व्यवस्था 31:1-29
व्यवस्था 31:1-29 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब मोशाले बाहिर गएर सारा इस्राएललाई यी वचनहरू सुनाए: “आज म एक सय बीस वर्ष पुगें। अब म तिमीहरूलाई नेतृत्व गर्न सक्दिनँ। ‘तँ यर्दन पारि जानेछैनस्’ भनी परमप्रभुले मलाई भन्नुभएको छ। परमप्रभु तिमीहरूका परमेश्वर नै तिमीहरूका अगि पारि जानुहुनेछ। उहाँले तिमीहरूका सामुन्नेबाट यी जातिहरूलाई नष्ट पार्नुहुनेछ, र तिमीहरूले उनीहरूको देश ओगट्नेछौ। परमप्रभुले भन्नुभएअनुसार यहोशू पनि तिमीहरूका अगि पारि जानेछन्। एमोरीहरूका राजाहरू सीहोन र ओगलाई उनीहरूको देशसमेत नाश गर्नुभएझैँ परमप्रभुले उनीहरूलाई पनि नाश गर्नुहुनेछ। परमप्रभुले उनीहरूलाई तिमीहरूको अधीनमा सुम्पिदिनुहुनेछ, र मैले तिमीहरूलाई गरेका सबै आदेशअनुसार तिमीहरूले यिनीहरूसित गर। बलिया र साहसी होओ! यिनीहरूसित नडराओ र त्रासित नहोओ! किनभने परमप्रभु तिमीहरूका परमेश्वर नै तिमीहरूसँग जानुहुन्छ। उहाँले तिमीहरूलाई कहिल्यै छोड्नुहुनेछैन न त त्याग्नुहुनेछ।” तब मोशाले यहोशूलाई बोलाएर सारा इस्राएलीहरूका सामुन्ने तिनलाई भने, “बलिया र साहसी होऊ! किनकि परमप्रभुले तिनीहरूका पिता-पुर्खासित दिन्छु भनी शपथ खानुभएको देशमा यी मानिसहरूसँग तिमी नै जानेछौ, र त्यो तिनीहरूलाई तिनीहरूका अंशको निम्ति तिमीले बाँड़िदिनुपर्छ। परमप्रभु आफै तिम्रो अगि जानुहुन्छ र तिमीसित हुनुहुनेछ। उहाँले तिमीलाई कहिल्यै छोड्नुहुनेछैन न त त्याग्नुहुनेछ। नडराऊ, निरुत्साह नहोऊ।” अनि मोशाले व्यवस्था लेखेर परमप्रभुका करारको सन्दूक बोक्ने, लेवी वंशका पूजाहारीहरू र इस्राएलका सबै धर्म-गुरुहरूलाई दिए। तब मोशाले तिनीहरूलाई यस्तो आदेश दिए: “प्रत्येक सात वर्षको अन्तमा ऋणहरू मेटिदिने वर्षमा, छाप्रो-वासको चाड़मा, उहाँले छान्नुहुने ठाउँमा परमप्रभु तिमीहरूका परमेश्वरको सामु जब सारा इस्राएलीहरू देखा पर्नलाई आउँछन्, तब सारा इस्राएलका अगि तिनीहरूले सुन्ने गरी तिमीहरूले यो व्यवस्था पढ्नू। पुरुष र स्त्री, बालक र तिमीहरूका सहरभित्र भएका परदेशीहरू सबैलाई भेला गर, र तिनीहरूले सुनेर परमप्रभु तिमीहरूका परमेश्वरको भय मान्न र यस व्यवस्थाका सबै वचन होशियारीसाथ पालन गर्न सिकून्। यर्दन पारि तिमीहरूले अधिकार गर्न जान लागेको देशमा बसुन्जेल यो व्यवस्था नजान्ने तिनीहरूका छोराछोरीहरूले पनि सुनेर परमप्रभु