व्यवस्था 31:9-13
व्यवस्था 31:9-13 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अनि मोशाले व्यवस्था लेखेर परमप्रभुका करारको सन्दूक बोक्ने, लेवी वंशका पूजाहारीहरू र इस्राएलका सबै धर्म-गुरुहरूलाई दिए। तब मोशाले तिनीहरूलाई यस्तो आदेश दिए: “प्रत्येक सात वर्षको अन्तमा ऋणहरू मेटिदिने वर्षमा, छाप्रो-वासको चाड़मा, उहाँले छान्नुहुने ठाउँमा परमप्रभु तिमीहरूका परमेश्वरको सामु जब सारा इस्राएलीहरू देखा पर्नलाई आउँछन्, तब सारा इस्राएलका अगि तिनीहरूले सुन्ने गरी तिमीहरूले यो व्यवस्था पढ्नू। पुरुष र स्त्री, बालक र तिमीहरूका सहरभित्र भएका परदेशीहरू सबैलाई भेला गर, र तिनीहरूले सुनेर परमप्रभु तिमीहरूका परमेश्वरको भय मान्न र यस व्यवस्थाका सबै वचन होशियारीसाथ पालन गर्न सिकून्। यर्दन पारि तिमीहरूले अधिकार गर्न जान लागेको देशमा बसुन्जेल यो व्यवस्था नजान्ने तिनीहरूका छोराछोरीहरूले पनि सुनेर परमप्रभु तिमीहरूका परमेश्वरको भय मान्न सिक्नुपर्नेछ।
व्यवस्था 31:9-13 पवित्र बाइबल (NERV)
तब मोशाले व्यवस्थाको पुस्तक लेखे र पूजाहारीहरूलाई दिए। पूजाहारीहरू लेवी कुल समूहका हुन्। तिनीहरूको काम परमप्रभुको करारको सन्दुक बोएनु हो। मोशाले त्यो व्यवस्था इस्राएलका सबै बूढा-प्रधानहरूलाई पनि दिए। त्यस पछि मोशाले ती बूढा-प्रधानहरूलाई भने, “प्रत्येक सातबर्षको अवधिको अन्तमा यी शिक्षाहरू प्रत्येक आश्रयको उत्सवको दिन स्वतन्त्रताको बर्षमा पढ। त्यस बेला परमप्रभु तिमीहरूका परमेश्वरले रोज्नु भएको ठाउँमा सबै इस्राएली मानिसहरू भेट-घाटको निम्ति आउँछन् तब सबैले सुन्ने गरी यी व्यवस्था पढ्नु पर्छ। पुरूष, स्त्रीहरू, साना-साना नानीहरू र तिमीहरूका शहरहरूमा बस्ने विदेशीहरूलाई एकसाथ भेला गर। तिनीहरूले व्यवस्था सुनेर परमप्रभु तिमीहरूका परमेश्वरलाई आदर गर्नु सिक्नेछन् अनि उपदेशमा भनिएको सबै कुराहरू गर्नु सक्षम हुनेछन्। यदि तिनीहरूका सन्तानहरूले व्यवस्थाको शिक्षाहरू जान्दैनन् भने तिनीहरूले उपदेशहरू सुन्नेछन् र परमप्रभु तिमीहरूका परमेश्वरलाई आदर गर्न सिक्नेछन्। जबसम्म तिमीहरू आफ्नो देशमा बाँच्नेछौ तबसम्म तिनीहरूले उहाँको आदर गर्नेछन्। तिमीहरू चाँडै यर्दन तर्नेछौ अनि भूमि आफ्नो निम्ति ग्रहण गर्नेछौ।”
व्यवस्था 31:9-13 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
यसकारण मोशाले परमेश्वरको नियम लेखे अनि परमप्रभुका करारको सन्दुक आफ्नो जिम्मा लिएका लेवी पूजाहारीहरू र इस्राएलका अगुवाहरूलाई दिए। उनले तिनीहरूलाई यस्तो आज्ञा दिए, “सात-सात वर्षमा जब ऋण मिनहा गरिदिने वर्ष आउँदछ, छाप्रो-बासको चाडमा यो पुस्तक उच्च सोरले पढ्ने गर्नू। एक मात्र आराधना-स्थलमा इस्राएलीहरू परमप्रभु आफ्ना परमेश्वरलाई पुज्न आउँदा यो तिनीहरूलाई पढी सुनाउनू। सबै पुरुष, स्त्री, केटा-केटी र तिम्रा सहरहरूमा बास गर्ने विदेशीहरूलाई एकसाथ बोलाउनू अनि सबैले यो सुनेर परमप्रभु तिम्रा परमेश्वरलाई आदर गर्न र विश्वासयोग्यसाथ उहाँका शिक्षाहरू पालन गर्न सिकून्। यसरी परमप्रभु तिमीहरूका परमेश्वरको नियमबारे कहिल्यै नसुन्ने तिम्रा सन्तानले पनि यसबारे सुन्नेछन्। अनि तिमीहरूले यर्दनपारि अधीन गर्न आँटेका देशमा बास गरून्जेल तिनीहरूले उहाँको वचन पालन गर्न सिक्नेछन्।”