व्यवस्था 3:1-11
व्यवस्था 3:1-11 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
त्यसपछि हामीहरू बाशानतिर लाग्यौं। एद्रईमा बाशानका राजा ओग आफ्ना सबै फौज लिई हामीसित लड़ाइँ गर्न आए। परमप्रभुले मलाई भन्नुभयो, “त्यससँग नडराओ, किनकि त्यसलाई, त्यसका सबै फौज र त्यसको देशसमेत, मैले तिमीहरूका हातमा सुम्पिदिएको छु। तिमीहरूले हेश्बोनमा राज्य गर्ने एमोरीहरूका राजा सीहोनलाई जसो गर्यौ त्यसलाई पनि त्यसै गर।” अनि परमप्रभु हाम्रा परमेश्वरले बाशानका राजा ओग र उनका सबै फौजलाई हाम्रा हातमा सुम्पिदिनुभयो। हामीले एउटै पनि नछोड़ी सबैलाई मार्यौं। त्यसै बेला हामीले एउटै नछोड़ी उनका सबै साठी सहरहरू कब्जा गर्यौं, बाशानमा ओगको राज्य अर्गोबको सम्पूर्ण इलाकासमेत। यी सबै सहरहरू अग्ला-अग्ला पर्खालले घेरिएका, आग्लाहरू र मूल ढोकाहरू भएका थिए। यीबाहेक पर्खाल नभएका धेरै गाउँहरू पनि थिए। अनि हेश्बोनका राजा सीहोनलाई गरेझैँ उनीहरूका सबै सहर, पुरुष, स्त्री र बालकहरूलाई सम्पूर्ण रूपले हामीले नाश गर्यौं। तर सबै गाईबस्तु र सहरका धनमालहरू हामीले जीतका सम्पत्ति स्वरूप आफ्नै निम्ति लग्यौं। हामीले त्यस बेला यी दुई एमोरी राजाका हातबाट अर्नोन खोलादेखि हेर्मोन डाँड़ासम्म यर्दनको पूर्वपट्टिको देश लियौं। (हेर्मोनलाई सीदोनीहरूले सिरिओन र एमोरीहरूले सेनीर भन्दछन्।) तराईका जम्मै सहर र सबै गिलाद र सम्पूर्ण बाशान, बाशानमा भएका ओगका राज्यका सलका र एद्रई सहरहरूसम्मै हामीले लियौं। (रपाईहरूमा बाशानका राजा ओग मात्र जीवित थिए। उनको पलङ्ग फलामको थियो। यो पलङ्ग अझसम्म अम्मोनीहरूको सहर रब्बामा छ। हातको नापअनुसार यो नौ हात लामो र चार हात चौड़ा थियो।)
व्यवस्था 3:1-11 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
त्यसपछि हामी फर्केर बाशान जाने बाटोतिर उक्ल्यौँ। अनि बाशानका राजा ओग आफ्नो सारा फौज लिएर हामीलाई एद्रईमा युद्ध गर्न निस्किआए। याहवेहले मलाई भन्नुभयो, “त्यससँग नडरा; किनकि मैले त्यसलाई, त्यसका सबै सेनालाई र त्यसको देशसमेत तेरो हातमा सुम्पिदिएको छु। तैँले त्यसलाई हेश्बोनमा शासन गर्ने एमोरीहरूका राजा सीहोनलाई गरेजस्तै गर्नू।” यसरी याहवेह हाम्रा परमेश्वरले बाशानका राजा ओग र तिनका सारा सेनालाई हाम्रा हातमा सुम्पिदिनुभयो। हामीले तिनीहरूलाई एउटै पनि मानिस जीवित नरहुन्जेल मार्यौँ। त्यसै बेला हामीले त्यसका सबै सहरहरू कब्जा गर्यौँ। हामीले एउटै पनि सहर नछोडी त्यसका सबै साठी वटा सहरहरू कब्जा गर्यौँ। बाशानमा ओगको राज्य अर्गोबको सम्पूर्ण इलाकासमेत कब्जा गर्यौँ। ती सबै सहरहरू अग्ला-अग्ला पर्खालहरूले घेरिएका, आग्ला सहितका ढोकाहरू र मूलढोकाहरूले बनाइएका थिए। त्यहाँ पर्खाल नभएका धेरै गाउँहरू पनि थिए। अनि हामीले हेश्बोनका राजा सीहोनलाई गरेझैँ उनीहरूका सबै सहरहरू, पुरुषहरू, स्त्रीहरू र बालबालिकाहरूलाई सम्पूर्ण रूपले नाश गर्यौँ। तर सहरका सबै गाईबस्तु र लुटका मालसामानचाहिँ हामीले आफ्नै निम्ति लियौँ। यसरी त्यस बेला हामीले यी दुई एमोरी राजाहरूबाट यर्दनका पूर्वपट्टि भएको प्रान्त, अर्नोन बेँसीबाट हेर्मोन पर्वतसम्मै अधीनमा पार्यौँ। (सीदोनीहरूले हेर्मोन पर्वतलाई सिरिओन र एमोरीहरूले सेनीर भन्दछन्)। हामीले तराईका सबै सहरहरू, सम्पूर्ण गिलाद, सलेका र एद्रईसम्मका सम्पूर्ण बाशानमा भएका ओगको राज्य अधीनमा लियौँ। (रपाईहरूमा बाशानका राजा ओग मात्र जीवित रहेका थिए। तिनको चिहान फलामबाट बनिएको थियो। त्यो नौ क्यूबिट लामो, चार क्यूबिट चौडा थियो। यो अझसम्म अम्मोनीहरूको रब्बामा छ।)