तिमीहरूका परमेश्वरको भय मान्न सिक्नुपर्नेछ। अनि परमप्रभुले मोशालाई भन्नुभयो, “हेर्, तेरो मृत्युको दिन नजिक आइपुग्यो। यसकारण यहोशूलाई बोला, र भेट हुने पालमा तिमीहरू हाजिर होओ। त्यहाँ म त्यसलाई कार्यभार सुम्पनेछु।” तब मोशा र यहोशू गएर भेट हुने पालमा हाजिर भए। तब परमप्रभु पालमा एउटा बादलको खामोमा देखा पर्नुभयो, र त्यो बादल पालको ढोकामाथि स्थिर भयो। अनि परमप्रभुले मोशालाई भन्नुभयो, “तेरा पिता-पुर्खाहरूजस्तै तँ मर्न लागेको छस्। तँ मरेपछि तिनीहरू प्रवेश गर्ने देशमा पुगेर यी मानिसहरूले चाँड़ै विदेशी देवताहरूसँग लागी आत्मिक व्यभिचारझैँ गर्नेछन्। मलाई त्यागेर मैले तिनीहरूसँग बाँधेको मेरो करार तिनीहरूले तोड्नेछन्। त्यस दिन मेरो क्रोध तिनीहरूमाथि दन्कनेछ र म तिनीहरूलाई त्याग्नेछु, र आफ्नो मुख तिनीहरूबाट लुकाउनेछु र तिनीहरू नष्ट हुनेछन्। धेरै आपत्विपद्हरू र कठिनाइहरू तिनीहरूमाथि आइपर्नेछन्। तब त्यस दिन तिनीहरूले भन्नेछन्, ‘हाम्रा परमेश्वर हाम्रा बीचमा नभएर नै हामीमाथि यस्ता विपत्तिहरू आएका होइनन् र?’ अन्य देवताहरूतिर लागेर तिनीहरूले गरेका सबै खराबीले गर्दा त्यस दिन म निश्चय नै आफ्नो मुख लुकाउनेछु। “यसकारण अब तिमीहरूले आफ्नै लागि यो भजन लेखेर इस्राएलीहरूलाई सिकाओ र तिनीहरूलाई गाउन लगाओ। तिनीहरूका विरुद्धमा यो भजन मेरो निम्ति एउटा गवाही होस्। तिनीहरूका पिता-पुर्खालाई शपथ खाएर दिने प्रतिज्ञा गरेको, दूध र मह बग्ने देशमा मैले तिनीहरूलाई पुर्याएपछि, तिनीहरू खाई-पिई मोटाएर अन्य देवताहरूतिर लाग्नेछन् र यिनीहरूलाई पुज्नेछन्, अनि मलाई तिरस्कार गरेर मेरो करार उल्लङ्घन गर्नेछन्। धेरै आपत्-विपत् र कठिनाइहरू तिनीहरूमाथि आएपछि यो भजन तिनीहरूका विरुद्धमा गवाहझैँ हुनेछ, किनकि त्यो तिनीहरूका सन्तानहरूले कहिल्यै बिर्सनेछैनन्। तिनीहरूलाई प्रतिज्ञामा दिन्छु भनेको देशमा पुर्याउन अघि नै मैले तिनीहरूका मनको अभिप्राय बुझिसकेको छु।” तब मोशाले त्यसै दिन यो भजन लेखेर इस्राएलीहरूलाई सिकाए। परमप्रभुले नूनको छोरा यहोशूलाई यो आज्ञा दिनुभयो: “बलियो र साहसी हो! किनकि मैले दिन्छु भनी शपथ खाएर प्रतिज्ञा गरेको देशमा तैंले नै इस्राएलीहरूलाई पुर्याउनेछस्, र म आफै तँसँग हुनेछु।” मोशाले यस व्यवस्थाका वचनहरू सुरुदेखि अन्त्यसम्म लेखिसिद्ध्याएपछि परमप्रभुका करारको सन्दूक बोक्ने लेवीहरूलाई यो आज्ञा