दानिएल 6:19-28

दानिएल 6:19-28 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

बिहान झिसमिसेको पहिलो किरणमा नै राजा उठेर आतुरीसाथ सिंहको खोरतिर गए। जब उनी सिंहको खोरको नजिक आइपुगे, उनले दानिएललाई वेदनापूर्ण स्‍वरमा बोलाए, “ए दानिएल, जीवित परमेश्‍वरका सेवक, के तिमीले निरन्‍तर सेवा गरेका तिम्रा परमेश्‍वरले तिमीलाई सिंहहरूबाट बचाउनुभएको छ?” दानिएलले उत्तर दिए, “महाराजा अमर रहून्‌! मेरा परमेश्‍वरले आफ्‍ना स्‍वर्गदूत पठाउनुभयो, र उहाँले सिंहहरूका मुख थुनिदिनुभयो। तिनीहरूले मलाई कुनै चोट पुर्‍याएका छैनन्, किनभने उहाँको दृष्‍टिमा म निर्दोष भेट्टाइएँ। महाराजा, हजूरको सामु पनि मैले कुनै गल्‍ती गरेको छैनँ।” राजा अत्‍यन्‍तै खुशी भएर दानिएललाई खोरबाट निकाल्‍ने आज्ञा दिए। अनि जब दानिएल खोरबाट निकालिए, तिनमा कुनै पनि चोट पाइएन, किनभने तिनले आफ्‍ना परमेश्‍वरमाथि भरोसा गरेका थिए। दानिएललाई झूटो आरोप लगाउने मानिसहरू राजाको हुकुममा भित्र ल्‍याइए र श्रीमती र नानीहरूसमेत उनीहरू सिंहको खोरमा फ्‍याँकिए। अनि उनीहरू खोरको भूइँमा नपुग्‍दै सिंहहरूले उनीहरूमाथि झम्‍टेर उनीहरूका हड्डीहरूसमेत कर्‍याककुरुक पारेर खाए। तब राजा दाराले साम्राज्‍यभित्रका हरेक भाषा बोल्‍ने सबै मानिसहरू र जातिहरूलाई यस्‍तो लेखे: “तिमीहरूलाई कल्‍याण होस्‌! म यो आदेश जारी गर्दछु कि मेरो राज्‍यभरका मानिसहरूले दानिएलका परमेश्‍वरको भय मान्‍नु र आदर गर्नुपर्छ। “किनभने उहाँ जिउँदो परमेश्‍वर हुनुहुन्‍छ, र उहाँ सधैँभरि रहनुहुन्‍छ। उहाँको राज्‍य नष्‍ट हुनेछैन, उहाँका प्रभुत्‍वको अन्‍त कहिल्‍यै हुनेछैन। उहाँ छुटकारा दिनुहुन्‍छ र बचाउनुहुन्‍छ; उहाँ स्‍वर्गमा र पृथ्‍वीमा आश्‍चर्यकर्महरू गर्नुहुन्‍छ। उहाँले दानिएललाई सिंहहरूको शक्तिबाट छुटकारा दिनुभएको छ।” यसकारण दाराको राज्‍यकाल र फारसी कोरेसको राज्‍यकालमा दानिएलको उन्‍नति भयो।

