YouVersion लोगो
खोज आइकन

प्रस्‍थान 1:1-14

प्रस्‍थान 1:1-14 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

आ-आफ्‍नो परिवार लिएर याकूबसित मिश्रमा आउने इस्राएलका छोराहरूका नाउँ यी नै हुन्‌: रूबेन, शिमियोन, लेवी र यहूदा, इस्‍साखार, जबूलून, र बेन्‍यामीन, दान, नप्‍ताली, गाद र आशेर। याकूबका सन्‍तानमा जम्‍मा सत्तरी जना थिए। योसेफचाहिँ अघिबाटै मिश्रमा थिए। योसेफ र तिनका सबै दाजुभाइहरू र त्‍यस पुस्‍ताका सबै जना मरे। तर इस्राएलका सन्‍तान फल्‍दै-फुल्‍दै र संख्‍यामा अति धेरै हुँदैगए, यहाँसम्‍म कि सारा देश तिनीहरूद्वारा भरियो। तब मिश्रमा योसेफलाई नचिन्‍ने एक जना नयाँ राजाले शासन गर्न थाले। उनले आफ्‍ना प्रजालाई भने, “हेर, इस्राएलीहरू संख्‍यामा हामीभन्‍दा अति धेरै र अति शक्तिशाली भएका छन्‌। अब हामीले तिनीहरूसित बुद्धिले काम लिनुपर्छ, नत्रता तिनीहरू संख्‍यामा अझ बढ्‌दैजानेछन्, र यदि युद्ध भयो भने हाम्रा शत्रुहरूसँग मिलेर हाम्रै विरुद्धमा लड़ाइँ गर्नेछन्‌ र देश छाड़ेर जानेछन्‌।” यसैकारण उनीहरूले तिनीहरूलाई कठोर काम लगाएर सताउनलाई तिनीहरूमाथि नाइकेहरू खटाए, र तिनीहरूले फारोको निम्‍ति पिताम र रामसेस भन्‍ने भण्‍डारका सहरहरू बनाए। तर जति-जति उनीहरूले तिनीहरूलाई सताए उति-उति तिनीहरूको संख्‍या बढ्‌न लाग्‍यो, र तिनीहरू झन्‌-झन्‌ फैलिँदैगए। यसैले इस्राएली जातिसँग उनीहरू डराउन लागे। यसकारण मिश्रीहरूले इस्राएली जातिलाई निर्दयपूर्वक काममा लगाए, अनि मसला र इँटको र खेतका सबै किसिमका कठोर काम गर्न लगाएर तिनीहरूको जीवनै तीतो बनाइदिए।

शेयर गर्नुहोस्
प्रस्‍थान 1 पढ्नुहोस्

प्रस्‍थान 1:1-14 पवित्र बाइबल (NERV)

याकूबले आफ्ना छोराहरूसित मिश्रदेशतिर यात्रा गरे अनि तिनका प्रत्येक छोराहरूका आफ्नो-आफ्नो परिवार थिए। इस्राएलका छोराहरू यिनीहरू नै हुन्: रूबेन, शिमोन, लेवी, यहूदा, इस्साकार, जबूलून, बिन्यामीन, दान, नप्ताली, गाद र आशेर। याकूबका आफ्नै परिवारका जम्मा सन्तानहरू सत्तरी जना थिए। यूसुफ याकूबका बाह्रजना छोराहरू मध्ये एकजना थिए (तर तिनी पहिलेदेखि नै मिश्रमा थिए।) यूसुफ, उनका दाज्यू-भाइहरू अनि त्यस पुस्ताका सबै मानिसहरूको मृत्यु भयो। तर इस्राएलका मानिसहरूका धेरै बाल-बच्चाहरू थिए अनि तिनीहरूका सन्तान बढि नै रहे। इस्राएलका मानिसहरू शक्तिशाली भए र इस्राएलीहरूले नै मिश्र देश भरियो। तब नयाँ राजाले मिश्रदेशमा शासन गर्न थाले। त्यो राजाले यूसुफलाई चिन्दैन थिए। त्यो राजाले आफ्ना मानिसहरूलाई भने, “इस्राएलका मानिसहरूलाई हेर, तिनीहरू विशाल संख्यामा छन् र हामीभन्दा बलिया पनि छन्। यी इस्राएलीहरूको संख्या वृद्धिमा अंकुशे लगाउन हामीले केही योजनाहरू बनाउनु पर्छ। यदि हामीसित कसैले लडाइँ गरे यी इस्राएलीहरू शत्रु पक्षपट्टि लाग्न सक्छन्। अनि तिनीहरूले हामीलाई जितेर हामीबाट उम्कन सक्छन्।” मिश्रीहरूले इस्राएलीहरूको जीवन कष्टपूर्ण पार्ने निर्णय गरे। यसर्थ मिश्रीहरूले इस्राएलीहरूमाथि कमारा-स्वामीहरू नियुक्त गरे। ती स्वामीहरूले फिरऊनको निम्ति पिताम र रामसेस शहरहरू बनाउन ती इस्राएलीहरूलाई जोर लगाए। राजाले यी शहरहरू अन्न र अरू चीजहरू राख्न प्रयोग गरे। मिश्रीहरूले इस्राएलीहरूलाई कठिन-कठिन कामहरू गर्न लगाउन थाले, तर जति तिनीहरूलाई काममा लगाइन्थ्यो त्यति नै तिनीहरूको संख्या बढथ्यो अनि फैलिन्थे। अनि मिश्रीहरू इस्राएलीहरूसँग अझै डराउन थाले। यसर्थ तिनीहरूलाई मिश्रीहरूले अझ कठिन कामहरू गर्न लगाए। मिश्रीहरूले इस्राएलीहरूको जीवन कठिन बनाइ दिए। मिश्रीहरूले इस्राएलीहरूलाई ईंटा र त्यसको मसला बनाउँने जस्ता कठिन काम गर्न वाध्य गराए। तिनीहरूलाई खेतमा पनि कठिन काम गर्न वाध्य गराए। तिनीहरूलाई खेतमा पनि कठिन कामहरू गर्न जोर दिए। तिनीहरूले गर्ने प्रत्येक काममा नै इस्राएलीहरूलाई सह्रै अप्ठयारोमा पारे।