गरे: “व्यवस्थाको यो पुस्तक परमप्रभु तिमीहरूका परमेश्वरका करारको सन्दूकको छेउमा राख, र त्यो तिमीहरूका विरुद्धमा साक्षीको रूपमा त्यहाँ रहोस्। किनकि म तिमीहरूको विद्रोह र हठ जान्दछु। आज मेरो जीवनकालमा नै म तिमीहरूसँग छँदै तिमीहरू परमप्रभुको विरुद्धमा उठेका छौ भने, मेरो मृत्युपछि अझ कति साह्रो विद्रोह गर्नेछौ! तिमीहरूका कुलका सबै धर्म-गुरुहरूलाई र तिमीहरूका सबै अधिकारीहरूलाई मकहाँ भेला गराओ, र म यी वचन तिनीहरूलाई सुनाउनेछु, र तिनीहरूका विरुद्ध आकाश र धरती साक्षी राख्नेछु। किनकि मलाई थाहा छ कि मेरो मृत्युपछि तिमीहरू निश्चय नै अति भ्रष्ट भएर मैले दिएका आज्ञाहरूबाट तर्कनेछौ। तिमीहरूले परमप्रभुको दृष्टिमा दुष्ट काम गरेकाले र तिमीहरूका हातले बनाएका कुराले उहाँलाई रीस उठाएकाले आउँदा दिनहरूमा तिमीहरूमाथि विपत्ति आइपर्नेछ।”
व्यवस्था 31:1-29 पवित्र बाइबल (NERV)
तब मोशा अघि बढेर यी शब्दहरू इस्राएलका मानिसहरूलाई भने। मोशाले तिनीहरूलाई भने, “म अहिले 120 बर्षको भएँ। अब म तिमीहरूको अगुवा हुनु सक्तिनँ। ‘तिमी यर्दन नदी तर्ने छैनौ,’ परमप्रभुले मलाई भन्नुभयो। परमप्रभु तिमीहरूका परमेश्वर अगुवा हुनुहुनेछ र तिमी अघि ती जातिहरूलाई नष्ट पार्नु हुनेछ अनि तिमीले तिनीहरूको भूमि लिनेछौ। परमप्रभुको प्रतिज्ञा अनुसार यहोशूले तिमीहरूलाई पारि लैजान नेतृत्व गर्नेछन्। “परमप्रभुले तिनीहरूलाई एमोरीहरूका राजाहरू सीयोन र ओग तथा तिनीहरूको भूमिलाई ध्वंश पार्दा जसो गर्नु भएको थियो तिनीहरूलाई पनि त्यस्तै गर्नुहुन्छ। ती जातिहरूलाई परास्त पार्न परमप्रभुले तिमीहरूलाई सहायता गर्नु हुनेछ तर मैले आज्ञा दिए जस्तै तिनीहरूलाई प्रत्येक कुरो गर्नु पर्छ। शक्तिशाली र साहसी बन। तिनीहरूसित नडराऊ किनभने परमप्रभु तिमीहरूको परमेश्वर तिमीहरूसँगै हुनु हुन्छ। उहाँले तिमीलाई असफल गराउनु हुन्न अथवा छोड्नु हुन्न।” तब मोशाले यहोशूलाई भने, “बलियो र साहसी होऊ, तिमीले यिनीहरूका पिता-पुर्खाहरूलाई परमप्रभुले दिन्छु भनी प्रतिज्ञा गर्नु भएको भूमिमा नेतृत्व गर्नेछौ। मोशाले यहोशूलाई भन्दा सबै मानिसहरूले हेरे। इस्राएलका मानिसहरूलाई तिनीहरूको भूमि आफ्नो गराउनुमा सहायता गर्नेछौ। परमप्रभु तिमीसँगै बसेर तिमीलाई नेतृत्व गर्नु हुनेछ। चिन्ता नगर उहाँले तिमीहरूलाई छोड्नु हुँदैन, नडराऊ।” तब मोशाले व्यवस्थाको पुस्तक लेखे र