व्यवस्था 33:26-29
व्यवस्था 33:26-29 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“यशूरूनका परमेश्वरजस्तो अरू कोही छैन, जो तिमीहरूको सहायताको लागि आकाशमाथि सवारी हुनुहुन्छ, र आफ्नो प्रतापमा बादलमाथि। अनन्तका परमेश्वर तिमीहरूको वासस्थान हुनुहुन्छ, र मुनितिरचाहिँ सनातनका पाखुराहरू छन्। ‘त्यसलाई नाश गर’ भन्दै उहाँले तिमीहरूका सामुन्नेबाट तिमीहरूका शत्रुहरूलाई धपाउनुहुनेछ। अन्न र नयाँ दाखमद्यको देशमा, जहाँ आकाशले शीत झार्छ, इस्राएल एकलै सुरक्षामा रहनेछ, याकूबको मूल सुरक्षित छ। ए इस्राएल, तिमी धन्यका हौ, परमप्रभुद्वारा मुक्ति पाएको जाति, तिमीजस्तो को छ र? उहाँ तिम्रो ढाल र सहायक हुनुहुन्छ, र तिम्रो महिमित तरवार। तिम्रा शत्रुहरू तिम्रा अगि लुरूक्क परेर आउनेछन्, र तिमीले उनीहरूका अल्गा ठाउँहरूमा टेक्नेछौ।”
व्यवस्था 33:26-29 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यशूरूनका परमेश्वरसमान अरू कोही छैन; जो तँलाई सहायता गर्नलाई आकाशबाट आउनुहुन्छ। अनि आफ्नो महिमाको बादलमा सवार गर्नुहुन्छ। अनन्तका परमेश्वर तेरो शरणस्थान हुनुहुन्छ, र तलतिर चाहिँ अनन्तका बाहुलीहरू तेरो सहारा छन्। उहाँले तेरा शत्रुहरूलाई तेरो सामुबाट धपाउनुहुनेछ। उहाँले भन्नुहुन्छ, “तिनीहरूलाई नष्ट पार्!” यसकारण इस्राएल सुरक्षित रहनेछ; याकोबको मूल सुरक्षित रहनेछ; अन्न र नयाँ दाखमद्यको देशमा, आकाशबाट शीत झर्ने ठाउँमा। हे इस्राएल, तँ धन्यको छस्! याहवेहद्वारा बचाइएको, तँजस्तो अरू जाति को छ र? “उहाँ तेरो ढाल र सहायक, अनि तेरा महिमित तरवार हुनुहुन्छ। तेरा शत्रुहरू तेरो सामु डराउनेछन्; अनि तैँले तिनीहरूका अल्गा स्थानहरू टेक्नेछस्।”
व्यवस्था 33:26-29 पवित्र बाइबल (NERV)
“यशूरूनमा जस्ता परमेश्वर अरू कोही छैन। परमेश्वर तिमीहरूलाई सहायता गर्नको खातिर आकाशबाट आफ्नो प्रतापमा बादलमाथि चढ्नुहुन्छ। परमेश्वर सधैँ बाँच्नु हुन्छ। उहाँ तिम्रो सुरक्षित ठाउँ हुनुहुन्छ। परमेश्वरको क्षमता सधैँका लागि रहन्छ। उहाँ तिमीहरूको रक्षा गर्नु हुँदैछ। परमेश्वरले तिमीहरूका शत्रुहरूलाई तिमीहरूको भूमिबाट खेद्नु हुनेछ। उहाँ भन्नु हुन्छ, ‘शत्रुलाई ध्वंश पार।’ यसकारण इस्राएल सुरक्षित रहनेछन् अनि याकूबको इनार तिनीहरूको हुनेछ। तिनीहरू अन्न र दाखरसको भूमि पाउनेछन् अनि त्यस भूमिमा प्रशस्त पानी पर्नेछ। हे इस्राएल! तिमीले आशीर्वाद पाएका छौ, अरू कुनै जाति तिमी जस्तो छैन। परमप्रभुले तिमीलाई जोगाउनु भयो। परमप्रभु तिमीलाई सुरक्षित राख्ने बलियो ढाल जस्तो हुनु हुन्छ। परमप्रभु शक्तिशाली तरवार जस्तो हुनु हुन्छ। तिम्रा शत्रुहरू तिमीसँग डराएका हुनेछन् अनि तिमीले तिनीहरूका पवित्रस्थानहरू कुल्चिने छौ।”
व्यवस्था 33:26-29 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
हे इस्राएलका जन हो! तिमीहरूका परमेश्वरजस्ता अरू कुनै देवता छैनन्। उहाँ पराक्रमी शोभामा आकाशका बीचबाट भएर जानुहुन्छ, उहाँ बादलमा सवार भई तिम्रो मद्दत गर्नलाई आउनुहुन्छ। परमेश्वरले सदा तिम्रो बचाउ गर्नुभएको छ, उहाँका अनन्त बाहुली तिम्रा सहारा हुन्। तिमीहरू अघि बढ्दा उहाँले तिम्रा शत्रुहरूलाई धपाउनुभयो, र ती सबैलाई नाश गर्नू भनी तिमीलाई भन्नुभयो। यसकारण याकूबका सन्तानहरू शान्तिमा, अन्न र मद्यले पूर्ण देशमा, आकाशका शीतले भिजेको जमिनमा सुरक्षासाथ बस्दछन्। हे इस्राएल! तँ कति खुसी छस्! तँजस्तो अरू कुनै जाति छैन, जुन जातिलाई परमप्रभुले बचाउनुभएको छ। परमप्रभु आफैं तेरो रक्षा गर्न र तँलाई विजय दिनको लागि तेरा ढाल र तरवार हुनुहुन्छ। तेरा शत्रुहरू दयाको लागि भिक्षा माग्दै आउनेछन् र तैँले तिनीहरूलाई कुल्चनेछस्।