उपदेशक 7:1-14
उपदेशक 7:1-14 पवित्र बाइबल (NERV)
एउटा असल नाम हुनु सुगन्धित अत्तर भन्दा राम्रो हो। मृत्यु दिवस जन्म दिन भन्दा उत्तम हो। भोजको घरमा जानु भन्दा मलामी जानु असल हो। किनकि सबै एक दिन मर्नै पर्छ, अनि हरेक जीवित प्राणीले यो सम्झनु पर्छ। हाँसो भन्दा शोक र सुर्ता राम्रो हो, किनकि जब हाम्रो अनुहारमा विषाद छाउँछ तब हाम्रो हृदय कंन्चन बन्छ। ज्ञानीले सधैँ मृत्युबारे सोच्छ तर मूर्खले रमाइला दिनहरू सम्झन्छ। मूर्खबाट प्रशंसा पाउनु भन्दा, ज्ञानीबाट निन्दित हुनु धेरै राम्रो। मूर्खहरूको हाँसो त बेकार हुन्छ, काँढाको आगो बालेर भाँडा तताए जस्तो हो। काँढाको आगो छिट्टै बल्छ, तर भाँडा तात्दैन। घुसले ज्ञानी मानिस भ्रष्ट हुन्छ, अनि पैसाको उपहारले उसको हृदयलाई बिगारिदिन्छ। शुरू गरेको भन्दा अन्त गरेकै राम्रोहो। अहंकारी को अधीनमा बस्नुभन्दा नम्र र धीरज भएकै राम्रो। छिटै रीसाउने नगर, किनकि रीसाहा बन्नु मूर्खता हो। नभन, “बितेका दिनहरूमा के भयो। तब चीजहरू अझ राम्रा थिए।” यस्तो प्रश्न गर्नु ज्ञानको कुरो होइन। जसरी धनी हुनु राम्रो हो त्यसरी नै ज्ञान हुनु पनि राम्रो हो। विवेक ती जो कोही जीउनेहरूको निम्ति श्रेष्ठता हो। धनी हुनु भन्दा ज्ञानी हुनु राम्रो हो। जीउँदो मानिसको लागि ज्ञान लाभदायक हो। परमेश्वरद्वारा सृजित वस्तुहरू हेर। यदि परमेश्वरले केही कुरा बाङ्गो बनाउनु भएको छ भने तिमीले त्यसलाई सोझो बनाउन सक्ने छैनौ। जब जीवन उत्तम छ भने त्यसबाट आनन्द लेऊ। तर जीवन कठिन छ भने याद गर परमेश्वरले हामीलाई कठिन समय पनि दिन्छन् र असल समय पनि दिन्छन्। अनि भोलि के हुन्छ त्यो कसैले जान्दैन।
उपदेशक 7:1-14 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
असल नामचाहिँ बहुमूल्य अत्तरको सुगन्धभन्दा उत्तम हो। मृत्युको दिन जन्मेको दिनभन्दा उत्तम हो। भोजको घरमा जानुभन्दा शोक परेको घरमा जानु असल हो किनभने जिउँदा मानिसले हामी सबैलाई मृत्युले पर्खिराखेको छ भनी सधैँ याद गर्नुपर्छ। हाँस्नुभन्दा सुर्ताउनु उत्तम हो: त्यसले अनुहारमा उदासी ल्याउला तर समझ-शक्तिलाई तिखार्दछ। सधैँ रमाहटबारे सोच्ने मानिस मूर्ख हो। बुद्धिमान् मानिसले मृत्युबारे सोच्दछ। मूर्ख मानिसहरूले गाएको प्रशंसाभन्दा बुद्धिमान् मानिसले हकारेको सुन्नु उत्तम हो। मूर्खको हाँसो आगोमा काँढा पड्केजस्तै हो, त्यसको केही अर्थ हुँदैन। बुद्धिमान् मानिसले कसैसित छल गर्यो भने त्यसले मूर्ख काम गर्छ। घुस