प्रस्‍थान 12:21-32

प्रस्‍थान 12:21-32 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

तब मोशाले इस्राएलका सबै धर्म-गुरुहरूलाई बोलाउन पठाएर तिनीहरूलाई भने, “गएर आ-आफ्‍नो परिवारअनुसार एउटा-एउटा थुमा निकाल, र निस्‍तार-चाड़का बलिको निम्‍ति मार। हिसपको झुप्‍पा भाँड़ाको रगतमा चोपेर ढोकाको चौकोसको माथिल्‍लो भाग र दुवैतिरका खम्‍बामा छ्याप्‍नू। तिमीहरूमध्‍ये कोही पनि बिहानसम्‍म घरको ढोकाबाहिर ननिस्‍कनू। जब परमप्रभु मिश्रीहरूलाई प्रहार गर्न देश भएर जानुहुनेछ, तब उहाँले चौकोसको माथिल्‍लो भाग र दुवैतिरका खम्‍बामा रगत देख्‍नुहुनेछ, र त्‍यस ढोकालाई छोड़ेर, निस्‍तार गरी, विनाश पार्नेलाई तिमीहरूका घरमा तिमीहरूलाई मार्न पस्‍न दिनुहुन्‍न। “तिमीहरूले यी कुरा सदाको निम्‍ति एक रहिरहने विधि स्‍वरूप आफू र आफ्‍ना भावी सन्‍तानका लागि मान्‍नू। जब तिमीहरू परमप्रभुले प्रतिज्ञा गरेर दिनुभएको देशमा पस्‍नेछौ, तब तिमीहरूले यो चाड़ मान्‍नू। जब तिमीहरूका छोराछोरीले यस चाड़को अर्थ के हो भनी सोध्‍छन्, तब तिमीहरूले भन्‍नू, ‘यो परमप्रभुको निस्‍तार-चाड़को बलिदान हो। उहाँ मिश्रमा इस्राएलीहरूका घरहरूबाट भएर जानुभयो, र उहाँले मिश्रीहरूलाई प्रहार गर्नुहुँदा हामीहरूका घरचाहिँ उहाँले छोड्‌नुभएको थियो’।” तब मानिसहरूले शिर निहुराएर आराधना गरे। अनि इस्राएलीहरूले परमप्रभुले मोशा र हारूनलाई आज्ञा गर्नुभएझैँ गरे। मध्‍यरातमा सिंहासनमा बस्‍ने फारोको जेठो छोरादेखि लिएर झ्‍यालखानमा हुने कैदीको जेठो छोरासम्‍म, सबै गाईबस्‍तुहरूका पहिले बियाएकासमेत, मिश्रमा सबैलाई पहिले जन्‍मेकाहरू परमप्रभुले मार्नुभयो। फारो, उनका सबै अधिकारीहरू, र सारा मिश्रीहरू राती नै उठे। मिश्रमा ठूलो रुवाबासी भयो, किनकि त्‍यहाँ एउटा नमरेको कुनै घर थिएन। फारोले राती नै मोशा र हारूनलाई बोलाउन पठाएर भने, “तिमीहरू र सबै इस्राएलीहरू मेरा प्रजाका बीचबाट निक्‍लेर गइहाल, र तिमीहरूले भनेबमोजिम परमप्रभुको आराधना गर। तिमीहरूले भनेबमोजिम आ-आफ्‍ना भेड़ाबाख्रा र गाईबस्‍तु लिएर गइहाल। मलाई पनि आशीर्वाद देओ।”

