एस्तर 9:20-32
एस्तर 9:20-32 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
मोर्दकैले यी कुरा लिखित रूपमा प्रतिवेदन गरे, र राजा अहासूरसका समस्त प्रान्तहरूका टाढ़ा र नजिकका सबै यहूदीहरूलाई उनले यस्तो लेखेर पत्रहरू पठाए, कि वर्षेनी अदार महिनामा चौधौँ र पन्ध्रौँ दिन आफ्ना शत्रुहरूदेखि विश्राम पाएका समयझैँ र तिनीहरूका निम्ति शोकबाट हर्ष र विलापबाट उत्सवमा परिवर्तन भएको महिनाझैँ मनाउनलाई स्थापित गरे। तिनीहरूले ती दिन चाड़ र हर्ष, एक-अर्कालाई खानेकुराको सौगात पठाउने र गरीबहरूलाई उपहार दिने दिनझैँ मनाउनुपर्छ भनी उनले लेखे। यसैकारण मोर्दकैको पत्रअनुसार सुरु गरेको रीति कायम राख्नलाई यहूदीहरू सहमत भए। यो तिनीहरूले यसकारण गरे, किनभने सबै यहूदीहरूको शत्रु अगागी हम्मदाताको छोरा हामानले यहूदीहरूलाई नष्ट पार्ने हेतुले षड्यन्त्र रचेर कुनै एउटा दिनको लागि चिट्ठा हालेको थियो। त्यसलाई “पूर” (अर्थात् चिट्ठा) भनिन्थ्यो। तर जब यो षड्यन्त्र राजाकहाँ जाहेर भयो तब यहूदीहरूका विरुद्धमा हामानले रचेको त्यो खराब योजनालाई त्यसकै शिरमा राख्न र त्यो र त्यसका छोराहरूलाई फाँसीको काठमा झुण्ड्याउन राजाले लिखित हुकुम निकाले। (त्यसैकारण यी दिनहरूलाई “पूर” शब्दअनुसार “पूरीम” भनिन्थ्यो।) त्यस पत्रमा लेखेअनुसार र त्यस विषयमा तिनीहरूले देखेका र अनुभव गरेका कुराले गर्दा, यहूदीहरूले आफ्नै, आफ्ना सन्तानहरूका र तिनीहरूसँग मिल्नेहरू सबैका पक्षमा यी दुई दिनलाई वर्षेनी निर्दिष्ट रीतिबमोजिम र ठहराएको समयमा मनाउनुपर्छ, र पुस्तौँसम्म हरेक घरानाले हरेक प्रान्त र सहरमा यहूदीहरूका बीचमा पूरीमका दिनहरू मान्नैपर्छ र तिनको सम्झना तिनीहरूका सन्तान-दरसन्तानहरूमा कहिल्यै नरोकिओस् भनी तिनीहरूले ठहराए। तब अबीहेलकी छोरी रानी एस्तर र यहूदी मोर्दकैले पूरीम विषयमा दोस्रो पत्र पूर्ण अधिकारसहित लेखे। यहूदी मोर्दकै र रानी एस्तरले यहूदीहरूका निम्ति उर्दी दिएझैँ पूरीमका यी दिन तिनका ठहराएको समयमा मान्न बाध्य तुल्याउँदै राजा अहासूरसका एक सय सत्ताईस प्रान्तहरूमा शान्ति र सुरक्षाको शुभकामना प्रकट गर्दै सबै यहूदीहरूलाई पत्रहरू पठाए। त्यसै गरी यहूदीहरूले आफ्नै निम्ति र आफ्ना सन्तानहरूका निम्ति उपवास र विलापका नियमहरू तोकिदिए। पूरीमको निम्ति यी नियमहरू एस्तरको उर्दीले पक्का गराइए, र ती विवरण लिखित रूपमा पुस्तकमा लेखेर राखिए।
एस्तर 9:20-32 पवित्र बाइबल (NERV)
