YouVersion लोगो
खोज आइकन

एस्‍तर 8:1-7

एस्‍तर 8:1-7 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

त्‍यसै दिन राजा अहासूरसले यहूदीहरूको शत्रु हामानका घर र जग्‍गाजमिन एस्‍तरलाई दिए। अनि एस्‍तरले मोर्दकै तिनको आफ्‍नै पर्छ भनेकी हुनाले मोर्दकै राजाको उपस्‍थितिमा हाजिर भए। तब राजाले हामानबाट लिएको छापऔँठी फुकालेर मोर्दकैलाई उपहारस्‍वरूप दिए। एस्‍तरले मोर्दकैलाई हामानको घर र जग्‍गा जमिनको जिम्‍मा दिइन्‌। फेरि एस्‍तरले रुँदै राजाको पाउमा परेर अगागी हामानले यहूदीहरूका विरुद्धमा गरेको दुष्‍ट योजना टारिदिन भनी बिन्‍ती चढ़ाइन्‌। राजाले एस्‍तरतिर सुनको राजदण्‍ड पसारे। तिनी उठिन्‌ र राजाको सामु खड़ा भएर उभिन्‌। एस्‍तरले भनिन्, “महाराजाको इच्‍छा भए, र यदि मैले हजूरको निगाह पाएकी छु भने, मैले दिन लागेको प्रस्‍ताव महाराजाले उचित सम्‍झिबक्‍सिए र मैले हजूरको स्‍वीकृति पाउन सके अगागी हम्‍मदाताको छोरा हामानले राजाका सबै प्रान्‍तहरूका यहूदीहरूलाई नाश गर्न योजना बनाएर लेखेका पत्रहरूलाई रद्द गर्न एउटा लिखित राजाज्ञा पठाइबक्‍सिओस्‌। किनभने मेरा जात-भाइहरूमाथि परेको विपत्ति म कसरी सहन सकुँला? अथवा मेरो परिवारको विनाश म कसरी सहन सकुँला?” राजा अहासूरसले रानी एस्‍तर र यहूदी मोर्दकैलाई भने, “त्‍यसले यहूदीहरूलाई नाश गर्ने प्रयत्‍न गरेको हुनाले मैले हामानको सम्‍पत्ति एस्‍तरलाई दिएको छु, र त्‍योचाहिँ फाँसीको काठमा झुण्‍ड्याइयो।

शेयर गर्नुहोस्
एस्‍तर 8 पढ्नुहोस्

एस्‍तर 8:1-7 पवित्र बाइबल (NERV)

त्यस समयमा राजा अहासूरसले रानी एस्तरलाई यहूदीहरूको शत्रु हामानको घर प्रदान गरे। अनि मोर्दकै राजाको समक्ष गए किनभने एस्तरले राजालाई मोर्दकैसित उसको के सम्बन्ध थियो बताएकी थिई। (सम्बन्धको अर्थ मोर्दकैले एस्तरलाई धर्म पुत्री रूपमा स्वीकार गरेको थियो।) तब राजाले औंठी फुकालेर जो तिनले हामानकोबाट फिर्ता लिएका थिए। अनि तिनले त्यो मोर्दकैलाई दिए। तब एस्तरले मोर्दकैलाई हामानको घरको जिम्मा दिइन्। अनि एस्तरले राजाको पाउमा झुकेर रूँदै भनिन् अगागी हामानको कुआदेश हटाइदिन राजासँग अनुरोध गरिन् हामानले जो षड्‌यन्त्र यहूदीहरूको विरूद्ध रचेका थिए। अनि राजाले आफ्नो राजदण्ड एस्तर तर्फ फैलाए यसर्थ एस्तर राजाको समक्ष उभिइन्। र तिनले भनिन्, “यदि राजालाई असल लाग्छ र मलाई मन पराउनु हुन्छ भने मेरो विन्तीलाई स्वीकार गरिदिनु हुन्छ अगागी हम्मादाताको छोरा हामानद्वारा लेखिएका ती षड्‌यन्त्रका पत्रहरू पल्टाउनका निम्ति एक आदेश लेखियोस् ती पत्रहरू जो हामानले राजाका समस्त प्रदेशहरूमा भएका यहूदीहरूको अस्तित्व मेटाउनको निम्ति लेखेका थिए। किनभने यदि मैले मेरा मानिसहरूले भोग्नु पर्ने त्यो यातना देख्नु पर्यो भने म कसरी सहन सक्छु! अनि यदि मैले मेरा कुलको विनाश देख्नु पर्यो भने कसरी सहनु?” अनि राजा अहासूरसले रानी एस्तर र यहूदी मोर्दकैलाई भने, “मैले हामानको घर एस्तरलाई दिएको छु। अनि तिनीहरूले हामानलाई फाँसीमा झुण्डयाएकाछन्। हामानले यहूदीहरूलाई मार्ने प्रयास गरेका थिए।

शेयर गर्नुहोस्
एस्‍तर 8 पढ्नुहोस्

एस्‍तर 8:1-7 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

त्‍यही दिन अहासूरस राजाले यहूदीहरूको शत्रु हामानका सारा धन-सम्‍पत्ति एस्‍तर रानीलाई दिए। मोर्दकै मेरा नातेदार हुन् भनी एस्‍तरले राजालाई भनिन् र त्‍यस दिनदेखि राजाको अघि हाजिर हुने अनुमति मोर्दकैले पाए। राजाले आफ्‍नो छाप भएको औँठी खोले (जो उनले हामानबाट फिर्ता लिएका थिए) र मोर्दकैलाई दिए। एस्‍तरले हामानको धन-सम्‍पत्ति मोर्दकैको जिम्‍मामा दिइन्। त्‍यसपछि एस्‍तर राजाका पाउमा परी रुँदै फेरि उनीसित बिन्‍ती गर्न थालिन्। अगागको सन्‍तान हामानले यहूदीहरूका विरुद्धमा गरेका दुष्‍ट षड्‌यन्त्र रोक्‍नलाई केही गरिदिनुहोस् भनी तिनले राजालाई बिन्‍ती गरिन्। राजाले तिनीतर्फ आफ्‍नो सुनको राजदण्‍ड पसारे र तिनी उभिइन् र भनिन्, “राजन्, हजुरको अनुमति भए अनि ममाथि निगाह हुन्‍छ र यो कुरा हजुरलाई उचित लाग्‍छ भने हामानले दिएको आज्ञापालन नगरियोस् भनी एउटा नयाँ उर्दी निकालियोस्। अगागको सन्‍तान हम्‍मदाताको छोरोले राज्‍यमा भएका सबै यहूदीहरूलाई मार्नू भनी दिएको आज्ञा रद्द गरी अर्को घोषणा-पत्र लेखियोस्। त्‍यो आपत-विपत मेरा जातिमा आइपर्‍यो र मेरा कुटुम्‍बहरू मारिए भने म कसरी सहन सकूँला र?” राजा अहासूरसले रानी एस्‍तर र यहूदी मोर्दकैलाई भने, “हेर, यहूदीहरूका विरुद्धमा रचेका जालको निम्‍ति मैले हामानलाई झुन्‍ड्याएँ। त्‍यसका धन-सम्‍पत्ति मैले एस्‍तरलाई दिएँ।

शेयर गर्नुहोस्
एस्‍तर 8 पढ्नुहोस्