व्यवस्था 3:21-29
व्यवस्था 3:21-29 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
मैले त्यस बेला यहोशूलाई यस्तो आज्ञा दिएँ: “परमप्रभु तिमीहरूका परमेश्वरले यी दुई राजालाई जसो गर्नुभयो ती सबै तिमीले आफ्ना आँखाले देखेका छौ। अब तिमीहरू पारि जाँदा ती सबै राज्यहरूलाई पनि परमप्रभुले त्यसै गर्नुहुनेछ। उनीहरूदेखि नडराओ, किनकि परमप्रभु तिमीहरूका परमेश्वर तिमीहरूका निम्ति लड्नुहुनेछ।” अनि त्यस बेला मैले परमप्रभुलाई यसरी बिन्ती चढ़ाएँ: “हे परमप्रभु परमेश्वर, तपाईंले आफ्नो दासलाई आफ्नो महानता र आफ्नो पराक्रम देखाउन लाग्नुभएको छ, किनभने स्वर्ग र पृथ्वीमा कुन ईश्वर छ, जसले तपाईंका जस्तै काम र प्रतापी कार्य गर्न सक्छ? मलाई पारि जान दिनुहोस्, र यर्दन पारिको त्यो असल भूमि, त्यो सुन्दर पहाड़ी देश र लेबनान म देख्न पाऊँ।” तर तिमीहरूले गर्दा परमप्रभु मसित रिसाउनुभएको थियो, र उहाँले मेरो कुरा सुन्नुभएन। परमप्रभुले मलाई भन्नुभयो, “भयो,” अब यस विषयमा मसँग अरू कुरा नगर्! पिसगाको टाकुरामा उक्ली, अनि उत्तर, दक्षिण, पूर्व, पश्चिम चारैतिर हेर्! आफ्ना आँखाले त्यो देश हेर्, किनकि तैंले यर्दन पार गर्न पाउनेछैनस्। तर यहोशूलाई आज्ञा दे, र त्यसलाई प्रोत्साहन दिएर साहसिलो बना, किनकि त्यसले नै यी मानिसहरूलाई पारि लैजानेछ र तैंले देख्न लागेको त्यो देश तिनीहरूलाई अधिकार गर्न लाउनेछ।” यसकारण हामीहरू बेथ-पोरनेरको बेँसीमा बस्यौं।
व्यवस्था 3:21-29 पवित्र बाइबल (NERV)
“तब मैले यहोशूलाई भने, ‘तिमीले यी दुइ राजाहरूलाई परमप्रभु तिमीहरूका परमेश्वरले गर्नु भएको सबै थोक देखेका छौ। तिमीहरू पसेका सबै राज्यहरूमा परमप्रभुले त्यस्तै गर्नु हुनेछ। ती देशहरूका राजाहरूसित तिमीहरू डराउनु पर्दैन कारण परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूको पक्षमा युद्ध गर्नुहुनेछ।’ “त्यसपछि मैले मेरो निम्ति विशेष केही कुरा गरीदिनुहोस् भनी परमप्रभुलाई बिन्ती गरें। मैले भनें, ‘हे परमप्रभु मेरो मालिक! म हजुरको दास हुँ। म जान्दछु तपाईंले गर्न सक्ने लौकिक तथा अलौलिक चीजहरूको केही भाग मात्र (अलिकति) मलाई देखाउनु भएको छ। तपाईंले जुन महान् अनि शक्तिशाली कर्महरू गर्नु भएको छ त्यस्तो गर्न न त पृथ्वीमा न स्वर्गमा कुनै ईश्वरले गर्न सक्छन्। मलाई यर्दन नदीपारि जान दिनुहोस् अनि अर्को पट्टिको असल भूमि हेर्न दिनुहोस्। मलाई लबानोन र सुन्दर पहाडी देश हेर्न दिनुहोस्।’ “तर तिमीहरूले गर्दा परमप्रभु मसित रिसाउनु भयो। उहाँले मेरो कुरा सुन्नु अस्वीकार गर्नु भयो। परमप्रभुले मलाई भन्नु भयो, ‘यति नै प्रयाप्त छ, यस विषयमा अरू कुरा नगर। पिस्गा पर्वतको टाकुरामा जाऊ अनि पश्चिम, उत्तर, दक्षिण तथा पूर्वपट्टि हेर। तिमीले त्यहाँ आफ्नै आँखाले यी सब चीजहरू हेर्न सक्छौ तर तिमी यर्दन नदीपारि चाहिं जान सक्दैनौ। तिमीले यहोशूलाई उपदेश अवश्य देऊ। तिनलाई तिमीले उत्साह देऊ। तिनलाई बलियो बनाऊ। भूमि तिमीले देख्न सक्छौ तर यहोशूले मानिसहरूलाई त्यहाँ लैजाने छन् अनि तिनीहरूलाई त्यहाँ बस्न सहायता गर्नेछन्।’ “यसकारण हामी बेत-पोर वारि नै बेंसीमा बस्यौं।”
व्यवस्था 3:21-29 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
“त्यसपछि मैले यहोशूलाई यस्तो आदेश दिएँ, ‘परमप्रभु हाम्रा परमेश्वरले ती दुई राजा सीहोन र ओगलाई के गर्नुभयो, त्यो तिमीले देखेका छौ। ज-जसका जमिन तिमीहरूले हमला गर्नेछौ, तिनीहरूसित पनि उहाँले त्यसै गर्नुहुनेछ। तिनीहरूसित नडराऊ। परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूका निम्ति लड्नुहुनेछ।’ “त्यस बेला मैले आग्रहसाथ प्रार्थना गरें, ‘सार्वभौम परमप्रभु! मलाई थाहा छ कि जुन महान् र अचम्मका कुराहरू तपाईंले गर्न लाग्नुभएको छ, तिनको सुरु मात्र तपाईंले मलाई देखाउनुभएको छ। तपाईंजस्तो प्रतापी काम गर्ने अरू कुनै ईश्वर स्वर्गमा वा पृथ्वीमा छैन। परमप्रभु! मलाई यर्दन नदी पार गर्न दिनुहोस् र पारिपट्टिका मलिलो भूमि, सुन्दर डाँडाहरू र लेबनानका पहाडहरू हेर्न दिनुहोस्।’ “तर, तिमीहरूले गर्दा परमप्रभु मसित रिसाउनुभयो र उहाँले मेरो बिन्ती सुन्नुभएन। त्यसको सट्टामा उहाँले भन्नुभयो, ‘भयो! भयो! फेरि यो कुरा नगर्! पिसगा पहाडको टाकुरामा चढ् र त्यहाँबाट उत्तर र दक्षिण, पूर्व र पश्चिम चारैतिर हेर्। जे कुरा देख्छस्, ती राम्ररी हेर् किनभने तँ कहिल्यै यर्दन पारि जानेछैनस्। यहोशूलाई चाहिँदो आदेश दे। त्यसलाई उत्साह दिएर बलियो बनाइदे किनभने त्यसले इस्राएलीहरूलाई डोर्याएर यर्दन पारि लैजानेछ र तैँले देखेको देशमा अधिकार गर्नेछ।’ “यसरी हामीहरू बेथ-पोरनेर सहर सामुन्नेको बेसीमा बस्यौं।”