व्यवस्था 3:1-11 पवित्र बाइबल (NERV)
“त्यसपछि हामी बाशानपट्टि गयौं। एदरेईमा बाशानका राजा ओग र तिनका मानिसहरू हामीहरूसित लडाइँ गर्न आए। परमप्रभुले मलाई भन्नुभयो, ‘ओगसित नडराऊ। मैले उसलाई तिनीहरूको अघि समर्पित गराउन निश्चय गरेको छु। हशबोनमाथि शासन गर्ने अम्मोरीका राजा सीहोनलाई झैं तिमीले उसलाई पराजित गर्नेछौ अनि उसका मानिसहरू र सबै भूमि तिमीले पाउनेछौ।’ “यसकारण परमप्रभु हाम्रा परमेश्वरले बाशानका राजा ओगलाई पराजित गराउनु भयो। हामीले उसको कसैलाई पनि बाँकी नराख्ने गरी परास्त पार्यौं। त्यस समयमा ओगको अधीनका सबै शहरहरू लियौं। हामीले ओगका 60 शहरहरू बाशान राज्यभित्रका अर्गेवका इलाकाहरू कब्जा गर्यौं। यी सबै शहरहरूका अग्ला-अग्ला फाटक, पर्खाल र फाटकमा पकका ढोकाहरू थिए। त्यहाँ पर्खाल नभएका शहरहरू पनि थिए। हामीले ती सब सीहोन राजाका शहरहरू झैं ध्वंश पार्यौं। त्यहाँका प्रत्येक शहर अनि त्यस शहरका स्त्री-पुरूष अनि बाल-बच्चाहरू सबै ध्वंश पार्यौं। तर हामीले आफ्नो लागि त्यहाँ भएका बहुमूल्य वस्तुहरू र गाई-गोरूहरू भने सुरक्षित राख्यौं। “यस प्रकार हामीले अर्नोन घाँटीबाट यर्दन नदीको पूवपट्टिको भूमि अनि अमोरी राजाहरूबाट हार्मोन पर्वतलाई लियौं। (हर्मोनलाई सीदोनीहरूले सिर्योन र एमोरीहरूले सनीर भन्छन्।) यसरी हामीले समतलको सबै भूमिको र गिलादका शहरहरू सल्कादेखि एद्रेईसम्म बसानको समस्त आफ्नो पार्यौं। सल्का र एद्रेईहरू ओगको बाशानका राजा, ओगका शहरहरू थिए।” (बाशानका राजा ओग रपाई मानिसहरूमा बाँचेकाहरूमध्ये एक जना थिए। ओगको पलङ्ग फलामको थियो यो तेह्र फीट लामो अनि छ फीट चौंडाको थियो। अम्मोनीहरू बसोबास गर्ने शहर रब्बामा त्यो पलङ्ग अझसम्म छ।)
व्यवस्था 3:1-11 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
“त्यसपछि हामी उत्तरतिर बाशानको देशतिर गयौं र ओग राजा आफ्ना सबै मानिस लिएर हामीसित लड्नलाई एद्रेई सहरको छेउमा आए। तर परमप्रभुले मलाई भन्नुभयो, ‘त्योसँग नडरा। म त्यसलाई, त्यसका मानिसहरू र सारा देश म तँलाई दिनेछु। हेश्बोनमा राज गर्ने एमोरी राजा सीहोनलाई तैँले जसो गरेको थिइस्, त्यस्तै ओग राजालाई पनि गर्’। “यसकारण परमप्रभुले ओग राजा र तिनका मानिसलाई हाम्रा हातमा दिनुभयो र हामीले तिनीहरू सबैलाई मार्यौं। त्यति बेला हामीले तिनका सबै सहरहरू कब्जा गर्यौं– एउटै पनि छोडेनौं। हामीले जम्मा साठीवटा सहरहरू लियौं– बाशानको राजा ओगले राज गरेका अर्गोबको सम्पूर्ण इलाका लियौं। अग्ला पर्खालहरू, ढोकाहरू र ढोका बन्द गर्नलाई गजबार लगाएर यी सबै सहरहरू बलिया बनाइएका थिए। पर्खालबिनाका धेरै गाउँहरू पनि थिए। हामीले सबै सहरहरू ध्वस्त पार्यौं र सबै पुरुष, स्त्री र बाल-बच्चाहरूलाई मार्यौं। जसरी हामीले हेश्बोनको राजा सीहोनका सहरहरू ध्वस्त पारेका थियौं, त्यसरी नै यो काम पनि गर्यौं। हामीले गाई-वस्तु आफ्ना बनायौं र सहरहरू लुट्यौं। “त्यस बेला हामीले ती दुई एमोरी राजाहरूबाट यर्दन नदीका पूर्वमा भएको अर्नोन नदीदेखि हेर्मोन पहाडसम्मका देश आफ्ना अधीनमा पार्यौं। (हेर्मोन पहाडलाई सीदोनीहरूले सिरिओन अनि एमोरीहरूले सेनीर भन्दछन्।) बाशानका राजा ओगका सारा देश– गिलाद र बाशानका इलाका, मरुभूमिका सहरहरू, पूर्वपट्टि सलका र एद्रेईसम्मै हामीले जित्यौं।” (ओग रपाईहरूका अन्तिम राजा थिए। तिनको पलङ्ग ढुङ्गाले बनिएको थियो। तोकिएको नापअनुसार त्यो चार मिटर लामो अनि प्राय: दुई मिटर चौडा थियो। त्यो अझसम्म अम्मोनी सहर रब्बामा देख्न सकिन्छ।)