एफिसी 2:1-6
एफिसी 2:1-6 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिमीहरू आफ्ना अपराध र पापहरूद्वारा मरेको बेलामा उहाँले तिमीहरूलाई जीवित पार्नुभयो। यिनैमा यस संसारको रीतिअनुसार र आकाशको शक्तिको मालिकअनुसार, अनाज्ञाकारिताका सन्तानमा अहिले काम गर्ने आत्माअनुसार तिमीहरू अघि एक पल्ट चल्दैथियौ। तिनीमध्ये हामी सबै पनि शरीर र मनका इच्छा पूरा गरेर आफ्नो पापमय स्वभावका लालसामा अघि जिउँथ्यौं, र बाँकी मानिसजस्तै हामी स्वभावैले क्रोधका सन्तान थियौं। तर परमेश्वर, जो कृपामा धनी हुनुहुन्छ, उहाँले आफ्नो महान् प्रेमद्वारा हामीलाई प्रेम गर्नुभयो, यसकारण पापमा हामी मरेका भए तापनि उहाँले हामीलाई ख्रीष्टसँगै जीवित पार्नुभयो— अनुग्रहबाट नै तिमीहरूले उद्धार पाएका छौ। र उहाँसँग हामीलाई उठाउनुभयो, अनि स्वर्गीय स्थानहरूमा ख्रीष्ट येशूसँग बसाल्नुभयो।
एफिसी 2:1-6 नेपाली समकालीन संस्करण (NCV)
तिमीहरू त आफ्ना अपराधहरू र पापहरूमा मरेका थियौ, जसमा तिमीहरू जिउने गर्दथ्यौ, जब तिमीहरू यस संसारको मार्गअनुसार र आकाशको राज्यको शासकअनुसार पछ्याउँथ्यौ, अहिले त्यो आत्माले अनाज्ञाकारीहरूका जीवनमा काम गरिरहेको छ। हामीहरू सबै पनि एक समयमा तिनीहरूजस्तै हाम्रा शारीरिक लालसाहरू पूरा गर्दै र यसका अभिलाषाहरू र विचारहरूलाई पछ्याउँदै तिनीहरूका बीचमा जिउने गर्दथ्यौं; र बाँकी मानिसहरूजस्तै हामीहरू पनि स्वभावैले क्रोधका सन्तान थियौं। तर कृपाका धनी परमेश्वरले उहाँको हामीप्रतिको महान् प्रेमका कारण हामीहरू अपराधमा मरेका अवस्थाबाट हामीहरूलाई ख्रीष्टसँग जीवित पार्नुभयो—परमेश्वरको अनुग्रहबाट नै तिमीहरूले मुक्ति पाएका छौ। अनि परमेश्वरले हामीलाई ख्रीष्टसँगै जीवित पार्नुभयो र ख्रीष्ट येशूसँगै स्वर्गीय स्थानहरूमा बसाल्नुभयो
एफिसी 2:1-6 पवित्र बाइबल (NERV)
बितेका दिनहरूमा आफ्ना पापहरू र परमेश्वर विरोधी कर्महरूले गर्दा तिमीहरूका आत्मिक जीवन मृत थियो। हो पनि, अघि तिमीहरू त्यस्तै पापहरूमा बसेका थियौ। तिमीहरू सांसारिक मानिसहरू झैं बाँचिरहेका थियौ। तिमीहरूले वायु मण्डलको दुष्ट शक्तिहरूको शासकलाई पछ्यायौ। अझै पनि परमेश्वरलाई नमान्नेहरूमा त्यही आत्माले काम गर्दैछ। गएका दिनहरूमा हामीहरू सबै पनि ती मानिसहरू जस्तै बाँचेका थियौं। हामी आफ्नो पापमय प्रकृतिलाई खुशी पार्ने कोशिशमा थियौं। हाम्रा प्रवृत्ति र मनले चाहे अनुसार नै हामी सब कुरो गर्थ्यौं। हामी दुष्ट मानिस थियौं। हामी जुन प्रकारले बसेका थियौं हाम्रो पापले गर्दा त हामीले परमेश्वरको क्रोध भोग्नै पर्ने थियो। हामी अरू जस्तै थियौ। तर परमेश्वको कृपा महान छ अनि परमेश्वरले हामीलाई अति नै माया गर्नुहुन्छ। हाम्रो पापहरूको कारणले हामी आत्मिक रूपले मृत थियौं। तर परमेश्वरले हामीलाई ख्रीष्टसित नयाँ जीवन दिनुभयो। हामीहरू परमेश्वरको अनुग्रहले नै बचाइएका छौं। अनि परमेश्वरले हामीलाई ख्रीष्टसितै उठाएर आफूसित स्वर्गीय ठाउँमा बसाउनु भयो। यसो हुनका कारण हामीहरू परमेश्वरको अनुग्रहले नै बचाइएका छौं। अनि परमेश्वरले हामीलाई ख्रीष्टसितै उठाएर आफूसित स्वर्गीय ठाउँमा बसाउनु भयो। यसो हुनका कारण हामी ख्रीष्ट येशूमा सम्मिलित भएकोले हो।
एफिसी 2:1-6 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
आफ्नो अट्टेरीपन र पापको कारणले तिमीहरू आत्मिक रूपमा मरेतुल्य थियौ। त्यस समय तिमीहरू संसारकै पापी चालमा चल्दथ्यौ। तिमीहरूले आकाशका शक्तिका मालिकलाई मान्दथ्यौ। त्यसले परमेश्वरलाई नमान्ने मानिसहरूलाई अहिले आफ्नो वशमा राखेको छ। हामी पनि एकपल्ट तिनीहरूजस्तै थियौं र आफ्नै शारीरिक स्वभावका इच्छामा लागेका थियौं र आफ्ना शारीरिक स्वभाव र मनले इच्छा गरेका कुरामा नै हिंड्दथ्यौं। हाम्रो आफ्नै स्वभावमा त अरूहरूजस्तै हामीले पनि परमेश्वरको रिसमा पर्नुपर्ने थियो। तर परमेश्वरले हामीलाई असाध्यै माया र ठूलो दया गर्नुभयो। हामीले अट्टेरी गरेर आत्मिक तवरले मरे तापनि उहाँले ख्रीष्टसँगै हामीलाई फेरि जिउँदो गराउनुभयो। तिमीहरू बचाइएको पनि परमेश्वरकै अनुग्रहले हो। हामी येशू ख्रीष्टमा भएकाले उहाँसँगै परमेश्वरले हामीलाई पनि जिउँदो गराउनुभयो र उहाँसँगै स्वर्गीय संसारमा राज्य गर्न दिनुभयो।