शेयर गर्नुहोस्
दानिएल 6 पढ्नुहोस्

दानिएल 6:19-28 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

बिहानको झिसमिसे उज्यालोमै राजा उठे, र हतार-हतार गरेर सिंहको खोरमा गए। जब तिनी खोरको नजिक आए, तब तिनले शोकले भरिएको सोरमा दानिएललाई बोलाए, “हे जीवित परमेश्‍वरका सेवक दानिएल, तिमीले लगातार सेवा गर्दैआएका तिम्रा परमेश्‍वरले के तिमीलाई सिंहहरूबाट छुटाउन सक्नुभएको छ?” दानिएलले जवाफ दिए, “महाराजा, अमर रहून्! मेरा परमेश्‍वरले आफ्नो स्वर्गदूत पठाउनुभयो, र उहाँले सिंहहरूका मुख बन्द गरिदिनुभयो। तिनीहरूले मलाई चोट पुर्‍याएका छैनन्; किनकि म उहाँको दृष्‍टिमा निर्दोष भेट्टाइएको छु। हे महाराजा, मैले हजुरको सामु कुनै गल्ती गरेको छैनँ।” राजाले अति आनन्दित भएर दानिएललाई सिंहको खोरबाट माथि तानेर निकाल्ने हुकुम दिए। अनि जब दानिएल खोरबाट बाहिर निकालिए, तिनका शरीरमा कुनै पनि चोट पाइएन; किनकि तिनले आफ्नो परमेश्‍वरमाथि भरोसा राखेका थिए। राजाको हुकुममा दानिएललाई झूटो आरोप लगाउने मानिसहरूलाई भित्र ल्याइए; अनि तिनीहरूका पत्नीहरू र छोराछोरीहरूसमेत तिनीहरू सिंहको खोरभित्र फ्याँकिए। तिनीहरू खोरको भुइँमा पुग्नुभन्दा अगि नै ती सिंहहरूले तिनीहरूलाई झम्टे, र तिनीहरूका सबै हड्डीहरू चकनाचुर पारिदिए। तब राजा दाराले देशभरिका सबै जातिहरू र हरेक भाषा बोल्ने मानिसहरूलाई लेखे: “तिमीहरूको उन्‍नति प्रशस्त होस्! “म उर्दी जारी गर्छु: मेरो राज्यका सबै भागका मानिसहरूले दानिएलका परमेश्‍वरको भय मानून् र उहाँलाई नै श्रद्धा गरून्। “किनकि उहाँ नै जीवित परमेश्‍वर हुनुहुन्छ, र उहाँ सदासर्वदै रहनुहुन्छ; उहाँको राज्य नष्‍ट हुनेछैन, उहाँको राज्य कहिल्यै समाप्‍त हुनेछैन। उहाँले छुटाउनुहुन्छ र बचाउनुहुन्छ; उहाँले आकाशमा र पृथ्वीमा, अलौकिक चिन्हहरू र अद्‌भुत कार्यहरू गर्नुहुन्छ। उहाँले दानिएललाई सिंहहरूको शक्तिबाट छुटकारा दिनुभएको छ।” यसकारण दाराको शासनकालमा र परसीयाका कोरेसको शासनकालमा दानिएलको उन्‍नति भयो।

शेयर गर्नुहोस्
दानिएल 6 पढ्नुहोस्

दानिएल 6:19-28 पवित्र बाइबल (NERV)

बिहान झिसमिसे उज्यालोमा राजा उठेर डरले काम्दै सिंहको खोरमा गए। राजा खोरको छेउमा गएर दानियललाई कराएर भने, “हे दानियल जीवित परमेश्वरका सेवक, तिमीले निरन्तर सेवा गरेका तिम्रा परमेश्वरले तिमीलाई बचाउँन सक्नु भयो?” दानियलले राजालाई जवाफ दिए, “महाराज अमर रहुन्! मेरो परमेश्वरले आफ्ना स्वर्गदूत पठाएर सिंहहरूको मुख बन्द गर्नु भयो। यसकारण सिंहहरूले मलाई नोक्सान गर्न सकेनन् किनभने मेरो परमेश्वर जान्नुहुन्छ कि म निर्दोष छु। हे महाराज! मैले तपाईंलाई कुनै अन्याय गरेको छैन।” त्यस पछि राजा अत्यन्तै खुशी भएर दानियललाई खोरबाट निकाल्ने हुकुम दिनुभयो। दानियल खोरबाट निकालिए अनि तिनमा कुनै प्रकारको चोट लागेको पाएनन्, किनभने उनले परमेश्वरमाथि विश्वास गर्थे। त्यसपछि राजाले तिनीहरूलाई हुकुम दिनु भयो जसले दानियललाई दोष दिएका थिए अनि सिंहको खोरमा हाल्न लगाए। तिनीहरूका पत्नी र छोरा-छोरीहरू समेत सिंहको खोरमा हालिए। तिनीहरू तल खोरको मुखमा पुग्दा नपुग्दै सिंहहरूले झम्टेर तिनीहरूका हड्डी समेत कर्याक कुरूक पारेर खाइहाले। त्यसपछि राजा दाराले सारा पृथ्वी भरि बस्ने विभिन्न भाषा बोल्ने, विभिन्न जातिका मानिसहरूलाई एउटा शुभ-कामना चिठ्ठी लेखे: तिमीहरूलाई शान्ति होस्: म एउटा नयाँ नियम बनाउँदैछु मेरो राज्यमा हरेक मानिसले दानियलका परमेश्वरको डर मानुन र आदर गरून्। दानियलका परमेश्वर जीवित परमेश्वर हुनुहुन्छ: उहाँ सदा-सर्वदा जीउँनु हुन्छ, उहाँको राज्य कहिलै अन्त हुनेछैन अनि उहाँले सधैँ राज्य गर्नुहुन्छ। परमेश्वर रक्षक र उद्धारकर्ता हुनुहुन्छ, स्वर्ग अनि पृथ्वीमाथि परमेश्वरले आश्चर्यपूर्ण काम गर्नुहुन्छ। अनि उहाँ मात्र एक शक्तिशाली हुनुहुन्छ, जसले दानियललाई सिंहको मुखबाट बचाउँनु भयो। यस प्रकारले दाराले राज्यमा शासन गरून्जेल अनि फारसमा राजा कोरेसको राज्य रहुन्जेल यिनै दानियलको उन्नति भइरह्यो।

