एफिसी 2:18-22
एफिसी 2:18-22 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
किनकि उहाँद्वारा नै हामी दुवैले एउटै पवित्र आत्मामा पिताकहाँ प्रवेश पाएका छौं। यसरी अब तिमीहरू विदेशी र प्रवासी होइनौ, तर सन्तहरूसँग तिमीहरू सङ्गी-नागरिक र परमेश्वरको परिवारका सदस्यहरू भएका छौ। त्यो घराना प्रेरितहरू र अगमवक्ताहरूको जगमाथि बसालेर निर्माण भएको छ, र ख्रीष्ट येशू आफैचाहिँ मुख्य कुने-ढुङ्गो हुनुहुन्छ। उहाँमा पूरै घर ठीकसँग एकैसाथ जोडिएर प्रभुमा एउटै पवित्र मन्दिर हुनलाई बढ्दैजान्छ। अनि पवित्र आत्मामा परमेश्वरको वासस्थान हुनलाई तिमीहरू पनि उहाँमा एकसाथ निर्माण हुँदैजान्छौ।
एफिसी 2:18-22 नेपाली समकालीन संस्करण (NCV)
किनकि ख्रीष्टद्वारा हामी दुवैले एउटै आत्मामा पिताकहाँ पुग्न पाएका छौं। फलस्वरूप तिमीहरू अब विदेशी र अपरिचित होइनौ, तर परमेश्वरका जनहरूसँग सङ्गी नागरिक र उहाँको घरानाका सदस्यहरू भएका छौ; जुन घराना प्रेरितहरू र अगमवक्ताहरूका जगमाथि बसालिएको छ, र जसको मुख्य ढुङ्गो ख्रीष्ट येशू आफै हुनुहुन्छ। उहाँमा नै पूरै भवन एकसाथ जोडिएको हुन्छ र प्रभुमा एक पवित्र मन्दिर हुनालाई बढ्दै जान्छ। अनि उहाँमा तिमीहरू पनि वासस्थान हुनालाई एकसाथ निर्माण भइरहेका छौ, जसमा परमेश्वर आफ्नो आत्माद्वारा वास गर्नुहुन्छ।
एफिसी 2:18-22 पवित्र बाइबल (NERV)
हो, ख्रीष्ट मार्फत हामी सबैलाई एक आत्माद्वारा पिताकहाँ आउने अधिकार दिइयो। यसकारण अब तिमीहरू पाहुना र परदेशी होइनौ। तिमीहरू पनि परमेश्वरका परिवारका सदस्यहरूसित पनि मिलेकाछौ। तिमी विश्वासीहरू परमेश्वरका भवन हौ जुन प्रेरितहरू र अगमवक्ताहरूद्वारा जग बसाइएको घडेरीमा बनाइएको छ। ख्रीष्ट स्वयं भवनका जग-ढुङ्गा हुनुहुन्छ। त्यो सम्पूर्ण भवन ख्रीष्टमा गाँसिएको छ। यो प्रभुमा पवित्र मन्दिर बनेर बढ़दछ। अनि ख्रीष्टमा तिमीहरू पनि अरूहरूसितै निर्मित छौ। आत्माद्वारा तिमीहरू पनि यस्तो एउटा स्थान बनिदैछौ जहाँ परमेश्वर बस्नु हुन्छ।
एफिसी 2:18-22 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
उहाँले गर्दा नै हामी दुवै थरी अर्थात् यहूदी र अन्यजाति एउटै पवित्र आत्मा पाएर परमेश्वर पिताको सामु जान सक्ने भएका छौं। यसकारण तिमीहरू अब विदेशी र बिराना होइनौ, तिमीहरू अब परमेश्वरको जातिसँग सह-नागरिक बनेका छौ र परमेश्वरका परिवारका सदस्यहरू बनेका छौ। प्रेरित र अगमवक्ताहरूले हालेका जगमा बनिएका घर तिमीहरू पनि हौ। जगको मूल ढुङ्गाचाहिँ येशू ख्रीष्ट आफै हुनुहुन्छ। उहाँले नै सिङ्गै घरलाई पक्रेर राख्नुभएको छ र उहाँले यस घरलाई प्रभुप्रति समर्पण गरिएको एक पवित्र मन्दिर बनाउनुहुनेछ। तिमीहरू पनि उहाँमा अरू सबैसँगै त्यो घर बन्दै छौ, जहाँ परमेश्वर आत्मामा बास गर्नुहुनेछ।