व्यवस्था 4:35-40
व्यवस्था 4:35-40 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमप्रभु नै परमेश्वर हुनुहुन्छ, र उहाँबाहेक अरू कोही छैन भनी बुझाउनलाई ती तिमीहरूलाई देखाइएका हुन्। तिमीहरूलाई अनुशासनमा राख्न उहाँले आकाशदेखि आफ्नो सोर सुनाउनुभयो, र पृथ्वीमा आफ्नो ठूलो अग्नि तिमीहरूलाई देखाउनुभयो। तिमीहरूले अग्निबाट उहाँका शब्दहरू सुन्यौ। उहाँले तिमीहरूका पिता-पुर्खालाई प्रेम गर्नुभएकोले र तिनीहरूपछि तिनीहरूका वंशलाई चुन्नुभएकोले, उहाँले आफ्नो उपस्थितिद्वारा र आफ्नो महाशक्तिद्वारा तिमीहरूलाई मिश्रदेखि निकाल्नुभयो। तिमीहरूले आफूभन्दा महान् र शक्तिशाली जातिहरूको देशमा प्रवेश गरी अधिकार गर भनेर आज उहाँले उनीहरूलाई धपाइदिनुभएको छ। परमप्रभु नै माथि स्वर्गमा र तल पृथ्वीमाथि परमेश्वर हुनुहुन्छ र उहाँ छोड़ी अरू कोही छैन भनेर तिमीहरूले आज थाहा गर र हृदयमा राख। आज मैले तिमीहरूलाई दिन लागेका उहाँका विधि र आज्ञाहरू पालन गर, र तिमीहरू र तिमीहरूका पछिका वंशको भलो होस्, र परमप्रभु तिमीहरूका परमेश्वरले अनन्त कालसम्म दिनुभएको देशमा तिमीहरूको आयु लामो होस्।
व्यवस्था 4:35-40 पवित्र बाइबल (NERV)
परमप्रभुले यी सब घट्नाहरू तिमीहरूलाई देखाउनु भयो जसले गर्दा उहाँ परमेश्वर हुनुहुन्छ भनी तिमीहरू जान्नेछौ। उहाँको बराबर अरू कुनै ईश्वर छैन। तिमीहरूलाई शिक्षा दिनको निम्ति उहाँले स्वर्गबाट आफ्नो आवाज सुनाउनु भयो, पृथ्वीमा उहाँले तिमीहरूको अघि आगोमा देखिनु भयो अनि त्यहाँबाट बोल्नु भयो। “तिमीहरूका पिता-पुर्खाहरूलाई प्रेम गर्नु हुन्थ्यो यसैकारण तिमीहरूलाई उहाँले उनीहरूका सन्तान बनाउन रोज्नु भयो। यसकारण आफ्नो महान् शक्तिद्वारा परमप्रभुले तिमीहरूलाई मिश्रदेशदेखि बाहिर ल्याउनु भयो। उहाँले तिमीहरूलाई तिमीहरूको भन्दा महान् अनि शक्तिशाली जातिहरूको भूमिमा पस्ने अनि त्यसलाई तिमीहरूको आफ्नै बनाउनु भयो। उहाँले तिमीहरूलाई तिनीहरूको भूमिमा बस्न दिनु भयो। अनि उहाँले अझै गर्नु हुँदैछ। “तिमीहरूले बुझ्नु पर्छ अनि मगजमा राख्नु पर्छ, परमप्रभु नै पृथ्वीमा अनि स्वर्गमा परमेश्वर हुनु हुन्छ, अरू परमेश्वर छैनन्। आज मैले तिमीहरूलाई दिनु लागेको उहाँको आज्ञाहरू र विधिहरू तिमीहरूले पालन गर्नैपर्छ र तिमीहरूसँगै तिमीहरूका सन्तानको भलो हुनेछ। अनि परमप्रभु तिमीहरूका परमेश्वरले दिनु भएको भूमि सदा-सर्वदाको निम्ति तिमीहरूकै हुनेछ।”
व्यवस्था 4:35-40 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
उहाँ मात्र परमेश्वर हुनुहुन्छ र उहाँजस्तो अर्को कोही छैन भनी तिमीहरूलाई प्रमाण दिनलाई परमप्रभुले यी सबै गर्नुभएको हो। तिमीहरूलाई शिक्षा दिनलाई उहाँले स्वर्गबाट आफ्नो सोर तिमीहरूलाई सुनाउनुभयो, यहाँ पृथ्वीमा उहाँले आफ्नो पवित्र आगो देखाउनुभयो र त्यसबाट तिमीहरूसित बोल्नुभयो। तिमीहरूका पुर्खालाई माया गर्नुभएको हुनाले उहाँले तिमीहरूलाई चुन्नुभयो र आफ्ना महान् शक्तिले मिश्रदेखि तिमीहरूलाई आफैंले निकाली ल्याउनुभयो। तिमीहरू जब अघि बढ्यौ, तिमीहरूभन्दा ठूला र शक्तिमान् जातिहरूलाई उहाँले खेद्नुभयो। तिनीहरूको देश तिमीहरूलाई दिनलाई उहाँले त्यसो गर्नुभयो। त्यो देश अझसम्म तिमीहरूकै हातमा छ। यसकारण उहाँको दिनलाई याद राख र कहिल्यै नभुल। परमप्रभु स्वर्ग र पृथ्वीका परमेश्वर हुनुहुन्छ। अर्को कुनै ईश्वर छैन। मैले आज तिमीहरूलाई दिएका उहाँका सबै आज्ञाहरू पालन गर र तिमीहरू र तिम्रा सन्तानको भलो हुनेछ। परमप्रभु तिम्रा परमेश्वरले तिमीहरूलाई सधैँको निम्ति दिनुभएको देशमा तिमीहरू बास गर्नेछौ।”