पूजाहारीहरूलाई दिए। पूजाहारीहरू लेवी कुल समूहका हुन्। तिनीहरूको काम परमप्रभुको करारको सन्दुक बोएनु हो। मोशाले त्यो व्यवस्था इस्राएलका सबै बूढा-प्रधानहरूलाई पनि दिए। त्यस पछि मोशाले ती बूढा-प्रधानहरूलाई भने, “प्रत्येक सातबर्षको अवधिको अन्तमा यी शिक्षाहरू प्रत्येक आश्रयको उत्सवको दिन स्वतन्त्रताको बर्षमा पढ। त्यस बेला परमप्रभु तिमीहरूका परमेश्वरले रोज्नु भएको ठाउँमा सबै इस्राएली मानिसहरू भेट-घाटको निम्ति आउँछन् तब सबैले सुन्ने गरी यी व्यवस्था पढ्नु पर्छ। पुरूष, स्त्रीहरू, साना-साना नानीहरू र तिमीहरूका शहरहरूमा बस्ने विदेशीहरूलाई एकसाथ भेला गर। तिनीहरूले व्यवस्था सुनेर परमप्रभु तिमीहरूका परमेश्वरलाई आदर गर्नु सिक्नेछन् अनि उपदेशमा भनिएको सबै कुराहरू गर्नु सक्षम हुनेछन्। यदि तिनीहरूका सन्तानहरूले व्यवस्थाको शिक्षाहरू जान्दैनन् भने तिनीहरूले उपदेशहरू सुन्नेछन् र परमप्रभु तिमीहरूका परमेश्वरलाई आदर गर्न सिक्नेछन्। जबसम्म तिमीहरू आफ्नो देशमा बाँच्नेछौ तबसम्म तिनीहरूले उहाँको आदर गर्नेछन्। तिमीहरू चाँडै यर्दन तर्नेछौ अनि भूमि आफ्नो निम्ति ग्रहण गर्नेछौ।” परमप्रभुले मोशालाई भन्नुभयो, “हेर, तिम्रो मृत्यु नजिकै आएको छ। यहोशूलाई ल्याऊ अनि भेट हुने पालमा आऊ। म यहोशूलाई उसले गर्नु पर्ने कार्यहरू बारे बताउनेछु।” यसकारण मोशा र यहोशू भेट हुने पालमा गए। परमप्रभु लामो बादलको खामोमा देखा पर्नु भयो। त्यो लामो खम्बा प्रवेशद्वारमा खडा थियो। परमप्रभुले मोशालाई भन्नुभयो, “तिमी चाँडै मर्नेछौ। अनि तिमी आफ्नो पिता-पुर्खाहरूकहाँ गएपछि यी मानिसहरू मप्रति चाँडै अविश्वासी हुनेछन् र तिनीहरूले प्रवेश गर्दै गरेको भूमिका झूटा देवताहरूलाई पूज्नेछन्। तिनीहरूसित मैले गरेको करार मान्ने छैनन्। त्यस समय म तिनीहरूसित अत्यन्तै क्रोधित हुनेछु र तिनीहरूलाई छोडी दिनेछु र तिनीहरूलाई सहायता गर्नेछैन र तिनीहरू ध्वंश हुनेछन्। तिनीहरूमाथि नाना प्रकारका आपत र विपदहरू ल्याउनेछु र त्यस दिन तिनीहरूले भन्नेछन्, ‘हाम्रा परमेश्वर हामीसँग नभएकोहुनाले नै यस्तो आफ्त र विपत्तिहरू आइलागेको हो?’ तिनीहरूले मलाई छोडेर अरू देवताहरू पूज्ने जस्तो अनिष्ट कार्यहरू गरेको निम्ति म तिनीहरूलाई सहायता गर्न अस्वीकार गर्छु। “यसकारण अब तिनीहरूको निम्ति यो गीत लेख अनि सबै इस्राएलीहरूलाई गीत गाउन सिकाउ जसले गर्दा यो गीत इस्राएलीहरूको विरूद्धमा अनि मेरो पक्षको साक्षी बनोस्। जब म तिनीहरूलाई मैले दिन्छु भनी तिनीहरूका पिता-पुर्खाहरूसित प्रतिज्ञा गरेको अनि दूध र मह बगिरहेको भूमिमा ल्याउँछु अनि जति सक्दो खाएर मोटाए पछि मलाई बिर्सेर अन्य देवताको सेवा तथा पूजा गर्छन्। तब धेरै डरलाग्दा कुराहरू तिनीहरूमाथि घट्नेछन् अनि तिनीहरूले धेरै कष्टहरू बेहोर्नु पर्छ। त्यस समयमा पनि तिनीहरूका मानिसहरूले त्यो गीत जान्दछन् र यसले तिनीहरू कति भूल गरिरहेका थिए बुझाउनेछ। मैले अहिलेसम्म तिमीहरूलाई भूमिमा ल्याएको छैन जो म दिन्छु भनी प्रतिज्ञा गरेको थिएँ, तर पहिला नै मैले जानिसकेकोछु तिनीहरूले के गर्ने योजना बनाउँदैछन्।” यसकारण मोशाले त्यही दिन गीत लेखे अनि इस्राएलका मानिसहरूलाई यो पढाए। तब परमप्रभुले नूनका छोरो यहोशूसित कुरा गर्नुभयो। परमप्रभुले भन्नुभयो, “बलियो र साहसी बन, मैले दिन्छु भनी प्रतिज्ञा गरेको भूमिमा जान इस्राएलका मानिसहरूलाई नेतृत्व गर, म तिमीसँगै हुनेछु।” यी सबै व्यवस्था वचन मोशाले एउटा पुस्तकमा लेखे। जब तिनले लेखिसके, तिनले लेवीहरूलाई आज्ञा दिए। (यी मानिसहरू परमप्रभुका करारको सन्दूक बोक्छन्।) मोशाले भने, “ व्यवस्थाको यो पुस्तक ल्याऊ अनि परमप्रभु तिमीहरूका परमेश्वरका करारको सन्दूकको छेउमा राख। तब यो तिमीहरूको विरूद्धमा साक्षीको रूपमा हुनेछ। म जान्दछु तिमीहरू अट्टेरी गर्नेछौ। तिमीहरूका कुल समूहका सबै अगुवाहरू र बूढा-प्रधानहरूलाई लिएर आऊ। म तिनीहरूलाई यी सबै कुराहरू बताउनेछु अनि पृथ्वी र स्वर्गलाई तिनीहरूको विरूद्धमा साक्षी बस्न लगाउने छु। म जान्दछु मेरो मृत्युपछि तिमीहरू दुष्ट हुनेछौ। मैले अनुशरण गर्नु भनी बताएको बाटोबाट तिमीहरू पर सर्ने छौ। भविष्यमा तिमीहरूको निम्ति नराम्रो आइलाग्नेछ। किनभने परमप्रभुले नराम्रो भन्नु भएका कुराहरू तिमीहरू गर्न चाहन्छौ। किनभने तिमीहरू नराम्रो कुराहरू गर्छौ।”
व्यवस्था 31:1-29 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
मोशा इस्राएलका मानिसहरूसँग अझै बोलिरहे र यसो भने, “म अब एक सय बीस वर्ष पुगें र तिमीहरूका अगुवा रहन सक्दिनँ। त्यसबाहेक परमप्रभुले मलाई भन्नुभएको छ कि म यर्दनपारि जान सक्नेछैनँ। परमप्रभु तिमीहरूका परमेश्वर आफैं तिम्रा अघि-अघि जानुहुनेछ र त्यहाँ बास गर्ने जातिहरूलाई नष्ट पार्नुहुनेछ अनि तिमीहरूले तिनका देश कब्जा गर्नेछौ। परमप्रभुले