शेयर गर्नुहोस्
प्रस्‍थान 12 पढ्नुहोस्

प्रस्‍थान 12:21-32 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

तब मोशाले इस्राएलका सबै प्रधानहरूलाई बोलाएर तिनीहरूलाई भने, “झट्टै गएर तपाईंहरूका परिवारहरूका निम्ति पशुहरू रोज्नुहोस् र निस्तार चाडको पाठो मार्नुहोस्। हिसपको एउटा झुप्पा लिएर भाँडामा भएको रगतमा चोप्नुहोस्, र केही रगत चौकसका माथिल्‍लो र दुवैतिरका भागमा लगाउनुहोस्। बिहानसम्म आफ्नो घरदेखि कोही पनि बाहिर ननिस्कोस्। जब याहवेह इजिप्टियनहरूलाई प्रहार गर्नलाई यस देशबाट भएर जानुहुनेछ, तब उहाँले चौकसका माथिल्‍ला र दुई छेउका भागहरूमा रगत देख्नुहुनेछ; अनि उहाँले त्यस ढोकालाई नाघेर जानुहुनेछ, र विनाशकर्तालाई नाश गर्न तपाईंहरूका घरमा पस्‍न दिनुहुनेछैन। “यस निर्देशनलाई तपाईंहरू र तपाईंहरूका सन्तानका लागि एउटा सदाको धार्मिक नियमस्वरूप पालन गर्नू। जब तपाईंहरू याहवेहले प्रतिज्ञा गर्नुभएको देशमा प्रवेश गर्नुहुनेछ, यस उत्सवलाई मान्‍नू। अनि जब तपाईंहरूका छोराछोरीहरूले तपाईंहरूलाई ‘तपाईंहरूका निम्ति यस उत्सवको अर्थ के हो?’ भनी सोध्छन्, तब तपाईंहरूले भन्‍नू, ‘यो याहवेहको निम्ति निस्तारको बलिदान हो; उहाँले इजिप्टमा इस्राएलीहरूका घरहरूलाई छोड्नुभयो, र इजिप्टियनहरूलाई प्रहार गर्नुहुँदा हाम्रा परिवारहरूलाई जोगाइराख्नुभयो।’ ” तब मानिसहरूले शिर निहुराएर आराधना गरे। इस्राएलीहरूले याहवेहले मोशा र हारूनलाई आज्ञा गर्नुभएबमोजिम नै गरे। मध्यरातमा याहवेहले सिंहासनमा बस्‍ने फारोको जेठा छोरादेखि लिएर झ्यालखानामा भएको कैदीको जेठा छोरा, र सबै गाईबस्तुहरूका पहिले जन्मेकाहरू समेत, र इजिप्टका पहिले जन्मेकाहरू सबैलाई मार्नुभयो। फारो र तिनका सबै अधिकारीहरू र सारा इजिप्टियनहरू राति नै उठे, र इजिप्टमा ठूलो रुवाबासी चल्यो; किनकि त्यहाँ कोही नमरेको कुनै घर थिएन। रातको समयमा फारोले मोशा र हारूनलाई बोलाइपठाएर भने, “तिमीहरू र सारा इस्राएलीहरू उठ! अनि मेरा मानिसहरूलाई छोडिदेओ! जाओ, र तिमीहरूले बिन्ती गरेझैँ याहवेहको आराधना गर। तिमीहरूका बगाल र बथान पनि तिमीहरूले भनेझैँ लिएर जाओ; अनि मलाई पनि आशिष् देओ।”

शेयर गर्नुहोस्
प्रस्‍थान 12 पढ्नुहोस्

प्रस्‍थान 12:21-32 पवित्र बाइबल (NERV)

यसर्थ मोशाले सबै बूढा-प्रधानहरूलाई बोलाए। मोशाले तिनीहरूलाई भने, “तिमीहरूका परिवारका निम्ति थुमाहरू ल्याऊ र निस्तारको निम्ति थुमाहरू मार। हिसपको झुप्पा लेऊ अनि रगतले भरिएको भाँडामा डुबाऊ अनि ढोकाको चौकटकोमाथि तथा वरिपरि लगाऊ। बिहान नहुञ्जेल कसैले पनि घर छाडनु हुँदैन। जब परमप्रभु मिश्रमा पहिला जन्मेको छोराहरूलाई मार्न जानुहुनेछ अनि ढोकाका फल्याक अनि खाम्बाहरूमाथि रगत पोतेको देख्नु हुनेछ। तब परमप्रभुले त्यस घरलाई रक्षा गर्नु हुनेछ। उहाँ ती ढोकाद्वारबाट जाँदा परमप्रभुले विनाशक शक्ति ती घरहरूमा पसेर नाशगर्नबाट रोक्नुहुनेछ। तिमीहरूले यो आदेश याद राख्नुपर्छ। यो नियम सदा-सर्वदा तिम्रा सन्तानहरूको निम्ति हुनेछ। तिमीहरू जब परमप्रभुले दिनु भएको भूमिमा जानेछौ तिमीहरूले यो चाड़ पालन गर्नुपर्छ। जब तिमीहरूका नानीहरूले तिमीहरूलाई सोध्नेछन्, ‘किन हामी यो चाड़ मनाउछौं?’ तब तिमीहरूले जवाफ दिनेछौ, ‘यो निस्तार चाड़ परमप्रभुको सम्मानमा मानिएको हो। नानीहरूलाई तिमीहरू भन्नेछौ, जब हामीहरू मिश्रमा थियौं, परमप्रभुले इस्राएलीको घरहरू छोडेर जानु भयो। उहाँले मिश्री मानिसहरूलाई मार्नु भयो अनि हाम्रो रक्षा गर्नुभयो।’” यसकारण अहिले मानिसहरू उहाँलाई निहुरिएर दण्डवत गर्छन् र आराधना गर्छन्। परमप्रभुले यो आदेश मोशा र हारूनलाई दिनु भएको थियो, यसर्थ इस्राएलीहरूले त्यही गरे जे परमप्रभुले आदेश दिनु भएको थियो। मध्यरातमा मिश्र देशीहरूका पहिले जन्मेका सबै छोराहरू, मिश्रका शासक फिरऊनको पहिलो छोरो देखि झ्यालखानामा सजाय भोग्दै गरेको कैदीको छोरोसम्मलाई मार्नुभयो। पशुहरूमा पनि पहिले जन्मेका सबै मार्नु भयो। त्यस रात मिश्रमा प्रत्येक घरको कोही न कोही मरे। फिरऊन, उसका अधिकारीहरू अनि मिश्रका सबै मानिसहरू चिच्याउँदै रोए। तब त्यस राती फिरऊनले मोशा र हारूनलाई बोलाए। फिरऊनले तिनीहरूलाई भने, “तयार होऊ अनि हाम्रा मानिसहरूलाई छोडेर जाऊ। तिमी र तिम्रा मानिसहरूले त्यसै गर्न सक्छौ जो तिमी भन्छौ तिमीहरू जाऊ अनि आफ्नो परमप्रभुको आराधना गर। तिमीहरूले भने झैं आफ्नो-आफ्नो भेंडा तथा गाई-वस्तुहरू लिएरै जाऊ। तिमीहरूले मलाई पनि आशीर्वाद देऊ।”