शेयर गर्नुहोस्
प्रस्‍थान 1 पढ्नुहोस्

प्रस्‍थान 1:1-14 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

आ-आफ्‍ना परिवार लिएर मिश्रमा इस्राएलसित जाने उनका छोराहरू रूबेन, शिमियोन, लेवी, यहूदा, इस्‍साखार, जबूलून, बेन्‍यामीन, दान, नप्‍ताली, गाद र आशेर थिए। याकूबका यी सन्‍तानको कुल सङ्‍ख्‍या सत्तरी थियो। उनको छोरा योसेफ अघिबाटै मिश्रमा थिए। रहँदा-बस्‍दा योसेफ तिनका दाजुभाइहरू र त्‍यस पिँढीका सबै मरे। तर तिनका इस्राएली सन्‍तानहरूका धेरै बालबच्‍चाहरू भए। तिनीहरू असङ्‍ख्य अनि अति शक्तिशाली भए। सारा मिश्र इस्राएलीहरूले भरियो। तब मिश्रमा योसेफको बारेमा केही नजान्‍ने एउटा नयाँ राजाले राज्‍य गर्न थाले। तिनले आफ्‍नो प्रजालाई भने, “यी इस्राएलीहरू यति धेरै शक्तिशाली भएका छन् कि अब हामीलाई डर भयो। कतै लडाइँ भइगयो भने तिनीहरू हाम्रा शत्रुहरूपट्टि लागेर हाम्रा विरुद्धमा लड्लान् र यो देशबाट भागेर जालान्। केही उपाय गरेर हामीले तिनीहरूको सङ्‍ख्‍या अझ बढ्‍नबाट रोक्‍नुपर्छ।” यसैकारण मिश्रीहरूले तिनीहरूमाथि निष्‍ठुरी मानिसहरू खटाए, जसले तिनीहरूलाई कठोर र गाह्रो काम लगाएर तिनीहरूको मनलाई मार्ने काम गर्थे। राजकीय सर-सामान भण्‍डारको लागि इस्राएलीहरूले पिताम र रामसेस सहरहरू बनाए। तर मिश्रीहरूले जति-जति इस्राएलीहरूलाई थिचोमिचो गरे, उति-उति तिनीहरूको सङ्‍ख्‍या बढ्यो र तिनीहरू देशमा झन्-झन् फैलँदै गए। मिश्रीहरू तिनीहरूसित डराउन थाले, निष्‍ठुरतासँग कमाराको काममा पेलेर इस्राएलीहरूको जीवन कष्‍टमय पारिदिए। घर निर्माण गर्ने काम र इँटाको काम अनि खेतको काममा तिनीहरूलाई मिश्रीहरूले जोत्‍दथे र केही दया गर्दैनथे।

शेयर गर्नुहोस्
प्रस्‍थान 1 पढ्नुहोस्