लिनेले आफ्नो चरित्र बिगार्दछ। कुनै कुराको सुरुभन्दा त्यसको अन्त उत्तम हो। अहङ्कारभन्दा धैर्य उत्तम हो। झट्टै रिस नदेखाऊ। रिस-इबी मूर्खहरूको साथी हो। “उहिलेका दिनहरू अहिलेका दिनहरूभन्दा किन असल थिए भनी नसोध।” त्यो त बुद्धिमानी प्रश्न होइन। जीवित रहने मानिस बुद्धिमान् हुनुपर्छ। बुद्धि पैतृक सम्पत्ति जत्तिकै असल हो। पैतृक सम्पत्तिले धनले जस्तै सुरक्षा दिन्छ, तर बुद्धिले तिम्रो जीवन जोगाउँछ। बुद्धिबाट पाइने लाभ यही हो। परमेश्वरको काममाथि विचार गर। उहाँले बाङ्गो बनाउनुभएको कुरा कसले सोझो पार्न सक्छ? आफ्ना सबै कुरा ठीक छन् भने खुसी होओ तर दु:ख-कष्ट आउँदा यो कुरा याद राख कि सुख र दु:ख दुवै परमेश्वरले नै पठाउनुहुन्छ। फेरि पछि के हुने हो, त्यो कसैले जान्दैन।
उपदेशक 7:1-14 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
असल नाउँ अति सुगन्धित अत्तरभन्दा अझ असल हो, र मृत्युको दिन जन्मको दिनभन्दा अझ उत्तम हो। भोजको घरमा जानुभन्दा शोकको घरमा जानु असल हो। जीवित मानिसले यो कुरा हृदयमा जानिराख्नुपर्छ कि मृत्यु सबै मानिसको अन्तिम दशा हो। हँस्सीभन्दा अफसोस अझ असल हो, किनकि शोकित अनुहार हृदयको लागि ठीक छ। बुद्धिमान्को मन शोकको घरमा हुन्छ, तर मूर्खहरूको मन चैनको घरमा हुन्छ। बुद्धिमान् मानिसको हप्काइलाई ध्यान दिनु मूर्खहरूको सङ्गीत सुन्नुभन्दा अझ असल हो। भाँड़ामुनि पड्कने काँढ़ाको आगोजस्तै मूर्खहरूको हाँसो हुन्छ। यो पनि व्यर्थै हो। करकापले बुद्धिमान् मानिसलाई पनि मूर्ख बनाउँछ, र घूसले हृदयलाई भ्रष्ट पार्छ। कुनै कामको सुरुभन्दा त्यसको अन्त अझ असल हुन्छ। धैर्य धारण गर्नु अहङ्कारी हुनुभन्दा असल हुन्छ। मनमा झट्टै नरिसाऊ, किनभने रीस त मूर्खहरूको काखैमा बसेको हुन्छ। “उहिलेका दिनहरू अहिलेका दिनहरूभन्दा किन उत्तम थिए,” भनी नभन, किनकि यस्तो प्रश्न सोध्नु बुद्धिको कुरो होइन। बुद्धि पैतृक-धनझैँ असल कुरो हो, र घामको उज्यालो देख्नेलाई यसले फाइदा गर्दछ। जसरी रुपियाँपैसा एउटा आश्रय हो, त्यसरी नै बुद्धि पनि एउटा आश्रय हो। तर बुद्धिको लाभ यही हो कि बुद्धिले बुद्धिमान् मानिसको प्राण जोगाइराख्छ। परमेश्वरले के गर्नुभएको छ, सो विचार गर। उहाँले बाङ्गो बनाउनुभएको कुरालाई कसले सोझो पार्न सक्छ र? समय राम्रो हुँदा खुशी होऊ, तर समय नराम्रो हुँदा विचार गर कि परमेश्वरले ती दुवै बनाउनुभएको हो। यसकारण मानिसले आफ्नो भविष्यको विषयमा केही पत्ता लाउन सक्दैन।