शेयर गर्नुहोस्
दानिएल 6 पढ्नुहोस्

दानिएल 6:19-28 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

बिहान मिरमिरे उज्‍यालो भएपछि राजा उठे र हतार-हतार सिंहको खोरमा गए। त्‍यहाँ पुगेर राजाले चिन्‍तित भई भने, “ए दानिएल, जीवित परमेश्‍वरका सेवक, के तिमीले भक्तिसाथ पुजेका परमेश्‍वरले तिमीलाई सिंहहरूका मुखबाट बचाउनुभयो?” दानिएलले जवाफ दिए, “महाराज दीर्घायु रहून्! सिंहहरूले मेरो केही हानि नगरून् भनेर परमेश्‍वरले आफ्‍ना स्‍वर्गदूत पठाई तिनीहरूका मुख थुनिदिनुभयो। म निर्दोष छु भनी उहाँले जान्‍नुहुन्‍थ्‍यो र नै उहाँले त्‍यसो गर्नुभयो किनभने मैले महाराजको केही हानि गरेको छैनँ।” राजा अत्‍यन्‍तै खुसी भए र दानिएललाई सिंहका खोरबाट तानेर बाहिर निकाल्‍ने आज्ञा दिए। यसकारण तिनीहरूले उनलाई तानेर खोरबाट निकाले र उनलाई कुनै किसिमको चोट नलागेको भेट्टाए किनभने उनले परमेश्‍वरमाथि भरोसा राखेका थिए। त्‍यसपछि दानिएललाई दोष लगाउने सबै मानिसहरूलाई पक्रन राजाले आज्ञा दिए र ती मानिसहरूलाई तिनीहरूका जहान र बाल-बच्‍चासहित सिंहका खोरमा फालिदिए। तिनीहरू खोरको भूइँसम्‍म पुग्‍नु अघि नै सिंहहरूले झम्‍टेर तिनीहरूका हड्डीहरू कर्‍याककुरुक पारिदिए। तब दारा राजाले पृथ्‍वीका सबै जातिहरू, कुलहरू र विभिन्‍न भाषा बोल्‍ने मानिसहरूलाई यसरी लेखिपठाए: “तिमीहरूलाई सुख-शान्‍ति होस्! म यो आज्ञा दिन्‍छु कि मेरो सारा साम्राज्‍यभरि सबै मानिसहरूले दानिएलको परमेश्‍वरको भय मानून् र आदर गरून्। “उहाँ जीवित परमेश्‍वर हुनुहुन्‍छ। “र उहाँले सदासर्वदा राज्‍य गर्नुहुन्‍छ। उहाँको राज्‍य कहिल्‍यै नाश हुँदैन र उहाँको शक्तिको कहिल्‍यै अन्‍त्‍य हुँदैन। उहाँले बचाउनु र उद्धार गर्नुहुन्‍छ, उहाँले स्‍वर्ग र पृथ्‍वीमा उदेक र चमत्‍कारका कामहरू गर्नुहुन्‍छ। उहाँले दानिएललाई सिंहको मुखबाटै बचाउनुभयो।” यसरी दारा राजा र फारसी राजा कोरेसका शासनकालमा दानिएलको उन्‍नति भइरह्यो।

शेयर गर्नुहोस्
दानिएल 6 पढ्नुहोस्