भन्नुभएअनुसार यहोशू तिम्रा अगुवा हुनेछन्। एमोरीहरूका राजा सीहोन र ओगको हार गराएर तिनका देशहरू नाश पारेझैँ परमप्रभुले ती जातिहरूलाई नाश पार्नुहुनेछ। परमप्रभुले तिमीहरूलाई तिनीहरूमाथि विजय दिनुहुनेछ र तिनीहरूसित तिमीहरूले ठीक मैले भनेअनुसार व्यवहार गर्नू। साहस गर अनि बलियो बन। तिनीहरूको डर नमान। तिम्रा परमेश्वर परमप्रभु आफैं तिमीहरूसँग रहनुहुनेछ। उहाँले तिमीहरूलाई धोका दिनुहुन्न र त्याग्नुहुन्न।” तब मोशाले यहोशूलाई बोलाएर इस्राएलका सबै मानिसहरूका सामुन्नेमा भने, “साहस गर अनि बलियो बन। परमप्रभुले तिनका पुर्खाहरूलाई प्रतिज्ञा गर्नुभएको देश कब्जा गर्न यी मानिसहरूलाई अगुवाइ गर्ने मानिस तिमी नै हौ। परमप्रभु आफैं तिमीसँग रहनुहुनेछ र तिम्रो अगुवाइ गर्नुहुनेछ। उहाँले तिमीलाई धोका दिनु वा त्याग्नुहुन्न। यसकारण साहस नहराऊ र डर नमान।” यसकारण मोशाले परमेश्वरको नियम लेखे अनि परमप्रभुका करारको सन्दुक आफ्नो जिम्मा लिएका लेवी पूजाहारीहरू र इस्राएलका अगुवाहरूलाई दिए। उनले तिनीहरूलाई यस्तो आज्ञा दिए, “सात-सात वर्षमा जब ऋण मिनहा गरिदिने वर्ष आउँदछ, छाप्रो-बासको चाडमा यो पुस्तक उच्च सोरले पढ्ने गर्नू। एक मात्र आराधना-स्थलमा इस्राएलीहरू परमप्रभु आफ्ना परमेश्वरलाई पुज्न आउँदा यो तिनीहरूलाई पढी सुनाउनू। सबै पुरुष, स्त्री, केटा-केटी र तिम्रा सहरहरूमा बास गर्ने विदेशीहरूलाई एकसाथ बोलाउनू अनि सबैले यो सुनेर परमप्रभु तिम्रा परमेश्वरलाई आदर गर्न र विश्वासयोग्यसाथ उहाँका शिक्षाहरू पालन गर्न सिकून्। यसरी परमप्रभु तिमीहरूका परमेश्वरको नियमबारे कहिल्यै नसुन्ने तिम्रा सन्तानले पनि यसबारे सुन्नेछन्। अनि तिमीहरूले यर्दनपारि अधीन गर्न आँटेका देशमा बास गरून्जेल तिनीहरूले उहाँको वचन पालन गर्न सिक्नेछन्।” तब परमप्रभुले मोशालाई भन्नुभयो, “अब तँ धेरै दिन बाँच्नेछैनस्। यहोशूलाई बोलाएर पवित्र पालमा लिएर आइज र म त्यसलाई आदेश दिनेछु।” मोशा र यहोशू पवित्र पालमा गए र त्यहाँ पवित्र पालको ढोकानिर बादलको खम्बामा परमप्रभुले तिनीहरूलाई दर्शन दिनुभयो। परमप्रभुले मोशालाई भन्नुभयो, “तँ अब चाँडै मर्नेछस्। तँ मरेपछि मानिसहरू मप्रति अविश्वासी हुनेछन् र मैले तिनीहरूसित बाँधेको करार तोड्नेछन्। तिनीहरूले मलाई त्याग्नेछन् र तिनीहरू पस्न लागेका देशका देवदेवताहरूलाई पुज्नेछन्। जब त्यसो हुनेछ, म तिनीहरूसित