एस्तर 6:10-13
एस्तर 6:10-13 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब राजाले हामानलाई भने, “झट्टै गएर तिमीले भनेझैँ पोशाक र घोड़ा ल्याऊ, र यहूदी मोर्दकैको निम्ति त्यसै गर। उनी दरबारको मूल ढोकामा रहन्छन्। तिमीले भनेबमोजिम सबै कुरामध्ये केही नछुटोस्।” यसकारण हामानले त्यो पोशाक मोर्दकैलाई पहिराइदिए, र घोड़ा लिएर उनलाई चढ़ाई सहरका सड़कहरूमा यसो भन्दै तिनी कराए, “राजाले सम्मान गर्न खुशी हुनुभएका मानिसलाई के गरिन्छ, हेर।” त्यसपछि मोर्दकै राजदरबारको मूल ढोकामा फर्किआए। हामानचाहिँ मुख छोपेर अफसोस गर्दै हतार-हतार आफ्नो घर गए। तिनले आफ्नी पत्नी जेरेश र आफ्ना सबै मित्रहरूलाई तिनीमाथि भएका सबै कुरा बताए। तिनका सल्लाहकारहरू र तिनकी पत्नीले यो भने, “यदि मोर्दकै, जसको सामुन्ने तपाईंको पतन सुरु भएको छ, ती यहूदी जातिका हुन् भने तपाईं उनको विरुद्धमा केही पनि गर्न सक्नुहुन्न। तपाईंको निश्चय नै पतन हुनेछ।”
एस्तर 6:10-13 पवित्र बाइबल (NERV)
तब राजाले हामानलाई भने, “चाँडो, तिमीले अहिले भने झै वस्त्र अनि घोडा लेऊ राजाको द्वारमा बस्ने यहूदी मोर्दकैको निम्ति ती कुराहरू गरिदेऊ। तिमीले भनेका कुनै पनि कुरा गर्न नचुक।” यसर्थ हामानले वस्त्र अनि घोडा तयार पारे तिनले मोर्दकैलाई वस्त्र पहिराई दिए र तिनलाई शहरका चोक अनि सडकमा परीक्रमा गराए मोर्दकैको अघि-अघि कराए, “त्यस मानिसलाई यसै गरिनेछ जसलाई राजाले सम्मान गर्न चाहनु हुन्छ।” त्यस पछि मोर्दकै राजाको द्वारमा फर्किए तर हामान आफ्नो घर तर्फ कुदे अनि लाजले आफ्नो शिर लुकाए। तब हामानले आफ्नी पत्नी जेरेशलाई अनि आफ्ना साथीहरूलाई त्यहाँ भएको हरेक कुराको विवरण सुनाए। अनि उसका ज्ञानी साथीहरू र उसकी पत्नी जेरेशले उसलाई भने, “तिम्रो पतन जन्म-जात यहूदी मोर्देकै समक्ष शुरू भयो त्यसकारण तिमी उसको विरूद्ध खडा हुन सक्दैनौ साँचैनै तिमी उसको अघि पतन हुनेछौ अनि नष्ट हुनेछौ।”
एस्तर 6:10-13 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तब राजाले हामानलाई भने, “चाँडो गर। घोडा र पोशाकहरू ल्याऊ। यहूदी मोर्दकैलाई त्यसरी नै सम्मान गर। तिमीले अहिले भनेअनुसार सबै कुरा उनको निम्ति गर। तिमीले उनलाई महलको ढोकामा बसिरहेका भेट्टाउनेछौ।” यसकारण हामानले घोडा र पोशाकहरू ल्याएर मोर्दकैलाई पहिराइदिए। मोर्दकै घोडामा चढे र उनलाई हामानले सहरका चोकबाट लगे। हामान अघि-अघि यसो भन्दै हिँडे, “राजाले सम्मान गर्न इच्छा गरेका मानिसलाई उहाँले कस्तो इनाम दिनुहुन्छ, त्यो हेर!” त्यसपछि मोर्दकै महलको ढोकामा फर्किगए। हामान भुतुक्क भएर हातले मुख छोप्दै हतार-हतार घरतिर गए। भए जति सबै कुरा उनले आफ्ना साथीहरू र स्वास्नीलाई बताए। उनकी स्वास्नी र ती ज्ञानी साथीहरूले उनलाई भने, “मोर्दकैको अघि तपाईंको शक्ति घट्न थालेको छ। त्यो यहूदी हो र त्यसलाई तपाईंले जित्न सक्नुहुन्न। त्यसले निश्चय तपाईंको हार गराउनेछ।”