अनि मोर्दकैले यी घटनाहरूको विषयमा लेखे अनि तिनले राजा अहासूरसका सबै प्रदेशहरू नजिक वा टाढा बस्ने सबै यहूदीहरूलाई पत्र पठाए। तिनले तिनीहरूका निम्ति अदार महिनाको चौधौं अनि पन्ध्रौं दिनलाई बर्षै पिच्छे विदाको रूपमा पालन गर्ने प्रदर्श-रेखा स्थायी गर्नु भनी पत्रमा लेखे। यी विदाहरूलाई त्यो दिन विदाको रूपमा अलग गरियो जब यहूदीहरूले आफ्ना शत्रुहरूबाट विश्रामपाए, त्यो महीना तिनीहरूको शोकबाट खुशीको समारोहमा परिवर्त्तन भयो अनि त्यो दिन तिनीहरूको रूवाई खुशीयालीको दिनमा परिर्वतनभयो। यी दिनहरूलाई भोज अनि समारोहको दिन, उपहार आदन-प्रदान गर्ने दिन, अनि गरीबहरूलाई दान गर्ने दिन तुल्यउन अलग गरियो। यसर्थ तिनीहरूले भर्खरै शुरू गरेको विदाको दिनलाई मोर्दकैले जे गर्नु भनि तिनीहरूलाई लेखेर दिएका थिए, त्यही रूपले मनाउन यहूदीहरू सहमत भए। अगामी हम्मादाताका छोरा, समस्त यहूदीहरूका शत्रु हामानले यहूदीहरूको अस्तित्व मेटाउने षड्यन्त्र गरेका थिए। अनि तिनले “पुरीम” अर्थात चिट्ठा पनि गरेका थिए, तिनीहरूलाई धम्किदिन र तिनीहरू को अस्तित्व मेट्टाऊन। तर जब एस्तर राजाको समक्ष गइन्। तिनले भने, “त्यो लेखिए को जस्तै तिनले यहूदीहरू प्रति योजना गरेका नराम्रो काम तिनी प्रतिनै गरियोस् अनि तिनीहरूले तिनका छोराहरूलाई फाँसीमा झुण्डयाओस्।” त्यसर्थ मानिसहरूले ती दिनहरूलाई “पूरीम” भने “पूरीम” नाउँको कारण किनभने मोर्दकैले पठाएको पत्रहरूमा भएका प्रदर्श-रेखा, यस घटनासँग सम्बन्धि थिए। तिनीले देखे र तिनीहरूमाथि प्रायके घटयो त्यस कारण यहूदीहरूले आफू स्वंयमका निम्ति अनि आफ्ना कुलहरूका निम्ति र तिनीहरूका समस्त सन्तानहरूका निम्ति अनि जो जति व्यक्ति तिनीहरूसित मिल्छन् विदाको प्रदर्श-रेखालाई अभि पुष्टिगरे र स्वीकार गरे। प्रत्येक बर्ष निर्धारित समयमा व्यवस्थाद्वारा तोकिएका यी दुइ दिन विदा मनाउन कोही पनि चुक्नु पाउने छैनन्। यो दिन प्रत्येक प्रान्त, प्रत्येक शहरभरि प्रत्येक वंश तथा पुस्ताले सम्झना गर्छन अनि मनाउँछन्। यी दुइ दिन मनाउनु कहिल्यै पनि रोकिनु हुँदैन। यी दुइ विशेष दिनको महत्व यहूदीहरूले आफ्ना सन्तानहरूलाई भन्न बिराउनु हुँदैन्। तब अबीहेलकी अनि यहूदी मोर्दकैकी छोरी रानी एस्तरले पूरीमको विषयमा पूर्ण अधिकार सहित देस्रो पत्र लेखिन्। अब मोर्दकैले सबै यहूदीहरूलाई जो राजा अहासूरसका 127 प्रान्तहरूमा बस्थे शान्ति र सुरक्षाको बधाई पत्रहरू पठाए। मोर्दकैले ती विदाको निम्ति उचित समय तय गर्नका निम्ति पत्रहरू पठाएका थिए। जसरी यहूदी मोर्दकै अनि एस्तरले तिनीहरूमाथि गुण लगाएका थिए। जसरी तिनीहरूले तिनीहरू स्वयंमाथि र तिनीहरूका सन्तानहरू माथि उपवास बस्ने अनि खुबै विलाप गर्ने निर्देशन दिएका थिए। अनि एस्तरको वचनले पूरीमा उत्सवको प्रदर्श-रेखा निर्धारित गर्यो अनि ती पुस्तकमा लेखिए।