शेयर गर्नुहोस्
प्रस्‍थान 12 पढ्नुहोस्

प्रस्‍थान 12:21-32 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

मोशाले इस्राएलका सबै नाइकेहरूलाई बोलाएर भने, “तिमीहरू हरेकले एउटा भेडा वा बाख्राको पाठो छानेर मार्नू र तिम्रा परिवारहरूले निस्‍तार-चाड मनाउन सकून्। हिसपको एउटा सानो स्‍याउलो लेओ, त्‍यसलाई पाठोको रगतको भाँडोमा चोब र तिम्रो घरका ढोकामा खम्‍बा र ढोका मास्‍तिर रगत पोतिदेओ। बिहानसम्‍म घरबाट कोही पनि बाहिर निस्‍कनेछैन। जब परमप्रभु मिश्रीहरूलाई मार्नलाई मिश्रका बीचबाट भएर जानुहुनेछ, उहाँले तिम्रा दैलाका खम्‍बाहरू र चौकोसमाथि रगत देख्‍नुहुनेछ र मृत्‍युको दूतलाई तिम्रा घरमा पस्‍न र तिमीहरूलाई मार्न दिनुहुनेछैन। तिमीहरू र तिमीहरूका सन्‍तानले यो नियम सदाको निम्‍ति मान्‍नुपर्नेछ। परमप्रभुले तिमीहरूलाई दिन प्रतिज्ञा गर्नुभएको देशमा पसिसकेपछि पनि यो रीति तिमीहरूले मान्‍नुपर्नेछ। तिम्रा सन्‍तानहरूले ‘यस विधिको अर्थ के हो?’ भनी सोधे भने तिमीहरूको उत्तर यो हुनेछ, ‘यो परमप्रभुलाई आदर गरेर मनाएको निस्‍तार-चाड हो किनभने उहाँले मिश्रमा भएका इस्राएलीहरूका घरहरूलाई बचाउनुभएको थियो। उहाँले मिश्रीहरूलाई मार्नुभयो तर हामी इस्राएलीहरूलाई बचाउनुभएको थियो।” इस्राएलीहरूले घुँडा टेकेर उहाँलाई आराधना गरे। तब तिनीहरू गए र परमप्रभुले मोशा र हारूनलाई दिनुभएको आज्ञाअनुसार सबै कुरा गरे। मध्‍यरातमा परमप्रभुले मिश्रका सबै जेठा छोराहरूलाई मार्नुभयो, सिंहासनको उत्तराधिकारी हुने राजकुमारदेखि लिएर झ्‍यालखानमा परेका कैदीका जेठा छोरासम्‍म सबैलाई मार्नुभयो। गाई-वस्‍तुका पहिले जन्‍मेका बाछाहरू पनि मारिए। त्‍यो रात राजा, तिनका भारदारहरू र अरू सबै मिश्रीहरू जागा बसे। मिश्रदेशमा चर्को सोरमा ठूलो रुवावासी चल्‍यो किनभने त्‍यहाँ जेठो छोरो नमरेको कुनै परिवार नै थिएन। त्‍यो रात राजाले मोशा र हारूनलाई बोलाउन पठाए र भने, “तिमी र तिम्रा इस्राएलीहरू निस्‍की जाओ। मेरो देश छोडेर गइहाल अनि तिमीहरूले भनेअनुसार आफ्‍ना परमप्रभुलाई भक्ति गर। तिम्रा भेडा-बाख्रा, गाई-गोरु लिएर गइहाल। मलाई आशिष् हुनलाई प्रार्थना गरिदेओ।”

शेयर गर्नुहोस्
प्रस्‍थान 12 पढ्नुहोस्