रिसाउनेछु, तिनीहरूलाई त्याग्नेछु र तिनीहरू नाश भएर जानेछन्, धेरै डरलाग्दा विपत्तिहरू तिनीहरूमाथि आउनेछन् र म तिनीहरूका परमेश्वर तिनीहरूका साथमा नभएकाले नै यी सबै कुराहरू हुँदै छन् भनी तिनीहरूले थाहा पाउनेछन्। तिनीहरूले दुष्ट काम गरेका र अन्य देव-देवता पुजेका हुनाले म त्यस बेला तिनीहरूलाई मद्दत गर्न इन्कार गर्नेछु। “अब यो गीत लेख् र इस्राएलीहरूलाई सिका अनि यो तिनीहरूका विरुद्धमा एउटा साक्षीको रूपमा रहनेछ। तिनीहरूका पुर्खालाई मैले प्रतिज्ञा गरेअनुसार म तिनीहरूलाई त्यस धनी र मलिलो देशमा लैजानेछु। त्यहाँ तिनीहरूले चाहेजति सबै खानेकुरा पाउनेछन् र सुख सुबिस्तामा बास गर्नेछन्। तर तिनीहरू फर्की गएर अन्य देव-देवता पुज्नेछन्। तिनीहरूले मलाई अस्वीकार गर्नेछन् र मेरो करार तोड्नेछन् अनि धेरै डरलाग्दा विपत्तिहरू तिनीहरूमाथि आउनेछन्। तर यो गीत गाउनुपर्नेछ र तिनका विरुद्धमा यो गीत एउटा साक्षीको रूपमा रहनेछ। अहिले नै मैले दिन्छु भनी प्रतिज्ञा गरेको देशमा तिनीहरूलाई पुर्याउनुभन्दा अघि नै तिनीहरू के सोचिरहेका छन्, सो म जान्दछु।” त्यही दिन मोशाले त्यो गीत लेखे र इस्राएलका मानिसहरूलाई सिकाए। त्यसपछि परमप्रभुले नूनको छोरो यहोशूसित बोल्नुभयो र तिनलाई भन्नुभयो, “साहस गर् र बलियो बन्। इस्राएलीहरूलाई तैँले नै अगुवाइ गरी मैले प्रतिज्ञा गरेको देशमा पुर्याउनेछस् अनि म तँसित रहनेछु।” मोशाले होशियारीसाथ केही कुरा नछोडी परमेश्वरको नियम एउटा पुस्तकमा लेखे। लेखिसकेपछि तिनले परमप्रभुको करारको सन्दुकको जिम्मा लिइबसेका लेवी पूजाहारीहरूलाई भने, “यो परमेश्वरको नियमको पुस्तक लिएर परमप्रभु हाम्रा परमेश्वरका करारको सन्दुकको छेउमा राख र यो पुस्तक यी मानिसहरूका अघि साक्षीको रूपमा रहनेछ। म जान्दछु कि तिनीहरू कस्ता ढिट र विद्रोही छन्। म जिउँदो छँदै तिनीहरूले परमप्रभुको विरुद्धमा विद्रोह गरेका छन्, म मरेपछि अझ धेरै विद्रोह गर्लान्। तिम्रा कुल-कुलका अगुवा र अधिकृतहरू सबैलाई मेरो सामु भेला गर र म तिनीहरूलाई यी कुरा भन्न सकूँ। तिनीहरूका विरुद्धमा म स्वर्ग र पृथ्वी साक्षी राख्दछु। म जान्दछु कि म मरेपछि मानिसहरू दुष्ट बन्नेछन् र मैले सिकाएका कुराहरू त्याग्नेछन् अनि भविष्यमा तिनीहरूमाथि विपत्तिहरू आइपर्नेछन् किनभने परमप्रभुले मनाही गर्नुभएका कुराहरू गरेर तिनीहरूले उहाँलाई क्रोधित पार्नेछन्।”