्यन्तै असल सैनिकहरू लाल समुद्रमा डुबे। गहिरो पानीले तिनीहरूलाई डुबायो, अनि तिनीहरू ढुङ्गा झै गहिराईमा भासिए। “तपाईंको दाहिने बाहुली अद्भूत शक्तिशाली छ। हे परमप्रभु, तपाईंको दाहिने बाहुलीले शत्रुको विनाश गर्यो। आफ्नो महान महिमामा तपाईंले ती मानिसहरूको नाश गर्नु भयो, जसले तपाईंको विरोध गरे। तपाईंको रीसले परालको आगोले झैं तपाईंका शत्रुहरूलाई जलायो। तपाईंको नाकबाट निस्केको सासले पानीलाई एक ठाउँमा थुपारी दियो। बगिरहेको पानी पर्खाल झैं उभियो। समुद्रको गहिराइ सतहमा ठोस बनियो। “शत्रुले भन्यो, ‘म तिनीहरूलाई खेद्नेछु र समात्नेछु, म तिनीहरूको सम्पूर्ण सम्पत्ति लुट्नेछु। म मेरो तरवार निकाल्नेछु र तिनीहरूलाई पराजित गर्नेछु।’ तर तपाईंले तिनीहरूमाथि फुकिदिनु भयो अनि तिनीहरू समुद्रमा ढाकिए। तिनीहरू नाप्न नसकिने गहिरो समुद्रमा डुबे। “के कतै परमप्रभु जस्तो अन्य देवाताहरू छन्? अँह, तपाईं झैं अन्य देवता कतै छैनन्- तपाईं आश्चर्यपूर्ण र पवित्र हुनुहुन्छ! तपाईं विष्मय पूर्ण शक्तिशाली हुनुहुन्छ! तपाईं अचम्मको काम गर्नुहुन्छ। तपाईं आफ्नो दाहिने बाहुली तेर्साउनु हुन्छ, अनि पृथ्वीलाई नाश गर्नु हुन्छ। तर आफूले बचाएका मानिसहरूलाई तपाईंको दयाले डोर्याउनु हुन्छ। अनि आफ्नो क्षमताले तिनीहरूलाई पवित्र प्रसन्न भूमिमा डोर्याउनु हुन्छ। “अरू राष्ट्रहरूले यो कथा सुन्ने छन् र तिनीहरू डराउने छन्। पलिश्तीका मानिसहरू डरले काम्ने छन्। एदोमका प्रमुखहरू डरले काम्नेछन्, मोआबका प्रमुखहरू डरले काम्नेछन्। कनानीहरूले तिनीहरूको साहस हराउनेछन्। जब मानिसहरूले तपाईंको शक्ति चाल पाउँछन् तिनीहरू भयभीत हुनेछन्। जबसम्म तपाईंका मानिसहरू पार हुँदैनन्, तिनीहरू चट्टान जस्ता हुनेछन्। हे परमप्रभु तपाईंले आफ्नो मानिसहरूलाई आफ्नो पर्वतमा डोर्याउनु हुनेछ। तपाईंले बसोबासो गर्न बनाएको सिंहासनको नजिकमा तिनीहरूलाई तपाईंले बस्न दिनु हुनेछ। “परमप्रभुले सदा-सर्वदाको निम्ति शासन गर्नुहुनेछ।”
प्रस्थान 15:1-18 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तब मोशा र इस्राएलीहरूले परमप्रभुको स्तुति गर्दै यो गीत गाए– “म परमप्रभुको स्तुति गाउनेछु किनभने उहाँले गौरवपूर्ण विजय गर्नुभएको छ; उहाँले घोडाहरूलाई सवारहरूसँगै समुद्रमा फालिदिनुभएको छ। परमप्रभु मेरा बलिया रक्षक हुनुहुन्छ; मलाई बचाउने उहाँ नै हुनुहुन्छ। उहाँ मेरो परमेश्वर हुनुहुन्छ, म उहाँको प्रशंसा गर्नेछु, उहाँ मेरा पिताका परमेश्वर हुनुहुन्छ, म उहाँका महान्ताबारे स्तुति गाउनेछु। परमप्रभु योद्धा हुनुहुन्छ, उहाँको नाम परमप्रभु हो। मिश्रका सेना र रथहरूलाई उहाँले समुद्रमा फालिदिनुभयो; त्यसका सबैभन्दा असल अधिकृतहरू लाल समुद्रमा डुबे। गहिरो समुद्रले तिनीहरूलाई छोपिहाल्यो, र तिनीहरू ढुङ्गाझैँ समुद्रमुनि डुबिगए। हे परमप्रभु, तपाईंको दाहिने हातमा डरलाग्दो शक्ति छ; त्यसले शत्रुहरूलाई चकनाचुर पार्दछ। आफ्नो गौरवपूर्ण विजयले तपाईंले शत्रुहरूलाई हराउनुहुन्छ; तपाईंको रिस आगोझैँ बल्दछ र तिनीहरूलाई परालझैँ भस्म पार्दछ। तपाईंले समुद्रलाई फुक्नुभयो र पानीको अग्लो रास लाग्यो; त्यो पर्खालजस्तो भएर खडा भयो; समुद्रको गहिरो भाग कडा भएर जम्यो। शत्रुले भन्यो, ‘म तिनीहरूलाई खेदेर पक्रनेछु; म तिनीहरूको धन-सम्पत्ति बाँडचुँड गरी लिनेछु; म मेरो तरवार थुती निकालेर तिनीहरूका सबै थोक लिनेछु।’ तर परमप्रभु, तपाईंले एकपल्ट फुकिदिनुभयो र मिश्रीहरू डुबिगए; डरलाग्दो पानीमा तिनीहरू सिसाझैँ डुबिगए। “परमप्रभु, देवताहरूमध्ये तपाईंझैँ को होला? पवित्रतामा तपाईंझैँ अचम्मको को होला? कसले तपाईंले झैँ उदेकको र शक्तिको काम गर्न सक्ला? तपाईंले दाहिने हात पसार्नुभयो र पृथ्वीले हाम्रा सबै शत्रुहरूलाई निलिहाल्यो। आफ्नो प्रतिज्ञामा विश्वासयोग्य रहनुभएर आफूले बचाउनुभएको प्रजालाई तपाईंले अगुवाइ गर्नुभयो, तिनीहरूलाई तपाईंले आफ्नो शक्तिले तपाईंको पवित्र देशमा डोर्याउनुभयो। जाति-जातिले सुनेका छन् र तिनीहरू डरले काँप्दछन्, पलिश्तीहरू भयभीत भएका छन्। एदोमका अगुवाहरू डरले अति आत्तिएका छन्; मोआबका बलिया मानिसहरू थरथरी काँप्दै छन्; कनानबासीहरूले साहस हराएका छन्। तिनीहरूमा डर र भयले छाएको छ। हे परमप्रभु! तिनीहरूले तपाईंको शक्तिलाई देख्दछन्, तपाईंले दासत्वदेखि छुटाउनुभएका, तपाईंका प्रजाहरू हिँडेर पार नभएसम्म तिनीहरू डरले असहाय भएर उभिरहन्छन्। तपाईंले तिनीहरूलाई ल्याएर आफ्नो पर्वतमा बसाल्नुहुन्छ, त्यो ठाउँ तपाईं परमप्रभुले आफ्नो बासस्थानको निम्ति चुन्नुभएको छ, त्यो पवित्रस्थान, जसलाई तपाईंको आफ्नै हातले बनाउनुभएको छ। परमप्रभु, तपाईं सदासर्वदा राजा भइरहनुहुन्छ।”