उपदेशक 4:13-16
उपदेशक 4:13-16 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
चेताउनी नलिने वृद्ध तर मूर्ख राजाभन्दा निर्धन तर बुद्धिमान् युवक अझ उत्तम हो। त्यो युवक झ्यालखानबाट निस्केर राजा हुन पुगेको होला, वा त त्यो आफ्नो राज्यमा निर्धन जन्मेको होला। मैले के देखें भने सूर्यमुनि जिउने र हिँड्डूल गर्ने सबै राजाको उत्तराधिकारी त्यही युवकको पछि लागे। तिनीहरू अघिका सबै मानिसहरूको कुनै अन्त्य थिएन, तर जो तिनीहरूपछि आए उनीहरू त्यस उत्तराधिकारीसँग प्रसन्न भएनन्। यो पनि व्यर्थ हो, र बतासलाई खेदेको जस्तो मात्र हो।
उपदेशक 4:13-16 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
एक गरिब तर बुद्धिमान् युवक एक बूढो तर निर्बुद्धि राजाभन्दा उत्तम हो; जसले कसरी सल्लाह लिने भन्ने कुरा पनि जान्दैन। त्यो युवक झ्यालखानाबाट छुटेर राजा बन्न आइपुगेको हुन सक्छ, अथवा उनकै राज्यमा गरिबीमा जन्मेको हुन सक्छ। तर मैले सूर्यमुनि बास गर्ने र हिँड्डुल गर्ने सबै मानिसहरू राजाको उत्तराधिकारी त्यही युवकको पछि-पछि लागेका देखेँ। तिनीहरूभन्दा अगिका सबै मानिसहरूको संख्या अनगन्ती थिए। तर पछिबाट आउनेहरू त्यस उत्तराधिकारीसित खुशी भएनन्। यो पनि अर्थहीन रहेछ, केवल बतासलाई खेदेको जस्तो मात्र।
उपदेशक 4:13-16 पवित्र बाइबल (NERV)
एक जना गरीब तर बुद्धिमान युवा शासक, एउटा बृद्ध तथा मूर्ख राजाभन्दा असल हुन्छ। त्यो बृद्ध राजाले चेताउनीहरूमा ध्यानै दिंदैन। हुन सक्छ त्यो युवा शासक त्यस राज्यमा गरीब भएर जन्मेको होस् र हुनसक्छ ऊ जेलबाट छुटेर देशमा शासन गर्न आएको होस्। तर मैले यस जीवनमा देखेको छु र जान्दछु, मानिसहरू त्यस दोस्रो युवा शासकलाई नै मान्ने छन् र उही नयाँ राजा बन्ने छ। धेरै जना त्यस युवकका पछि लाग्नेछन्। तर पछि गएर ती मानिसहरूले उसलाई पनि मन पराउने छैनन् र यी सब पनि व्यर्थै हुन्। यो पनि त्यही हावालाई पक्रने प्रयास जस्तै हो।
उपदेशक 4:13-16 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
कुनै मानिस गरीबीबाट उठेर देशको राजा बन्ला अथवा कैदबाट छुटेर राज-गद्दीमा बस्न पुग्ला तर बुढेस-कालमा उसले कसैको सल्लाह नलिने मूर्खता गर्यो भने उसको दशा त एउटा गरीब तर बुद्धिमान् युवाको भन्दा असल हुँदैन। संसारमा बास गर्ने सबै मानिसहरूलाई हेरें र तिनीहरू सबै त्यो युवासँग भएको देखें। युवकचाहिँ राजाको गद्दीमा बस्ने रहेछ। राजाका प्रजा अनगिन्ती होलान् तर उनी मरेपछि कसैका धन्यवादको पात्र हुनेछैनन्। यो पनि व्यर्थ छ, बतासलाई खेदेजस्तो मात्र हो।