एस्तर 9:20-32 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
मोर्दकैले यी सबै घटनाहरूबारे लेख्न लाए र टाढा र नजिकका सबै यहूदीहरूलाई चिठी पठाए। सारा फारस-साम्राज्यमा उनले अदार महिनाको चौधौँ र पन्ध्रौँ दिन हरेक वर्ष उत्सव मनाउन लेखिपठाए। ती दिनमा यहूदीहरूले आफ्ना शत्रुहरू नाश पारेका थिए, यही महिनालाई तिनीहरूले एउटा शोक र निराशाको समयबाट हर्ष र आनन्दित समयमा परिवर्तन गरेका थिए। ती दिन तिमीहरूले भोज खानू, उत्सव मनाउनू र गरीबहरूलाई आपसमा पनि खानेकुराका उपहार बाँड्नू भनी लेखिएको थियो। यहूदीहरूले मोर्दकैका आदेश पालन गरे र यो चाड वर्षेनी मनाउने एउटा प्रथा भयो। अगागका वंशका हम्मदाताको छोरो यहूदीहरूका शत्रु हामानले यहूदीहरूलाई नाश गर्ने दिन छुट्ट्याउनलाई चिट्ठा हालेका थिए (जसलाई ‘पूरीम’ भनिएको थियो)। उनले यहूदीहरूको नाउँ-निशाना मेट्ने उपाय गरेका थिए। तर रानी एस्तर राजाकहाँ गइन् र राजाले लिखित आज्ञा पठाए। जसको फलस्वरूप, हामान आफूले यहूदीहरूको निम्ति बुनेका जालमा आफैं पर्यो, फाँसीमा हामान र उनका छोराहरू झुन्ड्याइए। त्यसैकारण ती उत्सवको दिनलाई ‘पूरीम’ (चिट्ठा) भनिन्छ। मोर्दकैको चिठी र आफूमाथि परिआएका कुराहरूको कारणले यहूदीहरूले आफू र आफ्ना सन्तान अनि यहूदी हुनेहरू सबैका निम्ति हरेक वर्ष ठीक समयमा ती दुई दिन ठीक प्रकारले मोर्दकैको आदेशअनुसार चाडको रूपमा मनाउने नियम बनाए। भविष्यमा सदैव यहूदी पुस्ताहरूका हरेक परिवारले हरेक प्रान्त र सहरमा पूरीमको दिनलाई याद गरी चाड मनाउने निर्णय भयो। त्यसपछि अबीहेलकी छोरी रानी एस्तरले मोर्दकैसित मिलेर अर्को एउटा चिठी लेखिन्। त्यसमा तिनले अघि मोर्दकैले पूरीमबारे लेखेको चिठीलाई आफ्नो पूरा अधिकारले समर्थन गरिन्। त्यो चिठी सबै यहूदीहरूलाई पठाइयो र त्यसका प्रतिलिपिहरू फारस-साम्राज्यका १२७ वटा प्रान्तमा पठाइए। त्यसमा यहूदीहरूप्रति शान्ति र सुरक्षाका शुभकामना थिए। साथै त्यसमा यहूदीहरूलाई जसरी तिनीहरूले उपवास र विलापका नियमहरू पालन गर्दैआएका थिए, त्यसरी नै तिनीहरू र तिनीहरूका सन्तानहरूले पूरीमका दिनहरू पनि मनाउनू भन्ने आदेश दिइएको थियो। मोर्दकै र एस्तर रानी दुवैले त्यस्तो आज्ञा गरेका थिए। पूरीमका नियमहरू पक्का गर्दै एस्तर रानीले आफ्नो आज्ञा पुस्तकमा लेखेकी थिइन्।