व्यवस्था 16:13-17
व्यवस्था 16:13-17 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
आफ्नो खला र दाखको कोलबाट सबै कुरा बटुलिसकेपछि तिमीहरूले सात दिनसम्म छाप्रो-वासको चाड़ मान्नू। तिमीहरू, तिमीहरूका छोराछोरी, कमारा-कमारी, र तिमीहरूका सहरमा बस्ने लेवीहरू, विदेशीहरू, टुहुरा-टुहुरी र विधवाहरू सबैले चाड़ मानेर आनन्द मनाउनू। परमप्रभु तिमीहरूका परमेश्वरले छान्नुहुने ठाउँमा सात दिनसम्म उहाँको निम्ति चाड़ मान्नू, किनभने उहाँले नै तिमीहरूका उब्जनी र कामकाजमा तिमीहरूलाई आशिष् दिनुहुनेछ र तिमीहरूको आनन्द पूरा हुनेछ। जुन ठाउँ परमप्रभु तिमीहरूका परमेश्वरले छान्नुहुनेछ, त्यहाँ वर्षमा तीन पल्ट तिमीहरूका सबै पुरुष उहाँको सामुन्ने देखा परून्: अखमिरी रोटीको चाड़मा, साताहरूको चाड़मा र छाप्रो-वासको चाड़मा। परमप्रभुको सामु कोही रित्तै हात देखा नपरोस्। परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनुभएको आशिष्अनुसार हरेकले आफ्नो भेटी चढ़ाओस्।
व्यवस्था 16:13-17 पवित्र बाइबल (NERV)
“खलामा बाली जम्मा गरेपछि र कोलबाट दाख निकालेको सात दिन पछि तिमीहरूले छाप्रो-बासको चाड मनाउनुपर्छ। आफ्नो शहरमा बस्ने लेवीहरू, विदेशीहरू, टुहुरा-टुहुरीहरू र विधवाहरू लगायत आफ्ना छोरा-छोरीहरू, नोकर-चाकरहरूसँगै यो भोज मनाऊ। परमप्रभु तिमीहरूका परमेश्वरले रोज्नु भएको विशेष ठाउँमा यो पर्व सात दिनसम्म मनाऊ। यो तिमीहरूका परमेश्वरको सम्मानमा मनाऊ। तिमीहरू अत्यन्तै आनन्दित हुनुपर्छ परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूको बालीलाई र तिमीहरूले जे गर्छौ त्यसमा आशीर्वाद दिनु भएको छ। “परमप्रभु तिमीहरूका परमेश्वरले विशेष ठाउँ भनी रोज्नु हुने ठाउँमा बर्षमा तीन पल्ट तिमीहरूका मानिसहरू भेला हुनैपर्छ। तिनीहरू अखमिरी रोटीको चाडमा, साताहरूको चाडमा र छाप्रो-बासको चाडमा भेला हुनु पर्छ। त्यहाँ भेट गर्न आउने प्रत्येक मानिसले बलि ल्याउनु पर्छ। परमप्रभुले उसलाई कति धेरै आशीर्वाद दिनु भएको छ त्यो सोचेर जति दिन सक्छ उसले बलि दिनुपर्छ।
व्यवस्था 16:13-17 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
“तिमीहरूले आफ्ना सारा अन्न बटुलिसकेपछि र दाख कोलमा पेलिसकेपछि छाप्रोको चाड सात दिनसम्म मनाउनू। तिम्रा छोरा-छोरी, कमारा-कमारी, लेवीहरू र तिम्रा सहरहरूमा बास गर्ने विदेशी, टुहुरा-टुहुरी र विधवाहरूसित चाडमा आनन्द मनाउनू। त्यो एक मात्र आराधना-स्थलमा सात दिनसम्म त्यो चाड मनाएर परमप्रभु आफ्ना परमेश्वरको आदर गर। रमाहट गर किनभने परमप्रभुले तिम्रा अन्नबाली र कामकाजमा आशिष् दिनुभएको छ। “तिम्रा जातिका सबै पुरुषहरू वर्षमा तीनचोटि निस्तार-चाड, कटनी-चाड र छाप्रो-चाडका समयमा त्यो एक मात्र आराधना-स्थलमा परमप्रभुलाई पूज्न आउनुपर्नेछ। हरेकले आफूले सकेअनुसार र परमप्रभु आफ्ना परमेश्वरले दिएका आशिष्अनुसार भेटी लिएर आउनुपर्छ।